शताब्दीपछि पुर्खाको देश 

सुशीला तामा‌ङ

काठमाडौँ — झन्डै डेढ शताब्दीअघि तत्कालीन भारतको चटगाउँ (चित्तगंग) हिल्समा ब्रिटिस इस्ट इन्डियाविरुद्ध एउटा विद्रोह भयो । अहिले बंगलादेशमा पर्ने यही थलोमा ६ पुस्ते पुर्ख्यौली इतिहास बोकेर बाँचिरहेका कलाकार मनोजबहादुर गोर्खाका अनुसार उक्त विद्रोहमा नेपालीहरू पनि सामेल थिए ।

त्यतिबेला बृहत् नेपाल निर्माणको अभियानको क्रममा केही नेपाली त्यहाँ पुगेका थिए । ‘त्यसपछि हाम्रो बाउबाजे उतै बसेका रहेछन्,’ बुधबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा प्रस्तुति दिनुअघि गायक मनोजले भने, ‘एक सय पचास वर्षपछि पुर्खाको भूमि आइपुगेको छु ।’

यतिका वर्षपछि यो भूमिमा उनी खाली हात आएका छैनन् । नेपाली गीत, संगीत, साहित्य, इतिहासलाई बोकेर परिवारलाई समेत पुर्खाको माटो चिनाउन ल्याएका छन् । सांस्कृतिक संस्थान र सिस्नुपानी नेपाल–बंगला सोसाइटीले गरेको मैत्री सांस्कृतिक कार्यक्रममा उनी र उनीसँगै आएका सुर निकेतन संगीत विद्यालयका कलाकारले बंगलादेशी र नेपाली गीतसंगीतको प्रस्तुति दिँदै गर्दा माहोल भावुक बनेको थियो ।

नेपाली ढाका टोपीमा सजिएर नेपालीभाषामै मनोजले पुख्यौली संस्कृति र माटोप्रतिको माया दर्साए । उनकै अगुवाइमा बंगलादेशबाट आएका करिब एक दर्जन कलाकारले बंगलादेशी लयमा नेपाली राष्ट्रिय गानको प्रस्तुति पनि दिए ।

यसपछि उनले नारायण गोपालको ‘तिम्रा जस्तो मुटु...’, देखि पछिल्लो समय चर्चित श्याम कार्कीको गीत ‘तिम्रो मायाले बाँधेर राख...’ जस्ता नेपाली गीत गाए । उनले नै अनुवाद गरेका नेपाली गीतहरूलाई बंगाली भाषामा अन्य कलाकारहरूले प्रस्तुत दिए भने सिस्नुपानी नेपालका तर्फबाट लक्ष्मण गाम्नागेले ‘मेरा बा’ शीर्षकको कवितामा सम्बन्धकै कुरा गरे ।

मनोजसँगै आएका उनकी छोरी तनुश्री माझीले नृत्य गरिन् भने अनामिका डे र पण्डित स्वर्णमय चक्रवर्तीको शास्त्रीय संगीत प्रस्तुति निकै लोभलाग्दो थियो । ‘नागरिकको हिसाबले बंगलादेशको भए पनि पुस्तौंदेखि पुर्खाहरूले जोगाएको नेपाली संस्कृति र पहिचानलाई निरन्तरता दिन लागि परेका छौं,’ मनोजले भावुक हुँदै भने ।

उनले बंगलादेशमै ‘दसैं–तिहार मनाउनेदेखि देउसीभैलो खेल्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । ‘आफ्ना सन्तानलाई पनि नेपाली भाषा र संस्कार सिकाउँदै आएका छौं,’ उनले भने, ‘वर्षौंदेखि भिन्न देशमा छौं, तर मनमा भने नेपालकै माया लागि रहन्छ ।’ पुर्खाको देश हेर्ने उनको चाहनालाई हास्य कलाकार मनोज गजुरेलले पूरा गरिदिएका हुन् । सामाजिक सञ्जालकै माध्यमबाट मनोजबहादुर गोर्खालाई सम्पर्क गरी काठमाडौंसम्म ल्याएको गजुरेलले बताए ।

‘देशबाट शताब्दी अगाडिदेखि परदेसिएको नेपालीलाई पुर्खाको देशमा ल्याउन पाउँदा एकदमै खुसी छु,’ गजुरेलले भने । कार्यक्रममा संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संघीय मामिला तथा प्रशासन मन्त्री लालबाबु पण्डितलगायतले बंगलादेशीमा रहेका गोर्खालीहरूको इतिहास समेटेर मनोज स्वयंले लेखेको पुस्तक ‘हिस्ट्री अफ गोर्खाजअफ चित्तगंग हिल्सट्राक्ट्स’ को लोकार्पण पनि गरे । शताब्दी पुरुष जोशीले चितगंगबाट पितृको भूमिलाई सम्झेर आएका सबैप्रति आभार व्यक्त गरे ।

‘संगीतको कुनै भाषा र भूमि हुँदैन,’ उनले भने । कार्यक्रममा संस्थानकै तर्फबाट नेपाली कलाकारहरूले धिमे, सखिया, सेलोलगायत नेपाली लोकनृत्य देखाइएको थियो भने हास्य कलाकार मनोज गजुरेल र एउटै खुट्टाका सहाराले नाच्ने रोमा न्यौपानेको प्रस्तुति पनि रहेको थियो । कलामार्फत दुई देशको जोड्ने उद्देश्यले
कार्यक्रम गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

प्रकाशित : असार २७, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

काठमा कुँदिएका कामकला

सुशीला तामा‌ङ

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रका मठमन्दिरहरू नेपाली काष्ठकलाका अद्भुत नमुना मानिन्छन् । यी धार्मिक–सांस्कृतिक सम्पदामा लिच्छविकालदेखि मल्ल र शाहकालसम्मका कलाकृति हेर्न सकिन्छ । मल्लकालमा उत्कर्षमा पुगेको तन्त्रवाद होस् या कामसूत्र ज्ञान, मन्दिरका टुँडाल, झ्याल र काठे तोरणहरूमा कुँदिएका आकृतिबाटै प्रस्ट हुन्छ ।

यस्तै आकृतिबाट प्रभावित भएर उड कार्भिङ (काष्ठकला) मा लोभलाग्दो काम गरेका छन्, मूर्तिकार इन्द्रप्रसाद शिल्पकारले । एक सातादेखि उनको कलाकृति बौद्धस्थित तारागाउँ म्युजियममा प्रदर्शनरत छन् ।

आठौं शताब्दीदेखिको प्रभावलाई उनले मूर्तिमा उतारेका छन् । बौद्ध र हिन्दु देवी–देउताहरूको फिगरलाई यथार्थवादी शैलीमा ढालेका छन् । मूर्ति हेर्दै जाँदा काठमा कुँदिएका भगवान् संवाद गर्न तम्तयारझैं लाग्छन् । लोभलाग्दो त के भने उनले यी मूर्तिकला कल्पनाको आधारमा बनाएका हैनन्, काठमाडौं उपत्यकाभित्रका विभिन्न ऐतिहासिक सम्पदामाथि कुँदिएका आकृतिको कलात्मक नक्कल गरेका हुन् । उनका मूर्ति नियाल्दै जाँदा सिंगो उपत्यकाका मन्दिर, ढुंगेधारा, देवल, सत्तल र दरबार क्षेत्र घुमेको महसुस हुन्छ । १० औं शताब्दीतिरै काठमा कुँदिएको विद्याधर, १७ औँ शताब्दीको अन्त्यतिर मन्दिरका ढोकामा राख्न बनाइने गणेश, भैरव–भैरवी, सर्प र गरुडका आकृतिसहितको काठे तोरणमा नेपाली परम्परागत मूर्तिकलाको अद्भुत दृश्य मात्रै हैन, तत्कालीन नेपालीसमाजको सांस्कृतिक र धार्मिक लगाव पनि अनुभूत गर्न सकिन्छ ।

‘यी अनुपम कलाको महत्त्वबारे नयाँ पुस्ता लगभग बेखबरजस्तै बन्दै गइरहेको छ,’ भक्तपुरमा इन्द्रप्रसादले भने, ‘पुरानो कला शिल्प, ज्ञान र शैली युवा पुस्तामा हस्तान्तरण र प्रवर्द्धन गर्न सघाउ पुगोस् भन्ने मेरो चाहना हो ।’ त्रिभुवन विश्वविद्यालयबाट समसामयिक मूर्तिकलामा स्नातकोत्तर गरेका इन्द्रप्रसाद आफैंमा परम्परागत कलाका उत्तराधिकारीजस्तै हुन् । उनका अनुसार मल्लकालमा काष्ठकलाका कामशिल्पकार समुदायको उत्तरदायित्वभित्रै पर्न आउँथ्यो । उनका पुर्खाहरूका धेरैजसो समय काठमा भगवान् कुँदेरै बिते ।

विसं. १६७८ मा राजा जितामित्र मल्लले भक्तपुरको सुन्धरा बनाउन लगाउने क्रममा भगिरथ, गणेश र गंगाको मूर्ति बनाउन लाए । भक्तपुरका शिल्पकारले जितामित्रको आग्रहलाई दुरुस्तै उतारे । इन्द्रप्रसादले भने त्यही सुन्धाराको मूर्तिको प्रभावलाई काठमा कुँदेर ग्यालरीमा प्रदर्शनी गर्न ल्याए । उनले जस्ताको तस्तै उतारेको मूर्ति निकै लोभलाग्दो देखिन्छ । त्यस्तै नवौं शताब्दीतिर काष्ठकलामा पोखिएको नेवारी पौरखको प्रमाण दिने ‘सालाभान्जिका’ पाटन दरबार क्षेत्रमा पाइने १८ औं शताब्दीतिरको सिंहको ‘कीर्तिमुख’, गन्धर्व जातिको बाजा र संस्कृति देखाउने वाद्ययन्त्रसहितका मूर्तिकला निकै सुन्दर छन् ।

प्रदर्शनीमा शिल्पकारद्वारा नै निर्माण गरिएका पुराना मन्दिरमा पाइने कामसूत्रमा आधारित मूर्तिकला पनि राखिएका छन् । ‘प्राचीन समाजमा यौनशिक्षा दिने कुनै माध्यम नहुँदा तिनै कलामार्फत नै अभिव्यक्त भएको हुन सक्ने’ उनको अनुमान छ । ‘त्यतिबेलै कलामा त्यस्तो क्रान्तिकारी कदम चालिइसकिएको रहेछ,’ उनले आफ्नो अनुभवसमेत जोडेर भने, ‘हाम्रो समाज भने अझै पनि उतिसाह्रो खुल्न सकेको छैन । ती पुराना कलाकृति पनि सहजताका साथ हेर्न र चर्चा गर्न मानिस हिच्किचाउँछन् ।’ कामसूत्र झल्किने मूर्तिको प्रतिकृति तयार पार्न आफैंलाई पनि परिवारमा अप्ठ्यारो लागेको उनले सुनाए ।

सकसमा काष्ठकला
इन्द्रप्रसादका अनुसार परम्परागत कलाको प्राचीन इतिहास बुझन् हामीसँग गम्भीर र अनुसन्धानमूलक सामग्री तयार भइसकेका छैनन् । प्राज्ञिक रूपमा यसको जगेर्नाको काम पनि हुन सकेको छैन । यसलाई बुझेर उतार्ने दक्ष जनशक्ति पनि छैन । ‘सबैले पुराना मन्दिर र दरबारमा रहेका कलाकृति अवलोकन गरेकै आधारमा बनाइरहेका छन्,’ उनले भने, ‘यस्तो बाध्यताबाट हाम्रो मूर्तिकला अघि बढिरहेको छ ।’ आफूले पनि सैद्धान्तिक रूपमा भन्दा पनि पुर्ख्यौली पेसालाई नै आधार बनाएर यस क्षेत्रमा प्रवेश गरेको उनले बताए । ‘काष्ठकलाप्रति नयाँ पुस्ताको पनि चासो निकै कम रहेकोले पुस्तान्तरण हुन सकेको छैन,’ उनले भने, ‘भूकम्पपछि सांस्कृतिक सम्पदाको पुनर्निर्माणको माग भए पनि काम गर्ने मानिसको अभाव छ ।’

पुरानो प्रकृतिको काम गर्न काठको अभावसमेत हुने उनले सुनाए । ‘भनेजस्तो काठ पाउन मुस्किल छ’, उनले भने, ‘पाइए पनि व्यापारीहरूले मनलाग्दो मूल्य तोक्छन् । सरकारबाट कलाकर्मका लागि सहुलियत छैन ।’ त्यस्तै काष्ठकलाका पुराना अभिलेखहरू व्यवस्थित हुन नसक्दा पनि इतिहास लोप हुने खतरातिर अघि बढिरहेको छ । ‘मन्दिर, ढुंगेधारा, सत्तल लगायत पुरानो थलोमा रहेका कला पनि जीर्ण भएर गएका छन्,’ उनले भने, ‘संरक्षण गर्ने निकाय उदासिन छ ।’ उनको प्रदर्शनी पनि बुधबारसम्म जारी रहने छ ।

प्रकाशित : असार २५, २०७६ ०८:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT