बार्बी मैंचा, वन्डरफुल कान्छी

सुशीला तामा‌ङ

काठमाडौँ — नेपालीसँगै विदेशी दर्शकको भीड । हेर्नभन्दा छुन आतुर लाग्ने भित्ताभरि झुन्ड्याइएका डिजिटल प्रिन्टका क्यानभासहरू । झट्ट हेर्दा मनोरञ्जनसँग जोडिए पनि नेपाली सांस्कृतिक सम्पदाको चिनारी दिने ‘बार्बी मैंचा’, ‘हक चा’, ‘वन्डरफुल कान्छी’ शीर्षकका कलाकृतिहरूमा विदेशी पर्यटकका आँखा पनि टक्क अडिन्छन् । 

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुक्रबारदेखि सन्नी शाक्यको ‘टोयग्राफी’ शीर्षकको कला प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा ५३ वटा डिजिटल प्रिन्टका क्यानभासहरूमा काल्पनिक पात्रहरूमार्फत नेपालको सांस्कृतिक एवं प्राकृतिक सम्पदासँगै सामाजिक रहनसहन, नेपाली महिलाको चिनारी, पर्यटकीय स्थललगायतका विषयवस्तु प्रस्तुत गरिएका छन् ।

युट्युबमा चर्चित सुपरम्यान, बार्बी गर्ल, हक, वन्डरफुल लेडी, स्पाइडरम्यानजस्ता पात्रहरूको डिजिटल फोटोहरूलाई नै नेपाली चरित्र मिसाएर शाक्यले क्यानभासमा उतारेका छन् । बार्बी गर्ल र हकलाई नेवारी संस्कृतिअनुसार बोलाइने नाम ‘बार्बी मैंचा’ र ‘हक चा’ का रुपमा निकै सुन्दर रूपमा प्रस्तुत गरिएको छ । नेवार समुदायअनुसारको भेषभूषामा सजिएर खर्पन बोकेको हक र कम्मरमा पानी बोकिरहेकी बार्बीको आकृति निकै अर्थपूर्ण लाग्छ ।

हातमा नेपाल लेखिएको खुकुरी बोकेर उभिएको वन्डरफुल लेडीलाई ‘वन्डरफुल कान्छी’ नामदिएर चित्रकार शाक्यले नेपाली महिलाहरूमा घरधन्दा मात्र नभएर युद्ध लड्ने बहादुरीपन पनि छ भन्ने देखाउन खोजेका छन् । यी र यस्तै पात्रहरूमार्फत नेपालीहरूको चाड दसैंलाई समेत उनले प्रस्तुत गरेका छन् । प्रत्येक अन्तर्राष्ट्रिय पात्रका खेलौनाहरूको फोटोको पृष्ठभूमिमा पशुपति, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्र देखिन्छन् भने तिनीहरूले बोक्ने साधनहरू नेपाली पहिचान झल्काउने किसिमका छन् ।

अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसम्मका डिजिटल फोटोलाई पृष्ठभूमिमा नेपालको गुठी विधेयक र माइतीघर मण्डलासँग जोडेर देखाइएको छ । त्यस्तै भूकम्पपछि क्षतिग्रस्त रानी पोखरी, गुठी विधेयकका लागि उत्रेका मसाल जुलुस, माइतीघरमा जुटेको विशाल मानवसागर, सिंहदरबार, त्रिभुवन विश्वविद्यालय र पोखराको फेवातालमाथि काल्पनिक पात्रहरूमार्फत अहिलेको तत्कालीन समस्या र अवस्था दर्साइएको छ ।

अन्तर्राष्ट्रिय पात्रमार्फत नेपालीपनको कथा भन्न यस्तो कलाकृति सिर्जना गरिएको शाक्यले बताए । ‘कार्टुनका चर्चित पात्रहरू समावेश भएकाले एकातिर यी कलाले मनोरञ्जन दिन्छ भने अर्कोतिर विदेशी पर्यटकले नेपालको संस्कृति र सम्पदाहरूबारे सजिलै थाहा पाउँछन्,’ उनी भन्छन्, ‘पहिलो सिरिज भएकोले यसमा धेरैवटा थिम छन् । संस्कृतिको एउटै पक्षलाई मात्र समेट्ने सिरिजमा काम गरिरहेको छु ।’

खासमा उनी मूर्तिकार हुन् । केही समयअघि इन्स्टाग्राममा एउटा जोडी खेलौनाको फोटो राख्दा धेरै प्रतिक्रिया आएपछि त्यसकै प्रभावले ‘टोयग्राफी’ सिरिज विकास भएको उनले सुनाए । प्रदर्शनी अवलोकनका लागि आएका पाटनका केविन महर्जन र श्रव्य शाक्यले कलाकृतिहरू एकदमै नौलो रहेको अनुभव सुनाए ।

प्रकाशित : असार ३१, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कौशीमा ‘तीनकुने’

सुशीला तामा‌ङ

काठमाडौँ — दिवंगत कथाकार रमेश विकलले निम्न वर्गीय महिलाको चरित्र चित्रण गर्दै लेखेका थिए, ‘एउटी अवकाशप्राप्त वेश्याको आत्महत्या’ । पुरातन समाजमा महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र पुरुषवादी मनोविज्ञान समेटिएको कथामा युवा रंगकर्मी सुलक्षण भारतीले पोषण पाण्डेको ‘भिनाजुको स्वेटर’ र बीएस राईको ‘चम्पा’ मिसाएर नाटकीय संरचनामा ढाले ।

फरक समाज, समय र परिस्थिति भए पनि उस्तै कथाव्यथा र लैंगिक मनोविज्ञान पाइने यी तीन कथा संयोजन ‘तीनकुने’ यतिबेला राजधानीको टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको छ ।

नाटकमा सबैका आआफ्नै कथा छन् । पुरातन समाज र चिन्तनसित जोडिएका दुःखका पृष्ठभूमि छन् । तिनलाई भुल्नकै लागि सबैले विभिन्न बाटो रोज्छन् । अप्ठ्यारो परिस्थितिसँग जुधेर आत्मसम्मानको खोजी गर्छन् । त्यस क्रममा मानिस कसरी हार्नुपर्ने अवस्था पैदा हुन्छ र यसमा समाज कति जिम्मेवार हुन्छ भन्ने प्रश्न पनि उठाएको छ नाटकले । समाजको चेपुवा पारेका मानिसका कथा भन्दै नाटकले अनेकौं सामाजिक यथार्थलाई प्रस्तुत गर्दै जान्छ ।

मानिसभित्र प्रवेश गरेर उसको मनोवैज्ञानिक पक्षलाई समेत सूक्ष्म रूपमा केलाउने प्रयास गरेको छ नाटकले । महिला पात्रहरू चम्पा (रेनु योगी) र रिता (सृजना अधिकारी) लाई केन्द्रमा राखेर नाटकले नारीमाथि समाजले राख्ने विभेदकारी दृष्टिकोण, उनीहरूको कामको पुरातन विश्लेषणजस्ता सन्दर्भमार्फत नाटकले महिलाको आत्मसम्मानको सवाललाई बलियोसित उजागर गरेको छ । समान गल्तीमा पनि फरकफरक दण्डको व्यवस्था अहिले पनि समाजमा छँदै छ ।

यस्तो परिपाटीप्रति नाटकले व्यंग्य गर्छ । सतिस (सुलक्षण भारती) को घरबाट सुरु भएको नाटकको कथा उनकै घरको पतिपत्नीबीचको ससाना कुराहरूको झगडा, सतिशको व्यस्त लेखकीय जीवन, गर्भवती पत्नी र उनलाई पतिको साथको आशा, दिदीलाई साथ दिन आएकी बहिनी बबिता (रोशनी कार्की) र भिनाजुबीचको घनिष्टताले सतिसकी गर्भवती पत्नीलाई परेको मानसिक प्रभावलाई मनोवैज्ञानिक ढंगमा प्रस्तुत गरिएको छ । गर्भावस्थामा एउटी महिलाको शारीरिक परिवर्तनसँगै मानसिक रूपमा केकस्ता परिवर्तन आउँछन् र त्यस्तो अवस्थामा पतिको साथले कति भूमिका खेल्छ भन्ने पक्षलाई समेत देखाउन खोजेको छ नाटकमा ।

नाटकले चम्पा पात्रमार्फत समाजमा महिला भएर जिउन कति कठिन छ र समाजको अनेकौं लाञ्छना कसरी सहनुपर्छ भन्ने पनि देखाएका छन् । यौनजन्य हिंसामा पुरुषको दोष भए पनि महिला नै कसरी लाञ्छनाको सिकार बन्नुपर्छ भन्ने पाटो पनि नाटक छ । भट्टीमा काम गर्न बस्दा चम्पामाथि साहुनीको पतिले जबरजस्ती गर्दा उनलाई नै दोषी ठहराएर साहुनीले निकालिदिएको दृश्य अर्थपूर्ण लाग्छ । पुरुषलाई शरीर सुम्पेर निःस्वार्थ सेवा गरेको सम्झने कथित वेश्या पात्र रिताको कथा पनि नाटकमा उत्तिकै भावुक लाग्छ । उनी जीवनदेखि असन्तुष्ट रहेको पुरुषलाई आफ्नो शरीर दिएर तृप्त पार्न चाहन्छिन् । उनी भन्छिन्, ‘मेरा पेसामा संकोच किन ? मत सबैलाई शान्ति र सन्तुष्टि दिइरहेको छु ।’ उनी आफ्नो पेसालाई समाजले सम्मान गर्नुपर्ने भन्दै आत्मसम्मानको खोजी क्रममा आफैंलाई अन्त्य गर्छिन् । ‘अहिले पनि समाजमा महिलालाई आत्मसम्मानका साथ जिउन कठिन छ,’ निर्देशक भारतीले भने ।

समाजमा सबैले जस्तोसुकै कर्म गरेर बसे पनि अन्ततः उनीहरू आत्मसम्मानकै खोजीमा हुने कथाकार राईले बताए । उनको कथा ‘चम्पा’ भने ‘हिउँमाझी’ संग्रहबाट लिइएको हो । साउन १२ गतेसम्म नियमित मञ्चन हुने नाटकमा सुलक्षण भारती, सृजना अधिकारी, रेनु योगी, रोशनी कार्की, सविता थापा, सरिता भुजेल, प्रकाश गुरागाईं, निसान खत्री, जयराम ढकाल, सौजन लिम्बू, हीरा हमाल, अरुण पौडेल, प्रकाश बाँस्तोलालगायत कलाकारको अभिनय छ । नाटकमा मञ्च तथा प्रकाश परिकल्पना भारतीले नै गरेका छन् ।

प्रकाशित : असार २९, २०७६ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT