कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुकी फुलाउँदै बागलुङे

दीपक परियार

पोखरा — बागलुङको ढोरपाटन उपत्यकाबाट एक दिन पैदल हिँडेपछि आउँछ, बुकी । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन नजिकैको बुकीमा ठूला–ठूला खर्क छन् । 

बुकी फुलाउँदै बागलुङे

लमतन्न परेका हरिया खर्कमा भेटिन्छन् भैंसीगोठ, गोठ कुर्न बसेका गोठाला, घोडा र कुकुर । ढोरपाटनका स्थानीय बर्खामा ४ हजार मिटर उचाइमा रहेको बुकीमा गोठ राख्छन् । हिउँदमा हिउँले ढाकिने भएकोले पाटन झर्छन् । चरणको रूपमा प्रयोग हुँदै आएको बुकीले पर्यटकीय सम्भावना बोकेको छ । बुकीलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न बागलुङवासी कस्सिएका छन् । बागलुङका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरी ‘बुकी’ नामक फिल्म नै बन्न लागेको छ ।


दुई वर्षअघिको सोचलाई बागलुङका स्थानीय युवाले मूर्तरूप दिन लागेका हुन् । वैदेशिक रोजगारीको क्रममा हाल जापान रहेका बागलुङका कुलवीर थापा र पोखरामा व्यवसाय गरिरहेका मोहन केसीले चलचित्रको परिकल्पना गरेका हुन् । थापाले कथा लेखेका छन् ।


बागलुङ गलकोटका मोहन केसी चलचित्रको निर्माण व्यवस्थापकसमेत हुन् । अनमोल केसी र आना शर्मा अभिनीत चलचित्र ‘जेरी’ ले मुस्ताङको ढुम्बा तालको निकै प्रवर्द्धन गरेको उदाहरण उनी दिन्छन् । बुकीमा भने स्थानीय कलाकारले नै अभिनय गर्ने उनले बताए ।


उनका अनुसार चलचित्र बागलुङका पर्यटकीय गन्तव्यमा छायांकन गरिने छ । धार्मिक पर्यटनमा ख्याति कमाएको बागलुङ कालिका मन्दिर, पञ्चकोट धामलगायत दृश्य चलचित्रमा हुने छन् । तिरुपति बालाजी धाम, गाजाको दह, भकुण्डेको दह, बिहुँ राममन्दिर, सत्यवति मन्दिर, हाँडीकोट, उत्तरगंगाको बाइसधारामा चलचित्र छायांकन हुने छ ।


पर्यटकीयस्थल घुम्टेको लेक, गलकोटे राजदरबार, निलुवा, गाइँघाट झरना, संसहर धारा, चमेरे गुफा, ढोरपाटन सिकार आरक्षलाई चलचित्रले समेट्ने छ । छुँदा विष लाग्ने विश्वमै दुर्लभ बुट्यान भूतकेश, सतुवा, ढाकाको सागर, टुसा, निउरो, रसिलो चौतारीलगायत वनस्पतिको महत्त्व चलचित्रमा देखाइने छ ।


चलचित्रमा बागलुङको स्थानीय संस्कृतिसमेत समेटिने छ । घाँटु, सोरठी, मारुनी चलचित्रमा देखाइने छ । बागलुङको अर्गलमा मात्रै मनाइने भुस पोल्ने पर्व, ताराखोलामा मनाइने सिस्नो खोस्ने पर्व, मौलिक बाघनाच, पञ्चेवाजालगायत संस्कृति चलचित्रमा देख्न पाइने छ । चलचित्र निर्माण गर्न ८० देखि ९० लाख रुपैयाँ खर्च हुने निर्माण पक्षको दाबी छ ।


चलचित्रका निर्माण संयोजक विष्णु खत्री ‘शुभेच्छुक’ र आर्थिक संयोजक प्रकाश आले हुन् । विदेशमा रहेका बागलुङबासीको सहयोगमा चलचित्र बन्ने छ । देशविदेशबाट सहयोग गर्ने क्रम सुरु भएको भएको छ । युरोप र लक्जम्बर्गमा जितु थापा, अस्ट्रेलियामा रहेका किसान थापा, जापान रहेका दुर्गेश सहानी र ताराप्रसाद सापकोटाले संयोजन गरेका छन् । चलचित्र प्रदर्शनबाट बचेको रकमसमेत बागलुङकै प्रवर्द्धनमा खर्चिने निर्माण टोलीको योजना छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?