कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझाघरमा आठपहरिया

धनकुटा — उनीहरू यो घरलाई मुलपाङ भन्छन् । अर्थात् साझा घर । अल्पसंख्यक किरात आठपहरिया सभ्यतासित जोडिएको यो घरमा हालै एक हूल युवायुवती ढोल र झ्याम्टा बजाएर नाचे । यो घरको आफ्नै नियम छ । नाच निकालेको बेला आगन्तुकले सालको पातको दुनामा रक्सी पिउनुपर्छ ।

साझाघरमा आठपहरिया

‘यो चलन उहिल्यैदेखिको हो,’ संस्कृतिकर्मी सूर्यबहादुर आठपहरियाले भने, ‘नाच निकालेको बेला अरु भाँडामा पिउनुहुन्न भन्ने मान्यता छ ।’


धनुकुटा बजारबाट अलिक माथि उक्लेर बायाँ मोडेपछि भेटिन्छ यो घर । ‘ठूलाघर’ को रूपमा चर्चित यो अल्पसंख्यक आठपहिरिया समुदायको पुरानो सांस्कृतिक सम्पदा हो । सूर्यका अनुसार यसरी नाच निकाल्नुसित आठपहरिया समुदायको संस्कार, विश्वास, पद्धति र पुरानो ज्ञान परम्परा जोडिएको छ । खासमा यो कात्तिक पूर्णिमापछि नाचिन्छ ।


अचेल कोही पाहुना, विशिष्ट व्यक्ति या समूह साझाघर अवलोकनमा आएका बेला सांस्कृतिक झलक स्वरुप यो नाच निकालिन्छ । हालै स्थानीय मौलिक कला, साहित्य र संस्कृति खोज्दै काठमाडौंबाट आइपुगेका ‘जेसुम अभियान’ का स्रष्टाहरूलाई स्वागत गर्दै आठपहरिया समुदायले यो नाच प्रस्तुत गरेको थियो ।


नाचमा आठपहरिया समुदायको मौलिक तथा सांस्कृतिक पर्व ‘हृवाडाङमेट’ को गीत प्रस्तुत गरिएको थियो । सूर्यका अनुसार यो गीत मृतआत्मालाई बिदा गरेपछि दुःख बिर्सजनका लागि गाइन्छ । ‘हाम्रो समाजमा मान्छे मरेपछि आत्मलाई बाराह क्षेत्रमा गएर विदा गर्नुपर्छ’, उनले भने, ‘मृत्युको कारण खोज्दै मृतकको घरघरमा गएर ‘आर्जे हेर्ने’ चलन पनि छ । अहिले भने यो हराउँदै गएको छ ।’


मृतआत्मा बिदा गर्न बराह क्षेत्र जाने समय हृवाडाङमेट पर्वकै छेकमा हो । हिँडेरै जानुपर्ने र हिँडेरै फर्किनुपर्ने चलन अहिलेसम्म छ । यसरी बराह क्षेत्र गएकाहरू कात्तिक पूर्णिमाको बिहान जसरी पनि फर्केर घर आइपुग्नुपर्ने हुन्छ । त्यसपछि दुःख विसर्जनका लागि नाचगान गरिन्छ ।


‘यस्तो बेला माया प्रेमका गीत पनि गाइन्छ, कसैले घुमडुल र स्थान विशेषका गीत पनि गाउँछन्,’ किरात आठपहरिया समाजका केन्द्रीय महासचिवसमेत रहेका सूर्यले भने, ‘बूढापाका थाकेपछि तन्नेरीहरू नाच्छन् । दोहोरी पनि हुन्छ ।’ साझाघरमा निकालिएको नाचमा भने सूर्य स्वयं सहभागी थिए ।


धनकुटा बजारको पुजारी टोलस्थित किरात आठपहरिया समुदायको धार्मिक/सांस्कृतिक स्थल साझाघर (बाउन्न चुलो) । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर


ढोल र झ्याम्टा बजाएर खुट्टाको धीमा गति मिलाउँदै नाचिने यो नृत्यमा पुरुष र महिला दुवैको बराबर सहभागिता रहन्छ । यसपछि नाच हेर्नेहरूलाई दुनामा रक्सी बाँडिन्छ । ‘मृतआत्मालाई बिदा गरेर फर्केपछि बराह क्षेत्रबाट विभिन्न्न देवीदेउतासँगै ल्याएको हुन्छ भन्ने विश्वास गरिन्छ,’ उनले भने, ‘पवित्रताका लागि दुनाको प्रचलन रहेको हुन सक्छ ।’ पातमा सगुन चाख्दै गर्दा कवि स्नेह सायमी, अनिता लामा, बिना थिङलगायतले आदिवासी संस्कृतिको मूलथलोमै पुगेको अनुभूति गरे ।


बाउन्न चुलोको कथा

साझाघर (ठूलाघर) खासमा आठपहरिया समुदायको ५२ चुलोसित जोडिन्छ । पछिल्लो जनगणनाअनुसार ५ हजार ९ सय ७७ संख्या रहेको आठपहरियाको सभ्यता यही ५२ चुलोबाट विस्तार भएको मानिन्छ । ‘अझै पनि ५२ पितृ भिन्न हुन नहुने मान्यता छ,’ आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर छोङदेनले भने, ‘तर एकै ठाउँमा रहन भौगोलिक हिसाबले सम्भव नभएपछि विभिन्न ठाउँमा छरिए ।’


जहाँ पुगे पनि पितृ पुज्ने सन्दर्भमा भने यही साझाघर आउनुपर्ने उनले बताए । माङबुङ थरका आठपहरियाहरूको भने जेठो छोरा जन्मेको खुसियालीदेखि अन्य कर्महरू यही घरमा गर्नुपर्ने हुन्छ । ‘अरूले जेठो छोरोका हर्क बढाइ आफ्नै घरमा गर्छु भन्दा छुट पाइन्छ,’ सूर्यले सुनाए, ‘माङबुङले चाहिँ यहीँ नै गर्नुपर्छ ।’


अष्टबहादुरका अनुसार २०३६ साल अगाडि यो साझाघर नौतले थियो । नौवटा भर्‍याङ चढेर जानुपर्थ्यो । माटोको गाह्रो उठाएर बनाएको भएकाले सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला नयाँ बनाइदिन्छु भन्दै भत्काउन लाए । तर, एकतलेभन्दा माथि उठ्न सकेन ।


‘माथिल्लो तलामा विभिन्न किसिमको तान्त्रिक र सांस्कृतिक विधि गरिन्थ्यो,’ सूर्यले थपे, ‘कोही बिरामी भयो भने यहीँ ल्याएर माङ (पुर्खाको सृष्टिको आत्मा) बोलाएर कारण पत्ता लगाइन्थ्यो । अहिले आत्मा बोलाउने मान्छे (माङकाटा) नै जन्मिन छोडे ।’ उनका अनुसार एउटा माङकाटा मरेपछि उनको आत्मा अर्को व्यक्तिमा सर्नुपर्ने हुन्छ । २०३६ सालतिरै माङकाटा बितेपछि उनको आत्मा अरूमा आएको छैन ।


मिसन होमस्टे

यही साझाघरलाई केन्द्रमा राखेर आठपहरिया समुदायले धनकुटामा होमस्टे सञ्चालनको योजना गरेको छ । धेरैले थर लेखेकाले जन गणनामा थोरै देखिए पनि आठपहरियाको ११ हजार जनसंख्या रहेको दाबी गर्दै ‘आठपहरिया सांस्कृतिक होमस्टे’ को रूपमा धनकुटा चिनिनसक्ने सूर्यको दाबी छ ।


उनीहरूले सञ्चालन प्रक्रियासमेत अघि बढाउँदै प्रशिक्षण सकाइसकेका छन् । यसमा नगरपालिकाको सहयोग मिलेको छ । सुरुमा १५ घरबाट होमस्टे सञ्चालन गर्ने योजना बनाइरहेको सूर्यले बताए । ‘त्यसका लागि सांस्कृतिक प्रस्तुति, भेषभूषा, खानपान प्रवर्द्धनमा लागि परेका छौं,’ उनले भने, ‘आठपहरिया संस्कृति हेर्न अन्त गएर हुन्न, धनुकटा नै आउनुपर्ने हुन्छ ।’

प्रकाशित : श्रावण ९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?