कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगीचंगी राखी

सुशीला तामा‌ङ

काठमाडौँ — विभिन्न थरीका रंगीचंगी राखीहरू झुन्ड्याइएका पसलले यतिखेर असन बजार सिंगारिएको छ । असन क्षेत्रको वरिपरि २० रुपैयाँदेखि २ सय ८० रुपैयाँ मूल्यका ओम, गणेश, रुद्राक्ष तथा विभिन्न पत्थर र मुगा जडित राखी किन्न तराईभन्दा पनि पहाडीमूलका ग्राहकको भीड लागेको छ । अधवैंसेदेखि किशोरी महिला दाजुभाइका लागि राखी किन्न आएका भेटिन्छन् ।

रंगीचंगी राखी

हिन्दु धर्मावलम्बीहरूले पवित्र पर्व मानिने साउन शुक्लपूर्णिमा (रक्षाबन्धन) को दिन जनै फेर्ने परम्परा छ । यो परम्परासँगै पछिल्ला वर्षहरूमा राखी बाँध्ने संस्कृति पनि झ्याँगिँदै गएको छ ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका लोककला विभाग प्रमुख मिथिलादेवी यादवका अनुसार खासमा यो भारतीय संस्कृति हो । धेरै पहिले यो तराईमा भित्रियो । अहिले पहाड उक्लिँदै छ । ‘अहिले त पहाडमा बढी यसको चासो हुन थालेको देखिन्छ,’ उनले भनिन्, ‘दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र सद्भावसँग जोडिएको हुनाले यस्तो भएको हुन सक्छ ।’


उनका अनुसार छिमेकी मुलुक भारतमा रक्षाबन्धन पर्व धुमधामका साथ मनाइन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु तथा रक्षाका लागि रक्षाबन्धन (राखी) बाँधिदिन्छन् । दिदीबहिनीले राखीसँगै टीका लगाई मिठाई तथा फलफूल खुवाएपछि दाजुभाइले गच्छेअनुसार दक्षिणा र उपहार दिन्छन् । तराईमा पनि यो संस्कृति छ । ‘कपासबाटै धागोको राखी बनाई त्यसैमा रंग लगाएर दाजुभाइलाई बाँधिदिएको सम्झना छ,’ उनले भनिन्, ‘अहिले टेलिभिजनमा आउने हिन्दी सिरियलको प्रभाव र बजारमा आएका विभिन्न थरीका राखीले कपासको चलन हरायो ।’


अचेल पहाडी युवायुवतीमा यो संस्कृति बढिरहेको अनुभव छ राजधानीको असनमा १५ वर्षदेखि व्यापार गर्दै आएका श्याम खड्गीेसँग । उनको पसलमा धेरैजसो पहाडीमूलकै युवायुवतीको भीड हुन्छ । रक्षाबन्धनको छेक पारी हरेक वर्ष राखीको व्यापार गर्ने काठमाडौंकै शर्मिला खड्गी र शारदा शाहीको अनुभव पनि यस्तै छ । ‘पहिले पहिले त खासै व्यापार हुँदैन थियो,’ शर्मिलाले भनिन्, ‘केही वर्षयता राम्रो आम्दानी हुन थालेको छ ।’


उनीहरूकोमा राजधानी बस्ने तराईवासी पनि आउँछन् । तर, पहाडियाहरूको संख्या उत्तिकै बढदै छ । ‘पहाडतिर तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाउने भाइटीका जस्तै रहेछ राखी,’ शर्मिलाले भनिन्, ‘दाजुभाइ, दिदीबहिनीको सम्बन्ध राम्रो बनाउने विश्वास भएकाले यो सबैको पर्व हुन पुगेको होला ।’ संस्कृति जहाँको भए पनि मानवीय सम्बन्धलाई प्रगाढ बनाउँछ छ भने जसले अनुशरण गरे पनि राम्रो हुने शर्मिला र शारदाको भनाइ छ ।


यी दुईको पसलमा राखी किन्दै गरेका बाराका नरेन्द्र ठाकुर र पत्नी मनीषाले पहाडमा पनि राखीको चासो र मोह देखिएकोमा खुसी व्यक्त गरे । ‘राखी संस्कृतिले मधेस र पहाडलाई जोडदै गएको छ,’ नरेन्द्रले भने, ‘फरक संस्कृति भए पनि सबैले एकैसाथ एउटै पर्वका रूपमा मनाउन थालेका छन् । यो निकै राम्रो हो ।’ असनमै राखी छान्दै गरेकी अवस्थामा भेटिइन्, ललितपुर भैंसेपाटीकी जिना थिङ । उनले दुई/तीन वर्षअघिदेखि मात्र भाइलाई राखी बाँधिदिन थालेको बताइन् ।


उनीसँगै आएका भैंसेपाटीका विनीता थापा र सिर्जना थापाले पनि दाजुभाइका लागि पत्थर भरिएका विभिन्न थरीका राखी हेर्दै थिए । ‘पहिलेदेखि नै घरमा राखी बाँध्ने संस्कृति नभए पनि अरूको देखेर दाइभाइलाई बाँधिदिएँ,’ विनीताले भनिन्, ‘अहिले त बानी नै पर्‍यो ।’ उनको कुरामा सहमत हुँदै स्वयम्भूकी नम्रता राईले अहिले संस्कृति पनि फेसनजस्तै भएको उल्लेख गरिन् ।


महिलाहरूको भीडमा कलंकीका अर्जुन पन्त पनि राखी छान्दै थिए । परम्परादेखि नै यो संस्कृति अवलम्बन नगरे पनि छोराछोरीले चाहिँ रहरले मान्न थालेकाले उनीहरूकै लागि किन्न आएको उनले बताए । उनीसँगै भेटिएका पाल्पाका कालिदास श्रेष्ठले ‘नयाँ पुस्तामा संस्कृतिभन्दा पनि समाजमा जे चलेको छ, त्यसैमा हिँड्ने प्रवृत्ति बढेको’ बताए । राखी बाँध्ने संस्कृतिलाई अहिले स्कुलहरूले पनि सिकाइरहेको भक्तपुरका सुरेश भुर्तेलले बताए । आफ्ना बच्चाहरूलाई स्कुलमा पठाउन उनी कार्टुन भएको राखी किन्दै थिए । उनका अनुसार यो पर्वलाई बालबालिकाले पनि रमाइलो मानी मनाउँछन् ।


हिन्दु पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरको बीच भएको युद्धमा इन्द्र पराजित भएपछि देवलोक धर्मसंस्कारमा शून्य भयो । फेरि इन्द्र युद्ध गर्न तयार हुँदै गर्दा गुरु बृहस्पतिले साउन पूर्णिमाको दिन विजय प्राप्तिको शक्ति दिन इन्द्रलाई रक्षाबन्धन बाँधिदिए । उनकी पत्नी इन्द्राणीले पनि उनको दाहिने हातमा रक्षासूत्र बाँधिदिएकी थिइन् ।


रक्षासूत्र बाँधेर इन्द्रले विजय प्राप्त गरेसँगै महत्त्वपूर्ण मानिएको रक्षाबन्धनको पवित्र दिन नै अहिले राखी संस्कृति बनेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले बताए । उनका अनुसार इन्द्रलाई इन्द्राणीले बाँधेजस्तै पवित्र सम्बन्धका लागि पत्नीले पतिलाई पनि रक्षाबन्धन बाँधिदिँदा हुन्छ । देखासिकी रूपमा संस्कृति नै बनेर अगाडि बढिरहे पनि नेपाली संस्कृति नै मानेर यसलाई सबै नेपालीले आत्मसात गर्नुपर्ने उनको धारणा छ ।


रक्षाबन्धनको नाममै रक्षा भन्ने शब्द जोडिएकाले यसलाई सकारात्मक रूपमा ग्रहन गर्नुपर्ने संस्कृतिविद् हरिराम जोशी बताउँछन् । भारत हुँदै तराई र पहाडमा बिस्तारै छाउँदै गएको यो संकृतिबारे पहिले ज्ञान नभएरै मानिसले यसप्रति चासो नदेखाएको उनको अनुमान छ । ‘अहिले पहाडका मानिसमा यसबारे ज्ञान भयो र मान्न थाले । यसलाई नराम्रो भन्न मिल्दैन,’ उनी भन्छन् ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?