कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोई बोन्बो सोई...

कान्तिपुर संवाददाता

ललितपुर — शिरमा मयूर कल्की, हातमा ढ्यांग्रो अनि कुममा दुवैतिर क्रस गरिएको घण्टामाला । काभ्रेका हरि तामाङ बिहीबार ललितपुरस्थित कुम्भेश्वर मेलामा भेटिए । तामाङ समुदायमा बोन्बो (झाँक्री) ले लाउने सेतो जामा पहिरेका उनी परिवारसहित आएका थिए ।

सोई बोन्बो सोई...

ढ्यांग्रो बजाएर नाच्दै उनले कुम्भेश्वर कुण्ड तीन फन्को मारे । ढोगे अनि पूजाको विधि सकाए । तामाङ समुदायले साउन शुक्लपूर्णिमाको दिन मनाउने गोने ङ्यहा पर्वको अवसरमा उनी आफ्नो विद्यासिद्धि गर्न कुम्भेश्वर आइपुगेका हुन् । उनका अनुसार गोने पर्वमा सम्पूर्ण तामाङ झाँक्रीहरू नाच्दै कुण्ड पुग्छन् ।


‘जान त गोसाइँकुण्ड थियो,’ उनले तामाङ समुदायमा प्रचलित बोन परम्पराबारे सुनाए, ‘तर, थरले गोले भएकोले जान नमिल्ने भयो ।’ उनले गोसाइँकुण्डसम्बन्धी लोककथा सुनाए । कुनै समय गोले थरका झाँक्री गोसाइँकुण्ड पुग्दा त्यहाँका नागसित ठूलो तान्त्रिक युद्ध भएछ । सुरुमा युद्ध गोले झाँक्रीले जितेको थियो ।


तर पछि उसको पत्नी डराएर अक्षता छर्न भुलेको कारण गोले झाँक्रीले युद्ध हार्‍यो । ‘त्यही दिनदेखि गोलेहरू गोसाइँकुण्ड जान छाडेका हुन्,’ उनले भने, ‘गए अप्रिय हुन्छ भनिन्छ ।’ त्यही भएर उनी कुम्भेश्वर आएका हुन् ।’ यही लोककथालाई पुस्तकको रूपमा ल्याएका संस्कृतिविद् रवीन्द्र ग्याबा तामाङले अहिले पनि गोले झाँक्री गोसाइँकुण्ड नजाने गरेको सुनाए । तामाङ समुदाय आठौं शताब्दीमा बोनबाट बौद्धमार्गी बनेको भए पनि अहिलेसम्म बोन्बो संस्कृति कायमै रहेको उनले बताए । ‘गोने पर्व यही संस्कृतिको उपज हो,’ उनले भने ।


के हो गोने पर्व ?

युवा लेखक तथा संस्कृतिविद् खोजराज गोलेका अनुसार तामाङ समुदायको महत्त्वपूर्ण पर्वमध्ये एक मानिन्छ ‘गोने ङ्यहा’ लाई । यो दिन तामाङ बोन्बोहरू विभिन्न कुण्ड र पोखरी पुग्छन् । धेरैजसो टाढाको यात्रा गर्छन् । रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी लगायतका थलो चर्चित छन् ।


‘टाढा जान नभ्याउनेहरू नजिककै कुनै पोखरी या कुण्डमा पुग्छन्,’ उनले भने, ‘तामाङ समुदायमा साउन महिनाभरि देवीदेउता ढोका लाएर बसेका हुन्छन् भन्ने मत छ । गोने पूर्णिमाकै दिन भगवान्को ढोका खुल्ने भएकाले बोन्बोहरू नाच्दै कुण्डमा पुग्ने परम्परा बसेको हो ।’ यही दिन लामा र बोन्बोले आफ्नो चेलालाई ज्ञान बाँड्ने र चेलाले पनि यही दिन गुरु थापेर सिकाइ प्रक्रिया अघि बढाउने भएकाले यो तामाङ समुदायको सांस्कृतिक र परम्परागत ज्ञान दिवससमेत भएको उनले दाबी गरे ।


‘तामाङ समुदायमा ज्ञान सिक्न चिहान या मसानघाटमा गएर महिना दिनसम्म गुफा बस्ने परम्परा छ,’ उनले भने, ‘गोने पूर्णिमाकै दिन गुफाबाट निस्किेर आउँदा ज्ञान प्रभावकारी हुन्छ भन्ने मान्यता पनि छ ।’ बोन्बोहरू कुण्डबाट फर्किने बेला भने ठाउँठाउँमा छे (आशीर्वाद) थाप्नेहरूको भीड लाग्ने गर्छ । छे थाप्न आउनेहरूले बोन्बोलाई सगुन राख्छन् ।


बोन्बोले ढ्यांग्रो बजाएर नाच्दै मानिसको शिर छोएर छे हस्तान्तरण गर्ने चलन छ । यसरी नाच्ने बेला तन्नेरी तथा बालबालिकाहरूले बोन्बोलाई उत्साह दिन ‘सोई बोन्बो सोई...’ भन्दै गाउँछन् । गोने पर्वबारे मिडियामा खासै सामग्री नआउने भएकोले झाँक्रीहरू कुण्डमा जाने परम्परालाई धेरैले जनैपूर्णिमाकै अंश मान्ने भ्रम रहँदै आएको गोलेले बताए ।

‘यो प्रकृतिको पूजा गर्ने पर्व पनि हो,’ उनले भने, ‘यही दिनमा टिमुर लगायतका जडिबुटी संकलन गर्ने परम्परासमेत रहेको छ तामाङ समुदायमा ।’ चन्द्र पात्रोअनुसार मनाइने यो पर्व तामाङ समुदायको प्राकृतिक र तान्त्रिक उपचार पद्धतिसित पनि जोडिएको उनले दाबी गरे ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?