आलु खोस्रिन दुम्सी आयो, भाग्यो
कालिकोट — बजार झरेका बेला पुराना पत्रिका बटुल्छन् । घर लैजान्छन् । दुम्सीबाट आलु जोगाउन । नरहरिनाथ–८, लालुका किसान बिस्न विष्ट सदरमुकाम मान्म होस् वा अझ तल सुर्खेत गएको बेला कागज ल्याउँछन् ।
आलुबारी वरिपरि बिछ्याएर ढुंगाले च्याप्छन् । ‘राति कागज टल्किने भएकाले दुम्सी नजिक पर्दैन,’ उनी भन्छन् । उनले कागजको बार बनाउन थालेको ७ वर्ष भएको छ । कागजको बार लालु र रुप्सासहित धेरैजसो गाउँका किसानले लगाउने गरेका छन् । लालु र ठाटीकोटमा मात्र १३ घरले कागज बारेका छन् ।
‘किसानले सजिलो उपाय आफैँ लगाए,’ गाउँपालिकाका कृषि शाखा प्रमुख वीरबहादुर विश्वकर्मा भन्छन्, ‘दुम्सीलाई हानि नपुर्याई
आलु बचाउने यो विधि अन्यत्रका लागि अनुकरणीय छ ।’ गाउँमा दर्जनभन्दा बढी किसानले आलुखेती गरेका छन् । प्रतिघरधुरी ५ देखि १५ क्विन्टलसम्म आलु उत्पादन हुने गरेको छ । यहाँको आलु ३५ रुपैयाँ प्रतिकिलो गाउँमै बिक्री हुन्छ ।
स्थानीय स्रोतव्यक्ति कपुरे विष्टका अनुसार पहिले दुम्सी भगाउन राति बारीमै पाल हालीवरी आगो बालेर पहरा गर्नुपथ्र्याे । दुम्सीले आलु, मकै खाने हुँदा खाल्डो खनेर मार्ने, पासो हाल्ने, मान्छेको बुख्याचा बनाउने काम अब पुरानो भयो । लेकतिर वर्षे र बेसीतिर हिउँदे याममा आलु लगाउने चलन छ । गहुँको तुलनामा आलु उत्पादन धेरै हुने भएकाले किसानको आकर्षण बढ्दो छ ।
प्रकाशित : माघ ९, २०७५ ०७:४९