कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

हिमाल उक्लिँदै चितुवा

आनन्द गौतम

ताप्लेजुङ — कञ्चनजंघा क्षेत्रमा हिउँ चितुवा ५ हजार ८ सय मिटर उचाइसम्म पुगेको रेकर्ड भएको छ । यसअघिको अध्ययनमा ४५ सयदेखि ५ हजार मिटरसम्म विचरण गर्ने र ३ देखि ४ हजार मिटर उचाइसम्म मात्र बासस्थान बनाएको देखिन्थ्यो ।

हिमाल उक्लिँदै चितुवा

‘यति धेरै उचाइमा पुगेको यो पहिलो रेकर्ड हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सहायक इकोलोजिस्ट तथा कञ्चनजंघा संरक्षण क्षेत्रका पूर्वसंरक्षण अधिकृत हेमराज आचार्यले भने, ‘जलवायु परिवर्तनले तापक्रममा आएको परिवर्तनका कारण माथिमाथि चढ्न सम्भव भएको अनुमान गरिएको छ ।’ कञ्चनजंघा क्षेत्रका ४ वटा हिउँ चितुवालाई स्याटलाइट लगाइएको छ ।


विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा हिउँ चितुवाको विस्तृत अध्ययनका लागि ५ वर्षमा ४ स्याटलाइट लगाइएको हो । ‘नयाँ रेकर्डले वन्यजन्तुका लागि भूगोलको कुनै सीमारेखा हुँदैन भन्ने पनि पुष्टि गरेको छ,’ आचार्यले भने । कञ्चनजंघामै बासस्थान बनाएर बस्ने हिउँ चितुवा घुम्न चीन र भारतसम्म पुगेको उनले बताए ।


‘चीनको चोमोलोङमा कन्जरभेसन एरिया र भारतको सिक्किममा जाँदै फर्कंदै गरेको पाइयो,’ उनले भने, ‘यसले ट्रान्स बाउन्ड्री तोडेको छ र अब यसको संरक्षणमा तीनै देश लाग्नुपर्छ भन्ने सन्देश दिएको छ ।’ आचार्यका अनुसार हिउँ चितुवालाई हिमालकी रानी समेत भनिन्छ । यसको अध्ययनका लागि कोषले करोडौं रुपैयाँ खर्चिएको छ ।


‘हिउँ चितुवाले नेपाल, भारत र चीन तीनै देशमा बासस्थान बनाएको भनाइ आउजाउ मात्रै गरेको पाइएको छ,’ फक्तालुङ गाउँपालिका–६ लेलेप, घुन्साका डन्डु शेर्पाले भने ।


घुन्सा, याङमा र ओलाङचुङगोलामा हिउँ चितुवा उप–समिति छ । समितिहरूलाई स्थानीय साइटिसका रूपमा परिभाषित गरिन्छ । स्याटलाइट लगाउनेदेखि क्यामरा ट्रयाप थाप्नसम्म स्थानीयलाई प्रयोग गरिएको थियो । लेलेपको खम्बाछेन र ओलाङचुङगोलाको याङमा क्षेत्रका हिउँ चितुवालाई स्याटलाइट लगाइएको छ । कञ्चनजंघा क्षेत्रका चारवटा ब्लकलाई हिउँ चितुवाको बासस्थानका रूपमा लिइन्छ । याङमा, ओलाङचुङगोला, खम्बाछेन र याम्फुदिनमा ब्लक छुट्याइएको छ ।


याम्फुदिन सिरिजंगा गाउँपालिकामा पर्छ । बाँकी फक्तालुङ गाउँपालिकामा । कञ्चनजंघामा कम्तीमा ११ वटा हिउँ चितुवा रहेको अनुमान छ । स्याटलाइट लगाइएका हिउँ चितुवालाई ओमिखाङ्ग्री, घाङलुङ जस्ता नामकरण गरिएको छ । स्थानीय शेर्पा भाषामा नाम राखिएको हिउँ चितुवा संरक्षण समितिका पूर्वअध्यक्ष हिमाली चुङदाले बताए ।


‘कञ्चनजंघामा २ सय वर्षपछि साइबेरियाबाट चराहरू आएको रेकर्ड भयो,’ आचार्य भन्छन्, ‘यसले हिमाली क्षेत्रमा जीवजन्तुको उपस्थिति बढिरहेको देखाउँछ ।’ याङमाको छेर्तेम तालमा गत वर्ष चराको रेकर्ड भएको हो ।


हिउँ पर्ने क्रम घटेको र तापक्रम बढेकाले जीवजन्तु उकालो लागेको हुनसक्ने जलवायु विज्ञ मानबहादुर विकले बताए । ‘कतिपय ठाउँमा पुनरावृत्ति भएको छ, धेरै पहिला पाइएका र बीचमा हराएका जीवजन्तु देखिएका छन्,’ उनले भने, ‘कतै नयाँ पनि देखिएका छन् ।’

प्रकाशित : माघ २०, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?