९० वर्षमा तन्नेरी बन्दै गरेको आदर्श विद्यालयको कथा

जितेन्द्र साह

विराटनगर — ९० वर्ष पुरा गरेको सामुदायिक विद्यालय भनेपछि हत्तपत्त तपाईँको दिमागमा कस्तो कल्पना होला ? जीर्ण भवन, भत्केको पर्खाल, उप्किएको भित्ता, दुर्गन्धित शौचालय । उमेर ढल्केका शिक्षक, सोच पनि पुरानै ।  शिक्षक धेरै, विद्यार्थी थोरै । यसमा तपाईँको दोष छैन, हाम्रो मानसिकतामा परेको सामुदायिक विद्यालयको छाप यस्तै हो । 

विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय ।



Citizen

तर, विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयको अवस्था भने तपाईँको कल्पनाको भन्दा ठिक उल्टो छ। ९० वर्षको उमेर यो विद्यालयको अवस्था झनै तरुनो जस्तो बनेको छ। महानगरका विद्यार्थीको आकर्षण यो विद्यालयप्रति बढ्दै गएको छ।

प्रविधि मैत्री शिक्षा, आकर्षक भवन, सुरक्षाका लागि सीसीटीभी क्यामेरा, तालिम प्राप्त युवा विषय शिक्षकहरू, विशाल चौर, सुन्दर फुलबारी, पुस्तकालय, प्रयोगशाला तथा ताजा खाजा पाइने चमेना गृह भएको यो विद्यालयले पछिल्लो समय निजी विद्यालयका विद्यार्थी र अभिभावकलाईसमेत आकर्षित गर्न थालेको छ।

यसरी आकर्षित भएका मध्येका हुन्, सुनसरीको गढी गाउँपालिका–३ घर भएका छात्र अभि उराव। उनी अहिले कक्षा ८ मा पढ्छन्। साथीहरूले भनेको भन्दा पनि पढाई राम्रो पाएको उनी बताउँछन्। उरावका बाबु छविलाल सुनसरीकै दुहबी नगरपालिका–१०स्थित शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

‘सानैदेखि छोरा अभि कक्षामा उत्कृष्ट भइरहन्थ्यो, कक्षा–७ सम्म विराटनगरकै दुई ठुला विद्यालयमा पढ्यो,’ पिता छविलालले भने, ‘पछि छोराकै चाहनाअनुरुप कक्षा–८ मा सामुदायिक आदर्श विद्यालयमा भर्ना गराएँ।'

विराटनगरका स्थानीयको पहिलो प्राथमिकतामा यही विद्यालय पर्छ। सरस्वती टोलका व्यवसायी चेतनाथ खतिवडाको छोरा सचेतले आदर्शबाट एसईईमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण गरे भने छोरी सञ्चिता यही विद्यालयमा कक्षा–१० मा पढ्दै छिन्। उनी महानगरका कहलिएका महँगा निजी विद्यालयभन्दा छोराछोरीका लागि आदर्श विद्यालय नै सुहाउँदो र सहज भएको बताउँछन्।

एक बिघा १७ कट्ठा ३ धुर जग्गामा फैलिएको यो विद्यालयमा अहिले एक हजार ९ सय ३७ छात्रछात्रा छन्। राणा शासन विरुद्ध आन्दोलनको थालनी गर्ने स्वर्गीय कृष्णप्रसाद कोइरालाले केही विद्यार्थी भेला पारेर १९८६ मा यो विद्यालय स्थापना गरेका थिए।

पूर्वाञ्चलको १६ वटै जिल्लाका बालबालिका पढ्ने आदर्श विद्यालयले २८ माघमा ९० औँ वार्षिकोत्सव तथा अभिभावक भेला गर्‍यो। प्रधानाध्यापकदेखि शिक्षकसम्मले एकाबिहानदेखि साँझसम्म गर्ने कठिन मिहिनेतले यो विद्यालयको शैक्षिक वातावरणमा सुधार भएको सहायक प्रधानाध्यापक भगीरथ पोखरेलले बताउँछन्।

उनी एक दशक बढी समयदेखि उक्त विद्यालयमा कार्यरत छन्। पोखरेलले भने, ‘ठुलो फड्को मारेका छौँ, एक दशक अगाडि यो विद्यालयमा ५ सय विद्यार्थी पनि थिएन।’ स्तरीय पठनपाठनका कारणले अहिले विपन्नदेखि सम्पन्न परिवारसम्मका छोराछोरी एकै छानो मुनि पढिरहेको उनले बताए।

पूर्व विद्यार्थीहरू पनि बेला बेला विद्यालय घुम्न आउँछन्। ‘धेरै प्रगति भइसकेको पाएँ, म पढ्दा एउटा मात्र शौचालय थियो, अहिले भवनैपिच्छे शौचालय छ, बच्चाबच्चीका लागि शुद्ध पानीको प्रबन्ध छ,’ पूर्व विद्यार्थी ४५ वर्षीय दीपक कोइरालाले भने। उनी फुटबल प्रशिक्षक हुन्। उनले २०५२ मा यहीबाट एसएलसी उत्तीर्ण गरेका हुन्।

२४ वर्षीय प्रवेश दुलाल दुई वर्षदेखि यहाँ कम्प्युटर एवं विज्ञान विषय पढाउँछन्। यसअघि दुई वर्ष निजी विद्यालयमा पढाएका शिक्षक दुलाललाई यस विद्यालयको प्रविधि सुहाउँदो प्राविधिक वातावरण र शिक्षकशिक्षिकालाई दिइने प्रशिक्षणले निक्कै प्रभावित बनाएको छ।

‘कक्षामा प्रोजेक्टर भएकोले हामीलाई पढाउन निक्कै सहयोग पुगेको छ,’ उनी भन्छन्, ‘अर्को सुन्दर पक्ष यहाँको खुल्ला वातावरण पनि हो, दुई वर्ष बोर्डिङ पढाउँदा त्यो कहिल्यै महसुस गरिन।’

विद्यालयमा १० हजार ३ सय ८६ पुस्तकको पुस्तकालय छ। ६२ कम्प्युटर, ४६ ल्यापटप, स्मार्ट बोर्ड र गीत एवं कार्टुन चित्र मार्फत पढाउन ४३ बच्चाबुच्ची भएको शिशु कक्षामा ४० इन्चको एलसीडी टिभी छ।

प्राचार्य तुलसीप्रसाद दुलालका अनुसार बाल विकास कक्षा परिसरको पिङ र चिप्लेटीलाई सदैव दुरुस्त राखिन्छ। उनले कक्षा कोठाभित्र साना नानीहरूको आरामकोलागि गद्दा, खेलौना र शिक्षामूलक सिकाइका लागि टिभीको प्रबन्ध गरिएको बताए। ‘मुलुककै महँगा निजी विद्यालयका मन्टेश्वरीभन्दा हाम्रो शिशु कक्षाहरू कम छैन,’ दुलाल गर्वका साथ भन्छन्।

प्रारम्भिक बाल विकासदेखि १२ कक्षासम्म विज्ञान, कम्प्युटर, शिक्षा, व्यवस्थापन र ओभरसियरलगायतका विविध विषय पढाइ हुने यस विद्यालयका ५४ शिक्षकमध्ये आधा युवा उमेरका छन्। ५० वर्ष उमेर नाघेका ८, ४० देखि ५० वर्ष उमेर समूहका १६ जना र ४० मुनिका ३० शिक्षकशिक्षिक छन्।

सामाजिक अध्ययन एवं ग्रामीण विकास विषयका शिक्षक सन्तोष पोखरेलका अनुसार प्राचार्यको सक्रिय उपस्थितिले पनि विद्यार्थी एवं शिक्षकलाई प्रेरणा एवं ऊर्जा प्राप्त भइरहेको छ। ‘प्राचार्यलाई देखेर मलाई पनि घरमा बस्न मन लाग्दैन, बिहान ८ बजेदेखि साँझसम्म विद्यालयलाई दिन्छु,’ उनले भने। प्राचार्य दुलालले पुरा समय विद्यालयलाई दिन्छन्। ‘झिसमिसेमा विद्यालय आइपुग्ने हेडसर साँझपख घर फर्कँदा आफैले ४४ वटै कक्षाकोठाको झ्याल ढोका लगाइ पंखाबत्ती निभाउँछन्,’ शिक्षक पोखरेलले भने।

नेपाल सरकारले २०६४ सालमा दिएको ‘वरिपरि घुम्दै व्यवस्थापन ( म्यानेजमेन्ट बाय वाकिंग एराउन्ड/एमबीडब्लुए)’ सम्बन्धी एक महिने तालिमलाई व्यवहारमा अवलम्बन गरेको प्राचार्य दुलालले बताए। ‘यो प्रशिक्षणमा शैक्षिक प्रशासन कसरी चलाउने सिकेका थियौँ, अहिले शिक्षक मित्रसँग तालमेल गरी अघि बढ्न सहज भएको छ,’ उनले भने।
शिशु कक्षादेखि कक्षा १० सम्म सम्मिलित बिहान १० बजेको प्रार्थना सभामा समेत प्राचार्य दुलाल अनिवार्य उपस्थित हुन्छन्। सबै विद्यार्थी र शिक्षक शिक्षिका समयमै आए/नआएको अनुगमन गर्छन्। विद्यार्थीको पोसाक निरीक्षण गर्छन्, नलगाई आउने वास्तविक कारण बुझ्छन्। दयनीय आर्थिक अवस्थाले गर्दा पोसाक किन्न नसकेकालाई विद्यालयबाट निःशुल्क कपडा उपलब्ध गराउँछन्।

कुनै कारणवश कुनै शिक्षक आइपुगेका छैनन् भने खाली कक्षामा प्राचार्य दुलाल पढाउन पुग्छन्, गृहकार्य दिन्छन्। उनले कक्षा कोठाहरूको ढोकामै विद्यार्थीको सङ्ख्या उल्लेख गरी कक्षा शिक्षकको नाम र टेलिफोन भएको बोर्ड राखेका छन्। ‘तत्कालै सम्पर्क गर्नुपरेमा अभिभावकले शिक्षकलाई खोज्न जानै परेन,’ उनले भने, ‘बोर्ड हेरेर फोन गरे पुग्छ।’

विद्यालयको निजी स्रोतसाधनको अधिकतम उपयोग, सरकार र गैरसरकारी संस्थाको सहयोग एवं विद्यालयको खाता भएको एक बैङ्कको कल्याणकारी कोषको सहयोगले भौतिक सुधार गरिरहेको प्राचार्य दुलालले बताए। मोरङको दक्षिणपूर्वी धनपालथान गाउँपालिकाको १८ बिघा ३ धुर आफ्नै जग्गाबाट वार्षिक आयस्रोतको रूपमा विद्यालयलाई धान प्राप्त हुन्छ।

विज्ञान, व्यवस्थापन र शिक्षा संकायका सबै विषय बाहेक उक्त विद्यालयमा बिहानी पख ऐच्छिक कम्प्युटर, तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (डीकम), डिप्लोमा इन सिभिल इन्जिनियरिङ, १८ महिने प्राविधिक एसएलसीको पढाइ हुन्छ। निजी विद्यालयभन्दा आधाभन्दा कम शुल्कमा यहाँ प्राविधिक विषयको पढाइ हुन्छ। एसईई उत्तीर्ण भएकाको हकमा सहुलियत शुल्क एवं छात्रवृत्त्तिमा विद्यालयले प्राविधिक विषय पढाउने प्रबन्ध मिलाएको छ।

यो विद्यालयको वर्तमान मात्र होइन इतिहास पनि गर्व गर्न लायक छ। राणाकालको विषम परिस्थितिमा शैक्षिक चेतना र परिवर्तनकालागि पिताजी कृष्णप्रसाद कोइरालाले वसन्त पञ्चमीमा स्थापना गरेको यही विद्यालयले पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापालाई दिक्षत गर्‍यो। नगेन्द्रप्रसाद रिजाल, पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, डा. शेखर कोइराला, बैंकर प्रफुलकुमार काफ्ले र चर्चित चिकित्सक डा. भोला रिजाललगायतले पनि यही अध्ययन गरेका थिए।

प्रकाशित : माघ २९, २०७५ १४:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलात्कार आरोपित  वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत नवलपरासीले सोमबार कुमाललाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली दुईस्थित जंगलमा एक युवतीलाई करणी गरेको आरोपमा बैशाख ३० गते जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा उजुरी परेको थियो । युवती स्वयंले उजुरी दिएकी थिइन् ।
घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई नवलपरासीमा कारागार नभएका कारण जिल्ला कारागार चितवन चलान गरिएको छ ।

घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै मुद्दा चलाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

वडा अध्यक्षलाई बलात्कार आरोपमा नियन्त्रणमा लिइएको यो पहिलो घटना भएको प्रहरीको दाबि छ ।

प्रकाशित : माघ २९, २०७५ १४:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT