कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेसा बन्दै रुचि

सोखका रुपमा सुरू गरेको काम कालान्तरमा धेरै युवाको मुख्य आर्थिक स्रोत बनेको छ ।
शिल्पा कर्ण

काठमाडौँ — समय फेरिन्छ, समयसँगै धेरै कुरा फेरिन्छ । समाजका पात पहेंलिन्छन् र झर्छन् । तिनै झरेका पातको जगबाट पलाउँछन्, नयाँ पुस्ता, नयाँ रुचि र नयाँ पेसा । दुई दशकअघिसम्म पेसा बनाएर आय आर्जन गर्न सकिन्छ भनेर नसोचेका कामलाई अहिले पेसाका रूपमा अँगालेर अगाडि बढ्ने जमात ठूलो छ । सोखका रूपमा सुरु गरेको काम कालान्तरमा धेरै युवाको मुख्य आर्थिक स्रोत बनेको छ । 

पेसा बन्दै रुचि

केही वर्षअघिसम्म पुरुषले चिया पकाउँथे । कहिलेकाहीं खाजा र खाना । घरमा बाध्यतावश भान्सा छिर्ने त्यो समूहबारे तथ्यांक छैन । अहिले धेरै ठूला होटलका भान्सामा पुरुष ‘सेफ’ छन् । ठूला होटलमा भान्सा र खाना तयारी गर्ने जिम्मेवारी पुरुष ‘सेफ’ कै छ । सोखले छिर्ने गरेका केही युवक पाँचतारे होटलको किचेनसम्म पुगेका छन् । उनीहरूकै बाहुल्य छ ।


‘पहिले अलिअलि खाना पकाउन रुचि थियो,’ काभ्रे घर भएका २१ वर्षीय प्रकाश श्रेष्ठ भन्छन्, ‘प्लस टुमा होटल म्यानेजमेन्ट पढेँ । इन्टर्नसिप गर्न गएको होटलमा जागिर पाएपछि समय अभावले यही विषयमा स्नातक गर्न भने सकिनँ ।’ दरबारमार्गस्थित होटलमा हेल्परका रूपमा छिरेका उनी अहिले ‘असिस्टेन्ट सेफ’ छन् । राति १० देखि बिहान ६ बजेसम्म भान्सामा काम गर्छन् । उनी व्यवस्थापन विषयमा स्नातक पनि गर्दै छन् । विदेश जाने सोच पालेका छन् । यहाँ पाएको सीपले विदेशमा साथ दिने उनको विश्वास छ ।


श्रेष्ठले काम गर्ने होटलको भान्सामा समयसमयमा प्रशिक्षार्थी महिला सेफ तथा वेटर आउँछन् । थोरै संख्यामा मात्र उनीभन्दा वरिष्ठ तथा पुराना महिला सेफ भान्सामा छन् । होटल म्यानेजमेन्ट पढ्नेहरू अधिकांश विदेशमा ‘इन्टर्नसिप’ गर्न जान्छन् । धेरैजसोले यहीँ फर्केर काम गरिरहेको उनको भनाइ छ । ‘धेरै साथीले यही विषयमा स्नातक गरे । तर, यो पेसामा प्रमाणपत्रभन्दा अनुभवले अघि बढ्न मद्दत गर्ने रहेछ,’ श्रेष्ठले भने । परिवार र साथीभाइको हौसला र सहयोगले पेसाबाट सन्तुष्ट छन् उनी । नेपालमा इन्टरनेटको तीव्र विकास पछिल्लो दशकमा भएको हो । इन्टरनेटले मान्छेलाई विश्वसँग परिचित गरायो, धेरै नयाँ अवधारणा र व्यवसायलाई पनि यसले भित्र्यायो । इन्टरनेटमाथि सहज पहुँच र यसको उपयोगले धेरै व्यवसायलाई अनलाइन बनायो । थुप्रै सेवा प्रदायकले इन्टरनेट मार्फत आफ्ना व्यवसाय तथा उत्पादनको प्रचारप्रसार गरे । यसले नयाँ अनलाइन व्यवसाय पनि उदायो । अहिले ‘अनलाइन सपिङ’ सामान्य भइसकेको छ । यसबाहेकका विभिन्न ‘वेब बेस्ड’ व्यवसाय सञ्चालन हुन थालेका छन् ।


जनकपुरका २८ वर्षीय मृगेन्द्र कर्णले यस्तै नवीन सोचलाई लिएर अनलाइन लन्ड्री अर्थात् लुगा धुने व्यवसाय सञ्चालन गरेका छन् । २०७४ भदौमा १० लाख रुपैयाँ लगानीमा शान्तिनगरमा उनले व्यवसाय थालेका थिए । अहिले उनी मासिक साढे ५ लाख हाराहारीमा नाफा गरिरहेका छन् । ‘हामी तौलका आधारमा शुल्क लिन्छौं । कपडा ल्याए र पुर्‍याएबापत शुल्क लिँदैनौं,’ कर्णले भने । यहाँ धेरैले मेसिन प्रयोग गरेर ड्राई क्लिनिङ भन्दै व्यवसाय गरिरहेका छन् । काठमाडौंमा व्यवसाय गर्नुअघि उनले धेरै समय रिसर्चमा बिताएका थिए ।


वासमान्डु नेपाल नामक कम्पनी दर्ता गरिसकेपछि उनले व्यवसाय थालेका हुन् । पुँजी १० लाख रुपैयाँ थियो, एउटा घरमा प्रयोग गरिने वासिङ मेसिन र कपडा ल्याउन भनी एउटा मोटरसाइकल । यसैको भरमा खडा भएको वासमान्डुकै नाफाले उनले थप स्रोत साधन जुटाइसकेका छन् उनले । ‘अहिले लुगा धुन प्रयोग हुने ठूलो वासिङ मेसिन एउटा, घरमा प्रयोग हऽने दऽईवटा, लऽगा सुकाउने ड्रायर दुईवटा, एउटा डेलिभरी भ्यान र दुई मोटरसाइकल छन् । माग भएका स्थान पुग्ने, लुगा ल्याउने र धोएका कपडा सुकाएर दिने जिम्मेवारीमा यी सबै उपकरण प्रयोग हुन्छन्,’ कर्णले भने ।


दिल्लीमा चार्टर्ड एकाउन्टेन्ट बन्न पुगेका उनी ५ वर्षपछि फर्किए । उनी कुनै व्यवसाय गर्न चाहन्थे । नवीन अवधारणा खोज्न र योजना बुन्न थाले । त्यही क्रममा लुगा धुने आइडिया फुरेको हो । परिवारका सबैको साथले आफू सफल बनेको उनले बताए ।


उनलाई सुरुमा ग्राहक खोज्न कठिन भएको थियो । अहिले भ्याइनभ्याइ छ । दैनिक डेढ सय किलोभन्दा बढी लुगा धुन अर्डर आउँछ । ‘हामी लुगा ल्याउन, धुन भ्याउँदैनौं । अर्को दिनका लागि सार्नुपर्छ,’ उनले भने । फेसबुकमा गरिएको प्रचार उनलाई पर्याप्त भएको छ । कार्यालयमा ठूलो बोर्डसमेत राखिएको छैन । ‘घरमै बस्ने महिलालाई पनि यसमा सहभागी गराएर व्यवसाय विस्तार गर्ने सोच छ । अध्ययन गर्दै छौं । घर बसीबसी काम गर्ने गरी महिलालाई रोजगारी दिने पक्षमा छौं,’ कर्णले भने ।


अनलाइनबाटै कला बेचेर पैसा कमाउने अर्को साधन बेनको छ, युट्युब । गीत गाउने, नाच्ने मात्र होइन विभिन्न जानकारीमूलक भिडियो अपलोड गरेर भ्युअर्स अर्थात् हेर्नेको संख्याका आधारमा कमाउनेको संख्या दिनानुदिन बढ्दो छ । युट्युबको नेपालमा सुरुआतदेखि भिडियो बनाई अपलोड गर्नेको संख्या धेरै पुगिसक्यो । युवामा युट्युबप्रति तीव्र आकर्षण छ । चाहे त्यो नृत्य गर्ने समूह ‘भीमफेदी गाइज’ होस् वा ‘कार्टुन क्रु’ ।


नृत्य समुह कार्टुन क्रुले १० लाख सब्सक्राइबर्स अर्थात् उनीहरूका च्यानलबाट अपलोड हुने भिडियो हेर्न खोज्ने जमात पाइसकेको छ । विदेशबाट फर्केर आएका मकवानपुरे युवाको समूह ‘भीमफेदी गाइज’ पनि युट्युबमा चर्चित छ । यो समूहले दुई लाख ३० हजारभन्दा बढी सब्सक्राइबर कमाइसकेको छ । दुवै समूहले चल्तीका गीतका ‘कभर भिडियो’ बनाएर अपलोड गर्ने गरेका छन् । यस्ता नृत्य र गीत युट्युबमा अपलोड गर्नेको संख्या बढ्दो छ । गिरीश खतिवडा, स्वप्न सुमनजस्ता कलाकारहरूलाई युट्युबले नै चर्चित बनायो । अन्य थुप्रै विषयमा जानकारीमूलक भिडियो अपलोड गरेर त्यसैबाट कमाउनेको संख्या बढ्दो छ ।


उमेरले १७ वर्ष पुगेकी अमिता गुरुङ अहिले टिकटक (पहिले म्युजिकल्ली) मा भिडियो बनाउँछिन् । प्लस टु पढ्दै गरेकी उनी प्राय: कमेडी खालका भिडियो बनाउँछिन् । उनी रुचाइएकी ‘म्युजर’ हुन् । ‘उनको पढाइ बिग्रिन्छ भनेर सामाजिक सञ्जाल चलाउन दिएका थिएनौं,’ उनका पिता अमृत गऽरुङले भने, ‘उनको नाममा युट्युबमा थुप्रै भिडियो रहेछन्, हामीले पछि थाहा पायौं । उनकै नामबाट अरूले उनका टिकटक भिडियो कलेक्सन युट्युबमा अपलोड गरेर थुप्रै भ्युज पाएका रहेछन् । अब उनले आफ्नो युट्युब एकाउन्ट पनि खोलेकी छन् ।’ यसैबाट कमाउन सक्ने भए झनै राम्रो हुने गुरुङले बताए ।


केही वर्षअघिसम्म ग्राफिक डिजाइनिङ मान्छेको रुचि थियो । सिकेका निकै कम थिए । अहिले यसैलाई पेसा बनाउने युवा थुप्रै छन् । यस्तैमध्येका एक हुन् २६ वर्षीय सन्दीप बल । सूर्यविनायकका उनको शैक्षिक पृष्ठभूमि कम्प्युटर इन्जिनियरिङ हो । उनले तीन साथीसहित मिलेर बालकुमारीमा आफ्नै संस्था खोलेका छन् । उनले दुई वर्ष अरूको कम्पनीमा काम गरे । त्यतिबेला २५–३० हजार रुपैयाँ मासिक तलब बुझ्ने गर्थे । तीन वर्षअघि आफैं अफिस खोलेर उनले काम गरिरहेका छन् । ग्राफिक्स डिजाइनिङ सिक्ने हुटहुटीले उनलाई युट्युबसम्म पुर्‍यायो । आधारभूत कुरा त्यहीँबाट सिके । बाँकी आफूसँगै काम गर्ने अनुभवीबाट सिके ।


‘यहाँ वेब डिजाइनिङदेखि अनलाइन विज्ञापन डिजाइनिङ, म्यागजिन बनाउनेलगायतका सबै काम हुन्छ । अहिलेसम्म राम्रै कन्ट्रयाक्ट र प्रोजेक्ट पाएका छौं,’ उनले भने । आफ्ना पितापुर्खाले गरेको कामबाट छुट्टिएर नयाँ काम गर्ने चाहना हरेक पुस्तामा हुन्छ । समाजशास्त्रीहरू यसलाई समाज विकाससँग जोड्छन् ।


एकताका सहरका हरेक कुनामा फोटो स्टुडियो हुन्थे । त्यसको संख्या अहिले घट्दो छ । पासपोर्ट र नागरिकताका लागि फोटो खिचाउन मानिस स्टुडियो पुग्छन् । पारिवारिक फोटोको जिम्मा डिजिटल क्यामेरा त्यो पनि मोबाइलले लिइसकेको छ । केही युवा भने विवाहको मात्रै फोटो खिच्ने व्यवसायमा छन् । सम्पूर्ण मानन्धर कुनै बेला नेपालमा चल्तीका फोटो पत्रकार थिए । प्राविधिक ब्याकग्राउन्डबाट आएका उनी फोटोग्राफीका ठूलो सोखिन थिए । पछि उनले यही सोखलाई व्यवसायमा बदले । ठूलो मिडिया हाउसको फोटो पत्रकारका रूपमा काम गरिरहेकै बेला उनले सुरु गरे, फोटो पसल– वेडिङ फोटोग्राफी ।


अहिले सम्पूर्ण अमेरिकामा छन् । उनले अमेरिकामै फोटो पसल चलाइरहेका छन् । काठमाडौंको कम्पनी पनि चलिरहेको छ । ठूला विवाह समारोहमा फोटो पसलको ज्याकेट लगाएर फोटो खिचिरहेका युवा देखिन्छन् । सम्पूर्ण अमेरिकामा रहेका नेपाली समुदायले पनि आफ्नो काममा चासो दिइरहेको बताए । ‘म अमेरिकामा पनि त्यही क्यामेराकै काम गरिरहेको छु,’ उनले भने ।

प्रकाशित : फाल्गुन ७, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?