कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिम्मतिला महिला

नारी दिवस
मधु शाही, अमृता अनमोल

बाँके/बुटवल — नेपालगन्ज, धम्बोजीकी चन्द्रकला उप्रेतीको मनमा डर पटक्कै छैन । ६७ वर्षीया उनका दुःखका आँसु समयसँगै सुकिसके । अब उनीसँग विश्वास र लगनशीलतामाक्रै बाँकी छ । १० वर्षे जनयुद्धका त्रममा राज्यपक्षबाट जीवनसाथी बेपत्ता पारिए । स–साना नानीहरू र घरपरिवारको जिम्मेवारी उनको काँधमा आयो ।

हिम्मतिला महिला

श्रीमान् बेपत्ता भएपछि आफैंले रोजगारको बाटो खोज्नुबाहेक विकल्प रहेन । सुरुमा उनले घरमै बसेर आलु चिप्स र दालमोटलगायत बनाएर बेच्न थालिन् । तर, ३ सन्तान पढाउन यति कमाइले पुगेन ।

उनी सहकारीमा बचत गर्नतिर लागिन् । ज्योतिकुञ्ज महिला सहकारीमा बचतकर्ताका रूपमा सक्रिय भइन् । दैनिक बचत गरेर उनले छोरीलाई स्टाफ नर्स बनाएकी छन् । ‘छोरीले जागिर गर्न थालेपछि सहारा पाएकी छु,’ उनले भनिन्, ‘तर, श्रीमान् अझै आउँछन् कि भन्ने आशा मरेको छैन ।’

बेपत्ता श्रीमान्को पहिचानको खोजीमा उनको संघर्ष अझै जारी छ । न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्षसमेत रहेकी उनीलगायत थुप्रै एकल महिला राज्यसँग लडिरहेका छन् । राज्यसँग उनीहरूको एउटै माग छ, ‘कि लास देऊ, कि सास ।’ श्रीमान्ले बीचैमा छाडेको अधुरो सपना पूरा गर्न उनी एक्लै संघर्षरत छिन् । यद्यपि, उनको गुनासो भाग्यभन्दा सरकारसँग छ । घरको जिम्मेवारीसँगै राज्यसँग लडिरहेकी चन्द्रकलाले भनिन्, ‘माग पूरा नहुँदासम्म पछि हड्दिनँ, लडिरहन्छु ।’

कोहलपुर–१२ की ४५ वर्षीया कौशिल्या श्रेष्ठ पनि द्वन्द्वकालमा माओवादी पक्षबाट श्रीमान् बेपत्ता पारिएको बताउँछिन् । घरमै सुतिरहेका बेला माओवादीले लिएर गएको उनले सम्झिइन् । ‘कहिले आउँछन् भन्दै बाटो हेरिरहें, अहिलेसम्म आएनन्,’ उनले भावुक हुँदै भनिन्, ‘आसै आसमा उमेर ढल्किसक्यो ।’

कौशिल्याको एकल कथा अझै चोटिलो छ । पितृसत्तात्मक समाजमा उनी एक्लै भएकीले धेरै पीडा, विभेद र हिंसा खेप्नुपरेको छ । ६ र ७ वर्षका दुई छोरीलाई हुर्काउनु उनको ठूलो जिम्मेवारी थियो । सीप केही थिएन । पढ्न र लेख्न आउँदैन । जानेको सीप भनेकै घरमा भात पकाउनु थियो । ज्याला मजदुरी गरेर केही वर्ष छोरी पढाइन्, तर बिरामी हुँदा घरमा चुल्हो बल्दैनथ्यो । त्यसपछि उनले होटल व्यवसाय गर्न थालिन् । ३/४ वर्ष होटल चलाउँदा उनले एकल महिला भएकै कारण विभिन्न हिंसा खेप्नुपरेको बताइन्। ‘बोक्सी भन्दै होटलमा पिट्नसमेत आए,’ उनले भनिन्, ‘लोग्नेमान्छेसँग त बोल्नै नहुने, नराम्रो सोचिहाल्ने ।’

कसैले केही भने रुने र सहने बानी थियो उनको । समाजको कठोर व्यवहारले उनलाई निडर बनाउँदैछ । आफ्नै कमाइले एकतले घर बनाएकी उनले त्यहीं अर्को सानो छाप्रो हालेर होटल चलाएकी छन् । ‘होटल चलाएरै छोरी पालेकी छु,’ उनले भनिन्, ‘दुःखसँग डराएर होइन, लडेर सफलता पाइन्छ ।’

बर्दियाकी ५१ वर्षीया भीमसरा खाँडले फुटपाथमा फलफूल व्यापार गरेर श्रीमान्को उपचार गरिरहेकी छन् । ५ वर्षदेखि मिर्गौलाका बिरामी श्रीमान्लाई मासिक ६ हजार रुपैयाँ खर्च जुटाउनुपर्छ । उनी एक्लै संघर्ष गर्छिन् । फलफूल बेचेरै छोराछोरी हुर्काएकी उनले अहिले श्रीमान् बचाउन पनि यही व्यापार गरिरहेको बताइन् । भएको जग्गा–जमिन सबै उपचारमा बेचेको उनले सुनाइन् । अब उनीसँग सम्पत्तिका नाममा बास र गाँस जुटाउने आधार फलफूल व्यापार हो । ‘देख्दा सामान्य देखिन्छ, फलफूलमा जस्तो फाइदा केहीमा छैन,’ आफ्नो कर्मप्रति सन्तुष्ट हुँदै भनिन्, ‘तर, काम गर्दा लाज भने पटक्कै मान्नुहुन्न ।’


अटोरिक्सा चलाउँदै जयरूपा चौलागाइँ । तस्बिर : मधु/कान्तिपुर


कोहलपुर–२ की गौरीदेवी शर्माको कथा पनि उस्तै छ । २० वर्षअघि श्रीमान् घर छाडेर कहाँ गए, अहिलेसम्म उनले पत्तो पाएकी छैनन् । सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा पोतेले पति जीवितै भएको विश्वासमा उनी बाँचेकी छन् । ‘जीवनभर साथ दिन्छु भन्नेले बाटैमा थाहा नदिई छोड्लान् भन्ने कल्पनासमेत गरेकी थिइनँ,’ उनले भनिन्, ‘सिउँदोको सिन्दुर पुछ्न पनि सकेकी छैन ।’ गौरीको मनमा एउटै कुरा खड्किएको छ । श्रीमान्ले भन्दै नभनी किन घर छाडेर गए भन्ने कौतुहल छ । ‘सायद केही गल्ती भयो कि ?’ गौरीले भनिन्, ‘जवाफै नपाई मर्छु कि भन्ने डर छ ।’

फुटपाथमै फलफूल व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी उनी छोरीलाई बीबीएस पढाउन सक्षम भएकी छन् । छोराछोरीले जागिर नखाँदासम्म उनले ठेलामै व्यापार गरेर घर धान्ने बताइन् । ३८ वर्षीया जयरूपा चौलागाइँले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ।

छोराछोरी आफैंले पाल्ने निधो गरिन् । हातमा सीप केही थिएन । होटलमा भाँडा माझेर केही वर्ष गुजारा गरिन् । अर्काको मजदुरी गर्नुभन्दा आफ्नै पौरखमा आम्दानी गर्ने उनको सोच आयो । ५ वर्षअघि अटोरिक्सा चलाउने महिला विरलै भेटिन्थे । उनले पुरुषहरूको माझमा एक्लै अटो चलाउने आँट गरिन् । ‘महिलाले रिक्सा चलाउने भन्दै हाँस्थे,’ उनले विगत सम्झँदै भनिन्, ‘मैले काम गरिरहेँ । अरू जागिर खोज्नै परेको छैन ।’

जयरूपाले अटोरिक्सावाली बनेर सम्मानका साथ परिवार पालेकी छन् । उनको हिम्मत देखेर सिको गर्ने अरू महिला बढ्दै गएका छन् । ‘एकल महिला कहिल्यै कमजोर हुँदैनन्,’ उनले भनिन्, ‘कमजोर छ त हाम्रो समाजको सोच ।’

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?