कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एल्बममा बाबा

परराष्ट्र भन्छ– विदेशमा बेपत्ताहरूको तथ्यांकै छैन 
देवेन्द्र भट्टराई

काठमाडौँ — सिन्धुपाल्चोकको थुम्पाखर, लप्से गाउँमा जन्मेहुर्केकी रमिला सुनार अहिले १० वर्षकी भइन् । कतै भेटेपिच्छे उनका साथीभाइ आ–आफ्ना आमाबाका बारे अनेक कुरा गरिरहन्छन् । अनि रमिला झिक्छिन्, स्कुले किताबभित्र च्यापेर ल्याएको एल्बमको एउटा पाना जहाँ उनका बाबा आमा र दुई दिदीसँग छन् ।

एल्बममा बाबा

रमिलाले आफ्ना बुबालाई फोटोबाहेक कतै देख्न पाएकी छैनन् । न स्वरै सुनेकी छिन् । उनी ३ महिनाकी छँदै परदेश गएका बाबु नवराज अझै फर्केका छैनन् । रमिलाका दुई दिदी रविना र सविनालाई भने बाबुको अनुहार धूमिल सम्झना छ । बोली पनि सम्झिरहेकै छन् ।


‘कान्छी छोरी त काखैमा थिई । माइली र जेठी भने स्कुल जान थालेका थिए,’ तीन छोरीकी आमा कल्पना सुनारले बह पोखिन्, ‘श्रीमान् कतार गएको यत्तिका वर्ष भइसक्यो । न फर्केर आए, न जिउज्यानकै टुंगो भयो ।’ लप्से गाउँमा माइतीको भरथेगमा ३ छोरी छाडेर काठमाडौंमा रोजीरोटी गर्न आएकी कल्पना दिनहुँ ४/५ वटा घरमा धाएर कतै घरधन्दा त कतै सरसफाइको काम गर्छिन् ।


मुस्किलले महिनाको २० हजार रुपैयाँ कमाइ हुन्छ । ‘छोरीहरूलाई पढाउने, लुगाफाटा किनिदिने, खानपिन गराउने खर्च जुटाउनैपर्‍यो,’ ३६ वर्षिया कल्पनाले सुनाइन्, ‘फेरि आफ्नै एउटै भाइ मृगौलापीडित छ, डाइलासिसका लागि भक्तपुर धाउनुपर्छ । यो मुस्किलको घडीमा श्रीमान् भने बेपत्ता छन् । खोजेर पनि भेटेकी छैन ।’


लप्से गाउँमै जन्मेहुर्केकी कल्पना सुनारले गाउँकै प्राथमिक स्कुलमा कक्षा ३ सम्ममात्रै पढ्न पाइन् । घाँसदाउरा र घरधन्दा गरेरै उनको बाल्यकाल बित्यो । ‘पल्लो गाउँ पलाँती, ओख्रेनीमा बाआमाले म १६ वर्ष नलाग्दै बिहा गरिदिए,’ उनले भनिन्, ‘अनि माइती घर छँदाको संघर्ष श्रीमानको घरतिर सर्‍यो । लगालग दुई छोरी भइहाले, अरू केही सोच्नै नपाई घरधन्दामै व्यस्त भइहालें ।’ घरमै सानो कुटानीपिसानी मिल चलाएर बसिरहेका नवराजलाई साथीभाइको कुरा सुनेर विदेश जाने रहर जाग्यो । दुई छोरी जन्मिएपछि मलेसिया गएका उनी झन्डै ३ वर्षमा फर्केर आए । केही पैसा पनि ल्याए ।


रहँदाबस्दा कान्छी छोरी पनि जन्मिई । फेरि विदेश जाने लहड चलेर २०६६ सालको सुरुवातमै कतारतिर हिँडेका उनी कहिलेकाहीँ फोन गर्थे । ‘झन्डै एक वर्षसम्म फोनमा कुराकानी भइरहन्थ्यो,’ कल्पना सम्झन्छिन्, ‘कम्पनी खराब पर्‍यो, तलबै दिँदैन भनिरहनुहुन्थ्यो । कतार गएको एक वर्षमा ३० हजार रुपैयाँजति पठाउनुभएको थियो । त्यसपछि फोन सम्पर्क पनि हरायो । मान्छे पनि हराउनुभो ।’


आफ्ना लागि सिंगो संसार भनेकै माइती लप्से र घर पलाँती बनाएकी कल्पनाले सदरमुकाम चौतारासम्म पनि आउन पाएकी थिइनन् । काठमाडौं त कल्पनाकै कुरा भयो । श्रीमान् सम्पर्कहीन भएपछि जेठाजुको सहयोगमा काठमाडौंमा परराष्ट्र मन्त्रालयसम्म आएर र महाराजगन्जको एउट म्यानपावर कम्पनीमा पुगेर खोजी गरिदिन निवेदन दिएकी थिइन् । ‘आफूसँग श्रीमानको एउटा फोटोबाहेक केही थिएन । धन्न, नागरिकतामा पासपोर्ट लिएको नम्बर लेखिएको रहेछ,’ उनले सम्झिइन्, ‘त्यसैका भरमा खोजी गरियो । कतारमा श्रीमान् नरहेको भन्ने खबर आयो तर पुष्टि कहिल्यै भएन ।’


छोरीहरू हुर्कंदै थिए । खर्च पनि बढदै गयो । त्यहीबीच सासूससुरा दुवैको क्यान्सरका कारण निधन भयो । ‘अब के गर्ने ? अरू उपाय भएन । अनि नातामा भिनाजु पर्नेले कुवेतबाट घरेलु काम गर्ने गरी भिसा पठाइदिनुभयो,’ कल्पनाले सुनाइन्, ‘हुर्किरहेका र पढिरहेका छोरीहरूको अनुहार सम्झेर पनि २०७० सालमा म कुवेत गएँ । धन्न, राम्रो घर र घरेलु काम थियो । महिनाको तलब ३० हजार रुपैयाँजति थियो ।’ त्यहाँबाट कमाएको पैसाले छोरीहरूको लुगाफाटो, पढाइ, खानपिनको खर्च जुटाउन र भाइको उपचारमा सहयोग पुगिरहेकै थियो ।


तर, २०७२ सालको भुइँचालोपछि माइती र घर दुवैतर्फ क्षति पुगेको खबर कल्पनाले पाइन् । छोरीहरूले फोनमै रुँदै ‘आमा घर आउनु’ भनेको सुनेर उनी फर्किइन् । ‘कुवेत भन्ने देश कस्तो थियो, मैले थाहा पाइनँ,’ उनी सम्झिन्छिन्, ‘ठूलो पर्खालले घेरिएको घर थियो । भित्रै घरधन्दा गर्‍यो, समय बितायो । उही कुवेत जाँदा र आउँदा भने ठूलो प्लेनमा आइजाइ गरें, नेपाल र कुवेतका एयरपोर्टहरू देखें ।’


कल्पनाकी जेठी छोरी रविना अहिले १० कक्षामा पढछिन्, पाटीडाँडाको हाइस्कुलमा । माइली सविना ८ कक्षा पुगिन् । कान्छी रमिला रातमाटेको प्रावि स्कुलमा कक्षा ५ मा पढछिन् । सरकारी स्कुलको शिक्षा निःशुल्क भनिए पनि अनेक शीर्षकमा खर्च धान्नुपरेको कल्पनाको अनुभव छ ।


‘छोरीहरूले हाम्रो बा खोज्नुपर्‍यो भनिरहन्छन् । यस्तो खोजी गर्न मसँग जोगाड पैसा छैन, चिनेका मान्छे पनि छैनन् । त्यही भएर अब भने धामीझाँक्रीकहाँ जान थालेकी छु,’ शनिबार बिहान पाटनढोकमा भेटिएकी कल्पनाले नवराजको उही धूमिल तस्बिर देखाउँदै भनिन्, ‘उनीहरू अनेक कुरा गर्छन् । खोइ, के पत्याउने के नपत्याउने ?’


बाबु नभएको र छोरीहरूलाई स्कुल पढ्नै समस्या हुने अवस्थामा कल्पनाले हजुरबाको नामबाट छोरीहरूको जन्मदर्ता भने गराएकी छन् । उनी अहिले फुर्सदमा सिलाइबुनाइ पनि सिक्न थालेकी छन् । काठमाडौं बसे पनि भूकम्पले भत्केको घर बनाउन सिन्धुपाल्चोक धाइरहनुपर्छ । फेरि सरकारले दिएको सहयोग खारेज होला भन्ने डर छ ।


तथ्यांक छैन : परराष्ट्र

परराष्ट्र मन्त्रालयको कन्सुलर महाशाखाका महानिर्देशक गेहेन्द्र राजभण्डारीका अनुसार विभिन्न देशमा पुगेर हराएका नागरिकको खोजीसहितको प्रक्रियामा अहिलेसम्म नियमित कामकारबाही जारी रहे पनि तथ्यांकगत अभिलेख राखिएको छैन ।


‘मलेसिया, बहराइनको हकमा पारिवारिक वा अन्य कारणले आफैं सम्पर्कहीन बन्न चाहेका कामदार पनि भेटिएका छन्,’ राजभण्डारीले भने, ‘केही भने कागजातहीन रहेको अवस्था र यही कारण जरिवाना शुल्कका कारण पनि डरत्रासले सम्पर्कहीन बनेका छन् ।’ नवराजको केसमा राहदानी, भिसा, तत्कालीन कम्पनीको स्थितिबारे विस्तृत जानकारी पाउन सके थप खोजअनुसन्धान हुन सक्ने महानिर्देशक राजभण्डारीले बताए ।


कल्पना भने आफूसँग श्रीमान् कतार उड्ने बेलाको नागरिकता (पासपोर्ट नम्बर) बाहेक कुनै कागजात नरहेकाले परराष्ट्रका कर्मचारीले आफूलाई फिर्ता पठाएको सुनाइन् ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?