यसरी जाेड्छन् रथ

३२ हात लामो हुन्छ रथ । चुकुल राखेर रथ ठड्याउने काम भइसकेको छ, यसलाई बेतको चोयाले कस्ने काम भइरहेको छ 
दामोदर न्यौपाने

काठमाडौँ — जमलको तीनधारा संस्कृत छात्रावास अगाडि सडक छेउमा रातो रिबनले बारेर सानो ठाउँ बनाइएको छ । त्यही घेराभित्र निर्माण भइरहेको छ सेतो मत्स्येन्द्रनाथको रथ । निर्माणको अगुवाइ गरिरहेका छन् ६५ वर्षीय पूर्ण महर्जन । नेवार समुदायभित्रको ज्यापू (कृषक) समुदायको जिम्मामा पर्छ रथ बनाउने काम । 


चैत शुक्ल अष्टमीको दिनमा तानिन्छ रथ । रथ तान्नु ८ दिन पहिलादेखि कस्न सुरु हुन्छ । ३२ हात लामो हुन्छ रथ । चुकुल राखेर रथ ठड्याउने काम भइसकेको छ । अब यसलाई बेतको चोयाले कस्ने काम भइरहेको छ । काठैकाठले बनाइन्छ रथ ।

सेतो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थापन समितिका अध्यक्ष नीलकाजी शाक्यका अनुसार ३६ हातभित्र ९ तला बनाइन्छन् । रथ निर्माण अनुगमन समितिका संयोजक सत्यनारायण डंगोलका अनुसार हरेक तलाको अर्थ छ । एक तला ४ हातको हुनुपर्छ । ‘यो परम्परागत शैलीको उचाइ हो,’ डंगोल भन्छन्, ‘हरेक तलाको सम्बन्ध ब्रह्माण्डसँग छ । तन्त्रविधिअनुसार तला निर्माण गरिन्छ ।’

हरेक तलामा फरकफरक काठ हुन्छन् । रथका हरेक तला फरकफरक साइजका हुन्छन् । सबैभन्दा तल ठूलो कोठा हुन्छ । त्योभन्दा माथि हरेक तला घटदै जान्छ । घटाउँदै घटाउँदै लगेर टुप्पो सानो बनाइएको हुन्छ । टुप्पोमा कसिएको हुन्छ । सबै तलालाई काठको चुकुलले जोडदै लगिन्छ । डंगोलका अनुसार रबरजस्तै तन्काउन मिल्ने गरी बनाइन्छ रथ । ‘नट बोल्ट जोडिँदैन,’ डंगोल भन्छन्, ‘चुकुलले जोडिन्छ । यसो गर्दा लचकलचक गर्छ ।’ नफुस्कियोस् भनेर तल्लो तला र माथिल्लो तला बेतको चोयाले बाँधेर जोडिन्छ । ‘पोटुका बेरे जसरी बाँधिन्छ,’ डंगोल भन्छन्, ‘यसो गर्दा जतापट्टि ढल्काउनुपर्ने हो, त्यता ढल्काउन सजिलो हुन्छ ।’

अष्टमीको दिन जमलबाट तान्न सुरु हुन्छ । जमलबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । यो वर्ष राति १० बजे राष्ट्रपति विद्या भण्डारीले दर्शन गर्ने कार्यक्रम छ । भोलिपल्ट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै कालभैरव अगाडि राखिन्छ । तेस्रो दिन कालभैरवबाट मरुगणेश, जैशीदेवल, जनवहाल हुँदै लगन लगिन्छ ।

लगनमा मत्स्येन्द्रनाथकी आमा भएको विश्वास गरिन्छ । त्यहाँ तीन पटक घुमाइन्छ । लगनमा जात्रा सकिएको भोलिपल्ट विशेष पूजा गरेर रथबाट मत्स्येन्द्रनाथलाई निकालिन्छ । त्यहाँबाट सानो खटमा राखेरर जनवहालको कनक चैत्य महाबिहारमा लगिन्छ । त्यहाँ बिहारको बीचमा नलगी छेउमै राखिन्छ । भोलिपल्ट स्वस्तिशान्ति, होम गरेपछि पहिलाकै ठाउँमा विराजमान गराइन्छ । रथमा राख्न पनि महाबिहारबाट सानो खटमा पुजारीले बोकेर जमल लैजान्छन् ।

रथयात्रा गर्ने बाटा साँघुरा र अप्ठेरा छन् । त्यही भएर कोही बेला यसलाई ढल्काउनुपर्छ । ‘धेरै ढल्कियो भने लड्छ फेरि,’ डंगोल भन्छन्, ‘रथ तान्नेले ब्स्तीबाट यता पस्दा, उता पस्दा ढल्काउँछन् । त्यति बेला रथ लचकलचक गर्ने गरी बनाइएको हुन्छ ।’ रथको पांग्रा बनाउने काठ पनि फरक हुन्छन् ।

पांग्रा बनाउने प्रविधि पनि विशेष हुन्छ । यसलाई पनि काठका चुकुलले ठाउँठाउँ कसेर बनाइन्छ । केही वर्ष यता बलियो बनाउन बाहिरी भागमा फलामसमेत ढाक्ने गरिएको छ । शाक्यका अनुसार पांग्रा भैरवका प्रतीक हुन् । रथ तान्नुअघि पांग्रामा बलि दिने चलन चलन हराएको शाक्यले बताए । चार पांग्राभन्दा अगाडि घमा हुन्छ । यो लामो समाउन मिल्ने खालको हुन्छ । यसलाई नागराजा भन्छन् । ‘घमामा भैरवको मुकुट राखिन्छ,’ नीलकाजी भन्छन्, ‘घमाको काम गर्ने अलग्गै समुदायका हुन्छन् ।’

रथ बनाउन नेवार समुदायका बेग्लाबेग्लै जातिबीच कामको बाँडफाँड गरिएको हुन्छ । मानन्धर समुदायले देउतामाथि बस्ने चाँदीको इँला राख्छ । मुख्य गेटमा टुँडाल राख्ने काम पनि मानन्धरले नै गर्छन् । चित्रकारले रथको पांग्रामा चित्र कोर्न काम गर्छन् । रथमा आँखाको चित्र बनाइन्छ । डंगोलका अनुसार आँखालाई नागको प्रतीकका रूपमा लिइन्छ । कंसाकारले रथ तान्ने बेलामा बाजागाजा बजाउँछन् । पूजा गर्ने काम शाक्यले गर्छन् ।

मुख्य भूमिकाचाहिँ ज्यापू समुदायको हुने डंगोल बताउँछन् । ज्यापू समुदायभित्रका ३२ टोल नै सहभागी हुन्थे रथ बनाउन । अहिले ८ टोल मात्रै सहभागी हुने गरेको उनी बताउँछन् । लिच्छविकालमा विकसित भएका बस्ती कोलिग्राम र दक्षिण कोलिग्रामभित्रका बस्तीको सहभागी हुन्छ यसमा । कोलिग्रामभित्र असन, इन्द्रचोकलगायत माथिल्लो बस्ती पर्छन् ।

दक्षिण कोलिग्राममा मरुटोल, जैसीदेवल, लगनलगायत टोल पर्छन् । कोलिग्राम र दक्षिण कोलिग्रामलाई जोड्ने पर्वको रूपमा पनि लिइन्छ मत्स्येन्द्रनाथ रथयात्रा । नेपाल भाषामा तल्लो टोललाई क्वोने र माथिल्लो टोललाई थँने भन्छन् । ‘थँनेले रथ बनाउने काम छाड्यो,’ डंगोल भन्छन्, ‘तल्लो टोलको पनि नेपाल भाषामा माथिका टोलले छाडिसके । क्वोनेको पनि इटुबहालका ज्यापू समुदाय मात्र सहभागी छन् । योपालि रथ बनाउन इटुबहालका २५ जना खटिएका छन् ।’

मत्स्येन्द्रनाथको उत्पत्तिको कथा पनि किसान समुदायसँगै जोडिएको छ । किसानले जमलमा खेत खन्दा सेतो मत्स्येन्द्रनाथको मूर्ति भेटको विश्वास छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संस्कृतिविद्को नालीबेली

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशी अर्को महिना सय वर्ष टेक्दै छन् । यी वाङ्मय शताब्दीपुरुषको जीवनको नालीबेली खोतल्दै अनिल पौडेलले ‘जुरेली दर्शन’ नामक अनुसन्धानात्मक कृति लेखेका छन् ।

दुई वर्ष लगाएर तयार पारिएको कृति सांस्कृतिक संस्थानले प्रकाशन गरेको छ । ‘जिउँदो सम्पदालाई पुस्तकमा सुरक्षित पार्ने कोसिस गरेको हुँ,’ लेखक पौडेलले भने, ‘सकेसम्म उहाँको नजिक पुगेर पुस्तकलाई तथ्यपरक बनाएको छु ।’

एउटा चराको कर्मबाट प्रभावित बनेका जोशी अन्ततः कसरी ३/३ पटक मदन पुरस्कार पाउने व्यक्तित्व बने ? संस्कृतिविद् बने ? नाटककार बने ? जस्ता सन्दर्भलाई पुस्तकले खोजी गरेको छ । लामो समय चीनमा कलाकार अरनिकोमाथि गरेको अनुसन्धानदेखि सिञ्जालाई प्रकाशमा ल्याउन जोशीले गरेको कामसम्म पुस्तकमा छन् ।

जोशी सांस्कृतिक संस्थानका परिकल्पनाकारपनि हुन् । पुस्तकमा ‘को हुन् सत्यमोहन जोशी ?’, ‘९७ वर्षेका कुरा’, ‘चिनारीका आयाम’, ‘नेपाल दर्शनको कथा’, ‘अरनिकोको खोजी’, ‘संस्कृतिविद् बनाउने सिञ्जा’, ‘साधनाका शिखर’, ‘जुरेली दर्शन’ लगायतका आलेखमार्फत जोशीको योगदान प्रकाश पारिएको छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT