कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दै शिक्षाको केन्द्र

विनोद भण्डारी

 
प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो समय विद्यालय र उच्च शिक्षाका लागि प्रशस्त विकल्प उपलब्ध हुन थालेका छन्  । दशकयता गुणस्तरीय शिक्षा अध्ययनका लागि विदेशिने क्रमलाई यहाँका शिक्षण संस्थाले रोक्दै आएका छन्  ।

बन्दै शिक्षाको केन्द्र

पहिला यहाँका विद्यार्थी चिकित्सक र इन्जिनियरिङ अध्ययन गर्न भारतलगायत मुलुक पुग्थे । अहिले भारत, बंगलादेश, माल्दिभ्सका विद्यार्थी विराटनगरतर्फ आकर्षित बन्न थालेका छन् ।


महोत्तरीका सतिशकुमार यादव दशकअघि बीएस्सी रेडियोग्राफी अध्ययनका लागि भारतको बैंग्लोर जान बाध्य भए । त्यसबेला उक्त विषय अध्ययन गर्न स्थानीयस्तरमा सहज थिएन । पछिल्लो समय उनका भाइ मनीषले एमबीबीएस अध्ययन गर्न भारत पस्नुपरेन । उनी पूर्वाञ्चलकै मेडिकल कलेजमा सहज भर्ना भए । विराटनगरमा २ मेडिकल कलेज सञ्चालनमा छन् । पूर्वाञ्चल विश्वविद्यालयले पनि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरी स्वदेशी र विदेशी विद्यार्थी आकर्षित गर्दै आएको छ । एसईई र प्लस टुसम्म यहाँका निजी विद्यालयले स्थानीय विद्यार्थीलाई पनि बाहिरिनबाट रोकेका छन् ।


सीमित शैक्षिक कार्यक्रम र शिक्षण संस्था सञ्चालन हुँदा दशकअघिसम्म डाक्टर, इन्जिनियरसहित उच्च शिक्षा अध्ययन गर्न पूर्वाञ्चलबाट हरेक वर्ष सयौं विद्यार्थी छिमेकी मुलुक भारत पुग्नुपर्ने बाध्यता थियो । पछिल्लो समय मुलुक बहुविश्वविद्यालय प्रणालीमा गएपछि त्यो क्रम रोकिएको छ ।पहिला सीमित शैक्षिक कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीका लागि छनोट गर्ने विषय नै हुँदैन थियो । ‘त्यसैले उच्च शिक्षा अध्ययनका लागि विदेशिनुको विकल्प थिएन,’ प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले भने, ‘अहिले विराटनगरमा त्यो अवस्था छैन ।’


हिसान मोरङका अध्यक्ष राजेश कार्कीले डाक्टर, इन्जिनियर र अन्य प्राविधिक विषय अध्ययनका लागि अब पूर्वाञ्चलका विद्यार्थी बाहिर जानुपर्ने बाध्यता हटेको बताए । पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा बीएस्सी एग्रिकल्चर शैक्षिक कार्यक्रम सुरु गरेको छ । एमए फर्मा, एनपीएच, इन्जिनियरिङमा स्नातकोत्तर र व्यवस्थापनमा एमएस शैक्षिक कार्यक्रम ल्याएको छ । त्यसैगरी इन्जिनियरिङ संकायमा पूर्वमा ३ कलेज छन् । विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङले सिभिल, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ स्नातक कार्यक्रम सञ्चालन गरेको छ । यो कलेजले इन्जिनियरिङको स्नातकोत्तर संकाय पनि सञ्चालन गर्ने तयारी गरेको प्रिन्सिपल अमित सुरानाको भनाइ छ । यसबाहेक पूर्वाञ्चल विश्वविद्यालयको पुसेट र पूर्वाञ्चल इन्स्टिच्युट अफ इन्जिनियरिङ धरानले बीसीए, बीआईटी, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन कार्यक्रम सञ्चालन गरेका छन् ।


यहाँ २ सरकारी क्याम्पससहित दुई दर्जन बढी उच्च मावि छन् । ती उच्च माविले व्यवस्थापन, विज्ञान, शिक्षा, पत्रकारिता, होटल म्यानेजमेन्ट पढाउँछन् । स्नातक तहमा बीबीएस, बीबीए, बीसीए, बीआईटी, बीएस्सी सीएचआईटी, ब्याचलर इन फुड टेक्नोलोजी र बीएचएमलगायत विषयको पढाइ हुन्छ । स्नातकोत्तरतर्फ यहाँका करिब दुई दर्जन कलेजले एमएस्सी, एमबीएस, एमएडसहित बोटानी, जुलोजी, केमेस्ट्री, फिजिक्स, समाजशास्त्र, ग्रामीण विकास, अर्थशास्त्र र अंग्रेजीलगायतका विषयको पढाइ हुन्छ । विगतका वर्षमा विराटनगर र आसपासका क्षेत्रबाट मात्र बर्सेनि सरदर २ हजार बढी बालबालिका माध्यमिक तहको पढाइका लागि भारत जाने गरेकामा पछिल्लो समय घटेको अध्यक्ष पुरीको बुझाइ छ । स्कुल तहमा मात्र नभई उच्च शिक्षा अध्ययनका लागि पूर्वाञ्चलबाट बाहिर जाने क्रम रोकिएको छ । पुरीले भने सीमावर्ती भारतीय बालबालिका अहिले नेपाली कलेज र स्कुलमा भर्ना हुने क्रम बढेको छ ।


विद्यालयस्तरमा ८ वर्ष अघिदेखि र उच्च शिक्षा तहमा ५ वर्षदेखि पूर्वाञ्चलले मुलुकको ध्यान खिच्न थालेको हो । २०६५ मा यहाँको सगरमाथा बोर्डिङ स्कुल मुलुककै उत्कृष्ट घोषित भएपछि यहाँ शिक्षा क्षेत्रका सबैको आँखा पर्न थालेको हो । उक्त स्कुल २०६३ र २०६८ मा पूर्वाञ्चल उत्कृष्ट पनि भयो । २०६५ कै एसएलसीमा बीकेभीएमका राकेश गिरी बोर्ड फर्स्ट भएका थिए । लगत्तै यहाँको एभरेस्ट बोर्डिङ स्कुल मुलुककै उत्कृष्ट बन्यो ।उच्च शिक्षातर्फ बीबीएसको नतिजामा यहाँको मेरिल्यान्ड कलेजका किञ्जल पोखरेल, एमबीएसतर्फ स्नातकोत्तर कलेजकी दीपिका दुगड र विज्ञान संकायमा यहाँकै शिक्षादीप कलेजका डेनिश गौतमले स्वर्ण पदक थापेपछि यहाँका शिक्षण संस्थामा विद्यार्थी–अभिभावकको आकर्षण बढेको हिसानका अध्यक्ष कार्कीको भनाइ छ । उनका अनुसार शिक्षादीप, अरनिको, मेरिल्यान्ड र एभरेस्टलगायत उच्च माविले विज्ञान, व्यवस्थापन संकायमा पटक–पटक उत्कृष्ट नतिजा ल्याएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?