अघि बढ्ने बेला

सुदीप कैनी

एसईईपछि धेरै विद्यार्थी अभिभावकलाई कक्षा १० सम्म र त्यसपछिको कक्षा ११–१२ को अध्ययनबीचको फरक छुट्टाउन सकस पर्छ  ।

उच्चशिक्षाको तयारीसँगै स्वरोजगार र रोजगारीमा जान चाहनेहरूका लागि कक्षा ११ र १२ को पढाइ निर्णायक खुड्किलो मानिन्छ । कक्षा ८ देखि १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाको रूपमा लिइएको छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) पछि यसको दायरा अझ फराकिलो हुन्छ । उच्चशिक्षाको तयारीको मुख्य धरातल पनि कक्षा ११ र १२ को पढाइ नै हो । सरकारले माध्यमिक शिक्षा पूरा गरेपछि मुलुकलाई चाहिने प्रारम्भिक स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । साधारण र प्राविधिक धारतर्फको अध्ययनबाट त्यस्ता जनशक्ति तयार हुने अपेक्षा गरिन्छ ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा ११ र १२ अध्ययन/अध्यापन गराइने विद्यालय देशभर करिब ३ हजार ५ सय छन् । तीमध्ये करिब २ हजार ७ सय सामुदायिक विद्यालय र १ हजारभन्दा बढी निजी विद्यालय छन् । प्रत्येक वर्ष करिब ५ लाख विद्यार्थी उक्त तहमा अध्ययन गर्छन् । विश्वविद्यालयहरूमा प्रमाणपत्र तहको खारेजीसँगै उच्च माध्यमिक शिक्षा परिषद् मार्फत ‘प्लस टु’ को अवधारणा ल्याइएको थियो । शिक्षा ऐनले कक्षा ११–१२ लाई विद्यालय शिक्षामा रूपान्तरित गरेपछि संरचना बदल्ने काम भइरहेको छ । यी कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिन थालेको छ । पाठ्यक्रम पनि विद्यालय शिक्षासँग जोडेर तयार पार्न लागिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक लेखनाथ पौडेलले जानकारी दिए । आगामी वर्षदेखि नयाँ पाठ्यक्रममा जाने तयारी छ । यस पटक भने पुरानै संकाय प्रणाली (विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन) का विषयमा भर्ना भएर विद्यार्थीले अध्ययन गर्न सक्छन् । साधारण धारतर्फ संकाय प्रणाली र प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक धारतर्फ डिप्लो तहको पठनपाठन हुन्छ । प्राविधिक धारतर्फ डिप्लो तहको पढाइ गर्ने विद्यार्थीले पनि कक्षा १२ बराबरको समकक्षता पाउने व्यवस्था छ ।


सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित गरिसकेको छ । आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निःशुल्क हुने प्रावधान ऐनमा छ । तर शिक्षा क्षेत्रको अपर्याप्त बजेटका कारण प्रावधानअनुसार निःशुल्क व्यवहारमा कार्यान्वन हुन सकेको छैन । निजी शिक्षण संस्थाहरूले विद्यार्थीबाट शुल्क उठाउँछन् नै शिक्षक अभावका कारण सामुदायिक विद्यालयहरूले पनि चन्दा, शुल्क र सहयोगका नाममा पनि विद्यार्थी अभिभावकबाट शुल्क लिइन्छ । त्यसो त माध्यमिक शिक्षाको अवस्था उत्साहजनक छैनन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार कक्षा १ मा भर्ना भएका मध्ये ८४ प्रतिशत विद्यार्थीले कक्षा १२ पूरा गर्दैनन् । माथिल्लो तहहरूमा कक्षा छोड्ने, दोहोर्‍याउने र अनुत्तीर्ण हुने दर क्रमशः बढ्दो छ । कक्षा १० सम्मको टिकाउ दर ५७ प्रतिशत छ भने कक्षा १२ मा पुग्दा उक्त दर घटेर १७.२ पुग्छ । १२ कक्षाको उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम रहेको छ । विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीमध्ये करिब ८० प्रतिशत साधारण शिक्षामा जाने गर्छन् ।


तीन तहका (संघ, प्रदेश र स्थानीय) सरकारबीच पनि माध्यमिक शिक्षाको अधिकारसम्बन्धी विवाद छ । माध्यमिक शिक्षासम्मको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ । ती विद्यालयहरूको व्यवस्थापन स्थानीय तह मातहत हुन थालेको छ । तर क्षेत्राधिकार बाँडफाँड टुंगो लाग्न सकेको छैन । संघीय सरकारले जारी गर्ने शिक्षा नीति र ऐनले यी विषयको टुङ्गो लगाउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ । कक्षा १० सम्म सीमित विषय पढेर आएका विद्यार्थी संकाय प्रणाली र त्यसभित्र पनि थरीथरी ऐच्छिक विषयले अलमलमा पर्ने गरेका छन् । विद्यालय सञ्चालकहरूका अनुसार विज्ञान संकाय पढ्ने विद्यार्थीको रुचि विगतमा भन्दा घटबढ भएको छैन ।राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयले एसईईको नतिजाको आधारमा कक्षा ११ मा भर्ना हुने मापदण्ड तोकेका छन् । गत वर्ष कक्षा ११ मा भर्ना भएकी सिमाना बस्नेतलाई भर्ना हुने आधार थाहा नहुँदा विषय र शिक्षण संस्था छनोट गर्न नै मुस्किल परेको थियो । जब उनले भर्ना मापदण्ड थाहा पाइन त्यसपछि सहज बनेको उनले सुनाइन् ।


सामान्यतया एसईईमा कम्तीमा १.६ जीपीए ल्याएका विद्यार्थी कक्षा ११ भर्ना हुन पाउँछन् । उनीहरूले मानविकी, शिक्षा र व्यवस्थापन संकाय पढ्न पाउँछन् । विज्ञान संकाय पढ्न २.० जीपीए ल्याएको हुनुपर्छ । तर विज्ञान पढ्नका लागि कक्षा १० को अनिवार्य विज्ञान र गणित विषयमा ‘सी प्लस’ ग्रेड ल्याएकै हुनुपर्छ । साथसाथै अंग्रेजी, सामाजिक र नेपालीमा ‘डी प्लस’ ल्याएको हुनुपर्छ । व्यावसायिक विषयतर्फ १.६ जीपीए ल्याए इलेक्ट्रिकल, कम्प्युटर र सिभिल इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । १.६ जीपीए ल्याउने विद्यार्थीले कतिपय विषयमा ‘डी प्लस’ ल्याए मात्र व्यवस्थापन, मानविकी र शिक्षा समूहमा तोकिएको विषय रोज्न पाउने प्रावधान छ । विज्ञानमा जस्तै व्यवस्थापन संकाय अध्ययन गर्न अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयमा ‘डी प्लस’ ल्याउनुपर्छ । मानविकी संकाय भर्ना हुन नेपाली, अंग्रेजी र सामाजिक विषयमा भने कम्तीमा ‘डी प्लस’ आएकै हुनुपर्छ । त्यस्तै शिक्षा संकाय अध्ययन गर्न पनि यी विषयमा कम्तीमा ‘डी प्लस’ ल्याएको हुनुपर्छ । कक्षा ११ मा विद्यार्थीहरू भर्ना हुने आधार गत वर्षकै अनुसार लागू हुने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : असार १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्

उद्यमी बन्न व्यवस्थापन

जीवनमा सफल हुन ज्ञान, धन, जन, समय र वस्तुको कुशल प्रयोग गर्न सक्नुपर्छ । त्यो क्षमता व्यवस्थापनबाट सिक्न सकिन्छ ।
यज्ञ बञ्जाडे

 उद्यमी बन्न चाहनुहुन्छ भने व्यवस्थापन तपाईंका लागि उपयुक्त विषय हो  । कक्षा ११ र १२ अध्ययन, अध्यापन हुनेमध्ये व्यवस्थापन त्यस्तो विषय हो, जसले जागिर मात्र होइन उद्यमी बन्नका लागि पनि आवश्यक ज्ञान दिन्छ  ।

यसको अर्थ व्यवस्थापनबाहेक विषय अध्ययन गरेको व्यक्ति उद्यमी हुन सक्दैन भन्ने होइन । अन्य विषय अध्ययनको तुलनामा व्यवस्थापन विषयमा उद्यमी बन्न चाहिने धेरै शिक्षा (गुण) पाइनेचाहिँ पक्कै हो ।


धन, जन र वस्तुको कुशल प्रयोग गरी सन्तोषजनक सफलता प्राप्त गर्ने उद्देश्यतर्फ उन्मुख गराउने विषय व्यवस्थापन हो । यसले कुनै पनि विषयमा पूर्वानुमान गर्न, योजना बनाउन, संगठन, आदेश, समन्वयजस्ता मुख्य कार्यहरू गर्न सिकाउँछ । व्यवस्थापन तीन एम— म्यान, मनी र मेसिन (थ्री एम) को व्यवस्थापन मेसिन हो । सही समयमा ती तीन कुरा व्यवस्थापन गर्न जानेमा मानिस जुनसुकै काममा पनि सफल हुन्छ ।
मानिसभित्र सीप, कला, क्षमता, सोच, उत्प्रेरणा, मनोबल, दृष्टिकोण, रचनात्मकता आदि हुन्छ । भौतिक साधनभित्र मेसिन, उपकरण, प्रक्रिया, पद्धति, क्रियाकलाप आदि हुन्छ । यस्तै, वित्तीय साधनभित्र पुँजी, स्रोत, मुद्रा पर्छन् । यी सम्पूर्ण तत्त्वलाई एकीकृत गरी संगठनको लक्ष्य प्राप्तिमा उन्नमुख गराउने काम व्यवस्थापनले गर्छ ।


यसको अर्थ व्यवस्थापन व्यवस्थापन न्यूनतम स्रोत साधन र प्रयासबाट अधिकतम नतिजा प्राप्त गर्ने कला व्यवस्थापन हो । मानिसजस्तो जटिल प्राणीलाई युक्तिपूर्ण ढंगले काममा लगाउने शिक्षा दिने विषय व्यवस्थापन हो । यसकारण व्यवस्थापन विषयको अध्ययन पछि रोजगारीका लागि मात्र नभएर स्वरोजगारीका लागि पनि व्यवस्थापनबाट धेरै ज्ञान पाउन सकिन्छ । व्यवस्थापनमा अंग्रेजी, नेपालीसँगै अर्थशास्त्र, व्यवस्थापकीय सिद्धान्त, होटल व्यवस्थापन, कम्प्युटर, ट्राफल्स् एन्ड टुरिजम्सलगयात विभिन्न विषय पढन पाइन्छ । यहाँ सैद्धान्तिकभन्दा व्यावहारिक (प्रयोगात्मक) अभ्यास धेरै हुन्छ । यसकारण विद्यार्थीले अध्ययनको दैरानमा धेरै प्रयोगात्मक कुरा सिक्न सक्छन् । यसकारण पनि पछिल्ला वर्षमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरहरूमा व्यवस्थापन विषयमा विद्यार्थीको आकर्षण बढेको पाइन्छ ।


व्यवस्थापन पढेको विद्यार्थीका लागि व्यवसाय उत्तम क्षेत्र हो । बैंक तथा वित्तीय संस्था, बिमा मात्र होइन, कर्पोरेट र सरकारी क्षेत्रमा काम गर्न चाहनेका लागि पनि व्यवस्थापन विषय राम्रो मानिन्छ । ती कम्पनीले कर्मचारी भर्ना गर्दा पहिलो प्राथमिकता व्यवस्थापन (एमबीए, बीबीए, एमबीएस, बीबीएस) पास गरेका विद्यार्थीलाई नै दिने भएकाले जागिरको सम्भावना बढी देखिएको हो । व्यवस्थापन पढेका विद्यार्थीमा विषयगत ज्ञानका साथै नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता निकै बढी हुने भएकाले काम लगाउन सजिलो हुने बैंकरहरू बताउँछन् । व्यवस्थापन वाणिज्य, व्यवसाय र बिमासँग सम्बन्धित विषय भएकाले बैक तथा वित्तीय संस्थामा बढी उपयोगी हुन्छन् । बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी हुने खालको पाठ्यक्रम र इन्टनसिपमा आधारित शिक्षा हुने भएकाले प्रयोगात्मक ज्ञान बढी हुने उनीहरूको भनाइ छ । व्यवस्थापन पढेका विद्यार्थी जोसिलो, कामलाई सम्मान गर्ने, काममा एकाग्रता, जिम्मेवारी राम्रोसँग बहन गर्नेलगायत गुण विद्यार्थीमा पाइन्छ । उनीहरूमा सैद्धान्तिकसँगै कार्यदक्षता धेरै राम्रो हुन्छ ।


पछिल्ला वर्षहरूमा व्यवस्थापनमा विश्वव्यापी रूपमै आकर्षण देखिएको सीजी एजुकेसनका एकेडेमिक हेड भूषण गुरुङले बताए । व्यवस्थापन विषय आफैंले उद्यमी विकास गर्ने नभए पनि उद्यमशीलातका लागि आवश्यक ज्ञान दिने उनको भनाइ छ । बिमा कम्पनीहरूका लागि व्यवस्थापन अध्ययन गरेका विद्यार्थी नै बढी उपयोगी हुने बताइएको छ । व्यवस्थापन परेका विद्यार्थीहरूको वाणिज्य र व्यवसायसम्बन्धी जानकारी, कार्यपत्र प्रस्तुतीकरण र क्षमता प्रदर्शन राम्रो हुन्छ । तुलनात्मक रूपमा यी विषय अध्ययन गरेका विद्यार्थीमा नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता बढी गुरुङको धारणा छ ।


पछिल्लो समय बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा व्यवस्थापन पढेका विद्यार्थीको माग धेरै बढेको व्यवस्थापन विषयका कलेज सञ्चालकहरू बताउँछन् । एमबीएमा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा पनि दिइन्छ । व्यवस्थापनका धेरैजसो विषयमा ५० देखि ६० प्रतिशत पाठ्यक्रम प्रयोगात्मक हुन्छ । यसकारण व्यवस्थापन अध्ययन गरेका विद्यार्थीमा दैनिक कामकाज सञ्चालन, क्रेडिट व्यवस्थापन र वित्तीय व्यवस्थापनको राम्रो ज्ञान हुने उनीहरूको ट्रिटन कलेजका व्यवस्थापन विभाग संयोजक कमानसिंह आरसीले बताए । ‘पाठयक्रम नै बढी व्यावहारिक र प्रयोगात्मक हुने भएकाले विद्यार्थीको एटिच्युड र लिडरसिप विकास राम्रो हुने’ उनको भनाइ छ ।


व्यवस्थापन विषयको प्रमुख उद्देश्य नै व्यवस्थापक उत्पादन गर्ने भएकाले नेतृत्व विकास र व्यवहार विकासमा जोड दिइने आरसीको भनाइ छ । यसकारण वित्तीय संस्था, बिमालगायत सेवाप्रदायक कम्पनीका लागि बढी उपयोगी हुने उनले बताए । व्यवस्थापन अध्ययन गरेका जनशक्तिको माग बैंक तथा वित्तीय क्षेत्रमा मात्र नभएर कर्पोरेट क्षेत्रमा पनि रहेको उद्योगी व्यवसायी बताउँछन् । विषयगत ज्ञान भएका विद्यार्थीलाई सोही विषयसँग सम्बन्धित काम दिदाँ ‘पर्फमेन्स’ राम्रो हुने भएकाले वित्तीय व्यवस्थापन, मार्केटिङलगायत काममा व्यवस्थापन अध्ययन गरेका श्रमशक्ति बढी उपयोगी हुने उनीहरूको धारणा छ । नेपालमा व्यवस्थापन विषयलाई बैंकिङ क्षेत्रसँगै जोडेर हेर्ने गरिए पनि अन्तर्राष्ट्रिय अभ्यास त्यस्तो नभएको नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले बताए । ‘बैंकिङ क्षेत्र रकेट साइन्सजस्तो पनि होइन, व्यवस्थापन पढेकाले मात्र गर्नुपर्ने,’ उनले भने, ‘रुचि र चाहना भएका तर अरू विषय पढेकाले यो क्षेत्रमा काम गर्न सक्छन् ।’


जीवनमा सफल हुन ज्ञान, धन, जन, समय र वस्तुको कुशल प्रयोग गर्न सक्नुपर्छ । त्यो क्षमता व्यवस्थापनबाट सिक्न सकिन्छ ।

प्रकाशित : असार १८, २०७६ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्