नयाँ ऐनमा एकीकृत पाठ्यक्रम

कान्तिपुर संवाददाता

भर्खरै एसईईको नतिजा आयो कस्तो रह्यो ?नतिजाको समीक्षा जनचासोको विषय हो  । हामी नीति निर्माण तहमा रहेकाले मात्र समीक्षा गरेर पुग्दैन  ।

पहिलेको विद्यालय शिक्षाको अन्तिम विन्दु भएकाले यसको चासो बढी छ । निश्चित जीपीए/ग्रेड पूरा गरेपछि मात्रै ११ कक्षा भर्ना हुन पाइने भएकाले पनि महत्त्व छ । विज्ञान पढ्ने विद्यार्थीका लागि ग्रेडिङ प्रणालीले प्रवेशद्वार झनै कडाइ रहेको छ । गुणस्तर बढ्यो कि घट्यो भन्ने मात्र ठूलो कुरा होइन । समग्रमा प्रयोगात्मक नम्बर दिने विषय बढेकाले पनि ग्रेड बढेको देखिन्छ । गुणस्तर वृद्धि गर्ने प्रक्रिया जारी छ । त्यसलाई अंकमा मात्र हेरेर हुँदैन ।


शिक्षा ऐन बन्दै छ । यसमा विद्यालय शिक्षालाई कसरी समेटिन्छ ?
२०२८ सालको शिक्षा ऐनलाई नवौं पटक संशोधन गरेर अहिलेसम्म चलिरहेको छ । विद्यमान शिक्षा ऐनको संशोधन र एकीकरण गर्ने विधेयक अहिले प्रस्ताव गरिएको हो । विद्यालय शिक्षासँग जोडिएको अनुमति व्यवस्थापन, पाठ्यक्रम, परीक्षालगायतका कुराहरूको प्रबन्ध रहन्छ । छात्रवृत्ति ऐन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐनलाई पनि एकीकरण गर्न लागिएको हो । समग्र विद्यालय शिक्षालाई समेट्न लागिएको छ । मन्त्रालयले गृहकार्य गरी रहेको छ ।


कक्षा ११ र १२ लाई कसरी लगिन्छ ?
आठौं संशोधनले नै कक्षा १२ सम्म विद्यालय तह कायम गरेको हो । व्यवहारमा कार्यान्वयन भइसकेको छैन । अन्योलजस्तो भएको छ । परीक्षा बार्डबाट परीक्षा लिन थालिएको छ । पाठ्यक्रमलाई पनि विद्यालय तहसँग जोड्न बाँकी छ । अहिलेको पाठ्यक्रम विश्वविद्यालयको प्रमाणपत्र तहको पाठ्यक्रमसँग जोडिएको छ । संकाय प्रणाली कायमै छ । अहिले रूपान्तरण गर्न खोजेको एकल पथको पाठ्यक्रम हो । केही अनिवार्य र ऐच्छिक विषय बनाएर लैजान खोजिएको छ । कक्षा ११ र १२ उच्चशिक्षाको तयारी कक्षा पनि हो । विद्यालय र उच्चशिक्षाको सन्तुलन मिलाएर पाठ्यक्रम आउँछ । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम प्रारूप तयार भइसकेको छ । विद्यालय शिक्षाको अन्तिम विन्दु भएकाले कक्षा १२ मा राष्ट्रिय परीक्षा हुन्छ । कक्षा १० को परीक्षा प्रदेशमा र १२ को राष्ट्रिय स्तरमा गर्ने प्रस्ताव गरिएको छ ।


नयाँ पाठ्यक्रमको कार्यान्वयनचाहिँ कहिलेबाट हुन्छ ?
कार्यान्वयनमा अलि ढिलाइ हुँदै गएको छ । हरेक १० वर्षमा पाठ्यक्रम परिवर्तन गर्ने प्रचलन चल्दै आएको थियो । कक्षा १ मा यसपालिबाट नयाँ पाठयक्रम हुनुपर्ने हो तर हुन सकेन । यसपालि विद्यालयमा नमुना परीक्षण भइरहेको छ । एकीकृत पाठ्यक्रममा जाने भएकाले केही ढिला भएको हो । आउने वर्षबाट कक्षा १ बाट लागू हुन्छ । क्रमशः कक्षा १० सम्म नयाँ पाठ्यक्रम जान्छ । कक्षा ११ र १२ को परिवर्तन गर्नु अनिवार्य छ । कक्षा ११ को पनि यो वर्ष नुमना परीक्षण गर्ने तयारी छ । अर्को वर्षदेखि कार्यान्वयनमा जानेछ ।


विद्यमान संरचनाअनुसार विद्यालय शिक्षा संघ, प्रदेश र स्थानीयमध्ये कसको अधिकार क्षेत्रभित्र हो ?
विद्यालय व्यवस्थापनको पाटोमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार माध्यमिक तहसम्मको काम स्थानीय सरकारको नै हो । नीति, मापदण्ड, पाठ्यक्रम, परीक्षा सञ्चालन गर्ने संघीय सरकारकै काम हो । यसले गर्दा शिक्षा साझा सूचीको विषय पनि हो । सबै काम एउटै सरकारले मात्र गर्न सक्ने अवस्था पनि छैन । संघ, प्रदेश र स्थानीय क्षेत्रबीचको बाँडफाँड शिक्षा नीतिले गर्छ ।


सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार कसरी सम्भव होला ?
गुणस्तर भनेको सापेक्षतामा हेर्नुपर्छ । यति अंक ल्याए गुणस्तर हुन्छ भन्ने गुणस्तर मान्न सकिँदैन । अहिले ‘ए प्लस’ ल्याएकोलाई उत्कृष्ट भनिन्छ । गुणस्तर यसमा मात्र तुलना गरेर हुँदैन । उच्च शिक्षादेखि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली विद्यार्थीले देखाएको प्रतिभालाई पनि हेर्नुपर्छ । रिजल्टको बेलामा मात्रै गुणस्तर खस्कियो कि बढ्यो भन्ने चर्चा गरेर पुग्दैन । गुणस्तर क्रमशः बढ्दो नै छ । गुणस्तर अझै सुधार गर्न पाठ्यक्रममा सुधार गरिँदै छ । शिक्षक व्यवस्थापन सुधार हुँदै छ । ७ सय ५३ वटै स्थानीय तहमा समानुपातिक ढंगले दरबन्दी मिलान गरिँदै छ । दक्ष शिक्षकको आपूर्ति हुँदै छ । २६ हजार स्थायी शिक्षक विद्यलायहरूमा पदस्थापना हुँदै हुनुहुन्छ । शिक्षक सेवा आयोगको नियमावली परिवर्तन गरिँदै छ । स्थायी शिक्षक हुन अब २ सय पूर्णांकको परीक्षा पास गर्नुपर्छ । कक्षा ८ देखि १२ सम्म विद्यार्थीहरूसँग स्तरीकृत परीक्षा सञ्चालन गर्ने तयारीमा छौं । विद्यालयहरूको पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
प्रस्तुति : सुदीप कैनी

प्रकाशित : असार १८, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्

मिहिनेती बन्न विज्ञान

गणित राम्रो छ भने विज्ञान पढ्नु राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने हिच्किचाउनु हुंदैन ।
गोविन्द पोखरेल

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ  । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन्  ।

आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके त्यसैलाई आफ्नो करियर बनाउन सकिन्छ । उत्कृष्ट अंक ल्याउनेले विज्ञान, अलिक कम अंक ल्याउनेले व्यवस्थापन अनि त्योभन्दा कम अंक ल्याउनेले मानविकी लिनुपर्छ भन्ने गलत मानसिकता छ । सबै विषयको महत्त्व आ–आफ्नै हुन्छ । अंकले विद्यार्थीको भविष्य निर्क्योल गर्दैन । विद्यार्थीको रुचि र क्षमताले विषयमा छनोटमा प्रभाव राख्छ । जुनसुकै क्षेत्रमा पनि सीप र दक्षता आवश्यक हुन्छ । त्यही भएर कसैको दबाब र प्रभावमा परेर विषय छनोट गरिहाल्नुहुँदैन । साथीले फलानो विषय लियो म पनि त्यही विषय लिन्छु भन्ने मानसिकता विद्यार्थीले हटाउनुपर्छ ।

साथीको सिको गर्न खोज्दा आफ्नो भविष्य अन्धकार बन्न सक्छ, त्यसैले विषय छनोटमा बेलैमा विचार पुर्‍याउनुपर्छ । २०७५ सालमा ५० हजार १ सय ८४ जना विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय पढ्नका लागि फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । उनका अनुसार यो संख्या औसत हो । कक्षा ११ मा विज्ञान विषय लिने विद्यार्थीहरूको संख्या बढ्ने/घट्नेभन्दा पनि स्थिर छ । अघिल्लो वर्ष पनि ५० हजार विद्यार्थीहरूले नै कक्षा ११ मा विज्ञान संकाय पढ्न फाराम भरेका थिए । अहिले शैक्षिक संस्थाहरू पनि बढिरहेका छन् । विज्ञानमा आखिर के छ त्यस्तो ? राम्रो ग्रेड ल्याउने विद्यार्थीहरू किन विज्ञानतर्फ तानिन्छन् त ? विषयको चर्चा गर्नॅअघि विद्यार्थीहरूले एउटा दृढसंकल्प गर्न जरुरी छ । कक्षा ११ र १२ को विज्ञान आधारभूत भए पनि उच्च शिक्षाका लागि यो महत्त्वपूर्ण खुड्किलो हो । बुझे सजिलो नबुझे गाह्रो छ, विज्ञान । त्यसैले आफ्नो रुचिअनुसार मात्रै विज्ञान अध्ययन गर्ने निर्णय गरौं ।


विज्ञान संकाय लिन्छु भनेर मात्र हुँदैन । यसमा धेरै मिहिनेत र लगनशीलता आवश्यक छ । विज्ञानले विद्यार्थीहरूलाई मिहिनेती बन्न सिकाउँछ । अनुसन्धान गर्न सिकाउँछ । राजधानीस्थित नोबेल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठ भन्छन्, ‘विज्ञानको दायरा फरक छ । भविष्यमा डाक्टर र इन्जिनियर बन्ने खोज्नेको पहिलो रोजाइ हुने नै भयो । त्यसबहेक आईटी र नर्सिङ करियरका लागि पनि उपयुक्त हुन्छ ।’ उनका अनुसार अहिलेका विद्यार्थीहरूमा विज्ञानको आकर्षण धेरै छ । सबै विषयमा जान पाउन भएकाले विद्यार्थीहरू यो संकाय पढ्न लालायित छन् ।


विज्ञानका विद्यार्थीलाई छुट हुँदैन । दिइएको एसाइन्मेन्ट समयमै बुझाउनैपर्छ । विज्ञानले विद्यार्थीलाई व्यस्त बनाइदिन्छ । प्रयोगात्मक कक्षा अनि कार्य अनिवार्य हुन्छ । अझ विभिन्न वैज्ञानिक सिद्धान्त, नियम अनि फर्मॅलाहरू याद गर्नॅ त छँदै छ । यसबाहेक नियमित कापी चेकजाँच र शिक्षकको प्रश्नले बेलाबेला ‘बेकारमा विज्ञान’ पढेछु भन्ने पनि अनुभूति हुन्छ ।


अधिकांश विद्यार्थीहरू डाक्टर र इन्जिनियर बन्ने सपना बोकेर विज्ञान रोजेका हुन्छन् भने केही कम्प्युटर तथा प्रविधि क्षेत्रमा काम गर्न । इन्जिनियरिङ र एमबीबीएसलगायतमा असफल भएपछि विज्ञानको स्नातकमा भर्ना हुने विद्यार्थीको संख्या पनि धेरै छ । त्यसैले विषय छनोटमा गम्भीर हुनुपर्छ । कक्षा ११ र १२ मा जीवविज्ञान लिने विद्यार्थीलाई स्वास्थ्य, कृषि, वातावरण, जीवन, प्रकृति विज्ञान पढ्न पाउँछन् । होइन म जीव, जगत् र स्वास्थ्य क्षेत्र नभएर इन्जिनियरिङ र आईटी क्षेत्र रोज्छु भन्ने लाग्छ भने गणित र कम्प्युटर लिनुपर्छ । रसायनशास्त्र भने दुवैमा अनिवार्य छ । कक्षा १२ पछिको आफ्नो रुचिबारे भने विद्यार्थी पहिले नै प्रस्ट हुनु जरुरी हुन्छ ।


हाल कक्षा ११ मा विज्ञान लिने विद्यार्थीलाई भौतिकशास्त्र, रसायनशास्त्र र गणित अनिवार्य गरिएको छ । जीवविज्ञान र कम्प्युटर ११ ऐच्छिक छन् । कक्षा १२ मा भौतिकशास्त्र र रसायनशास्त्र अनिवार्य छ । जीव विज्ञान, गणित र कम्प्युटर ऐच्छिक छन् । कक्षा १२ मा गणित र जीवविज्ञान दुवै लिन्छु भन्दा पनि पाइन्छ । त्यसकारण विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके सफल हुन सहज हुन्छ ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन रामप्रसाद खतिवडा भन्छन्, ‘विज्ञान पढ्नेले मिहिनेत गर्न सिक्छ ।’ कक्षा ११ र १२ विज्ञान अध्ययन गरेका विद्यार्थीले भाषासम्बन्धी केही विषयबाहेक सबैजसो संकायमा पढ्न पाउँछन् ।


एमबीबीएस, बीपीएचस, बीएस्सी एमएलटी, बीएमआईटी, ब्याचलर्स इन फार्मेसी, मेडिकल माइक्रो बायोलोजी, फुड टेक्नोलोजी लिन सक्छन् । सिभिल, इलेक्ट्रोनिक्स, कम्युनिकेसन, कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल इन्जिनियरिङ गर्न सक्छन् । ब्याचलर्स इन जियोम्याटिक्स, बायोमेडिकल इन्जिनियरिङ, सूचना प्रविधि पढ्न पाउँछन् । कम्प्युटर क्षेत्रकै कुरा गर्ने हो भने बीएस्सी सीएसआईटी, बीईआईटी, बीआईटी, बीसीए, बीई कम्प्युटर र बीई सफ्टवेयर इन्जिनियरिङ गर्न पाउँछन् । भविष्यमा अनुसन्धान गर्छॅ, वैज्ञानिक बन्छु भन्ने सोच बनाएका विद्यार्थीहरूले आफ्नो रुचिअनुसार भौतिकशास्त्र, रसायन, जीवविज्ञान, वनस्पतिविज्ञान, जल तथा मौसम, हाइड्रोलोजी, जियोलोजी, माइक्रोबायोलोजी, स्टाटिस्टिक्सलगायत विषय रोज्न सक्छन् ।


खतिवडाका अनुसार विज्ञान पढ्ने विद्यार्थीलाई सबै क्षेत्रमा अवसर हुन्छ । विद्यार्थीले एक–दुईवटा संकायबाहेक अन्य सबै संकायमा पढ्न पाउँछन् । उनी भन्छन्, ‘गणित राम्रो छ भने विज्ञान पढ्दा राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने नहिच्किचाउनुस् ।’

प्रकाशित : असार १८, २०७६ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्