कानुन पढ्नेको संख्या बढेको बढ्यै

गणेश राई

काठमाडौँ — ‘कानुन किन पढ्ने ?’ विद्यार्थीलाई यस्तै लागीरहन्छ । समाजमा उखान छ– ‘न्यायको नौ सिङ हुन्छ ।’ सर्वसाधारणले सिङ भन्नेबित्तिकै हान्ने साँढेगोरु या गाई, अर्ना आदिको सिङ सम्झिन्छौं । त्रास भएझैं लाग्छ । कानुन विषय पढ्दै गरेका विद्यार्थीलाई कस्तो लाग्छ ? काठमाडौंको जमलस्थित केन्द्रीय कानुन पुस्तकालयमा भेटिएका विद्यार्थीमध्ये चारजनाको अनुभव यस्तो छ ।

डोटीका विशालदत्त भट्ट बिएएलएलबी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् । उनी काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पढ्छन् । उनी साहित्यमा रुचि राख्छन् । सिर्जनामा उत्तिकै सक्रिय छन् । र यतिखेर उनको पहिलो कृति ‘मेटाफर’ कथा संग्रह प्रकाशनको अन्तिम तयारीमा छ ।

‘मैले डोटीबाटै एसएलसी पास गरें,’ विशाल भन्छन्, ‘म म्याथ विषय कमजोर थिएँ । बुवा वकिल हुनुहुन्छ । मलाई पनि कानुन पढ्ने रहर जाग्यो । त्यसपछि काठमाडौंको बसुन्धारासिथत ऋतु एकेडेमीबाट कानुन विषय लिएर कक्षा ११ र १२ पढें । पास गरें । अहिले बिएएलएलबी पढ्दैछु ।’

बिएएलएलबीमा ५७ वटा पुस्तक पढ्नु पर्छ । ‘सबै किताब किनेर साध्य छैन, त्यसैले पुस्तकालय धाउने र नेटमा सन्दर्भ सामग्रीहरू खोजेर पढ्नु पर्छ,’ विशाल भन्छन् । विशाल सानैदेखि साहित्यमा रुचि रहेको सुनाउँछन् । ‘साहित्यमा केही गर्नसक्छु भन्ने लागि रहन्छ,’ भन्छन्, ‘कानुन विषयका निम्ति साहित्य ज्यादै महत्वपूर्ण लाग्छ ।’

पुस्तकालय अध्ययन कक्षको टेबुलमा सँगै भेटिए सृजना शर्मा र अस्मिता थापा । दुवैजना ललितपुरको सानेपास्थित नेसनल कलेजका छात्रा हुन् । बिएएलएलबी चौथो वर्षमा पढ्छन् । ‘हामी दुई वार्षिक परीक्षा प्रणालीअनुसार अन्तिम ब्याचका विद्यार्थी हौं,’ सृजनाले भनिन् । संयोग यी दुवैजनाले प्लस टु साइन्स गरेर कानुन विषय रोजेका हुन् । किन नै कानुन ? ‘बुवा पनि वकिल हुनुहुन्छ,’ सवाल फुत्किन नपाउँदै सृजनाले भनिन्, ‘मैले बुझें यो स्वतन्त्र पेसा हो । त्यसैले कानुन पढें । अब पढिसकेपछि कानुन व्यवसायी बन्नेछु ।’ उनको ठम्याइ छ, साइन्स नै पढेको भए धेरै घोटिनु पर्थ्यो । आफूले रोजेको विषय पढेकोले सजिलो भएको छ । कानुनसित समाज जोडिएको छ । विज्ञानमा त्यो हुन्न ।

अस्मिता सन्तानमै कानुन पढ्ने पहिलो पुस्ता हुन् । ‘समाजमा डक्टर, इन्जिनियर, लयर भनेर सम्मानित पेसाका रूपमा लिइन्छ,’ उनी भन्छिन्, ‘मै साइन्स नै पढ्न पनि सक्थें । तर कानुनको स्कोप धेरै फराकिलो रहेको जानकारी पाएर यो विषय रोजें ।’ कानुन विषयका पाठ्यपुस्तक सबै एकै पुस्तक नपाइने उनले बताइन् । ‘त्यसैले पुस्तकालय धाउने, इन्टनेटमा खोज्ने र पढ्ने काममा बढी मिहिनेत गर्नु परेको छ । यदि साइन्स पढेको भए, सबै विषयका सामग्री सजिलै पाइन्थ्यो,’ उनले भनिन् ।

अधिवक्ता विमलप्रसाद लामिछानेको पुस्तकालय पुग्नै पर्ने दैनिक बनेको छ । उनी नेपाल ल क्याम्पसमा एलएलएम दोस्रो वर्ष अन्तिम समेस्टरका विद्यार्थी हुन् । ‘क्याम्पसमा भएको पुस्तकालयमा चाहेजति पुस्तक पाइन्न,’ पुस्तक अध्ययनसँगै ल्यापटपमा टिपोट गर्दै गरेका उनी भन्छन्, ‘त्यसैले केन्द्रीय पुस्तकालय धाउनु परेको हो ।’ यस पुस्तकालयमा कानुन विषयका मात्र पुस्तक छन् । बिहानदेखि साँझसम्मै कर्मचारी सेवामा खटिन्छन् । विद्यार्थीले आफ्नो उपस्थिति पुस्तिकामा नाम, ठेगाना, सम्पर्क नम्बर उल्लेख गरेपुग्छ । कुनै शुल्क तिर्नु पर्दैन । विद्यार्थीले पढ्दै डायरीमा टिपोट गर्न सक्छन् । आवश्यक च्याप्टर फोटोकपी गर्न चाहे कर्मचारीले गरिदिन्छन् । फोटोकपीको न्युनतम मूल्य तिर्नुपर्छ । कसैले पुस्तक घरमा लैजान पाउँदैनन् ।

कानुन कहाँ पढ्न पाइन्छ ?
मुलुक संघीयतामा बदलिएसँगै कानुन विषय पढ्ने युवाको चाप बढेको छ । संघ, प्रदेश र स्थानीय तहमा कानुन पढेका जनशक्तिको माग बढेपछि विद्यार्थी चाप बढेको हो । पढाउने शैक्षिक संस्थाको संख्या कम छन् । मुलुकको जेठो त्रिभुवन विश्ववद्यिालय (त्रिवि) को चारमध्ये कानुन संकाय एक हो । अहिले त्रिविअन्तर्गत सातवटा क्याम्पसमा स्नातक तह (एिलएलबी) पढाइन्छ । ती क्याम्पस काठमाडौं, ललितपुर, धरान, राजविराज, पोखरा, नेपालगन्ज र बीरगन्ज छन् । तिनै क्याम्पसमध्ये तीनवटामा बिएएलएलबी पठनपाठन हुन्छ ।

सबैभन्दा प्रसिद्ध नेपाल ल क्याम्पस हो । क्याम्पस प्रमुख डा. डीएन पराजुलीले युवादेखि वयस्क सबैमा कानुन पढ्नको ओइरो लागेको बताए । ‘तीन तहको सरकार बनेसँगै कानुनको महत्व अझ बढेको छ,’ विद्यार्थी चाप थामिनसक्नु बढेको उल्लेख गर्दै उनले भने, ‘सरकारी सेवा, वकालत, शिक्षण र स्वतन्त्र पेसा अपनाउन सकिने भएकाले कानुनको डिग्री बढी विश्वसनीय बनेको छ ।’ डक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, पत्रकार, सभासद, मेयर, उपमेयर, सैनिक, प्रहरी, निजामती कर्मचारी, शिक्षकसमेत कानुन पढ्न भर्ना भएको उनी सुनाउँछन् ।

ल क्याम्पसमा स्नातक तह तीन किसिमको पढाइ हुन्छ । कक्षा ११ र १२ मा जुनसुकै संकाय पढेर उत्तीर्ण गरेका विद्यार्थीले बिएएलएलबी पढ्न पाउँछन् । यो दस सेमेस्टरको पाँच वर्षे कोर्स हो । ‘यो मानविकी र कानुनका विषयहरूको इन्टिग्रेटेड कोर्स हो,’ प्रमुख पराजुली भन्छन्, ‘कानुन संकाय डिन कार्यालयले लिएको प्रवेश परीक्षा उत्तीर्णमध्ये १ सय ५ जनाले मात्र पढ्न पाउँछन् । जसमा समावेशी सिद्धान्तअनुसार ८४ जना खुला र २१ जना समावेशी कोटाका हुन्छन् ।’ यस्तै, ललितपुरमा रहेको नेसनल कलेजले १ सय ५ जना र पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा ७० जनाले भर्ना पाउँछन् ।

यसैगरी त्रिविमा २०५३ सालदेखि तीन वर्षे एलएलबी सुचारु छ । जुनसुकै संकाय र विषयमा स्नातक हासिल गरेकाले एलएलबी पढ्न पाउँछन् । विद्यार्थी चाप बढेपछि प्रवेश परीक्षा अपाएर भर्ना लिने प्रक्रिया अघि बढ्यो । विद्यार्थी संगठनले २०७५ सालमा प्रवेश परीक्षाको विरोध गरेपछि नेपाल ल क्याम्पसले खुला भर्ना लियो । ‘क्षमता पाँचसय जनाको हो तर १० हजार ८ सय ५८ जना भर्ना लियौं,’ प्रमुख पराजुली भन्छन्, ‘अहिले अदालतले भर्ना खुला नगर, सिट तोकेर प्रवेश परीक्षा लिन आदेश गरेको छ ।’ ल क्याम्पसमा स्नातकोत्तर तहमा दुई वर्षको एलएलएम र तीन वर्षको एलएलएम सुचारु छ । दुवै कोर्स सेमेस्टर सिस्टमका हुन् ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत केही क्याम्पसमा बिएएलएलबी र एलएलएम पढाइन्छ । काठमाडौं विश्वविद्यालयअन्तर्गत एक क्याम्पसमा बिबिएमएलएलबी पढाइन्छ । तत्कालीन उच्चमावि र हाल माध्यमिक तहअन्तर्गत कक्षा ११ र १२ मा कानुन विषय पढ्न पाइने व्यवस्था छ ।

प्रकाशित : असार २६, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

‘नेकपाको धेरै आराधना भयो’

विमल खतिवडा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले नेकपा फुटाउन धेरै आराधना भएको बताएका छन् । उनले नेकपा फुट्ने हल्ला निराधार रहेको स्पष्ट पारे ।

‘कताबाट फुटाउने भनेर जति आराधना गरे पनि नेकपा फुट्दैन, यो सत्य कुरा हो,’ उनले भने,‘ नेकपा फुट्ला र भ्यागुताले धार्नी पुर्‍याउला भन्ने कसैलाई लागेको छ भने पाँच वर्षसम्म कामै नगर्ने, बिहानै घण्टी बजाउने, बेलुकै शंख फुकेर आराधना गर्दैमा केही पनि हुँदैन ।’ यसो भए एउटै जहाजमा सवार कोही नउम्किने बताए ।

‘अर्को सरकार बन्छ भन्दै यताउता दौडधुप गर्नु पर्दैन,’ उनले भने,‘ त्यति कमजोर जगमा एकता भएको छैन । सबै कन्भिन्स भएर पार्टी एकता गरेको हो, यही आधारमा सरकार बनाएको हो, संयुक्त चुनावी घोषणा पत्र जारी गरेर संयुक्त चुनाव लडेको हो । ’ उनले एकतापछि पार्टी बलियो भएको बताए । ‘एकतामा दुलो पारेर कुन जहाजको मुसो उम्किन्छ र ? ।’ उनले भने ।

प्रकाशित : असार २६, २०७६ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्