कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीम

काठमाडौँ — हाम्रो मुलुकमा नीमको औषधीय गुणलाई वर्षौंवर्षदेखि उपयोग गर्दै आइएको छ । कतिसम्म भने, वेदमै नीमलाई सबै रोग भगाउने वनस्पतिका रूपमा उल्लेख गरिएको छ । यही रहस्य थाहा पाएर होला, आजकल टुथपेस्टदेखि विभिन्न सौन्दर्य प्रसाधनसम्ममा नीमको व्यापक उपयोग हुने गरेको छ । 

नीम

आयुर्वेदमा नीमलाई विभिन्न रोगनाशक अत्यन्त गुणकारी औषधि मानिएको छ । नीमलाई ‘औषधि बनाउने रुख’ को संज्ञासमेत दिइन्छ ।


नीम एन्टिसेप्टिक, एन्टिबायोटिक, पीडानाशक, कृमिनाशक, जीवाणुरोधी, फंगलविरोधी, चर्मरोगनाशक हुन्छ । यसका विभिन्न भागमा १ सय ४० भन्दा बढी यौगिक पाइन्छ । यसको पात, फूल, बीउ, जरा औषधीय गुणले भरपूर हुन्छन् ।


रोसवेक पार्क क्यान्सर संस्थानका अनुसन्धानकर्ताहरू सन् २०१४ मा गरेको एउटा अध्ययनमा दाबी गरेअनुसार नीमको बीउ, पात, फूल र फलले विभिन्न क्यान्सरमा एन्टि–टयुमर प्रभाव देखाउँछन् । नीमले रोगप्रतिरोधी शक्ति बढाई सुन्नाइ कम गरेर, मुक्त कणलाइ हटाएर, हार्मोनल गतिविधिलाई रोकेर र कोषिका विभाजनमा बाधा उत्पन्न गरेर क्यान्सरको उपचारमा सघाउछ ।


यस्तै एउटा अर्को अध्ययन अनुसार, नीममा औलोविरुद्घको गुण हुन्छ । यसको पातले औलोविरुद्घ लडन सघाउँछ । अनुहारमा बारम्बार डन्डीफोर वा ब्ल्याकहेड हुँदा नीमको पातको प्रयोग गरे आराम मिल्छ । निमको पानीले अनुहार धुँदा यो समस्या कम हुन्छ ।

नीमले पसिनाको दुर्गन्ध समेत हटाउछ । शरीरको ओसिलो भागमा ब्याक्टेरिया उत्पन्न हुने गर्नाले दुर्गन्ध हुन्छ । यस्तोमा नीमको पानीले शरीर पखाल्ने वा पुछपाछ गर्ने गरे यस्तो समस्या हट्छ ।


निमको लेप बनाएर प्रभावित ठाउँमा लगाउँदा फंगलले फेरि दु:ख दिन पाउँदैन । घाउमा निमको पातको लेप लगाउँदा यसले फाइदा पुग्छ ।


निममा एन्टि–ब्याक्टेरियल गुण हुन्छ । यसैले संक्रमण गर्ने जीवाणुसँग लडने तागत राख्छ । एउटा भाँडोमा पानी हालेर त्यसमा नीमको पात हालेर पानीलाई केही समय उमालेर उपयोग गर्नुपर्छ । यस्तो पानीलाई नुहाउने पानीमा समेत मिसाएर नुहाउन सकिन्छ ।

नीमको दतिउनले दाँत माझ्नु अर्को राम्रो काम हो । यस्तो अभ्यासले पाइरियासमेत निको हुन्छ । नीमको पातको काढा बनाएर कुल्ला गर्नाले दाँत र गिजा स्वस्थ रहन्छन् । मुखबाट दुर्गन्ध आउन पाउँदैन ।


भारत सरकारको केन्द्रीय आयुर्वेद एवं सिद्घ अनुसन्धान परिषद्को तथ्यपत्र अनुसार, छाला रोगमा नीमको १० मिलिलिटर पातको रस महसँग मिसाएर दिनमा दुई पटक खाने गरे फाइदा पुग्छ । नीमको पातको लेप लगाउँदा पनि छाला रोगका कीटाणु नष्ट हुन्छन् । कपालको चाया हटाउन एक मुठी नीमको पातको काढा बनाएर नुहाउनुभन्दा एक घण्टाअघि टाउकामा लगाउनुपर्छ ।

प्रकाशित : माघ १९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?