कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

एक्कासि छाती दुखे एस्पिरिन 

अतुल मिश्र

काठमाडौँ — यदि तपाईंलाई एक्कासि छाती दुख्न थाले तुरुन्त एक चक्की एस्पिरिन चबाउँदै अस्पताल जानुभयो भने, हृदयाघातका कारण हुन सक्ने मृत्यु टर्न सक्छ । तपाईं छेउकालाई त्यस्तो समस्या देखिए पनि यही विधि अपनाउन सक्नुहुन्छ । तत्कालै लिन सकिएको ३०० मिलिग्रामको एउटा एस्पिरिनको सहयोगबाट करिब एक चौथाइ मृत्युलाई टार्न सकिन्छ । 

एक्कासि छाती दुखे एस्पिरिन 

‘हार्ट अट्याकको लक्षण देखिएका जोसुकैलाइै तुरुन्त एस्पिरिन खुवाएर अस्पताल लैजानु तत्काल गर्न सकिने सबैभन्दा उत्तम उपाय हो,’ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘सबै प्रकारको छाती दुखाइ हार्ट अट्याक नहुने भए पनि एस्पिरिन खाँदा स्वास्थ्यलाई कुनै घाटा हुन्न, हार्ट अट्याक हुनै लागेको भए पनि ज्यान बच्न सक्छ ।’


हृदयाघात वा यसको शंका भएकाहरूले तुरुन्त एस्पिरिनको चक्की खाएर अस्पताल पुग्न थाले यसबाट हुने मृत्युदरमा निकै कमी ल्याउन सकिने दाबीसमेत गरिन्छ । ‘एस्पिरिनले धेरै फाइदा पुग्छ,’ डा. ओममूर्ति भन्छन्, ‘हार्ट अट्याकको लक्षण देखिनासाथ एक चक्की खाए मृत्युलाई घरमै रोक्न सकिन्छ । हार्ट अट्याक हुँदा क्लटिङ फ्याक्टरले गर्दा मुटुको रक्तनलीमा प्लेटलेट जम्न थाल्छ । तर एस्पिरिनले प्लेटेलेटलाई जम्न दिँदैन । अनि हार्ट अट्याक र स्ट्रोकको आशंका कम हुन्छ ।’ उनका अनुसार, एक चक्की एस्पिरिन खाँदा मुटुमा रक्तसञ्चार सुचारु हुने सम्भावना ३० प्रतिशतले बढ्छ । यस्तो हुँदा बिरामीलाई अस्पताल लैजाँदा बाटैमा ‘अट्याक’ हराउनसमेत सक्छ । एस्पिरिन मेडिकलमा सजिलै पाइन्छ ।


हाम्रो मुलुकमा दिनहुँ हृदयाघात भइरहे पनि यसको यकिन तथ्यांक राख्न र यसवारे खासै बृहत् अध्ययन हुन सकेको छैन । अध्ययन नभए पनि दिनहुँ देखिने यो घटनाले अझm यो समस्यामा वृद्घि हुँदै गएको अनुमान गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमान अनुसार, सन् २०१६ मा १ करोड ७९ लाख व्यक्तिको मृत्यु मुटु र रत्तनली सम्बन्धी रोगका कारण भयो । विश्वव्यापी हुने सबै खाले मृत्युको ३१ प्रतिशत हो यो । यस्तो मृत्युमध्ये ८५ प्रतिशतचाहिँ हृदयाघात र स्ट्रोकले गर्दा भएको हो ।


मुटू स्वास्थ्यको लागि सरकारको एक मात्र विशेष केन्द्रीय अस्पताल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तथ्यांकअनुसार, २०७४ साउन १ देखि २०७५ असार ३० सम्म हृदयाघात भएर केन्द्रको आकस्मिक विभागमा १ हजार ७ सय ९७ जना पुगेका थिए । यस्तै, २०७५ साउन १ देखि माघ ३० सम्म १ हजार ३८ जना हृदयाघातको उपचारका लागि इमर्जेन्सीमा पुगे ।


डा. ओममूर्तिका अनुसार, हृदयाघात भएर वा आशंकामा विभिन्न स्वास्थ्य निकाय पुग्नेहरूमध्ये औँलामा गन्न सकिनेले मात्र त्यसअघि एस्पिरिन खाने गरेका छन् । धेरैजसो व्यक्ति एस्पिरिनलाई डिस्प्रिनका रूपमा बुझ्ने गर्छन् ।


शंकाका भरमा एस्पिरिन खाँदा बेफाइदा गर्छ ?

छाती दुखेका बेला हृदयाघातको आशंकामा एस्पिरिन खाएर स्वास्थ्य निकाय पुग्दा र पछि त्यो दुखाइ मुटुको समस्याका कारण नभएको पत्ता लागे पनि यो औषधिको खासै दुष्प्रभाव हुँदैन ।


‘एस्पिरिनले सामान्य व्यक्तिले पेनकिलर औषधि खाएभन्दा कम खराबी गर्छ,’ डा. ओममुर्ति भन्छन् ।


एस्पिरिनको दुष्प्रभाव भनेको, यो खाइरहे चोटपटक लागेका बेला बढी रक्तस्राव हुन सक्छ । प्लेटलेट कम झएकाहरूमा रक्तस्रावको डर हुन सक्छ । यस्तै, ग्यास्ट्रिकको समस्या देखिन सक्छ । सामान्य अवस्थामा रत्तस्राव वा रक्त विकारसँग सम्बन्धित रोग भएकालाई एस्पिरिन उपयोग गर्ने सल्लाह दिइन्न ।


के हो एस्पिरिन ?

एस्पिरिनलाई ‘एसिटाइल स्यालिसाइलिक एसिड’ समेत भनिन्छ । यो चक्की सामान्य शारीरिक पीडा हटाउन, ज्वरो कम गर्न र रगत पातलो पार्नसमेत गरिन्छ ।


हृदयाघातको पूर्वसंकेत हुन्छ ?

हृदयाघातको पूर्वसंकेतबारे थुप्रै दाबी गर्ने गरिए पनि हालसम्म शतप्रतिशत केसलाई समेट्ने गरी यस्तो कुनै पूर्वसंकेतबारे अनुसन्धाताहरू टुंगोमा पुग्न सकेका छैनन् । सबै हृदयाघातमा स्पष्ट पूर्वसंकेत देखिने गरेको छैन । हालसम्म विज्ञानले कसलाई हृदयाघात हुने, कसलाई नहुने भन्नेबारे पत्ता लगाउन नसकेको जनाउँदै डा. ओममूर्ति भन्छन्, ‘डाक्टरले फलानो हृदयाघातको बढी र फलानो कम जोखिममा छ मात्र भन्न सक्छन् ।’


यस्तै, एन्जियोग्राफीबाट मुटुको रक्तनलीमा अवरोधबारे जानकारी पाऊन सकिन्छ । कुनै व्यक्तिलाई मुटुको रगत नलीमा २५, अर्काको मुटुमा ६०, तेस्रो व्यत्तिको मुटुमा ७५ प्रतिशत अवरोध देखिँदा पनि पहिले कसलाई हृदयाघात हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । हाल एन्जियोग्राफी गर्दा सामान्य देखिएकाहरूलाई ५/७ वर्षपछि पनि हृदयाघात हुन सक्छ ।


‘कोही ढुक्क हुन सकिन्न, हृदयाघात अचानक हुन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘तपाईंको मुटुमा २०, ५० वा ७५ प्रतिशत अवरोध भए पनि बाँकी खुल्ला रहेको भागबाट रगत मुटुमा पुगिरहेको हुन्छ ।’


करिब ९० प्रतिशत अवरोध हुँदा मुटुमा रगत पुर्‍याउन बढी मिहिनेत गर्नुपर्छ । यसले गर्दा धड्कन बढ्छ र छाती दुख्छ । मुटुमा ९५–९९ प्रतिशत अवरोध हुँदासमेत छाती दुख्न सक्ने उल्लेख गर्दै डा. ओममूर्ति भन्छन्, ‘अचानक रगतको नली शतप्रतिश बन्द हुँदा हृदयाघात हुन्छ, मुटुको मांशपेसी मर्न थाल्छ अनि छाती दुख्छ ।’


एनरोबिक प्रक्रियाले गर्दा मांशपेसी मर्न लाग्दा विभिन्न रसायन निस्किएर छाती दुखाइसँगै अन्य लक्षण देखिने गर्छन् । केही दिन, साता वा महिनायता हिँड्दा, तनाव पर्दा छाती दुख्नु, त्योसँगै पसिना बग्नु, अस्वाभाविक रूपमा थकाइ लाग्नु, बिनाकारण स्वाँस्वाँ हुनु केही व्यक्तिमा हृदयाघातको पूर्व संकेत हुन सक्छन् । ४० वर्षमुनिका, हृदयाघात हुने जोखिमका कारक नभएका युवाले छाती दुख्दा हृदयाघात भयो भनेर सामान्यतः डराउनु नपर्ने उनी बताऊँछन् ।


[email protected]

प्रकाशित : फाल्गुन १८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?