कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामीको चाप धान्नै गाह्रो

फातिमा बानु

काठमाडौँ — बिरामीलाई उपचार, स्वास्थ्य केन्द्रको व्यवस्थापनको जिम्मेवारी पनि । त्यसमाथि बिरामीको कहालीलाग्दो चाप । विभिन्न स्वास्थ्य केन्द्रका अधिकृतहरू अहिलेकै जनशक्ति र पूर्वाधारले यो चापलाई थेग्नै नसक्ने गुनासो गर्छन् । 

यिनैमध्येका एक हुन् सिरहाको मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. राकेश यादव । उनलाई उपचार सेवाका लागि चौबीसै घण्टा तयार हुनुपर्छ । नामले पाँच बेडको भए पनि केन्द्रमा बिरामी जिल्ला अस्पतालमा जत्तिकै आउँदा उनलाई भ्याईनभ्याई हुन्छ । ओपीडी, आकस्मिक कक्ष, सुत्केरी गराउनेदेखि व्यवस्थापनको समेत जिम्मेवारी सम्हालेका छन् ।


एक किलोमिटरको घर पनि १५ दिनमा एक पटक मात्रै पुग्ने गरेको उनी सुनाउँछन् । ‘दैनिक ७० देखि ८० को हाराहारीमा बिरामी आउँछन् तर डाक्टरको दरबन्दी एउटा मात्रै हो, ‘उनी भन्छन्, ‘सुत्केरी मात्रै ३/४ वटा गराउनुपर्छ ।’ बिरामीको चाप धान्न नसकेकै कारण सुत्केरी महिलालाई चौबीसै घण्टा निगरानीमा राख्नुपर्नेमा ६ घण्टा मात्रै राखेर घर पठाइदिने गरेको उनले बताए ।


जटिल खालका बिरामी हेर्ने विशेषज्ञको विकल्प नहुँदा उनी चौबीसै घण्टा अस्पतालमा बसेर बिरामी कुर्छन् । कर्मचारी समायोजन ऐनप्रति चिकित्सकको असन्तृष्टि जनाउन राजधानी आएका बेला उनले कान्तिपुरसँगको भेटमा भने, ‘नयाँ दरबन्दी सिर्जना होस् भनेर मन्त्रालय र विभाग धाएर थाकिसकेँ, बिरामीको माया लागेर मात्रै चौबीसै घण्टा अस्पताल कुर्ने गरेको छु । अब त मलाई यो पेसादेखि नै वितृष्णा जस्तो लाग्न थालिसक्यो ।’


दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र चलाइरहेका डा.रोशन भगतको अनुभव उस्तै छ । उनी बिरामीको चाप धान्न नसकेर दिक्क छन् । नामले १५ बेडको अस्पताल भए पनि काम २५ बेडको जत्तिकै गर्नुपर्दा अस्पताल चलाउन गाह्रो भएको उनी सुनाउँछन् । यस्तै समस्या लिएर उनी स्वास्थ्य मन्त्रालय र विभाग धाइरहन्छन् ।


यस पटक कर्मचारी समायोजन ऐनप्रति चिकित्सकको आन्दोलनमा यस्तै गुनासा लिएर उनी मिसिए । ‘सरकारले चिकित्सकलाई दुर्गम जान मानेन भनेर आलोचना मात्रै गर्छ । भौतिक संरचना, जनशक्ति र बिरामीको चापबीच तालमेल नमिल्ने अस्पताल हामीले कहिलेसम्म चलाउनुपर्ने हो ?’ उनी गुनासो गर्छन् । ओपीडीमा मात्रै दैनिक एक सयको हाराहारीमा बिरामी हेर्दै आएका उनले ओपीडी बन्द भएपछि पनि आकस्मिक कक्षमा बिरामी हेरिदिनुपर्छ ।


टाढाबाट आएका बिरामी त्यसै फर्काउन उनलाई मन लाग्दैन । अथवा कहिलेकाहीँ मनै नलागे पनि बिरामी हेर्नुपर्छ । उपचार नगरिदिए बिरामीपक्षबाटै हुने धम्की र झगडाका कारण उनी आफ्नो दिमाग र शरीरले धान्न सक्नेभन्दा बढी बिरामी हेर्न बाध्य भएको सुनाउँछन् । ‘दुर्गममा सुरक्षा व्यवस्था पनि छैन, बिदाका दिन पनि बिरामी हेर्नुपर्छ हामीले,’ उनले भने ।


चिकित्सक र बिरामीबीचको अनुपात नमिल्दा सरकारी अस्पतालमा बिरामीको चाप धान्नै गाह्रो छ । केन्द्र, जिल्ला, अञ्चलदेखि प्राथमिक तहका अस्पतालमै बिरामीको चाप र जनशक्तिबीच तालमेल नमिल्दा यस्तो वातावरणमा सरकारी चिकित्सक ऊर्जाशील भएर काम गर्न सकिरहेका छैनन् ।


विश्व स्वास्थ्य संगठनले एक दिनमा एक चिकित्सकले २५ भन्दा बढी बिरामी नहेर्ने मापदण्ड नेपालको सन्दर्भमा मेल खाँदैन । एकै चिकित्सकले एक दिनमा एक सयसम्म बिरामी हेर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा बिरामीले त गुणस्तरीय सेवा पाउन सकेका छैनन् नै, चापका बीच सेवा दिनुपर्दा चिकित्सक पनि सन्तुष्ट छैनन् ।


बिरामीको चाप थाम्न नसकेर कामकै समयमा मानसिक तनाव खेप्छन् चिकित्सक । बढ्दो चापकै कारण एक बिरामीलाई दिनुपर्ने न्यूनतम समय पनि दिन सकिरहेका छैनन् । यसले बिरामी, चिकित्सक र स्वास्थ्य क्षेक्र नै गुणस्तरयुत्त हुन नसकेको चिकित्सक बताउँछन् ।


वीर अस्पतालका जनरल सर्जन डा. घनश्याम थापा सहायक चिकित्सक राखेर दैनिक एक सयदेखि २ सय बिरामी हेर्छन् । बीचमा आकस्मिक कक्ष जाने, सानातिना शल्यक्रिया पनि गर्नुपर्ने जिम्मेवारी छ । कार्यसमय बिहान ९ देखि बेलुका ४ बजेसम्म तोकिए पनि उनी आए जति बिरामी हेरेर मात्रै कक्षबाट बाहिर निस्कन्छन् । उनी भन्छन्, ‘एक डाक्टरले कति बिरामी हेर्नुपर्ने हो, कुनै कोटा तोकिएको छैन । टिकट काउन्टर बन्द भयो भन्दै आउने बिरामी पनि हुन्छन्, अबेरसम्म बसेर हेर्नैपर्‍यो ।’ शल्यक्रिया गर्दागर्दा रातको १० बज्दा पनि उनी खटिएकै हुन्छन् ।


बिरामीको अत्यधिक चाप जसोतसो थेग्न खोज्दा कहिलेकाहीं उनलाई डिप्रेसन होलाझैं भएर आउँछ । वीर अस्पतालका निमित्त निर्देशक भूपेन्द्रकुमार बस्नेतका अनुसार सरकारी अस्पतालमा बिरामी र चिकित्सकको अनुपात करिबकरिब पनि मेल खाँदैन । उनी भन्छन्, ‘हुन त एक डाक्टरले ४० भन्दा बढी बिरामी हेर्ने नै होइन, लगभग ४० वर्ष पुरानो दरबन्दीले अहिले पनि आए जति बिरामी हेर्नुपर्ने बाध्यता छ हामीलाई ।’

प्रकाशित : फाल्गुन २३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?