कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनाइ कस्तो छ ?

अतुल मिश्र

काठमाडौँ — हामी प्रायः कानका समस्यालाई गम्भीर रूपमा लिँदैनौं । गर्भावस्था, नवजात शिशु र युवावस्थामा समेत सामान्य लापरबाहीले कानै नसुन्ने अवस्था आइलाग्न सक्छ । बेलैमा सचेत भई सुनाइको परीक्षण गर्न सके समस्याबाट मुक्त हुन सकिन्छ । 

सुनाइ कस्तो छ ?

कानबाट पानी अथवा पिप बग्नुलाई सामान्य भाषामा कान बग्नु भनिन्छ । यसलाई हामी अति सामान्य स्वास्थ्य समस्याका रूपमा लिन्छौं । दुखाइ खासै नहुने भएकाले त्यति ध्यान दिँदैनौं । तर यसले हाम्रो कान सुन्ने क्षमतामा असर पार्दै कानै न सुन्नेसमेत बनाउन सक्छ ।


कान स्वास्थ्यअन्तर्गत मुलुकको सबैभन्दा सामान्य समस्या नै कानबाट पानी बग्नु हो । जालीमा प्वाल परेपछि कान बग्छ । यो समस्या जति पुरानो हुँदै जान्छ त्यति नै नसुन्ने समस्याको कारण बन्छ ।


‘मुलुकमा कान बग्ने समस्याले गर्दा सबैभन्दा बढी सुन्ने क्षमता गुमिरहेको छ,’ वरिष्ठ कान, नाक, घाँटी रोग विशेषज्ञ प्रा. डा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, ‘बच्चाहरूको कान बग्दा दुखाइ खासै नहुने भएकाले सुरुमा हेलचक्र्याइँ गर्दा स्थिति झन् जटिल हुँदै जान्छ ।’


उनका अनुसार करिब ६५ प्रतिशत नाक, कान घाँटी (ईएनटी) शल्यचिकित्सक काठमाडौंमा छन् । काठमाडौंबाहिर रहेका एक तिहाइ इएनटी विशेषज्ञसमेत ठूला सहरमा मात्र केन्द्रित हुने गरेकाले ग्रामीण भेकमा समयमै उपचार नपाई बहिरोपनको समस्या झेल्न बाध्य हुन्छन् । हाल कान नसुन्ने समस्या अर्थात् सुस्तश्रवण बढ्दो क्रममा देखिएको छ ।


मुलुकमा सबैभन्दा बढी कान न सुन्ने, सुस्तश्रवण समस्या देखिनु पछाडि संक्रमण जिम्मेवार रहे पनि यसको समयमै उपचार नहुने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, अटोलेरिङ्गोलजी एन्ड हेड एन्ड नेक सर्जरी विभागका डा. शंकर साह बताउँछन् । प्रतिष्ठानमा समेत आउने बिरामीमा सबैभन्दा बढी कानको संक्रमण भएका हुन्छन् । उनी संक्रमणले गर्दा कान पाक्ने र यसले सुन्ने क्षमतामा असर पार्ने बताउँछन् ।


मुलुकमा कान स्वास्थ्य, सुन्ने क्षमता आदिबारे खासै बृहत् अध्ययन नभए विभिन्न सर्वेक्षण, अध्ययन आदिले करिब १५ प्रतिशत जनतामा कान न सुन्ने समस्या रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयको आँखा, नाक, कान घाँटी, मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालको ईएनटी विभागमा पुग्नेमध्ये करिब ४० प्रतिशत कानको समस्याले जान्छन् । ईएनटी विभाग जाने बिरामीमध्ये करिब २० प्रतिशतमा कान नसुन्ने समस्या देखिएको छ ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभरिमा करिब ४६ करोड ६० लाख व्यक्तिलाई श्रवण क्षमतासम्बन्धी समस्या छ । र यसमध्ये ३ करोड ४० लाख बालबालिका छन् ।


यति मात्र नभई १२ देखि ३५ वर्ष उमेर समूहका १ अर्ब १० करोड युवा चर्को ध्वनिको सम्पर्कका कारण कान न सुन्ने जोखिममा छन् ।

एउटा अध्ययनअनुसार सन् २०५० सम्ममा ९० करोडझन्दा बढी व्यक्तिमा सुन्ने क्षमतासम्बन्धी समस्या देखिनेछ । दक्षिण एसियामा ६५ वर्षमाथिका करिब एक तिहाइ व्यत्ति कान न सुन्ने समस्याले प्रभावित छन् ।


सुन्ने क्षमतामा कमी र कान न सुन्ने कारण जन्मजात वा आर्जित गरेको हुन सक्छ । जन्मजात कारणले समेत कान नसुन्ने समस्या देखिन सक्छ । आमाको पेटमा हुँदा, आमालाई कुनै संक्रमण हुँदा, जन्म सम्बद्घ कुनै क्षति हुँदा यो समस्या देखिन सक्छ । कान सुनाइको कमी वंशानुगत, गैरवंशानुगत अथवा जन्मको समय देखिने केही खास जटिलताले गर्दा देखिन सक्छ ।


डब्लूएचओका अनुसार गर्भावस्थाको समय रुवेला, सिफलिस वा अन्य संक्रमण, कम तौलको शिशुको जन्म, जन्मको समय अक्सिजनको कमी, गर्भावस्थाको समय अमिनोग्लाइकोसाइड, साइटोटक्सिक ड्रग, औलोविरोधी औषधि, मूत्रवर्धक औषधि (डाइयुरेटिक) जस्ता विशेष औषधिको अनुचित वा अनुपयुक्त प्रयोगले सुनाइसम्बन्धी समस्या हुन सक्छ ।


यस्तै नवजात शिशुलाई गम्भीर जन्डिस हुनुले समेत उनीहरूको श्रवणतन्त्रिकालाई नोक्सान पुर्‍याउन सक्छ । आर्जित कारणले हुने सुन्ने क्षमतामा कमी कुनै पनि उमेरमा हुन सक्छ । यसअन्तर्गत मेनेन्जाइटिस, मिजिल्स, हाडेलगायतका संक्रामक रोग, पुरानो कानको संक्रमण, कानमा पानी पस्नु (ओटिटिस मिडिया) आदिले सुन्ने क्षमतामा कमी ल्याउन सक्छ ।


यस्तै, केही औषधि जस्तै, नवजात शिशुको संक्रमणमा उपयोग गरिने औषधि, औलो, क्षयरोग र क्यान्सरको उपचारमा उपयोग गरिने औषधिसमेत सुन्ने क्षमतालाई प्रभावित गर्न सक्छन् । यति मात्र नभएर टाउको र कानको चोटपटकले समेत सुन्ने क्षमता प्रभावित हुन्छ ।


यस्तै धेरै बढी होहल्लाले समेत हाम्रो सुन्ने क्षमता प्रभावित हुन्छ । यसमा विस्फोट, मेसिनको स्वरलगायत व्यावसायिक रूपले निस्किने आवाजसमेत सामेल छन् । उच्च स्वरमा व्यक्तिगत अडियो उपकरणको उफयोग, लामो समयसम्म संगीत कार्यक्रममा सरिक, नाइट क्लब, बार खेल, मनोरञ्जक कार्यत्रमा आदिमा हुने तीव्र स्वरसमेतले सुन्ने क्षमता प्रभावित गर्छ ।


डब्लूएचओका अनुसार बुढ्यौलीले संवेदना बुझ्ने कोषको क्षति र कानेगुजी वा अन्य बाहिरी कुराले कान बन्द हुनाले समेत सुन्ने क्षमतामा असर पर्छ । कानको नशा कमजोर हुने कारण उमेरसमेत हो । करिब ५० वर्षको उमेरपछि सुन्ने क्षमतामा समस्या देखिन सक्छ । यो समस्या भित्री कानको नशामा उमेरसँग सम्बन्धित परिवर्तनले गर्दा देखिने गरेको हो ।


बालबालिकामा भने दीर्घकालीन ओटिसिस मिडिया कान सुन्ने क्षमतामा कमी आउनुको एउटा प्रमुख कारण हो ।


ईएनटी इमर्जेन्सी

भाइरल संक्रमण ‘ईएनटी’ मा इमर्जेन्सीको स्थिति भए पनि यसबारे धेरैलाई जानकारीको अभाव छ । यस्तो हुँदा ४८ देखि ७२ घण्टाभित्र अस्पताल पुग्न सके यसबाट हुने समस्या कम गर्न सकिन्छ ।


यसमा रुघा, खोकी लाग्ने र साँझसम्म ठीकै भए पनि राति सुतेर बिहान उठ्दा त कान नै नसुन्ने, एउटा कान ठीक भए पनि अर्कोले नसुन्ने, कम सुन्ने आदि समस्या देखिन सक्ने औंल्याउँदै डा. साह भन्छन्, ‘यस्तो देखिए तुरुन्त अस्पताल पुग्नुस्, समयमै उपचारले श्रवणशक्तिको समस्या निको हुन सक्छ ।’ प्रायः गरेर यो समस्या देखिएपछि अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया गरिन्छ ।

हेड फोनको अत्यधिक उपयोग खतरनाक

आजकल किशोर, युवा तीव्र/कडा स्वरको सम्पर्कमा धेरै लामो समयसम्म रहने गर्दा उनीहरूको सुन्ने क्षमता प्रभावित भइरहेको छ ।

हेड फोनको अत्यधिक उपयोगले पश्चिमा मुलुक मात्र नभई नेपालमा समेत कानसम्बन्धी समस्या बढदै गएको छ । हेड फोनको अत्यधिक उपयोग, चर्को स्वरमा गीत सुन्ने आदिले गर्दा युवाको सुन्ने क्षमतामा कमी देखिन थालिएको डा. श्रीवास्तव बताउँछन् । यसले कानको नशा कमजोर हुनु, सुन्ने क्षमता प्रभावित हुनु, कान सुन्निनु, दुखाइ, मानसिक तनावलगायतका समस्या देखिन सक्छन् ।

हेड फोनमा उच्च डेसिवल ध्वनि तरंग हुन्छ । यसको निरन्तर, अत्यधिक, अवैज्ञानिक उपयोगले सुन्ने क्षमतासमेत गुम्न सक्छ ।

९० डेसिवलभन्दा बढी स्वरमा गीत सुन्दा यसले कानलाई गम्भीर क्षति पुर्‍याउन सक्छ । इयर फोनमा संगीत सुन्दा करिब ६० प्रतिशत कम आवाज मै सुन्नु उपयुक्त हुन्छ । ‘हेड फोनको माध्यमले गीत सुन्दा समयसमयमा ब्रेक लिनोस्,’ डा.श्रीवास्तव भन्छन्, ‘भल्युमसमेत कम राख्नुस् ।’


रोकथाम

उमेरले गर्दा देखिने कान न सुन्ने समस्या रोक्नु सम्भव छैन तर यसको जोखिमको कारकलाई रोक्न वा कम गर्न सकिन्छ ।

यसअन्तर्गत टीबी, गीत आदि चर्को स्वरमा सुन्नु हुँदैन । यस्तै होहल्ला, चर्को स्वर, तीव्र आवाज भइरहेको ठाउँमा रहँदा इयर प्लग आदिको उपयोग गर्नुपर्छ । आफनो कानमा कुनै वस्तुलाई हाल्नु हुँदैन ।


कानमा तेल हाल्नु हुँदैन । मुख्य रूपमा कान पाक्ने समस्या भएकाहरूले कानमा पानी पस्न दिन नहुने डा. साह बताउँछन् ।

कानलाई सलाईको काँटीलगायतका वस्तुले कोट्याउनु हुँदैन । कानमा चिकित्सकीय सल्लाहबिना कुनै थोपा आदि हाल्नु हुँदैन । कानमा कुनै प्रकारको संक्रमण भए डाक्टरको सल्लाह लिनुपर्छ ।


हामी कसरी सुन्छौं ?

सबैभन्दा पहिले हामीले सुन्ने ध्वनिले हाम्रो कानको पर्दामा कम्पन्न उत्पन्न गर्छ । यो कम्पन्न तीनवटा सानो हाडका माध्यमले कानको मध्य भाग मध्य कर्ण, हैमर, एनविल एवं स्टियर अपबाट गुज्रिँदै कक्लियासम्म पुग्छ । ध्वनि कक्लियामा पुग्दा कक्लियाको द्रव्य गतिमय हुन थाल्छ । कक्लियाभिक्र संवेदनशील कोषिकाहरू हुन्छन् ।


यी कोषिकाहरू यस संवेदनशील गतिलाई नोट गर्छ र न्युल त्रियाहरू प्रारम्भ गर्छ जसलाई अडिटरी नर्भद्वारा मस्तिष्कसम्म फुर्‍याइन्छ । अनि हामी ध्वनिलाई सुन्छौं ।


बहिरोपनाको लक्षण

  • व्यक्तिको आवाज वा ध्वनि मधुरो सुन्निनु
  • अर्को व्यत्तिलाई स्पष्ट सुन्नमा समस्या हुनु
  • चर्को स्वरमा टेलिभिजन, रेडियो आदिलाई देख्नु, सुन्नु
  • ढोकाको घण्टी वा टेलिफोनको आवाज सुन्न समस्या हुनु
  • केही विशेष प्रकारको शब्द बुझ्न नसक्नु
  • शब्दलाई बुझ्न अप्ठ्यारो हुनु
  • मुख्य रूपमा भीडमा कसैले बोलेको वा पछाडिबाट आएको आवाज बुझ्न समस्या हुनु
  • व्यक्तिलाई स्पष्ट, बिस्तारै र जोडले बोल्नका लागि बारम्बार भन्नु
  • सामाजिक कार्यबाट बँच्नु
  • सामुन्ने भएकाहरूको कुरा नबुझी कुराकानीलाई बीचमै छाड्नु

[email protected]

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?