मुटुमैत्री म्यांगो सेक

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकास्थित नेसनल हर्ट लङ्स एन्ड ब्लड इन्स्टिच्युटले मुटुका लागि म्यांगो सेक बनाउने को रेसिपी प्रस्तुत गरेको छ । इन्स्टिच्युटका अनुसार चिल्लो कम भएको २ कप दूध, एउटा पाकेको आँप, केरा र दुई टुक्रा बरफलाई ब्लेन्डर/मिक्सीमा राखेर केही समय चलाउएर म्यांगो सेक बनाउन सकिन्छ । 

विज्ञहरूका अनुसार म्यांगो सेकमा ग्लूकोज भएको हुनाले शरीरलाई तुरुन्त ऊर्जा मिल्छ । तर यो तपाईंको शरीरका लागि त्यतिखेर बढी फाइदाकारी हुन्छ जब यसमा चिनी नहालेर सेवन गरियोस् । चिनी नभएको एक ग्लास म्यागो शेकमा करिब १७० क्यालोरी हुन्छ ।

चिनी हालेर बनाइएको म्यागो शेकमा करिब २४० क्यालोरी हुन्छ । एक ग्लास म्यागो शेकमा करिब १६.५ ग्राम कार्बोहाइड्रेड, ८.६ ग्राम फ्याट, ७ ग्राम प्रोटिन, ७.८ ग्राम बोसो पाइन्छ ।

प्रकाशित : असार २१, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

शक्तिको स्रोत

पाकेको आँपमा हुने प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेड, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ ले शरीरका कोषिका निर्माण गर्न सघाउँछ
अतुल मिश्र

काठमाडौँ — बढ्दो गर्मीसँगै आजकल चारैतिर फलको राजा आँपकै बाहुल्य छ । आयुर्वेदमा यसलाई औषधितुल्य भनिएको छ । यसमा प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेड, सर्करा प्रशस्त मात्रामा हुन्छ । 

शास्त्रहरूमा अमृत फलका रूपमा वर्णन गरिने काँचो वा पाकेको आँप दुवैमा औषधीय गुण हुन्छ । आँपको चिकित्सकीय रूपमा फल र रूखको वर्णन चरक संहिता, सुश्रुत संहिता लगायतका विभिन्न ग्रन्थ सँगै चन्द्र निघन्टुमा समेत छ ।

यसमा मधुर रस हुने भएकोले शरीरको हरेक कोषिका निर्माण गर्न असाध्य राम्रो मानिने औंल्याउँदै डा.ऋषिराम कोइराला भन्छन्, ‘हाल विषादीले बिगार्‍यो, विषादी उपयोग नगरिएको, कार्बाइडलगायतका रसायन उपयोग नगरी प्राकृतिक रुपमा पाकेको आँप शरीरका लागि अत्यन्त राम्रो मानिन्छ ।’

आयुर्वेदका अनुसार पाकेको आँप कफवर्द्धक हुन्छ । यसको सेवनले जिउ बलियो हुन्छ । यो रुचिकर हुनुको साथै शक्तिसमेत दिन्छ । पाकेको आँप प्राकृतिक रूपमा भिटामिन ‘ए’ र ‘डी’ को उच्च स्रोत हो । यसमा पोटेसियमसमेत हुन्छ ।

आँपमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘सी’, फिनोल, क्यान्सरविरोधी तत्त्वहरूसमेत पाइन्छ । यसमा करिब २५ प्रकारका कैरोटेनायडस पाइन्छन् । आँपमा भएको म्यागोफेरिलले कलेजोलाई स्वस्थ बनाउनुका साथै पित्तलाई निकाल्ने काम गर्छ । काँचो आँप पित्तवर्द्धक हुनुको साथै स्वादिलो, रुचिकर, भोक लगाउने, लू लाग्नबाट जोगाउनेलगायतका गुणले परिपूर्ण हुन्छ ।

‘आयुर्वेदमा काँचो ‘आँप्र पानक’, भन्ने आँपको सरवत बनाउने प्रक्रिया छ, यसले शीतलता प्रदान गर्नुका साथै गर्मी याममा ‘लू’ लाग्नबाट जोगाउँछ,’ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस, कीर्तिपुरका क्याम्पस प्रमुख प्रा.डा. शिवमंगल प्रसाद भन्छन् ।

यसअन्तर्गत २/४ वटा काँचो आँपलाई हलुका बाफमा पकाइन्छ । पाकेपछि यसको बोक्रा ताछेर गुदीलाई मथेर त्यसमा पानी, स्वादअनुसार मिस्री, नुन, जिरा आदि मिसाएर सर्वत बनाइन्छ ।

बच्चादेखि वृद्घसम्म सेवनका लागि फलदायी मानिने आँपलाई पहिले शरीरलाई बढाउन, वृद्घि गर्न दुधसँग खाने चलन थियो । अझै गाउँ घरमा आँप र दुध खाने चलन छ ।

‘बात पित्तलाई नाश गर्छ, दुधसँग मिसाएर खाएको आँपले रुचि बढाउँछ, तौल बढाउँछ, वीर्य वर्द्धक हुनुको साथै छाला लाई समेत राम्रो बनाउँछ,’ डा. कोपिला अधिकारी भन्छिन् । चुसेर खाने आँपले खानामा रुचि बढाउँछ, बल बढी दिन्छ, धातु बढाउँछ ।

उनी अगाडि थप्छिन्, ‘आँप धातुवर्द्धक हो । यसले छालालाई राम्रो बनाउँछ, मुटुलाई राम्रो गर्छ, बलवर्द्धक हुन्छ, रुचि बढाउँछ ।’ आँपको रस धेरै मात्रामा सेवन गर्दा यसले तौल बढाउँछ । यसैले बढी तौल भएकाहरूले सन्तुलित मात्रामा सेवन गर्नुपर्छ भने पातलो व्यक्तिले खाँदा राम्रो हुन्छ ।

आँपको वैज्ञानिक नाम ‘मैगीफेरा इडिका’ हो । विश्वमा १५०० सयभन्दा बढी किसिमका आँप पाइन्छन् । विभिन्न तथ्यपत्रहरूअनुसार आँप करिब ५ हजार वर्षअघि भारतीय उपमहाद्वीपमा उमारिएको थियो ।

कोयासमेत उपयोगी
आँपको कोया (सिड) समेत स्वास्थ्यका दृष्टिकोणले अति फाइदाकारी छ । कोयाको बाहिरी कडा तह हटाएरभित्रको गुदीबाट आयुर्वेदमा विशेष प्रकारको ‘पुष्यानुग चूर्ण’ बनाइन्छ ।

‘यो चूर्णले महिला प्रजनन् तन्त्रलाई बलियो बनाउँछ,’ डा. शिवमंगल प्रसाद भन्छन्, ‘यो बाझोपनका लागि समेत राम्रो औषधि हो ।’ उनका अनुसार यो चूर्णले महिलाहरूमा सेतो पानी बग्ने समस्यामा समेत उपयोगी हुन्छ भने शक्ति प्रदान गर्नसमेत सहयोगी हुन्छ ।

कामोद्दिपक गुण
आँप पुरुष र महिला दुवैका लागि कामोद्दिपक मानिएको छ । ‘यसको सेवनले आन्तरिक शक्ति बढाउँछ, महिला पुरुष दुवैमा कामोद्दिपक प्रभाव समेत दिन्छ, यसले यौन शक्ति बढछ’, डा.शिव मंगल प्रसाद भन्छन्, ‘यो भिटामिन ‘इ’, मैग्नेसियम, फस्फोरस, पोटेसैयमको प्रचुर स्रोत हो ।’ आँपको सेवनले पिसाबसम्बन्धी समस्या जस्तै पोल्नु, रुकेर पिसाब आउनु आदिमा समेत फायदा पुग्ने उनी थप्छन् ।

बोटमै पाकेको आँप सर्वोत्तम
आँपको बोटमै पाकेको आँप आयुर्वेद अनुसार सर्वोक्तम हो । डा.शिव मंगल प्रसादको अनुसार यसपछि आँपलाई रसायनको उपयोग नभएको परम्परागत घरेलु तरिकाले पाकेको आँप सेवन गर्नु राम्रो मानिन्छ ।
तर कार्बाइड लगायतका रसायन उपयोग गरेर पकाइएको आँपले स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने जनाउँदै उनि यस्तो आँप सेवनले कलेजो, मृगौला लगायतको अंगमा क्षति पुग्ने वताउछन । कार्बाइड उपयोग गरेर पकाइको आँप को शंका भए त्यसलाई रातभरी पानीमा भिजाएर पछि खाँदा यसले सम्भावित क्षतिमा कमी ल्याउछ ।

आँपमा के के हुन्छ ?
विभिन्न तथ्यपत्रहरू अनुसार पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेड, क्याल्सियम, फास्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायतका हुन्छ ।

पाकेको आँप पोषक, शक्तिवर्धक र बोसो बढाउने खालको मानिन्छ । आँपको मुख्य घटक शर्करा हो जो विभिन्न फलमा ११ देखि २० प्रतिसत सम्म विद्यमान रहन्छ । यसमा पाइने मुख्यतः चिनी आँपको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य शर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म हुन्छ । यसमा टार्टरिक र मेलिक अम्ल समेत पाइन्छ । साइट्रिक अम्ल भने अल्प मात्रामा रहन्छ । यो अम्लको शरीरद्वारा उपयोग गरिन्छ र यो शरीरमा क्षारीय सञ्चय कायम राख्नमा सहयोगी हुन्छन् ।

आँपको अन्य घटकमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फास्फोरस ०.०२, र फालम ०.३ प्रतिशत रहन्छ । करिब ८६ प्रतिसत ओसलोपनाको मात्रा रहने आँपको एक सय ग्राममा औसत उर्जा करिब ९० क्यालोरीसम्म हुन्छ ।

धेरै आँप खाएर अप्ठ्यारो भए
यदि तपाईंलाई धेरै मात्रामा आँप खाएर अप्ठ्यारो भएको छ भने, यसको घरेलु उपाय समेत छ । डा.अधिकारीको अनुसार आँप बढी खाएर प्रभावित भएकाहरू चुथो राखेर पानी खाए राहत मिल्छ । यस्ते थोरै नुन र जिरा राखेर पानी खानाले समेत राहत मिल्छ ।

प्रकाशित : असार २१, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्