कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरित पुस्ता

जंगल र जैविक विविधता बचाउन सकिए मात्रै हाम्रो पुस्ता सुरक्षित रहन्छ ।

काठमाडौँ — कुनै बेला हातमा गुलेली बोकेर चरा मार्दै जंगल चहार्नेहरु अचेल चराचुरुंगी र वन्यजन्तुको संरक्षण अभियानमा लागेका छन् । यसरी सक्रिय बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका युवाबारे मोहन बुढाऐर लेख्छन् :

हरित पुस्ता

सानै छँदा चरा मार्नका लागि गुलेली लिएर जंगल चहार्थे, अन्तराम चौधरी । धनगढीबाट पूर्वी–दक्षिणी क्षेत्रको दुर्गम गाउँ भजनी रजवारका उनको बाल्यकाल गुलेली खेल्दै बितेको थियो । उनलाई स्कुलबाट कति बेला निस्कनेजस्तो हुन्थ्यो, सिकार खेल्दै जंगल डुल्नका लागि । उनी अहिले पनि चरा र वन्यजन्तु नै पछ्याइरहेका छन् । ध्येय भने फेरिएको छ । उनको हातमा गुलेली होइन, त्यसलाई बढावा पनि दिन्नन् । गुलेली बोक्नेहरूलाई सिकार गर्नुहुन्न भनेर सम्झाइरहेका भेटिन्छन् ।


भजनीका भोजराज श्रेष्ठलाई ‘गुलेली बाजे’ भनेर चिनिन्छ । उनकै संगतमा परेपछि अन्तरामको सिकारी मोह फेरिएको हो । उनी अहिले चराको संरक्षण अभियानमा जुटेका छन् । ‘स्कुले जीवनमा गाउँ–घरका साथीभाइसँग गुलेली लिएर जंगलतिर खुबै डुलियो । दैनिक २–३ वटा चरा मारियो,’ उनी भन्छन्, ‘एक दिन जंगलमा चरा मारेर फर्कंदा गुलेली बाजेसँग भेट भयो । उहाँले सम्झाएपछि चरा मार्न छोडें ।’ उनले दस वर्षअघि गुलेली बाजे भेटेका थिए । अहिले उनी २४ वर्षका भइसकेका छन् ।


स्कुले छँदै गुलेली बाजेसँगको भेटलाई अन्तरामले सम्झिए, ‘त्यो दिन हामी तीन साथी दुई वटा चरा मारेर फर्कंदै थियौं । दुई वटा चरा तीन जनालाई भाग लगाउने विषयमा विवाद भएपछि एक जनालाई अर्को दिन मारेर दिने सर्तमा सहमति भयो । ठीक त्यसै बेला गुलेली बाजेसँग भेट भयो । उहाँले हाम्रो हात च्याप्प समाउनुभयो । फुत्काउनै पाएनौं ।’ उनले थपे, ‘उहाँले आहा कति राम्रो चरा । यसको पनि संसार छ । परिवार छ । छोराछोरी होलान् । चारो खोज्न डुल्दै गर्दा तिमीहरूले अनाहकमा मार्‍यौं भन्नुभयो । अनि चरा मार्न हुन्न भन्दै हात समातेर घरसम्म डोर्‍याउनुभयो ।’


गुलेली बाजेको भनाइ अन्तरामलाई निकै घत लाग्यो । जाने बेला गुलेली बाजेले अन्तरामका बा–आमालाई पनि ‘भोलिबाट छोरालाई चरा मार्न नपठाउनू’ भनेका थिए । ‘भोलि स्कुलमा सरहरूलाई कुरा लगायो भने सजाय पाइन्छ भनेर डर हामीलाई लागिरहेको थियो तर त्यसो भएन,’ अन्तरामले भने ।


गुलेली बाजे त्यसबेला स्थानीय माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक थिए । उनले विद्यालयमा ‘गुलेली संकलन समूह’ पनि गठन गरिरहेका थिए । धेरै विद्यार्थीलाई गुलेली संकलन अभियानमा सहभागी गराइसकेका थिए । अन्तराम भन्छन्, ‘अर्काे दिन हाम्रो स्कुलमा गुलेली बाजे आए । हाम्रो नामै लिएर बोलाउँदै गुलेली संकलन समूहमा राखे ।’ त्यसपछि उनीहरू ‘गुलेली संकलन गरौं, चरा बचाउँ’ अभियानमा लागे ।


त्यसयता अन्तराम राधाकृष्ण सामुदायिक वनका हरेक संरक्षणमुखी क्रियाकलापमा संलग्न भइरहेका छन् । उनी चोरी–सिकारी नियन्त्रण दल, भजनी रेन्जपोस्टस्तरीय सामुदायिक वन समन्वय समितिअन्तर्गतको ‘रेक्स्यु रिस्पोन्स टिम (आरआरपी) मा पनि आबद्ध छन् । आरआरपी टिम वसन्ता जैविक मार्गमा कुनै वन्यजन्तुको चोरी–सिकार भएमा वा अन्य कारण घाइते भएमा तत्कालै उद्धारमा लाग्छ ।


शुक्लाफाँटादेखि बर्दिया राष्ट्रिय निकुञ्जसम्मको हरित पुस्ता (दि जेनेरेसन ग्रिन) अभियानमा पनि उनको संलग्नता थियो । यसमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १६–३० वर्षका ५० जना सहभागी थिए । यसको नेतृत्व गरेका थिए– बर्दियाका भदई चौधरीले । ‘टाइगर म्यान’ ले चिनिएका उनी बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरिनियाघाट वाइल्ड लाइफ सेन्चुरीलाई जोड्ने खाता करिडोरका संरक्षणकर्मी हुन् ।


खाता करिडोरको घाँसे मैदानमा दस वर्षअघि बाघसँग जम्काभेट भएपछि उनको जीवन फेरिएको हो । बाघसँग उनको भिडन्त नै भयो । बाघको पञ्जा हानेपछि उनले देब्रे आँखा गुमाए । अचेल उनी आफ्नो ज्यान लिन खोज्ने बाघकै संरक्षणमा सक्रिय छन् । ‘बाघको बाटोमा मानिस गएपछि द्वन्द्व बढेको थाहा पाएँ,’ उनले भने । नयाँ पुस्ताका अन्तराम उनीसँग पनि संरक्षणबारे ज्ञान लिइरहेका छन् ।


ठाकुरद्वारस्थित विन्दीपुरका सुरज थारू पनि हरित पुस्तामा जोडिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घर भएकाले उनी वन्यजन्तुबाट हैरानी खेप्नेमा पर्छन् । कहिले गोठमै आएर बाघले बाख्रा खान्थ्यो । कहिले हात्ती र बँदेलले बाली नष्ट पार्थे । वन्यजन्तुले गर्ने नोक्सानी देखेर उनी वन्यजन्तुप्रति नकारात्मक सोच्थे । वन्यजन्तुको ‘व्यवहार परिवर्तन’ कक्षामा सहभागी भएयता फेरिएका उनले भने, ‘वन्यजन्तुको घरमा हाम्रो बसोबास भयो । हामीले उनीहरूलाई असर पुर्‍याइरहेका रहेछौं ।’


‘यो संसारका प्राणी जगत् सबै मिलेर बस्नुपर्छ भन्ने महसुस भएको छ,’ सुरजले भने, ‘वन्यजन्तु र मानव कसैको पनि घर बिग्रनु हुँदैन । सहअस्तित्वको आधारमा बस्दा सबैको भलो हुन्छ ।’


स्कुलमा छँदै ईको क्लबमा आबद्ध भएका पताभरका गौतमराज चौधरी पनि वन्यजन्तु संरक्षणमा निरन्तर खटिरहेका छन् । अहिले उनी गाउँका बासिन्दालाई वन्यजन्तुमैत्री भएर बस्न सिकाइरहेका छन् । वन्यजन्तुलाई देखाएर जीविकोपार्जन गर्ने बस्ती पनि हो उनको । यहाँ दर्जन थारू परिवारले होम–स्टे सञ्चालन गरिरहेका छन् । जंगल घुम्न आउने पर्यटकलाई उनी आफ्नो घरका पाहुना बनाउँछन् । उनले बाघ गणना टोलीमा रहेर पनि काम गरे ।


गत वर्ष उनको टोली तस्बिर लिने ‘ट्रयापिङ क्यामरा’ निकाल्न खोज्दै थियो । नजिकैको रूखमुनि बाघ सुतिरहेको रहेछ । उनीहरूलाई थाहै थिएन । टोलीमा दुई जना नेपाली सेना पनि थिए । बाघ देख्नासाथ सुरक्षाकर्मीहरू कुलेलाम ठोके । ‘हामी टक्क रोकियौं । हामीलाई एकछिन घोरिएर हेरेपछि बाघ आफ्नो बाटो लाग्यो,’ सुरजले सम्झिए, ‘यसले कुनै पनि जनावरले बिनाकारण मानिसलाई आक्रमण गर्दैन भन्ने थाहा भयो ।’


हरित पुस्ताका अर्का युवा पुनाराम चौधरी भन्छन्, ‘संरक्षणमा युवा अहिले नजुटे कहिले ?’ लालझाडी जैविक मार्गका उनी वनजंगलमा बढेको मानवीय क्रियाकलापले वन्यजन्तुको बासस्थान र जैविक विविधता नष्ट भइरहेकामा चिन्तित छन् । ‘जंगल र जैविक विविधता बचाउन सकिए मात्रै हाम्रो पुस्ता सुरक्षित रहन्छ,’ उनले भने । २०६० सालदेखि सामुदायिक वनको चोरी–सिकार नियन्त्रण दलमा आबद्ध सीताराम ‘वन जंगल हाम्रो पुस्ताको भविष्य हो’ भन्छन् ।

तराई भूपरिधि कार्यक्रमका अनुसार हरित पुस्ता अभियानमा ५ लाख युवा संलग्न रहेका छन् । यसका प्रतिनिधि ५० युवाले कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज, मोहना–लालझाडीको विजयशाला, सिस्ने सिमसार, कैलालीको वसन्ता जैविक मार्ग, पहलमानपुरमा सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन, कर्णाली करिडोर, टीकापुरको बनाना रेस्टुरेन्ट, खाता करिडोर, डल्ला होम–स्टे र बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अध्ययनको मौका पनि पाए ।

प्रकाशित : पुस २७, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?