कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरल दोहोरी 

अहिलेको चर्चित गीतका गायक कुलेन्द्र विश्वकर्माले यसअघि ५ हजार गीत गाएको कमैलाई थाहा छ । केही महिनाअघिको एउटा गीतले उनलाई चर्चाको शिखरमा मात्रै पुर्‍याएको छैन, व्यस्तता पनि बढाएको छ ।
विमल खतिवडा

काठमाडौँ — असोज १ गते एउटा लोकदोहोरी गीत रिलिज भयो । जुन गीतको दबदबा अहिले पनि कायमै छ ।

भाइरल दोहोरी 

गीतकार नवराज पन्तले रचना गरेको ‘सालको पातको टपरी हुनी, नहुनी सल्लैको...’ गीतले सबैको ध्यान खिचेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मको जनजिब्रोमा झुन्डिन सफल छ । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको यो गीतले आधुनिक र फिल्मको गीतलाई टक्कर दिएको छ ।


युट्युबमा आधुनिक र फिल्मी गीतको प्रतिस्पर्धी बनेको छ । पहिला सांगीतिक कार्यक्रम, सार्वजनिक यातायात, रेडियो, टेलिभिजनमा लोकदोहोरी गीत बज्दा नाक खुम्च्याउने जमात् अहिले यो गीतको खुलेर प्रशंसा गर्दैछन् । मेला महोत्सव होस् वा विवाह, व्रतबन्ध नै किन नहोस्, यो गीतमा नाच्ने संख्या धेरै छ । गीतको चर्चासँगै गायक कुलेन्द्रको पनि व्यस्तता बढ्दै छ ।


गीत भाइरल बनेपछि देश–विदेश जताततैबाट सांगीतिक कार्यक्रमका लागि निम्तो आउने क्रम जारी छ । अहिले उनलाई भाइरल गीतका गायकका रूपमा चिन्ने धेरै छन् । जहाँ मेला महोत्सव आयोजना हुन्छन्, त्यहाँ उनको उपस्थिति प्राय: अनिवार्य जस्तै बन्ने गरेको छ । गीत रिलिज भएयता करिब २५ वटा मेला महोत्सवमा उपस्थिति जनाइसकेका छन् ।


‘मंसिरबाट महोत्सवमा सहभागिता जनाउन थालेको हो,’ उनी भन्छन्, ‘अहिले पनि मेला महोत्सवमै व्यस्त छु ।’ जुन मेलामा उनी गीत गाउन पुग्छन्, त्यो मेलामा प्राय: अर्को गीत गाउन दर्शकले दिँदैनन् । डिमान्ड सालको पातको टपरीकै हुन्छ । यही गीतले उनलाई देश डुलाएको छ । विदेशतिर बोलाएको छ । यही गीतले कुलेन्द्रलाई पूर्वको सिन्धुलीदेखि पश्चिमको जाजरकोटसम्म पुर्‍यायो । फागुन १५ सम्म उनी नेपालकै मेला महोत्सवमा व्यस्त हुनेछन् ।


‘गीत हिट हुन्छ भन्ने त लागेकै थियो,’ उनी भन्छन्, ‘यसरी सुपरहिट नै होला भन्ने चाहिँ थिएन ।’ छोटो भिडियो सेयर गर्ने एप टिकटकमा यो गीतको टुक्रा राखेर भिडियो बनाउने जमात् उत्तिकै सक्रिय छ । गीतलाई टिकटकमा फलो गर्नेमा तन्नेरी बढी छन् । गायक/गायिका, मोडल, अभिनेता, नायक/ नायिकाको रोजाइमा पनि यो गीत परेको कुरा टिकटकमा राखिएको भिडियो हेरेर थाहा हुन्छ ।


पर्वतको महाशिला गाउँपालिका ५ स्थित लुंखुदेउरालीका कुलेन्द्र २०६० सालमा काठमाडौं पसे । राम्रो गायक बन्ने सपना साँचेर राजधानी छिरेका उनले सुरुका वर्ष निकै संघर्ष गर्नुपर्‍यो । हिम्मत हारेनन् । मेहनत गर्न छाडेनन् । उनकै शब्दमा भन्दा अहिलेसम्म ५ हजार बढी गीत गाइसके । तर, सबैभन्दा चर्चित बनेको गीत यही हो । ०६२ सालबाट सांगीतिक क्षेत्रमा लागेका उनको पहिलो गीत ‘के छ हालचाल...’ हो । उनलाई लोकदोहोरीको फाँटमा गायकका रूपमा चिनाएको गीत भने ‘नजाऊ है सानु पँधेरी..., जोगीको भेषैमा..., डाँडै फुर्के सल्लो... हो । ४ वर्षसम्म एल्बम ननिकाली बसेका उनले पाँचांै एल्बमका रूपमा जब सालको पातको टपरी हुने सार्वजनिक गरे तब पछि फर्किएर हेर्नुपरेको छैन । गीतले पहिलाको व्यस्ततालाई दोब्बर बनाइदिएको छ ।


एकताका खेमराज गुरुङको ‘वारि जमुना पारि जमुना... गीतले बजार तताएको थियो । यही गीतको बाटो अहिले सालको पातको टपरी गीतले पछ्याएको कुलेन्द्रको तर्क छ । ‘यो टिपिकल गीत बन्यो, थेगो उत्कृष्ट छ,’ उनी भन्छन्, ‘म मात्र होइन, सिंगो टिमको मेहनतले गीत हिट भयो, सबैले मन पराउने गीत बन्यो ।’


अहिले सडकमा हिँड्दा सालको पातको टपरी गीत गाउने गायक भन्दै कोही टिकटकमा राख्ने भिडियो त कोही फोटो खिच्न आपसमा प्रतिस्पर्धा गर्छन् । ‘महोत्सवमा स्टेज चढ्नासाथ यही गीतको मात्र फर्माइस आउँछ,’ उनी भन्छन्, ‘८ चोटिसम्म यही गाउँदा पनि दर्शक अघाउँदैनन्, गाइसक्न नपाउँदै वान्समोरको आवाज गुन्जिहाल्छ ।’


पेसाबाट उनी सन्तुष्ट छन् । गीतले थप चर्चाको शिखरमा पुर्‍याएको छ । यो गीतमा मोडलिङ गरेकी नायिका मरिस्का पोखरेल दर्शकसामु थप परिचित भइन् ।


गीतको युट्युब भ्युज २ करोड ६० लाखबाट उकालो लागेको छ । ‘पहिला पनि मैले गाएका गीत मन पराउने दर्शक धेरै हुनुहुन्थ्यो,’ कुलेन्द्र भन्छन्, ‘तर अहिले जस्तो सबैको प्यारो गायक बनिसकेको थिइनँ, अहिले सबैको माया पाएको छु ।’

[email protected]

प्रकाशित : माघ १८, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?