कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरी उडान

कान्तिपुर संवाददाता

काठमाडौँ — गत साता राजधानीको मौसम गज्जबकै रह्यो । उपत्यकाभित्र लगातार तीन दिनको वर्षात भयो भने वरिपरिका डाँडाहरुमा हिउँ पर्‍यो । सबैको ध्यान हिउँले तान्यो । यही मौसममा खुलेको राजधानीलाई प्याराग्लाइडिङको उडानबाट नियालेकी विद्या राई लेख्छिन् :

गोदावरी उडान

उपत्यकाको धूलो–धूवाँ । कर्कस आवाज । भीडभाड अनि कोलाहल । एक दिन हैन, दुई दिन हैन, तीन दिन हैन । दिनदिनै । कतिन्जेल सहुँ । त्यही भएर खुला आकाशमुनि कतै एकान्तमा गएर हप्तौं बिताउन मन लाग्छ । न काम न फुर्सद । एक दिन जुटाउन पनि मुस्किल पर्छ व्यस्त काठमाडौं सहरमा ।


हालै उपत्यकासँगैको गोदावरी जाने एक मौका जुर्‍यो । प्याराग्लाडिङ गर्ने मौका । साहसिक कार्यमा रुचि भएकाले दुई–चार दिन अघिदेखि नै बढो उत्साहित थिएँ । जसोतसो समय मिलाएँ । प्याराग्लाडिङ गर्न भनेर पाँचजनाको टिम गोदावरी पुग्यौं । करिब १० बजेको थियो त्यहाँ पुग्दा । १२ बजेतिर खाना खाएर प्याराग्लाडिङको उडान गर्ने स्थान चापाखर्कतर्फ लाग्यौं । करिब चार किमि कच्ची बाटो भएर उकालो चढ्यांै । सुनसान, हरियाली गोदावरी वन । आहा १ साथीहरूसँग गफिँदै उकालिनुको मज्जा नै बेग्लै ।


अघिल्ला तीन दिन लगातार वर्षा भएको थियो । काठमाडौंको आकाश विस्तारै खुल्दै थियो । मन फुरुंग थियो । समुद्री सतहदेखि २१ सय मिटर उचाइमा अवस्थित चापाखर्क पुग्यौं । हावाको बहाव तीव्र भइरहेको थियो । पारिपट्टि जंगलमा झरेको हिउँ अझै पग्लिसकेको थिएन । उस्तै चिसो । काठमाडौं उपत्यकालाई टाढैबाट बादलले छोप्दै थियो । प्याराग्लाडिङका पाइलटहरू विजय चौलागार्इं र रामकृष्ण लामाका अनुसार हावाको चापले टप ल्यान्डिङ गर्न गाह्रो हुने सम्भावना प्रबल थियो । दुईजनाको मात्रै उडान हुने हो कि भन्ने भयो । फुरुंग मन छिनमै झसंग भयो ।


प्याराग्लाडिङ गर्ने योजनामा हामी चार जना थियौं । गोला प्रथा गरेर उडाउने कुरा भयो । भित्रभित्रै उकुसमुकुस हुन थालें । कसलाई चिट्ठा पर्ने होला ? बल्ल मिलाएको समय । भगवान्लाई मनमनै पुकारें । यत्तिकैमा पाइलटले टप ल्याडिङ गर्न सहज हुने भएकाले कम तौल भएकोलाई पहिला उडाउने भने । म क्षणमै खुसी भएँ । किनकि सबैभन्दा कम तौलको म नै थिएँ । मैले जसरी भए पनि पहिलो चरणमै जान पाउँथें । पाइलटले प्याराग्लाइडिङ टेक अफ, फ्लाई र ल्यान्डिङका लागि निर्देशन दिए । निर्देशनपछि म र अर्का एक साथीको पालो आयो । बाँकी दुई साथीलाई टप ल्याडिङ नहुने ९० प्रतिशत सम्भावना भएकाले अर्कोपटक आउनुपर्ने भनियो । सँगैका साथीको उडान नहुने भएपछि मन फेरि खिस्रिक्क पर्‍यो ।


पाइलट रामकृष्णले सेफ्टी बाँधिदिए । मन ढुक्क थियो । हातमा गोप्रो थियो । टेक अफ हुने बेला भयो । जमिनमाथि उड्नुपर्ने । मनमा कताकता डर पलायो । टेक अफ भयो । हामी उड्दै समुद्री सतहदेखि २४ सय टिमरसम्म पुग्यौं । चिसो हावा चलिरहेको थियो । घाम लागेको भए पनि उचाइमा पुग्दा एकैछिनको कठ्याग्रिने जाडोले सताइसकेको थियो । पाइलट दिशा फेरेर आफ्नो क्षेत्रमा प्याराग्लाइडिङ गर्दै थिए । घामपट्टि पर्दा न्यानो महसुस गरें ।


डाँडैभरि बाक्लो अनि हरियाली वन । लालीगुराँस पनि फुलेका थिए । क्षितिजपारि बादलले ढाकेको थियो । पश्चिमतिर नजिकै हिमशृंखला देखियो । घरले भरिएको उपत्यका । आकाशमा उड्दै नियाल्दै थिएँ । म निकै रोमाञ्चित भएँ । हातमा गोप्रो थियो । हावाको चापले लामो ट्राइपड भएको गोप्रोलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो । हात फेर्दै भिडियो र फोटो लिएँ । अर्को प्याराग्लाइडिङले पनि टेक अफ लियो ।


मैले लगभग पाँच मिनेट जति भिडियो र फोटो लिएपछि पाइलटले थन्काउन निर्देशन दिँदै भने, ‘अब मजाले दृश्यावलोकन गर्नुस् ।’ अब भिडियो र फोटो खिच्दा गोप्रो चिप्लेर खस्ला कि भनेर डराउनुपरेन । पहाडको कोखमा जन्मिएको म उसै पनि प्रकृति भनेपछि हुरुक्क हुन्छु । हरियाली जंगल, उपत्यका र हिमशृंखलालाई एकटकले नियाल्न पाउँदा मन्त्रमुग्ध भएँ । त्यसो त जंगल, उपत्यका र हिमशृंखलाहरू चन्द्रागिरि डाँडाबाट दुईपटक नियालेको छु । तर आकाशमा उड्दै गरेको दृश्यावलोकन थप रोमाञ्चक बन्यो । अघि उकालो निस्केको स–साना मोड, कच्ची बाटो माथिबाट हेर्दा सुन्दर देखियो । टेक अफ गर्ने ठाउँनिरको सानो खुला चउर र नजिकै बस्तीले फेरि एकचोटि मज्जाले गाउँघरको याद दिलायो ।


समय बितेको पत्तै भएन, ल्यान्ड हुने बेला भइसकेछ । प्याराग्लाइडिङ उड्दै आएर १५ सय टिमरको उचाइमा पर्ने रचनटारमा ल्यान्ड गर्ने भए पनि हामीले टेकअफ लिएकै स्थानमा टप ल्यान्ड गर्‍यौं । लगभग २० मिनेटको उडाइले रमाइलो मात्र भएन, साहस पनि थपेको थियो ।


प्याराग्लाडिङका लागि पोखरा चर्चित छ । पछिल्लो समय अन्यत्र पनि प्याराग्लाइडिङको व्यावसायिक उडान हुन थालेको छ । राजधानीमा काठमाडौं प्याराग्लाइडिङ कम्पनीले उडान गरिरहेको छ । कम्पनीका नीरज पन्तका अनुसार यहाँ सन् २००७ मा उडान सुरु गरिएको थियो तर २०१५ को महाभूकम्पपछि बन्द गरिएको थियो । दुई महिनाअघि फेरि सुरु गरिएको हो । यहाँ दैनिक प्याराग्लाइडिङ भइरहेको पन्तले बताए ।


साहसिक खेल प्याराग्लाडिङका लागि युवा आकर्षित हुन्छन् । भ्यालेन्टाइन डे नजिकिँदै गरेकाले प्याराग्लाडिङ गर्न पुगेका प्रेमिल जोडीहरू पनि भेटिए । उनीहरूले हामीभन्दा अघिल्लो समूहमा प्याराग्लाइडिङ गरिसकेका थिए । गोदावरीमा भेटिएका उनीहरूले रमाइलो गर्न मात्रै नभएर माया र साहस बढाउनका लागि प्याराग्लाइडिङ गर्न आएको पनि सुनाए । जोडीमध्येकी महाराजगन्जकी सन्ध्या सुवेदीले आफ्ना अनुभव बाँडिन्, ‘युवाहरू सबै कुरामा फिट हुनुपर्छ । साहसिक त हुनैपर्‍यो नि १’ उनले थपिन्, ‘रमाइलो हुन्छ, साहस बढ्छ, माया पनि बढ्छ ।’


मौसम खुला भएको दिन प्याराग्लाडिङ गर्न एकदमै रमाइलो हुने गर्छ । खुलेको आकाश, छर्लग उपत्यका, वरिपरि हिमशृंखला, हरियाली गोदावरी वनलाई एकैचोटि नियाल्दा संसार भुलेको भान हुने अनुभवीहरू बताउँछन् ।


प्रकाशित : फाल्गुन ३, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?