शानदार डेब्यु

फिल्म ‘बुलबुल’ को चोपेन्द्र चरित्र र त्यसलाई निर्वाह गर्ने कलाकार मुकुन भुसालको खुबै चर्चा भइरहेको छ । मुकुन कसरी चोपेन्द्र बने ? त्यही रोचक कथा:
गोकर्ण गौतम

काठमाडौँ —  बुलबुल’ चलेकै थिएन, गीत र ट्रेलर सार्वजनिक हुनासाथ मुकुन भुसालको चर्चा सुरु भइसकेको थियो  । उनको चरित्रको नामै युनिक, चोपेन्द्र  ।

बुलबुल’ चलेकै थिएन, गीत र ट्रेलर सार्वजनिक हुनासाथ मुकुन भुसालको चर्चा सुरु भइसकेको थियो । उनको चरित्रको नामै युनिक, चोपेन्द्र । बोल्ने शैली अझ नवीन । अर्घाखाँचीतिरको लवज मिसिएको । सम्भवतः यसअघि नेपाली फिल्मका मुख्य पाक्रले कहिल्यै नबोलेको लवज । गत शुत्रबारबाट ‘बुलबुल’ प्रदर्शन भएपछि त मुकुनको प्रशंसाको ओइरै लागेको छ । उनले बोल्ने ‘च्यागुल्लो छ’ संवाद उस्तै लोकप्रिय हुँदै छ । जबकि उनको यो पहिलो फिल्म हो ।


‘तपाईंहरूका लागि म नयाँ लाग्न सक्छ तर म नौ वर्षदेखि अभिनय साधना गरिरहेको छु । त्यसकै प्रतिफल हो, चोपेन्द्र चरित्र,’ मुकुनले भने । ‘बुलबुल’ हेर्ने जोकोहीलाई हेक्का हुन्छ, चरित्रलाई जीवन्त बनाउन मुकुनले कुनै कसर छोडेका छैनन् । रोचक पक्षचाहिँ हिरोको परम्परागत मानकमा चोपेन्द्र अटाउँदैन । तर उनको हुलिया, बोली र व्यवहारले दर्शकलाई आत्मीय गराउँछ ।


नेपाली फिल्ममा अभिनेता होइन, तथाकथित स्टारको हालीमुहाली छ । जो चरित्रमा जीवन भर्न होइन, नक्कल गर्न उद्यत हुन्छन् । त्यस्ता चरित्र समाजभन्दा पर हुन्छन् । यी अवगुण चोपेन्द्रमा देखिन्न । रैथाने लाग्छ यो चरित्र । मुकुन भन्छन्, ‘मलाई हिरो बन्नु छैन, स्टार हुनु छैन । चरित्रमा बाँच्नु मात्र छ ।’ यसको जबर्दस्त संकेत ‘बुलबुल’ मा देखाइसकेका छन् ।

कसरी बने चोपेन्द्र ?
अर्घाखाँचीको सन्धिखर्कबाट एसएलसी सकेपछि प्लस टु पढ्न काठमाडौं आए । प्लस टु सकियो तर स्नातकमा भर्ना हुन मन लागिहालेन । दिल्ली गए । के गर्ने भन्नेचाहिँ उनैलाई पत्तो थिएन । अभिनयको प्रशिक्षण लिने मौका जुर्‍यो । तर लामो समय बस्न सकेनन् । यता आएर मोटरसाइकल वर्कसप खोले । अभिनयको रस पसिसकेको थियो, अवसर थिएन । एकाध सडक नाटक खेले, आँत भरिएन । त्यसैले ओस्कार कलेजमा भर्ना भए, सन् २०१३ मा । मुकुन सम्झन्छन्, ‘पढेपछि अभिनय कौशल त बढ्छ नै, फिल्म खेल्ने मौका जुर्छ भन्ने आशा पनि थियो ।’


तर त्यो आश पूरा भएन, अभिनयमा स्नातक गरिसक्दा पनि । केही सर्ट फिल्ममै चित्त बुझाउनुपर्‍यो । फिचर फिल्मबाट प्रस्ताव नआएका होइनन् । स्क्रिप्ट पढ्थे, जुन भूमिका उनलाई मन पर्थ्यो, त्यो पाउँदैनथे । जुन पाउँथे, त्यो मन पर्दैनथ्यो । उनी भन्छन्, ‘डेब्यु प्रभावशाली भएन भने छवि बिग्रन्छ, करिअर अगाडि बढ्दैन भन्नेमा निश्चिन्त थिएँ । त्यसैले हतारिएर फिल्म खेलिनँ । धैर्य गरें ।’ कहिलेसम्म पर्खने ? टुंगो थिएन, यस्तो अवस्थामा आफूसँगै अभिनय पढेका साथीहरू निराश भएको देखेका थिए । आफ्नो हालत यस्तै हुने खतरा देखेपछि फेरि उनी दिल्ली हानिए । यसपटक उद्देश्य स्पष्ट थियो, अभिनयको थप अध्ययन गर्ने । मार्वा स्टुडियोबाट फिल्म एक्टिङमा स्नातकोत्तर गरे ।


भाग्यले पनि साथ दियो । उता, पढाइ सकियो । यता, ‘बुलबुल’ को प्रस्ताव आयो । प्रस्तावक थिए उनी पढेकै ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेल । विनोदले यत्ति भनेका थिए, ‘सेक्युरिटी गार्डको भूमिका हो । यो चरित्र लेख्दा नै तिमी मेरो दिमागमा थियौ ।’ मुकुन हाँस्दै भन्छन्, ‘विनोद सरसँग पूर्ण विश्वास थियो । स्क्रिप्ट पढेपछि झन् मोहित भएँ ।’ लगातार चारपटक स्क्रिप्ट पढेको मुकुन बताउँछन् । त्यसो त यो भूमिका त्यसअघि विपिन कार्की, खगेन्द्र लामिछाने, निश्चल बस्नेतलाई प्रस्ताव गरिएको थियो तर मेलोमेसो मिलेन । यही बेला आफूले खोजेजस्तै कलाकार मुकुन पाएपछि निर्देशक विनोद पनि दंग भए ।


चोपेन्द्रलाई मुकुनले यही समाजको झर्रो प्रतिनिधिका रूपमा पाए । जब चरित्र निर्माणमा लागे, आफूले देखे/भेटेका अनेक मान्छेका आनीबानी चोपेन्द्रमा समाहित गर्दै गए । हाँस्ने/बोल्ने, हिँड्ने, कपाल कोर्ने शैली वास्तविक चरित्रबाटै सापटी लिइएको मुकुन बताउँछन् । यही कारण हुनुपर्छ, चोपेन्द्र पूरापुर हाम्रै परिवेशको चरित्र लाग्छ । तीन महिनाको वर्कसपपछि छायाँकन सुरु भयो । मुकुन चरित्रमा कतिसम्म डुबिसकेका थिए भने एकल सट् पहिलो टेकमै ओके हुन्थ्यो । थातथलो अर्घाखाँची भएकाले लवजमा खास समस्या भएन । यद्यपि त्यसमा पनि ‘इम्प्रोभाइज’ चाहिँ गरेका छन् ।


नेपाली फिल्मले विस्तारै स्थानीय कथा र पात्रलाई अँगाल्न थालेको छ । पलायनवादी र सीमापारिबाट सापट लिएका चरिक्रहरू त्रमशः हराउँदै छन् । मुकुनहरूको आगमनले यो मौलिक कथा वाचनलाई अझ प्रभावकारी बनाउनेमा शंका छैन । ‘बुलबुल’ प्रदर्शनसँगै मुकुनलाई नयाँ फिल्महरूबाट प्रस्ताव आउनुले यही संकेत गर्छ । तर फेरि पनि उनलाई हतार छैन । सिनेमा घर पुगेर दर्शकको प्रतिक्रिया लिन व्यस्त मुकुन भन्छन्, ‘अब गर्ने भूमिकामा चोपेन्द्रको झल्को आउन दिँदै दिन्न । त्यहीअनुसार पात्र र कथा चयन गर्छु ।’ उनी नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी खरर बोल्न सक्छन् । यीभन्दा भिन्न भाषामा काम गर्न मन रहेछ ताकि आफ्नो क्षमता र लगनशीलताको असली परीक्षा होस् ।


नेपालमै कति अभिनेता यस्ता छन्, जसले सुरुवाती एकाध फिल्ममा उत्कृष्ट अभिनय गरे, चरित्रप्रति गम्भीरता देखाए, आशा जगाए । तर निरन्तरता दिन सकेनन् । पाएजति फिल्म खेल्ने ध्याउन्नमा लागेमा अभिनय स्तर खस्किने भइहाल्यो । मुकुन यही कोटिमा पर्ने त होइनन् ? ‘त्यसमा ढुक्क हुनुस् । म पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ । यत्तिकै पनि मलाई रोजीरोटीको समस्या छैन । त्यसमाथि एक्टिङ पढाएरै कमाउन सक्छु,’ उनले भित्री चाहना सुनाए, ‘म मेरो चरित्र र सिनेमाको आयु लामो होस् भन्ने चाहन्छु । त्यहीअनुसार काम गर्छु ।’

gokarna.gtm@gmail.com

प्रकाशित : फाल्गुन १०, २०७५ १२:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इन्स्टाको फोटो...’ चोरिएकै हो त ?

अचेल भाइरल बनेको गीत ‘इन्स्टाको फोटो...’ लाई कार्ला बु्रनीको फ्रेन्च गीतबाट कपी गरिएको आरोप लागेको छ । यसबारे कम्पोजर/गायक कालीप्रसाद बाँस्कोटा के भन्छन् त ?
गोकर्ण गौतम

काठमाडौँ — नेपालको युट्युब ट्रेन्डिङमा तीन सातादेखि एउटा गीत चम्किरहेको छ, ‘इन्स्टाको फोटो...’ ।

केही दिन एक नम्बरमै बस्यो । आशिफ शाह र र रेश्मा घिमिरे फिचरिङ गरिएको यसको भिडियो पनि स्तरीय छ । यही गीतको जवाफ दिँदै इलिना चौहानले गाइन् । यसले पनि लोकप्रियता कमाइरहेको छ । इलिनाको सुमधुर स्वरले साँच्चै मन्त्रमुग्ध बनाउँछ । यही बेला फेसबुक गु्रपमा ‘इन्स्टाको फोटो...’ को प्यारोडी भाइरल भइरहेको छ । उस्तै लयमा गाइएको गीतको शब्दले भन्छ :


चोर्छौ रे अझै पनि
उसैगरी गीतलाई
गाको जस्तो गर्छौ रे तिमी
देखाउनलाई...


अब भन्नु नपर्ला, ‘इन्स्टाको फोटो...’ लाई चोरीको आरोप लागेको छ । युट्युबमा ५० लाख भ्युज बटुल्नुमा यो विवादको भूमिकालाई पनि नकार्न सकिन्न । चोरी पनि हिन्दी वा अंग्रेजी होइन, फ्रेन्चबाट । गीत हो, कार्ला बु्रनीको ‘केल्क्याँ...’ । यसलाई अंग्रेजीमा सबटाइटल गरिएको भिडियो युट्युबमा खुब खोजी हुन थालेको छ । त्यसमा एउटा लाइन छ, ‘यु स्टिल लभ्ड मी’ । अनि, ‘इन्स्टाको गीत...’ मा पनि गायकले दोहोर्‍याइरहन्छन्, ‘अझै मलाई माया गर्छेउ रे ।’ अर्थात्, गीतको लय मात्र होइन, ‘थिम’ पनि मिल्दोजुल्दो छ ।


अब भनिहालौं, ‘इन्स्टाको फोटो...’ को गायक, संगीतकार र गीतकार अरू कोही नभएर कालीप्रसाद बाँस्कोटा हुन् । जो फिल्म संगीत र पाश्र्व गायनमा केही समययता शिखरमा छन् । तर यसपटकको चोरीको लफडाले बाँस्कोटाको विश्वसनीयता र साखमाथि कठोर प्रश्न खडा
गरेको छ ।


इटालियन–फ्रेन्च कार्ला बु्रनी गायिकामात्र होइन, ख्यातिप्राप्त गीत लेखक र सुपरमोडल पनि हुन् । उनी फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीकी तेस्रो पत्नी हुन् । आमश्रोताले उनका गीत नसुने पनि नेपाली संगीतकर्मीमाझ कार्ला परिचित छिन् । ‘केल्क्याँ...’ सन् २००२ मा रिलिज भएको थियो । शब्द एकातिर पन्छाउने हो भने पनि यो गीत र ‘इन्स्टाको फोटो...’ सुन्दा उस्तै–उस्तै लाग्छ । यद्यपि कतिपयले चोरिएको भन्न नमिल्ने बताएका छन् । संगीत क्षेत्रकै दिग्गजहरू कपी गरिएको दाबी गर्छन् । तीनैमध्येका एक हुन्, चर्चित पपगायक सञ्जय श्रेष्ठ । ‘माया मेरो माया...’ का यी गायक भन्छन्, ‘कर्ड प्रोग्रेसन र मेलोडी स्टाइल मिल्छ । त्यसैले गीत चोरिएकै हो ।’ यो वास्तविकता बाहिरिएसँगै सामाजिक सञ्जालमा बाँस्कोटाको चर्को आलोचना भइरहेको छ ।


तर बाँस्कोटा मौन छन् । खासमा नेपाल आइडल सिजन २ सकिएको केही दिनमै उनी अमेरिका उडेका थिए । ‘इन्स्टाको फोटो...’ आउँदा पनि उतै थिए । अहिले पनि उतै छन् । फोन सम्पर्कमा बाँस्कोटाले ‘कपी’ वा ‘चोरी’ शब्द त प्रयोग गरेनन् । यत्ति स्विकारे, ‘हो, म कार्लाको गीतबाट धेरै प्रभावित भएको छु ।’


बाँस्कोटालाई एकजना दाइले त्यो गीत सुनाएका रहेछन् । अर्थ नबुझे पनि उनलाई मेलोडी मन परेछ । पछि त्यही दाइको माध्यमबाट थाहा पाएछन्, यसको मुख्य लाइनले ‘तिमी मलाई अझै माया गर्छौ’ भन्ने अर्थ दिन्छ । बाँस्कोटा भन्छन्, ‘मेरो गीतको शब्दमा यही लाइनमात्र मिल्छ, अरू मिल्दैन ।’ ‘इन्स्टाको फोटो...’ कम्पोज गर्दा उनको दिमागमा त्यही गीत खेलिरहेको थियो । त्यसैले त्यसको चर्को प्रभावबाट बच्न सकेनन् । उनी थप्छन्, ‘कम्पोज गरेर साथीहरूलाई सुनाएँ । उनीहरूले मिल्दैन, केही फरक पर्दैन भने । सायद त्यो बेला म ‘मिस गाइड’ भएँ ।’ तर उनको यो व्यथा आफैंमा तर्कसंगत छैन । कारण, उनीजस्ता गिनेचुनेका संगीतकारलाई लय मिले/नमिलेको आफैं थाहा हुन्छ/हुनुपर्छ ।


बाँस्कोटाप्रति ‘सफ्ट कर्नर’ राख्न सकिने एउटा बहाना मिलेको छ । त्यो भनेको, उनमा गल्ती बोध भएको छ । भन्छन्, ‘मैले कम्तीमा कार्ला ब्रुनीको गीतबाट प्रभावित भनेर क्रेडिट दिनुपथ्र्यो । तर दिइनँ । त्यसमा मैले इमानदारिता देखाउन नसकेकै हो ।’ यति गरेको हुँदो हो त अहिले गीत हिट भइरहँदा विवादमा फसेर तनाव झेल्नु पर्थेन, खुसियाली मनाउने माहोल मिल्थ्यो ।


छुटाउनै नहुने अर्को एउटा प्रसंग अहिले बाँस्कोटाप्रति संगीतप्रेमी आक्रोशित हुनुको कारण ‘इन्स्टाको फोटो...’ विवादमात्र होइन । यसअघि पनि उनले गीत कपी गरेका थिए । जस्तो : ‘मञ्जरी’ फिल्मको ‘मन यो मेरो हजुर...’ गीत सुन्नुस्, हिन्दी फिल्म ‘शोर इन सिटी’ को ‘सैबो...’ सँग हुबहु मिल्छ । त्यति बेला उनले अब यस्तो हँुदैन भन्ने आशयको अभिव्यक्ति दिएका थिए । तर त्यसपछि पनि त्यो प्रवृत्ति त्यागेनन् ।
उनको अर्को हिट गीत ‘ठमेल बजार...’ पनि विवादमुक्त हुन सकेन । अघिल्लो वर्ष फिल्म ‘डमरुको डन्डीबियो’ का लागि ‘तितेपाती तितेपाती...’ कम्पोज गरे । तर यसलाई आफ्नो गीतबाट कपी गरिएको आरोप लगाए, अर्का गायक प्रकाश पौडेलले । उनका अनुसार ‘तितेपाती तितेपाती...’ बोलकोगीत २०५७ सालमा रेकर्ड भएर अर्को वर्ष नै सार्वजनिक भएको थियो ।एकातिर बाँस्कोटा हिट छन्, अर्कातिर बारम्बार चोरीको आरोप खेप्नुपरेको छ । चर्चाको लासला र बजारको माग थेग्न नसकेर सिर्जना र साधनाभन्दा तानतुन पार्ने ‘सजिलो बाटो’ मा रमाउन थालेका त हैनन् ?

gokarna.gtm@gmail.com

प्रकाशित : माघ २५, २०७५ ११:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT