वीच्याटको बाटोमा फेसबुक

हेलो शुक्रबार

काठमाडौँ —  वीच्याट चीनमा निकै लोकप्रिय छ  । चीनमा मात्रै उसको करिब ८० लाख प्रयोगकर्ता भएको अनुमान छ  ।

चीनबाहेकका मुलुक जोड्ने हो भने वीच्याटको मासिक प्रयोगकर्ता १ अर्ब बढी छन् । चिनियाँका लागि वीच्याट नै सबैथोक हो । सामान्य भाषामा भन्दा मोबाइलमा वीच्याट भए अन्य एपको आवश्यकता बिरलै पर्छ । वीच्याटबाटै फिल्मको टिकट काट्नेदेखि ट्याक्सी बोलाउने र अनलाइनबाट सामान अर्डर गर्न मिल्छ । फेसबुकमा जस्तै फोटो र भिडियो पोस्ट गर्न मिल्छ अनि आफ्ना साथीका तस्बिरहरू हेरेर लाइक र कमेन्ट गर्न पनि मिल्छ । एउटै एपमा सबै थोक अटाएको वीच्याट चीनबाहिर त्यति धेरै लोकप्रिय छैन् तर चीन बाहेकको विश्वमा सबैभन्दा बढी प्रयोगकर्ता भएको फेसबुक भने यसबाट निकै नै प्रभावित जस्तो देखिन्छ ।


फेसबुकले पछिल्लो पटक चालेको कदम र यसका मालिक मार्क जुकरवर्गले केही साता अघि सार्वजनिक गरेको पोस्टलाई आधार मान्दा फेसबुक वीच्याटको बाटोमा रहेको छनक पाउन सकिन्छ । आफ्नो तीन हजारभन्दा बढी लामो ब्लग पोस्ट सार्वजनिक गर्दै फेसबुकका मालिक मार्क जुकरवर्गले भनेका छन्– अबको हाम्रो ध्यान सुरक्षित म्यासेजिङमा रहन्छ । पछिल्लो वर्ष फेसबुकले निकै ठूला–ठूला समस्या झेल्नुपर्यो । ती अधिकांश समस्या प्रयोगकर्ताको तथ्यांकसँग सम्बन्धित थिए । कहिले क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरेको त र कहिले तेस्रो पक्षलाई फेसबुकले आफ्नो प्रयोगकर्ताको तथ्यांक बिक्री गरेको खबरहरू बाहिररहे । यसैको प्रभाव हुन सक्छ फेसबुकमा नयाँ पुस्ताको प्रयोगकर्ताहरू विश्वास हराएको छ । उनीहरू आफूले गर्ने म्यासेजको सुरक्षाका लागि अन्य एपहरू प्रयोग गर्न थालेका छन् ताकि बारम्बार तथ्यांक सुरक्षा गर्न नसकेको फेसबुकको कुनै काण्डमा आफ्नो तथ्यांक चोरिएको अनुभूति गर्न नपरोस् ।


मार्क जुकरवर्गले आफ्नो पोस्टमा यो पनि भनेका छन् कि आफ्नो प्रयोगकर्तालाई सुरक्षित म्यासेजिङअनुभव गराउन उनको टोलीको ध्यान केन्द्रित हुनेछ र अब फेसबुकले पोस्टमा भन्दा म्यासेज सर्भिसमा ध्यान दिनेछ ।
उनले फेसबुकलाई प्रयोगकर्ताका लागि आवश्यक पर्ने सबै थोक उपलब्ध हुने एक थलो बनाउने घोषणा गरेका छन् । उनको भनाइलाई साथ दिन फेसबुकको पछिल्लो पटकको कदम हेर्दा पुग्छ । फेसबुकले आफ्नो एपमा फन्ड उठाउने सुविधादेखि जागिर खोज्न मिल्ने फिचर राखेको छ ।


फेरि आफूअन्तर्गतको म्यासेन्जर सर्भिसमा ती सबै चीजहरू थप्दै गएको छ जुन बजारमा उपलब्ध हुने नयाँ म्यासेजिङसर्भिसमा होस् । फेसबुकको एपमा भिडियो हेर्नको लागि छुट्टै वाच सर्भिस दिइएको छ भने म्यासेन्जलाई पनि छुट्टै सेवाका रूपमा चित्रित गरी वेब भर्सनमा उपलब्ध गराइएको छ । फेसबुकले आफ्नो म्यासेजिङ सर्भिसमा क्रस म्यासेजिङ सुविधा हुने घोषणा गरिसकेको छ । यसको अर्थ हो फेसबुकको कुनै एक एफबाट एक व्यक्तिलाई गरिएको म्यासेज अर्को व्यत्तिलाई अर्को एपबाट गर्दा पनि निरन्तर रहन्छ । फेसबुकको पछिल्लो कदम र मार्क जुकरवर्गको पछिल्ला भनाइको अर्थ हो फेसबुक आफ्ना प्रयोगकर्तालाई सबै सेवा आफ्नै एपबाट दिन चाहन्छ । म्यासेज गर्ने होस् वा सामान किन्ने । फिल्म हेर्ने होस् वा रेस्टुरेन्ट छान्ने अवसर सबै एक एपबाट दिँदा यो चिनियाँ एप वीच्याटभन्दा फरक नहुन सक्छ ।


वीच्याटलाई नभएको सुविधा भने फेसबुकले पाउने छ । चीन सरकारले आफ्नो नियन्त्रणमा भएको वीच्याटको लोकप्रियताको लागि सहायता दिइरहेको छ । चीन सरकारले फेसबुकलाई २००९ यता प्रतिबन्ध लगाएको छ । योबाहेक कोरियाली कम्पनी लाइन र फेसबुक स्वामित्वको ह्वाट्सएप पनि चीनमा क्रमशः २०१३ र २०१७ यता प्रतिबन्ध छन् ।बाहिरी एप आफ्नो देशमा प्रतिबन्ध भएपछि वीच्याटले लोकप्रिय हुने मौका पाएको छ तर चीनबाहिर उसको सफलता नगण्य छ । चीनबाहिरको विशाल जनसंख्या वीच्याटजस्तै फिचरबाट आकर्षित गर्ने अवसर भने फेसबुकलाई हुने छ । तर, त्यो बेलासम्म फेसबुक आफैंको लोकप्रियता भने कति रहला ? यो भने अब प्रयोगकर्ताको तथ्यांक सुरक्षामा फेसबुकले देखाउने सजगता र उसले ल्याउने फिचरमा निर्झर रहन्छ ।

hellosukrabar@gmail.com

प्रकाशित : चैत्र १, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

चर्चितसँग सेल्फी रहर

कतारको एक होटलमा काम गर्ने नवाङ लामा चर्चित व्यक्तिसँग सेल्फी खिचाइहाल्छन् । उनले सेल्फी खिचाएको चर्चित व्यक्तिको सूचीमा फुटबल खेलाडीको सूची लामो छ । उनी कसरी यस्तो मौका पाउँछन् ?
कान्तिपुर संवाददाता

काठमाडौँ —  विश्व चर्चित खेलाडी भेट्न कति गाह्रो होला ? त्यस्ता खेलाडीको सुरक्षा व्यवस्थादेखि गोपनीयता उत्तिकै कायम गरिएको हुन्छ  । तर एक त्यस्ता भाग्यमानी नेपाली युवा छन्, जसले भेट्ने मात्र हैन दर्जनौं सेल्फीसमेत उनीहरूसँग खिच्न भ्याएका छन्  ।

उनी हुन् दोलालघाट काभ्रेका नवाङ लामा । कतारको दोहास्थित ‘द टर्च होटल’ मा छ वर्षदेखि काम गर्दै आएका उनले एक सय भन्दा बढी विश्व प्रसिद्ध खेलाडीहरूसँग सेल्फी खिच्न भ्याइसकेका छन् । त्यसमध्ये सबैभन्दा बढीचाहिँ फुटबलर छन् । यही साता मात्रै उनले ब्राजिलियन फुटबलर नेयमार जुनियरलाई भेटेर सेल्फी हान्न भ्याइहाले ।


उनले चर्चित डच खेलाडी आर्जेन रोबेन, सन् २०१४ को विश्वकप फाइनल खेलमा गोल गरेर जर्मनीलाई विजेता बनाएका मारियो गोजे, बार्सिलोनाका पूर्वकप्तान जाभियर हर्नान्डेजदेखि बार्सिलोनाका आर्टुरो भिडालसँग सेल्फी खिचेका छन् । त्यसैगरी, युभेन्ट्सका मिरालम पिजानिक, बार्यन म्युनिखका क्याप्टेन रोबर्ट लेवन्सकी, रियल मड्रिडका डिफेन्डर साल्गाडो, स्पानिस फुटबलर जाभी अलोन्सो, फ्रान्सका किङ्स्ले कोमनलाई पनि उनले आफ्नो सेल्फी फ्रेममा कैद गरेका छन् ।


अधिकांश खेलाडीहरू आफ्नो देशको जाडो छलेर कतारमा खेल अभ्यास गर्न आउँछन् । केही घाइते खेलाडीहरू उपचारका लागि आउने गर्छन् । गम्भीर घाइते भएका खेलाडीहरूको उपचारका लागि दोहास्थित आस्पेक्टेड अस्पताल संसारमै प्रसिद्ध छ । खेल अभ्यास गर्नका लागि आउने होस् या उपचारका लागि आउने हुन् । प्रायः यस्ता सबै खेलाडी ‘द टर्च होटल’ मै बस्ने गर्छन् ।


होटलका सबै कर्मचारीले खेलाडी भेट्ने अवसर कहाँ पाउँछन् र ? तर उनी अरूभन्दा भाग्यमानी छन् । भेट भएका अधिकांश खेलाडीहरूसँग छोटो मीठो गफगाफ गर्न पाउँछन् । ‘भेट भएपछि प्रायः सबैलाई आफ्नो परिचय सुरुमा दिन्छु,’ नवाङले फेसबुकमा भने, ‘धेरैले नेपालको नाम लिँदा नेपालबारे थाहा छैन भन्छन् । त्यतिखेरचाहिँ दुःख लाग्छ ।’ उनले अधिकांश खेलाडीहरू रसिक पाराको हुने बताए । जिस्किने, होहल्ला गर्दै रमाउनेहरू धेरै हुने गरेको उनको अनुभव छ ।


उनीहरूको सुरक्षा व्यवस्था अत्यन्तै कडा हुन्छ । त्यसैले जो कोहीलाई उनीहरूसँग भेट गर्न दिइँदैन । होटलका विश्वासिलो कर्मचारी भएकै नाताले उनले प्रायः खेलाडीसँग देखभेट गर्ने अवसर पाउँछन् । सबैसँग सेल्फी खिच्ने अवसर त जुर्दैन । तर जुरेको अवसर छुटाउँदैनन् । ‘केही महिना अघि माक्रै त्रिस्टियानो रोनाल्डो पनि तीन दिनका लागि आएका थिए ।’ उनले भने, ‘तर उनीहरूसँग देखादेख भयो । भेटघाट गर्ने र बोल्ने समय मिलेन ।’ मेस्सी आउँदा पनि रोनाल्डोकै जस्तो भयो ।


सन् २०२२ मा कतारमा विश्वकप फुटबलको आयोजना हुँदै छ । अरबी मुलुकमा आयोजना हुने पहिलो विश्वकपसमेत हो । त्यसैले कतारको हावापानीसँग अनुकूलित हुनका लागि पनि संसारका प्रसिद्ध खेलाडीहरू अभ्यासका लागि बेलाबेलामा पुग्ने गर्छन् । यस्ता विश्व प्रसिद्ध खेलाडीहरूसँग सेल्फी खिच्न पाएका नवाङलाई स्थायी रूपमा नेपाल फर्किसकेपछि सबै खेलाडीहरूसँगको तस्बिर मिलाएर एउटा ठूलो पोस्टर बनाउने रहर छ । जुन पोस्टर उनको जीवनको उत्तरार्द्धसम्म ‘मेमोरी’ बनोस् ।

प्रकाशित : चैत्र १, २०७५ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्