कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वर्णको स्वाद

कुशल तिमल्सिना

काठमाडौँ — पहिलो अन्तर्राष्ट्रिय सहभागिता, देशका लागि एक्लो प्रतिनिधि र स्वर्ण पदक  । संघको विवादका कारण अन्योलका बीच अन्तिम समयमा सहभागिताको निश्चितता पाएका १७ वर्षीय किशोर धावक अजितकुमार यादवले तेस्रो एसियाली जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा हासिल गरेको स्वर्ण पदक सामान्य हुँदै होइन  ।

स्वर्णको स्वाद

असामान्य प्रदर्शनका बीच ऐतिहासिक स्वर्ण जितेर उनले आफूलाई प्रमाणित मात्र गरेका छैनन्, विवादका कारण राष्ट्रिय प्रतियोगिता पनि नभइरहेको अवस्थामा अजितले जितेको स्वर्ण नेपाल एथ्लेटिक्स संघका पदाधिकारीका लागि गतिलो झापड पनि हो । अन्तिम समयमा सबै प्रक्रिया पूरा गरी गएको शुक्रबार राति प्रशिक्षक तथा संघका कार्यवाहक महासचिव धनीराम चौधरीसँगै हङकङ उडेका अजितले प्रतियोगिताको अन्तिम दिन आइतबार ३ हजार मिटर दौडमा कीर्तिमानी टाइमिङका साथ स्वर्ण जिते । ८ मिनेट ३०.४२ सेकेन्डको टाइमिङ नेपाली खेलाडीको कीर्तिमानी प्रदर्शन हो । यसक्रममा उनले भारत, यमन र जापानका धावकलाई पछि पारे । स्वर्ण जित्ने क्रममा दोस्रो स्थानका धावकलाई उनले झन्डै ६ सेकेन्डले पछि पारे ।


सन् १९७३ मा पहिलो एसियाली ट्र्याक एन्ड फिल्डमा जितबहादुर केसीले स्वर्ण जितेयता एसियालीस्तरको प्रतियोगितामा पहिलो र समग्रमा पहिलो स्वर्ण अजितले दिलाए । ललितपुरको पिनाकल एकेडेमीमा १२ कक्षामा अध्ययनरत सप्तरीका १७ वर्षीय अजित एकाएक खेलकुद सेलेब्रिटी बनेका छन् । उनले आफ्नो सफलताको श्रेय निवर्तमान महासचिव सुनील राजवंशी र वर्तमान कार्यवाहक महासचिव तथा प्रशिक्षक धनीराम चौधरीलाई दिए । ‘हाम्रो संघमा विवाद छ भन्ने सुनेको छु, त्यही कारणले होला मेरो सहभागिता पनि अन्तिम समयमा मात्र भयो । सहभागिताका लागि सुनील गुरुले धेरै सहयोग गर्नुभयो, मेरो यो स्वर्ण पदक उहाँलाई नै समर्पण गर्न चाहन्छु,’ उनले भने ।


प्रतियोगितामा सहभागिता हुने निश्चित भएपछि उनले कम्तीमा पदकको आशा गरेका रहेछन् । उनका प्रतिस्पर्धीको टाइमिङ उनकै सँग मिल्दोजुल्दो थियो । पदक सम्भव छ जस्तो लागेको थियो । ‘मैले यहाँ एक्लै दौडँदा राम्रो टाइमिङ थियो, पदक जित्छु जस्तो लागेको थियो, स्वर्णकै आसचाहिँ थिएन, स्वर्ण बोनस हो,’ अजितले हाँस्दै सुनाए । हङकङको राष्ट्रिय रंगशालामा १५ देशका धावकहरूबीच वार्मअर्पका लागि तयार हुँदै गर्दा पहिलोपल्ट अत्याधुनिक विदेशी रंगशाला देखेरै उत्साहित भएका अजित केही नर्भस थिए । देश बिरानो भए पनि ट्र्याक आफ्नै जस्तो लाग्ने, एपीएफ रंगशालाको ट्र्याकजस्तै । अजितले आफ्नो क्षमतामा विश्वास गरे, सपना पछ्याए, प्रतियोगितामा सहभागिताका लागि भएको अन्योलताको पलपल सम्झिए र घरेलु एथ्लेटिक्सको शून्यप्रायः गतिविधि सम्झिए । ‘निकै रमाइलो लाग्यो, मैले हिम्मत हारिनँ र अन्तिममा स्वर्ण पदक नै आयो, त्यतिबेलै मैले कीर्तिमानकै सेलिब्रेसन गरें,’ अजितले भने, ‘हामी शुक्रबार राति अबेर पुग्यौं र आइतबार नै खेल्नुपर्‍यो, केही दिनको आराम पाएको भए मैले अझै राम्रो टाइमिङ निकाल्न सक्थें ।’


अजितले औपचारिक रूपमा दौडन थालेको ४ वर्षमात्र भयो । २०७१ सालमा शिक्षा दिवसको उपलक्ष्यमा आयोजना भएको ५ किलोमिटर रोड रेसमा तेस्रो भएपछि एथ्लेटिक्समा बढेको मोहले २०७२ सालको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डसम्म पुर्‍यायो । ‘राष्ट्रपति रनिङ शिल्डमा मेरो पहिलो सहभागिता थियो, पोखरामा भएको प्रतियोगितामा १५ सय मिटरमा चौथो भएँ, ५ हजार मिटरमा दौड पूरा गर्नै सकिनँ,’ अजितले सुनाए, ‘त्यसपछि मलाई यस्तो इगो आयो कि जसरी पनि मेडल ल्याएरै छोड्छु ।’ १३ वर्षको उमेरमै उनले लिएको त्यही ईखले मध्यम दूरीको दौडमा नेपालले एक महत्त्वपूर्ण प्रतिभा पाएको छ । उपयुक्त संरक्षण गर्न सकिए उनी लामो रेसको घोडा हुन् ।


पछिल्ला तीन संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा १५ सय मिटर र ३ हजार मिटरमा एकपछि अर्को कीर्तिमानी प्रदर्शन गरेका नेपाल एपीएफ स्कुलका पूर्वविद्यार्थी अजित यसै वर्षदेखि एपीएफ क्लबमा अनुबन्ध भएका थिए । हङकङमा बनाएको कीर्तिमानी टाइमिङ, यसअघि राष्ट्रपति रनिङ शिल्ड–२०७५ को प्रदर्शन (८ मिनेट ४४ सेकेन्ड) कै सुधारिएको रूप हो । बुबा एपीएफमै जागिरे भएकाले सानैदेखि अजितले काठमाडौंमा बस्ने अवसर पाए । खासमा होस्टलमा बस्नुपर्दाको पीडा सम्झँदा काठमाडौंमा बस्न पाउनुलाई के अवसर मान्ने ? ‘मैले २ कक्षादेखि होस्टेलमा पढेको, ६ कक्षासम्म त घरको न्यास्रो लाग्थ्यो । रोएरै दिन बिताउँथें,’ अजितले होस्टलको अनुभव सुनाए, ‘खेल्न थालेपछि चाहिँ यसमै केन्द्रित भइयो ।’
अजितको स्वर्ण पदक यसकारण पनि विशेष छ कि संघको विवादका कारण घरेलु गतिविधि ठप्प छ । नेपाल एथ्लेटिक्स संघमा चार वर्षको कार्यकाल पूरा गरेका अध्यक्ष राजीवविक्रम शाहले १ वर्षदेखि चुनाव गर्न सकेका छैनन् । उनले राष्ट्रिय खेलकुद परिषद्लाई दोष दिएर आफू उम्कने प्रयासमा छन् ।


एथ्लेटिक्स संघमा दुई ध्रुव देखिएको छ । अध्यक्ष शाह एउटा समूह लिएर बसेका छन् भने अर्को समूहमा सुनील राजवंशी लगायतका टेक्निकल रूपमा दक्ष पदाधिकारी छन् । अध्यक्ष शाहकै दबाबमा सुनीलले २ वर्षअघि महासचिव पदबाट राजीनामा दिएका थिए । सातौं राष्ट्रिय खेलकुदपछि अहिलेसम्म एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । जसले अजितजस्ता प्रतिभा गर्भमै तुहाइएको छ । अजितले पनि आफूहरूले खेल्न पाउनुपर्ने माग गरे । ‘संघको विवादबारे हामीलाई थाहा छैन, हाम्रो चासो पनि छैन, तर नियमित प्रशिक्षक होस् र प्रतियोगिता खेल्न पाइयोस्,’ अजितले भने । संघकै लापरबाहीका कारण गएको अगस्टमा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा दुई धावकहरूले दौडन पाएका थिएनन् । दशरथ रंगशाला पुनर्निर्माणका क्रममा रहेकाले नेपाली खेलाडीले स्तरीय ट्र्याकमा अभ्यास गर्न पनि पाएका छैनन् । एपीएफ रंगशालामा माटोको ट्र्याकमा प्रशिक्षण गरेर एसियालीस्तरमा स्वर्ण जितेका अजितले स्तरीय ट्र्याकमा स्तरीय प्रशिक्षण पाए सिनियरस्तरमा पनि नेपालको स्वर्णको स्वाद चाख्न पाउँथ्यो कि ?
[email protected]

प्रकाशित : चैत्र ८, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?