रोकिएला लहडी प्रतिस्पर्धा ?

भारतबाट सञ्चालित युट्युब च्यानल टी सिरिज र स्वीडेनका युट्युबर पिउडाइपाईबीच सबभन्दा धेरै सब्सक्राइबर कसको हुने भन्ने अघोषित होड नै चलेको छ ।
हेलो शुक्रबार

काठमाडौँ —  प्रतिस्पर्धा पनि कस्तो ? जसले प्रतिस्पर्धा गरिरहेका छन्, उनीहरूलाई मतलब छैन  । जसले हेरेर मजा लिनुपर्ने हो, ऊ नै जुध्न तम्सिएको छ  ।

यो प्रतिस्पर्धा हो भारतबाट सञ्चालित युट्युब च्यानल टी सिरिज र स्वीडेनका युट्युबर पिउडाइपाईको । एउटाले बलिउड फिल्मको ट्रेलर र गीतको भिडियो हाल्छ अर्कोले अनलाइन गेमसम्बन्धी जानकारी दिन्छ । एउटा च्यानल संस्थागत रूपमा चलेको छ अर्को व्यक्तिगत लोकप्रियताको भरमा ।


यी दुई च्यानलबीच कसको धेरै सब्सक्राइबर भन्ने लहड चलेको झन्डै एक वर्ष पुग्न लाग्यो । यो बीचमा कहिले एउटा पहिलो बन्ने त कहिले अर्को पहिले बन्ने भई नै रह्यो र आ–आफ्नो च्यानलका प्रशंसकबीच हल्लीखल्ली भइरह्यो । गत साताको तथ्यांक हेर्ने हो भने टी सिरिजको सब्सक्राइबर ९ करोड २४ लाख नाघेको छ भने पिउडाइपाईका सब्सक्राइबर ९ करोड २६ लाख नाघेका छन् । खासमा यो तथ्यांकको दौड मात्रै थियो । यसमा कोही पहिलो र कोही दोस्रो भएर हानि कसैलाई थिएन । तर, पछिल्लोपटक पिउडाइपाईका प्रशंसकहरूले गर्नुसम्म गरे । केही प्रशंसकले ५० हजार प्रिन्टर ह्याक गरेर त्यसबाट प्रिन्ट हुने बिलमा टी सिरिज अनसब्सक्राइब गर्न र पिउडाइपाईलाई सब्सक्राइब गर्न सन्देश लेखे । यसले विश्वभर हंगामा मच्चियो । आखिर, यी दुई बीचको प्रतिस्पर्धालाई धेरै मानिसको ध्यानमा खिच्ने काण्ड पनि यही थियो ।


पिउडाइपाईलाई सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबर बनाउने दौडमा सामान्य प्रशंसक नलागेर अर्का चर्चित युट्युब जिमी (मिस्टर बिस्ट) पनि लागे । उनले त पिउडाइपाईलाई सब्सक्राइब गरौं भनेको सन्देश लेखिएको टिसर्ट लगाएर आफ्ना साथीहरूसँग सार्वजनिक स्थानमा पुग्न थाले । विशेषतः १८ देखि २४ वर्षसम्मका उमेर समूहमा लोकप्रिय पिउडाइपाई सुरुवाती समयमा यस्ता विषयमा निकै रमाइरहेका थिए । उनी आफ्ना प्रशंसकलाई भन्थे– मलाई पहिलो नम्बरमा राख्ने प्रयासले म खुसी भएको छु । उनी आफूलाई पहिलो नम्बरमा राख्न गैरकानुनी उपाय नलगाउन पनि आफ्ना प्रशंसकलाई भनिरहन्थे । तर, लहडी प्रशंसक सबैले उनले भनेको किन मान्थे र ?


मार्च दोस्रो साताको कुरा हो । न्युजिल्यान्डको एक मस्जिद अगाडि अन्धाधुन्ध गोली चलाएर एक २८ वर्षीयाले ४९ जनाको ज्यान लिए । फेसबुकमा लाइभ गर्दै ऊनले गोली चलाएका थिए । आक्रमणका त्रममा उनले पिउडाइपाईलाई सब्सक्राइब गर्न आह्वान पनि गरे । प्रशंसकको यस्तै हर्कतले उनी फेरि सब्सक्राइबरको संख्यामा टी सिरिजभन्दा माथि पुग्ने त कहिले फेरि केही अंकले दोस्रो बन्थे । यो लडाइँमा टी सिरिजले पनि केही मार्केटिङ रणनीति लियो । एक अर्ब बढी जनसंख्या भएको र विश्वका धेरै देशमा लोकप्रिय बलिउड फिल्मसँग सम्बन्धित टी सिरिज पनि चर्चामा नरहने कुरै थिएन । टी सिरिजका मालिक भूषण कुमारले यो दौडमा आफूलाई कुनै रुचि र वास्ता नभएको बताइरहेका छन् । तर, उनका कम्पनीका वरिष्ठ कर्मचारीहरूले लगाएको जुक्ति पनि रोचक छ । पिउडाइपाईका प्रशंसकले आफ्नो च्यानललाई धेरै सब्सक्राइबर भएको पहिलो नम्बरमा आउन नदिन अनेक तिकडम गरेपछि उनीहरूले पनि जुक्ति निकाले– राष्ट्रवाद । टी सिरिजका कर्मचारीहरूले भनिरहे– संसारमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल हाम्रो देशमा हुनु हाम्रो गौरवको कुरा हो । यस्तै यस्तै कुराले संसारभर छरिएका भारतीयहरू पनि खोजीखोजी टी सिरिज सब्सक्राइब गर्न थाले । बलिउड फिल्मबाट प्रभावित नेपालसहित श्रीलंका, भुटान, माल्दिभ्ससहित विश्वका धेरै देशमा टी सिरिज आफैं पनि चर्चित नै थियो ।


टी सिरिजसँगको करिब एकवर्षे लामा प्रतिस्पर्धापछि पिउडाइपाईले यसै साता एक भिडियोमा सार्वजनिक हार स्विकारेका छन् । उनले यो दौडमा टी सिरिजको प्रशंसा पनि गरेका छन् । ‘एउटै बलिउड गीत बनाउन पनि कति धेरै खर्च हुने रहेछ,’ उनले भनेका छन् । उनको यो स्विकारोक्तिपछि यो लहडी प्रतिस्पर्धाको दौड रोकिने धेरैको विश्वास छ । पिउडाइपाईले हार स्वीकारे पनि उनका प्रशंसकले यसलाई स्विकार्लान् ?
–एजेन्सीको सहयोगमा

hellosukrabar@gmail.com

प्रकाशित : चैत्र २२, २०७५ १२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

च्याब्रुङ क्रेज

विमल खतिवडा

काठमाडौँ —  पाका पुराना पुस्ताको प्रायः एउटै गुनासो हुने गर्छ, पुरानो संस्कृति लोप भयो  । नयाँ पुस्ताले संस्कृति भुले  ।

त्यसो त पछिल्लो समय कुनै पनि समुदायको परिचय झल्कने संस्कृति हराउँदै गएको छ । पहिरनसहितका पहिचान झल्कने संस्कृति अहिले मेला महोत्सव तथा र्‍यालीमा मात्र सीमित बन्दै गएका छन् । कतै यो संस्कृति जगेर्ना गर्न युवा कस्सिएका छन् त कतै पुरानै पुस्ताको भरमा संस्कृति धानिएको छ । उदाहरण हो, लिम्बू समुदायले नाच्ने च्याब्रुङ नाच ।


यो नाच लिम्बुवानमा चर्चित छ । संस्कृति हरायो, लोप भयो भन्नेहरूका लागि पाँचथर, ताप्लेजुङका युवा उदाहरणीय बनेका छन् । अहिले उनीहरू पढाइसँगै संस्कृति जगेर्ना गर्ने अभियानमा सक्रिय छन् । यसको नेतृत्व पाँचथर याङवरकका उदय बेघा लिम्बूले गरेका छन् । प्लस टु पढ्दै गर्दा उनी च्याब्रुङ नाच्न थाले । टिममा उनी एक्ला छैनन् । १४ युवक र ६ जना युवतीले च्याब्रुङ नाचेरै गोजी खर्च जुटाएका छन् । यो टिमले लिम्बुवानभन्दा धेरै वर यलाखोम अर्थात् काठमाडौं उपत्यकामा लिम्बू संस्कृति उजागर गर्दैछ । सांस्कृतिक समूहको नाम हो– याक्थुङ केलाङ सयङ ।


‘च्याब्रुङ नाचले हाम्रो समुदायको परिचय बोकेको छ,’ उदय भन्छन्, ‘लोप हुन लागेको संस्कृति जोगाऔं, आफूजस्तै युवालाई संस्कृतिको महत्त्वबारे बुझाऔं भनेर लागेका हौं ।’ दशकभन्दा धेरै भयो, उदयका गोडा च्याब्रुङको तालमा घुमेको । भाइ विवेकले पनि उनको अभियानलाई साथ दिएका छन् । दाजुभाइ नै संस्कृतिको प्रचारप्रसार र जगेर्नामा सक्रिय छन् । ‘दाइले च्याब्रुङ नाच्न थालेको धेरै भयो,’ ललितपुरको बुङमतीस्थित आदर्श शौल मावि कक्षा १२ मा अध्ययनरत विवेक भन्छन्, ‘उहाँबाटै प्रभावित भएर म पनि संस्कृति जोगाउन लागिपरेको छु ।’ उनलाई पोसाकमा ठाँटिएर नाच्दा कत्ति पनि लाज लाग्दैन । च्याब्रुङ नाच्दा गर्व महसुस हुने उनले सुनाए ।


किरात लिम्बू अर्थात् याक्थुम्बा जातिको बिहे, घरपैंचो, उँधौली, उँभौली, माघे संक्रान्ति, साउने संक्रान्तिमा यो नाच विशेष रूपमा नाच्ने गरिन्छ । ‘जीवनमा नराम्रो नहोस् भन्दै शुभ कार्यका लागि यो नाच नाच्ने गरिन्छ,’ उदय भन्छन्, ‘अचेल सहरमा पनि यो नाचको माग बढ्दो छ ।’ किरात याक्थुङ चुम्लुङको अभियान छ– लिम्बू गाउँमा एक घर एक च्याब्रुङ र सिलाम साक्मा (छातीमा लगाउने सांस्कृतिक प्रतीक/ब्याच) । नाचले अन्य समुदायका युवायुवतीलाई समेत आकर्षित गरेको छ । पहिरनमा ठाँटिएका उनीहरूलाई झट्ट देख्दा लिम्बू समुदायकै हुन् भन्ने हुन्छ । जस्तोः धादिङ सेम्जुङकी १९ वर्षीया मेलिना तामाङ । उनी आफ्नो सस्कृंतिबारे कम जानकार छिन् । तर लिम्बू संस्कृतिबारे पूर्ण जानकार छिन् ।


‘सुरुमा लिम्बू पहिरनमा सजिँदा एकदमै लाज लाग्थ्यो,’ मेलिनाले भनिन्, ‘च्याब्रुङ नाच्न थालेको ३ वर्ष भयो, अब त बानी परिसकें ।’ आदर्श शौलमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया मेलिना गाउँघरमा आफ्नो समुदायको डम्फु नाच कमै नाच्ने गरेको सुनाउँछिन् । ‘उदय दाइहरूसँग भेट भएपछि च्याब्रुङ नाच्न सिकें,’ थप्छिन्, ‘बिहान कलेज जान्छु, दिउँसो, साँझ नाच्न जुट्छौं ।’ उनलाई म्हेन्दोमाया नाच्न आउँछ । ‘तामाङले नाच्ने नाचभन्दा लिम्बू नाच सबै आउँछ । पोसाक लगाएपछि त झन् मलाई लिम्बुनी नै भन्ने धेरै भेटिन्छ,’ उनले अनुभव सुनाइन् ।


दोलखा भुसाफेदाका २८ वर्षीय क्षितिज घिसिङलाई पनि अहिले च्याब्रुङ नाच्न भ्याइनभ्याइ छ । आफ्नो संस्कृति छुट्टै छ । तर उनी च्याब्रुङ नाचको क्रेजी छन् । यो नाच सिकेको ६ वर्ष बढी भयो । उनी भन्छन्, ‘उहाँहरूको संगत गर्दै जाँदा लिम्बू संस्कृति सिक्न पाइयो, अहिले जुन ठाउँबाट नाच देखाउन निमन्त्रणा आउँछ, त्यहीं पुग्छौं ।’ नाच्न थालेपछि उनको गोजी रित्तो छैन । सामान्य खर्च नाचले जुटाएको छ ।
ताप्लेजुङ सावलाखुकी २१ वर्षीया सुम्निमा पन्दाक लिम्बू नमुना मच्छिन्द्र कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् । ‘गाउँमा हुँदा अरूले च्याब्रुङ नाच्थे, हामी हेरेर रमाइलो मान्थ्यौं,’ उनी भन्छिन्, ‘अहिले काठमाडौं आएपछि आफैं यो नाचमा पोख्त भइयो, कलेज छुट्टी भएपछि च्याब्रुङ नाच्न व्यस्त बन्छु ।’ च्याब्रुङको तालमा गीत गाइन्छ । त्यसैको तालमा खुट्टा र हात मिलाएर गोलाकार भएर नाच्ने गरिन्छ । सार्वजनिक कार्यक्रममा यो नाच देखाउँदा उपस्थित अतिथिहरू हेरेर दंग पर्ने गरेका छन् । ‘गहना र पोसाकमा सजिएर नाचेका बेला सबैले कस्ती राम्री लिम्बुनी भन्दै फोटो खिच्छन्,’ उनी भन्छिन्, ‘त्यसबेला गर्व महसुस हुन्छ ।’


काठमाडौंमा मात्र होइन, देशको जुनसुकै ठाउँबाट पनि निम्तो आए टोली जान तयार हुन्छ । आफ्नो संस्कृतिबारे देशका कुनाकाप्चामा पुगेर प्रचारप्रसार गर्न पाउँदा सबै दंग छन् । पाँचथरकै २० वर्षीय रमेश बेघा र १९ वर्षीय छयम चेम्जोङ पनि च्याब्रुङ नाचबाट टाढा छैनन् । प्रायः कार्यक्रम साँझमा हुन्छन् । यो बेला सबैको समय मिल्छ । ‘संस्कृति जोगाउने दायित्व अब हाम्रो काँधमा छ,’ छयम भन्छन्, ‘त्यसैले युवा पुस्ता सक्रिय बन्न नसके पुर्खाले अहिलेसम्म जोगाएर यहाँसम्म ल्याएको संस्कृति लोप भएर जानेछ ।’


सबैले मिलाएर पारिश्रमिक भागबन्डा गर्छन् । थोरबहुत रकम बचाएर समूहमा आवश्यक पर्ने पोसाक, गरगहना र च्याब्रुङ किन्न राख्छन् । च्याब्रुङ नाच्दा युवाहरू काँधमा च्याब्रुङ भिर्छन् । पुरुष पंक्तिले खाँडीका दौरासुरुवाल, ढाका टोपी, हातले बुनेको झोला र देब्रे छातीमा सिलाम साक्मा लगाउँछन् । जनाना पंक्तिले ढाकाको चौबन्दी, सारी/गुन्यू, निधारमा शिरबन्दी, नाकमा ढुंग्री, बुलाकी, कानमा यार्लिङ र घाँटीमा कण्ठ लगाएर सजिन्छन् । पहिरनले समुदाय झल्काएको छ । गहना र पोसाकमा सजिएपछि फोटो खिच्न कार्यक्रममा आगन्तुकहरूबीच प्रतिस्पर्धा नै चल्छ ।

bimalnews@gmail.com

प्रकाशित : चैत्र २२, २०७५ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT