कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नसोचिएका मोड

सौरभ घिमिरे

'गेम अफ थ्रोन्स' एउटा टेलिभिजनमा प्रसारण भइरहेको यस्तो टेलिशृंखला हो, जुन सामाजिक सञ्जालमा सबभन्दा चल्तीको ट्रेन्डिङ बनेको छ  । यसको फेसबुक पेजमा २ करोड ३१ लाख ९६ हजार र ट्वीटरमा ९८ लाख ८० हजार बढी फलोअर्स छन्  ।

नसोचिएका मोड

आखिर यसमा के छ त ?

डेभिड बेनियोफ र डीबी वेयसद्वारा अमेरिकी सेटलाइट तथा केबल टेलिभिजन एचबीओका लागि सन् २०११ देखि बनाउन थालिएको धारावाहिक शृंखला ‘गेम अफ थ्रोन्स’ खुबै चर्चामा छ । यसबारे थाहा नहुने सहरी युवा कमै होलान् । जर्ज आरआर मार्टिनद्वारा लिखित उपन्यास ‘अ सङ अफ आइस एन्ड फायर’ मा आधारित यो टेलिशृंखलाले एचबीओको सबै टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) रेकर्ड तोडिसकेको छ । अघिल्ले साता सुरु भएको आठौं तथा अन्तिम सिजनको पहिलो भाग १ करोड ७४ लाख दर्शकले एकसाथ हेरेका थिए ।

संयुक्त राज्य बेलायतको बेलफास्ट तथा उक्तरी आयरल्यान्ड, क्यानडा, त्रोएसिया, माल्टा, आइसल्यान्ड, मोरक्को, स्कटल्यान्ड, स्पेन र अमेरिकामा छायांकन गरिएको गेम अफ थ्रोन्सको चर्चा भने संसारका हरेक कुनामा फैलिएको छ । नेपालमा पनि पछिल्लो समय यस शृंखलालाई पछ्याउनेको जमात् उल्लेख्य बढेको छ । करिब दुई वर्षको अन्तरालमा अप्रिल दोस्रो साता एचबीओले गेम अफ थ्रोन्सको आठौं संस्करण प्रसारण गर्‍यो । लामो समयको पर्खाइ भएकाले पनि बजारमा यसको चर्चा निकै चुलिएको हो । यस शृंखलाको नयाँ भाग आउँदा नहेरे पनि थाहा नहुने मानिसको संख्या निकै कम छ । हरेक आइतबार नयाँ भाग आउँदा सबैखाले सामाजिक सञ्जालको ट्रेन्डिङमा गेम अफ थ्रोन्स हुने गरेको छ । पछिल्लो समय रिलिज भएका कुनै फिल्म र म्युजिक एल्बमभन्दा बढी लोकप्रिय र चर्चा गेम अफ थ्रोन्स नै रहेको छ ।


वेस्टर्स तथा इसोसका सात काल्पनिक राज्यमा सत्ताका लागि भएका विभिन्न जालझेल, राजनीति र लडाइँलाई आधार बनाएर तयार पारिएको यस टेलिशृंखलामा ५ सय बढी कलाकारले अभिनय गरेका छन् । कथामा ठूला ड्र्यागन र तिलस्मी शक्तिको प्रयोगले शृंखलालाई थप मनोरञ्जनात्मक बनाएको छ । दर्शकका प्रिय पात्रको अकस्मात् मृत्यु भई कथा एकाएक मोडिनु यसको विशेषता नै हो । स्टार्क, यारन, बराथियेन, टल्ली, ग्रेजोइ, ल्यानिटर, टाइरेल, मार्टेल र टाग्रयिन गरी नौ ठूला शक्तिको घम्साघम्सीलाई अत्यन्तै आकर्षक ढंगमा प्रस्तुत गरिएको छ । ह्वाइट वाकर नाम दिइएको मृत सेनाको असाधारण नकारात्मक शक्ति कथाको अर्को आकर्षण हो ।


शृंखलाका सात सिजन सकिँदासम्म कथाले थुप्रै नसोचिएको मोड लिँदै अगाडि बढेको छ । एडार्ड स्टार्क, खाल ड्रोगो, रव स्टार्क, क्याटलिन स्टार्क, जफ्री, टाइविन ल्यानिस्टर, रामसे बोल्टन र लर्ड बेलिसजस्ता शक्तिशाली देखाइएका पात्रलाई एकाएक मारेर कथाले कुन मोड लिने हो भन्ने कौतुहलता दर्शकमा जगाउँदै आइरहेको छ । सकारात्मक भूमिकामा जोन स्नो, डनेरिस टाग्रयिन र आर्या स्टार्क सबभन्दा रुचाइएका छन् । सर्सी ल्यानिस्टर, रामसे बोल्टन र जफ्रीको नकारात्मक भूमिका निकै बेजोड मानिन्छ । त्यस्तै, टिरियन ल्यानिस्टर, लर्ड बेलिस र लर्ड भ्यारिसको कूटनीति र जालझेललाई पनि दर्शकले उत्तिकै मन पराएका छन् ।


पाँचौं सिजनको अन्त्यमा सबैका प्रिय पात्र जोन स्नोलाई मरेको देखाउँदा ठूलो खलबली भएको थियो । ब्याटल अफ बासटर्ड्स, हार्ड होम, ब्ल्याक वाटर र रेड वेडिङलाई सबभन्दा मन पराइएको भागका रूपमा लिइन्छ भने सातौं सिजनका सुरुका केही भागहरू अपेक्षा गरेअनुरूप थिएनन् । आठौं तथा अन्तिम भनिएको सिजनबाट दर्शकले निकै राम्रो अपेक्षा राख्नु स्वाभाविक हो । प्रसारण गरिएका दुई एपिसोडले अपेक्षाकृत ठूला द्वन्द्व र उलटफेर ल्याउन सकेन । आउने भागहरूका लागि कथाले राम्रो जग भने बनाएको छ । शृंखलाको पहिलो सिजनदेखि नै चर्चामा रहेको ‘विन्टर’ यसपालि हेर्न पाइनेछ । अन्तिम सिजन भएकाले पनि अबका भागहरू निकै मनोरञ्जात्मक र द्वन्द्वले भरिएको हुने आशा गरिएको छ ।


सात राज्यको सत्ताको लडाइँमा धेरैले अपेक्षा गरेजस्तै रुचाइएका जोन स्नो र डनेरिसको जित हुने हो वा सधैंजस्तै कथाले दर्शकका लागि आश्चर्यजनक मोड ल्याउँछ भन्नेमा निकै खुल्दुली छ । सबै ठूला शक्ति मिलेर निकै बलियो मानिएको ह्वाइट वाकरको समूहलाई हराउन सक्ने हुन् कि होइनन्, अन्त्यमा ‘आइरन थ्रोन’ मा बसेर सात राज्यलाई कसले राज गर्छ भन्ने कौतुहलता बढेको छ ।


दिदीका कारण गेम अफ थ्रोन्स हेर्न थालेको उल्लेख गर्दै निकिता प्रधान भन्छिन्, ‘मलाई सुरुबाटै शृंखला रोमाञ्चक लाग्यो । पाँचौं र छैटौं सिजनलाई उत्कृष्ट मान्छु । अचेल त लत नै परिसक्यो ।’ के एन्ड के कलेजमा अध्ययनरत २१ वर्षीया उनको शृंखलाको सबभन्दा प्रिय कलाकार हुन्, जेमी लेन्नेस्टर । ‘आठौं सिजनसम्म आइपुग्दा जेमीको भूमिका अविश्वसनीय रूपमा विकास भइरहेको छ । प्रायः चरित्र लामो समय नबाँच्ने सिरिजमा उनी कहिले नमरुन् भन्ने भएको छ,’ उनले बताइन् । उनलाई अन्तिम सिजनका दुई भाग सन्तोषजनक नै लागेको छ ।


हालसम्म खासै नखुलेका जेमले पागल राजाको हत्या गरेका थिए । उनको चरित्रको जसरी विकास गरिएको छ, त्यो तारिफयोग्य छ । उनको चरित्र मन पराएका युवक अभिषेक सुवेदी शृंखलाबारे भन्छन्, ‘मलाई युद्धको शृंखलाले सधैं तान्छ । विद्रोह र विजयको कथाले मेरो ध्यान खिच्छ । मलाई काल्पनिक कथावस्तु मन पर्ने भएकाले गेम अफ थ्रोन्स हेर्न सोच्नै परेन ।’ उनले उपन्यास पढिसकेका छन् र त्यसलाई शृंखलामा आकर्षक ढंगले उतारिएको उनको बुझाइ छ ।

नेपाल सम्बन्ध
गेम अफ थ्रोन्समा नेपाली कलाकार पनि छन् । दोस्रो संस्करणसम्म दोथ्राकी ह्यान्डमेडन इरीको भूमिका अमृता आचार्यले अभिनय गरेकी थिइन् । उक्त भागपछि शृंखलामा इरीको मृत्यु भएको थियो । युक्रेनियन आमा र नेपाली बाबुकी सन्तान अमृता सात वर्षको उमेरमा नै युक्रेन पुगेकी थिइन् । यसै वर्षको सुरुमा नेपाल आएकी अमृताले चाँडै पात्रको अन्त्य हुने शृंखलामा दोस्रो भागसम्म टिक्न पाएकामा निकै भाग्यमानी भएको बताएकी थिइन् ।

प्रकाशित : वैशाख १३, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?