कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहसी केशा

सजना बराल

 
टाइम म्यागजिनको विश्वका प्रभावशाली एक सय व्यक्तिको सूचीमा अमेरिकी गायिका एवं र्‍यापर केशा पनि परेकी छन्  । सन् २०१९ को उक्त सूचीमा केशालाई समेट्नुका कारण समानताको पक्षमा लड्ने, अन्यायविरुद्ध बोल्ने, न्यायका लागि संघर्ष गर्ने साहसी व्यक्ति भएको टाइमले उल्लेख गरेको छ  ।

साहसी केशा

हलिउडमा ‘मीटु’ अभियान आउनुभन्दा निकै अघि केशाले यौन दुर्व्यवहारविरुद्ध आवाज उठाएकी थिइन् । यसो गर्दा झन्डै उनको सांगीतिक करिअर दाउमा पर्‍यो । तथापि उनी पछि हटिनन्, अप्ठ्यारोसँग नडराई अन्यायविरुद्ध निरन्तर बोलिरहिन् । यसबारे आफ्नो ‘रेन्बो’ एल्बमका गीतहरूमा लेखेकी पनि छन् । ती केशाका स्तरीय गीतहरूमध्ये गनिन्छन् ।


वरिष्ठ गायिका सिन्डी लउपरले टाइम म्यागजिनमा केशाबारे प्रशंसा गरेकी छन् । उनी जस्ता महिलाका कारण अमेरिकी श्रम बजार र विशेषतः संगीत क्षेत्रमा महिलाका निम्ति नयाँ अध्याय सुरु भएको लउपरको भनाइ छ । ‘न्याय र निष्पक्षताका लागि लड्ने उनीजस्ता महिलालाई धन्यवाद,’ लउपरले भनेकी छन्, ‘यो अवस्थामा आइपुग्न हामीले धेरै संघर्ष गर्‍यौं र अझै पर पुग्नु छ । केशाहरूका कारण प्रगति हुँदै छ ।’ सन् २००९ बाट चर्चामा आएकी केशाले सांगीतिक करिअरको उच्च विन्दुमा रहेका बेला २०१४ मा आफ्ना पूर्वप्रोड्युसर डा. लुकविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनले मुद्दा नै हालिन् । त्यही समय उनी खानपानसम्बन्धी समस्याको उपचार गराइरहेकी थिइन् । आफूलाई संगीतमा प्रवेश गर्न सघाउने लुकविरुद्ध बोलेर केशाले ठूलो हिम्मत देखाएको बताइन्छ । केटी पेरी, केली क्लार्कसनहरूका चर्चित गीत उत्पादन गरेका डा. लुकले केशा र उनकी आमा पेबे सेबेर्टविरुद्ध मानहानिको मुद्दा हालेका छन् ।


सन् १९८७ मा क्यालिफोर्नियामा जन्मिएकी केशा एकल आमाकी सन्तान हुन् । उनका बुबा माइक ज्यागर पो हुन् कि भन्ने शंका गरिन्छ । छोरीको गायन कला देखेपछि पेबेले उनलाई सानै उमेरबाट गायनमा प्रोत्साहन गरेकी थिइन् । पेबे आफैं पनि चर्चित गीतकार हुन् । उनले जो सन र डली पार्टनले गाएको प्रख्यात गीत ‘ओल्ड फ्लेम्स कान्ट होल्ड...’ लेखेकी थिइन् । आर्थिक समस्या झेल्दै हुर्किंदा आफूहरूलाई गाह्रो भएको केशा सुनाउने गर्छिन् । उनका अनुसार दाजु र आफूलाई पढाउन, हुर्काउन आमा पेबेलाई समस्या थियो । ‘हामी सरकारी अनुदानमा पाइने खाद्यान्न लिन्थ्यौं,’ केशाले भन्ने गरेकी छन्, ‘आमाको कमाइ राम्रो थिएन ।’ गीतकार आमाको पछि लागेर उनी रेकर्डिङ स्टुडियो पुग्थिन् । आमाबाटै गीत लेख्न सिकिन्, म्युजिक स्कुल भर्ना भइन् ।


उनले १७ वर्षको उमेरमा बर्नार्ड विश्वविद्यालयमा छात्रवृत्ति पाएकी थिइन् तर सांगीतिक करिअरका लागि छात्रवृत्ति त्यागिन् । यो त्यही बेला थियो जब उनी डा. लुकसँग काम गर्न थालेकी थिइन् । ‘उनको आवाज विशिष्ट थियो,’ इन्टरटेन्मेन्ट विक्लीसँगको कुराकानीमा लुकले भनेका छन्, ‘मलाई उनको व्यक्तित्व मनपर्‍यो ।’ केशाले ब्रिट्नी स्पेयर्स र पेरिस हिल्टनका लागि ब्याकअप भोकलिस्टका रूपमा केही कार्यक्रममा गाएकी थिइन् ।
सन् २००९ मा र्‍यापर फ्लो रिडाको ‘राइट राउन्ड...’ गीत निकै चर्चित भयो । यसमा केशाले उनलाई साथ दिएकी थिइन् तर गीतमा न उनलाई श्रेय दिइयो न त उनले पारिश्रमिक नै पाइन् । ‘यसलाई लिएर म कहिल्यै दुःखी भइनँ,’ केशा भन्छिन्, ‘मान्छेले आफ्नो उधारो तिनैपर्छ ।’ फ्लो रिडासँगको सहकार्यपछि केशाले ‘टिक टक...’ सार्वजनिक गरिन् जुन अमेरिकामा सर्वाधिक डाउनलोड भएका गीतमध्येमा पर्छ । सन् २०१० को बिलबोर्ड पप चार्टको अग्रस्थानमा समेत पर्‍यो ।


केशाका युवा प्रशंसक धेरै छन् । गीतहरूमा लागूपदार्थ सेवनका कुरा जोड दिएकामा उनको आलोचना हुने गरेको छ । यसबारे सोध्दा केशा भन्छिन्, ‘म बच्चा हेर्ने आया होइन । आफ्ना सन्तानको हेरचाह गर्नु तिनका अभिभावकको जिम्मेवारी हो । म साथीहरूसँग बाहिर जान्छु अनि उपद्रो गर्छु । यसमा मलाई संकोच छैन र यसबारे गीत पनि लेखिरहन्छु ।’ सन् २०१० देखि २०१२ को बीचमा रिलिज भएका ‘एनिमल...’, ‘ब्ला ब्ला ब्ला...’ र ‘योर लभ इज माई ड्रग...’ जस्ता गीत लामो समय काउन्टडाउनमा परे ।


सन् २०१४ मा केशाले डा. लुकविरुद्ध आवाज उठाउँदा उनलाई एडेल र लेडी गागाजस्ता संगीतकर्मीले साथ दिए । टेलर स्विफ्टले त केशालाई २ लाख ५० हजार अमेरिकी डलर दिएर डा. लुकसँगको अनुबन्ध तोड्न सघाएकी थिइन् । डा. लुकको गीतका लागि सोनी म्युजिकसँग करार गरिएकाले सोनीले केशालाई लुकसँग अन्तरक्रिया नगरीकनै गीत रेकर्ड गराउन प्रबन्ध मिलाउन सकिने बताएको छ । द न्युयोर्क टाइम्ससँगको कुराकानीमा सोनी म्युजिकका वकिलले भनेका छन्, ‘लुक र केशाको करार सम्झौता खारेज गर्ने अवस्थामा सोनी छैन ।’


म्याडोना, क्विन, बेकजस्ता संगीतकर्मीबाट केशा प्रभावित छिन् । उनका सिर्जनामा सन् ८० को दशकको स्वाद आउने संगीत विज्ञहरूले बताएका छन् । उनी पलायनवाद, वैयक्तिकता, विद्रोह, सन्तापका सन्दर्भ गीतमा ल्याउँछिन् । पार्टी गर्ने, उत्सव मनाउने, अलौकिक पलहरूलाई पनि उनी शब्दमा उतार्छिन् । गायनबाहेक उनी पशु अधिकार र तेस्रोलिंगीको पक्षमा वकालत गर्दै हिँड्छिन् ।
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : वैशाख २०, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?