समाधान गुरु

५० रुपैयाँदेखि १८ करोडसम्मको यात्रा
दुर्गालाल केसी

घोराहीका मार्शल रोकाले भारतीय नाकाबन्दीका बेला खोटो र फालिएका प्लास्टिकका बोतलबाट पेट्रोल बनाएर परीक्षण गरे  । आफूले उत्पादन गरेको पेट्रोलबाट चलाएर घोराहीमा मोटरसाइकल र्‍याली गराए  ।

त्यसले देशभरि चर्चा पायो । उनी यसको जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगे । यसमा थप अध्ययनका लागि सहयोगको अनुरोध गरे तर केही सुनुवाइ भएन ।


उनले यस्ता थुप्रै परीक्षण गरे तर त्यसको कुनै उपलब्धि भएन । सबैले हेरे, सुने र बिर्से । दर्जनौं परीक्षण गरिसक्दा पनि सरकारबाट केही प्रोत्साहन हुने संकेत देखेनन् । अन्त्यमा उनले आफ्नो क्षमता र सीपलाई व्यावसायिकतामा ढाल्ने सोच बनाए । यही सोचलाई पछ्याउँदै जाँदा अन्त्यमा २६ वर्षीय रोका उद्यमी भए । विभिन्न उपकरण बनाउँदै परीक्षण र प्रदर्शन गर्दै आएका रोकाले अन्त्यमा केही उपकरणबाट व्यावसायिक अभ्यास थाले । २०६६ सालमा ५० रुपैयाँको लगानीमा स्वचालित पम्प कन्ट्रोलर निर्माण गरे र एक सय रुपयाँमा बिक्री गरे । यसले मोटरबाट पानी तान्दातान्दै ड्रम भरिए आफैं मोटर बन्द हुने र ड्रम खाली भए आफैं चल्न सहयोग गर्थ्यो । पानी भर्नकै लागि दौडादौड घर पुग्नुपर्ने र पानी भरिएर खेर जाने समस्या समाधानका लागि उनले यो उपकरण बनाएका थिए ।


उनले बनाएको उपकरणले लामो समय काम गर्न सक्ने भयो । घोराहीस्थित जिमखानामा भेटिएका रवीन पोखरेलसँग उनले आफ्नो योजना सुनाए । रोकाको सिर्जनशीलताबाट प्रभावित भएर पोख्रेल लगानीका लागि तयार भए । २०७३ सालदेखि ५ लाख लगानीमा पम्प कन्ट्रोलरको उत्पादन सुरु भयो । एक वर्षको वारेन्टीसहित सामान बिक्री गर्न थाले । ‘यो मेसिन जडान गरेपछि पानी र विद्युत्को बचत हुने भयो । व्यस्त मानिसलाई झन् धेरै सजिलो भयो । पानी र विद्युत्को बिल कम आउने भयो,’ रोकाले भने, ‘घरमा स्मार्टनेस पनि आउने भयो । बिस्तारै माग बढ्दै गयो ।’ अहिलेसम्म १५ जिल्लामा ८ हजार बढी बिक्री भइसकेको उनले बताए ।


पम्प कन्ट्रोलरको माग राम्रै भइरहेकै बेला उनी नारायणगढमा आयोजित कृषि मेलामा पुगेका थिए । त्यहाँ कुखुराका स्टल र कुखुरापालक किसान धेरै भेटिए । उनलाई लाग्यो कुखुराको व्यापार राम्रै रहेछ । ‘कुखुरामा के के समस्या छन् भनेर मैले किसानलाई सोधें । धेरैले खोरमा एमोनिया ग्यास उत्पादन भएर समस्या भएको बताए,’ उनले भने, ‘कतिले खोरको दुर्गन्धका कारण छिमेकीहरूले तनाव दिने, फार्म नै बन्द गराउन नगरपालिकामा निवेदन दिने गरेका गुनासा सुनाए ।’


यति भएपछि उनलाई अब एमोनिया ग्यास र गन्ध कम गर्ने कुनै औषधि उत्पादन गर्न सकेमा राम्रै व्यापार हुने विश्वास जाग्यो । घर फर्केर गुगलमा सर्च गरे, विभिन्न परीक्षण गरे । लामो प्रयासपछि अन्त्यमा आठ महिनाअघि एमओएक्सफाइभ नामक औषधि तयार गरे । यसले ९५ प्रतिशत एमोनिया ग्यास सोसेर एमोनिया सल्फेटमा रूपान्तरण गरी मल उत्पादनमा फाइदा गर्ने भयो । ८० प्रतिशत गन्ध पनि कम गर्‍यो । त्यसपछि यसको माग यति धेरै भयो कि उनलाई आपूर्ति गर्नै मुस्किल भयो ।दुईजना कामदारसहित घोराहीको एउटा साँघुरो कोठामा सुरु गरिएको काम पछि घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित फराकिलो ठाउँमा सर्‍यो । मेल्टा टेक्नोलोजी कम्पनीका नामबाट उनले सामान उत्पादन गरिरहेका छन् । अहिले ३५ जना कामदार छन् । २०७८ सालसम्म ३ सय कामदार पुर्‍याउने योजना छ ।


यो प्रतिकिलो १ सय ४० रुपैयाँमा बिक्री हुन्छ । सातामा १ हजार २ सय टन माग रहेको रोकाले बताए । मागको १० प्रतिशतसम्म आपूर्ति गर्न सकिने अवस्था रहेको उनले बताए । अहिले मासिक ६० टन बिक्री गरिरहेको उनले बताए ।


यो नेपाल मात्रै होइन, भारत र बंगलादेश पनि गइरहेको छ । एमओएक्सफाइभपछि उनले अर्को समस्यामाथि अनुसन्धान थाले । धेरैजसो कुखुरालाई धानको भुस बिछ्याइन्छ । भुसमा कणिका हुन्छ । कुखुराले भुसमै दिसा गर्छ र दिसा मिसिएको कणिका खान्छ । यसबाट धेरै रोग लाग्ने र भुसले पेटमा घोचेर घाउ हुने समस्या धेरै देखियो । त्यसपछि उनले मसला, सल्ला, जिंगटजस्ता कुकाठको भुसलाई प्रशोधन गरेर कुखुरालाई बिछ्याउने जडिबुटीयुक्त भुस तयार पारे जुन निकै उपयोगी भयो । दैनिक १ हजार ५ सय टन भुस उत्पादन हुन्छ । यो ५० रुपैयाँ किलो बिक्री हुन्छ । ५ सय कुखुरामा १ हजार ७ सयको मात्रै भुस लाग्ने रोकाले बताए ।


भुसबाट गुणस्तरीय कम्पोस्ट मल बन्छ । किसानबाट मल खरिद गरेर बिक्री गर्ने तयारी उनले गरेका छन् । अब मलबाट ठूलो मात्रामा मकै खेती गर्ने योजना बनाइरहेका छन् । देउखुरी क्षेत्रमा १ हजार बिघा जमिन भाडामा लिएर वार्षिक ३५ लाख टन मकै उत्पादन गर्ने लक्ष्य उनले सुनाए । कुखुराका लागि दैनिक २ हजार ५ सय टन दानाको माग भएकाले मकैको राम्रो बजार रहेको उनले बताए । ७५ दिनमा एक सिजनको खेती सम्पन्न गर्ने र यसबाट १ सय ६३ ट्रक मकै उत्पादन गर्ने उनको योजना छ ।


अहिले उनले कुखुराको अण्डा बलियो बनाउने क्याल्सियम कार्बोनेट ग्रिड उत्पादन गरेका छन् । अण्डा फुट्ने समस्या समाधानका लागि यो औषधि उपयोगी भएको छ । उनले यो औषधि दाना कम्पनीलाई बिक्री गर्छन् । देशमा एक सय बढी दाना कम्पनी भएकाले यो औषधिको पनि धेरै नै माग भइरहेको उनले बताए । ५० रुपैयाँ लगानी गरेर सुरु भएको उनको व्यवसाय अहिले १८ करोडको भएको छ । ‘कडा श्रम गरेर मात्रै सफल भइँदैन, स्मार्ट काम गरेर सफल भइन्छ,’ उनी भन्छन् । अरूले जस्तै काम गर्नुको सट्टा नयाँ काम गर्न सकेमा बजारमा सजिलै स्थापित हुन सकिने उनकोअनुभव छ । ‘अरूले गरिरहेको व्यापारमा हात हाल्नु भनेको छाती खोलेर मैदानमा लड्न जानुसरह हो,’ उनले भने, ‘नयाँ काममा हात हाल्नु भनेको खाली मैदानमा जानुसरह हो । एक्लै जति दौडिए पनि हुन्छ ।’


१२ कक्षासम्म पढेका रोका क्याम्पसको पढाइ योग्यता बढाउनलाई मात्रै जस्तो ठान्छन् । ‘मैले पढ्न खोजेका विषयवस्तु पाठ्यक्रममा छैनन् । क्याम्पस गयो भने जबर्जस्ती निर्धारित पुस्तक पढ्नुपर्छ,’ उनले भने, ‘मलाई चाहिएका सामग्री इन्टरनेटमा जति पनि छन् । म यहीं खोजेर पढ्न सक्छु ।’

durgalalkc@gmail.com

प्रकाशित : वैशाख २७, २०७६ १२:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साहसी केशा

सजना बराल

 टाइम म्यागजिनको विश्वका प्रभावशाली एक सय व्यक्तिको सूचीमा अमेरिकी गायिका एवं र्‍यापर केशा पनि परेकी छन्  । सन् २०१९ को उक्त सूचीमा केशालाई समेट्नुका कारण समानताको पक्षमा लड्ने, अन्यायविरुद्ध बोल्ने, न्यायका लागि संघर्ष गर्ने साहसी व्यक्ति भएको टाइमले उल्लेख गरेको छ  ।

हलिउडमा ‘मीटु’ अभियान आउनुभन्दा निकै अघि केशाले यौन दुर्व्यवहारविरुद्ध आवाज उठाएकी थिइन् । यसो गर्दा झन्डै उनको सांगीतिक करिअर दाउमा पर्‍यो । तथापि उनी पछि हटिनन्, अप्ठ्यारोसँग नडराई अन्यायविरुद्ध निरन्तर बोलिरहिन् । यसबारे आफ्नो ‘रेन्बो’ एल्बमका गीतहरूमा लेखेकी पनि छन् । ती केशाका स्तरीय गीतहरूमध्ये गनिन्छन् ।


वरिष्ठ गायिका सिन्डी लउपरले टाइम म्यागजिनमा केशाबारे प्रशंसा गरेकी छन् । उनी जस्ता महिलाका कारण अमेरिकी श्रम बजार र विशेषतः संगीत क्षेत्रमा महिलाका निम्ति नयाँ अध्याय सुरु भएको लउपरको भनाइ छ । ‘न्याय र निष्पक्षताका लागि लड्ने उनीजस्ता महिलालाई धन्यवाद,’ लउपरले भनेकी छन्, ‘यो अवस्थामा आइपुग्न हामीले धेरै संघर्ष गर्‍यौं र अझै पर पुग्नु छ । केशाहरूका कारण प्रगति हुँदै छ ।’ सन् २००९ बाट चर्चामा आएकी केशाले सांगीतिक करिअरको उच्च विन्दुमा रहेका बेला २०१४ मा आफ्ना पूर्वप्रोड्युसर डा. लुकविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनले मुद्दा नै हालिन् । त्यही समय उनी खानपानसम्बन्धी समस्याको उपचार गराइरहेकी थिइन् । आफूलाई संगीतमा प्रवेश गर्न सघाउने लुकविरुद्ध बोलेर केशाले ठूलो हिम्मत देखाएको बताइन्छ । केटी पेरी, केली क्लार्कसनहरूका चर्चित गीत उत्पादन गरेका डा. लुकले केशा र उनकी आमा पेबे सेबेर्टविरुद्ध मानहानिको मुद्दा हालेका छन् ।


सन् १९८७ मा क्यालिफोर्नियामा जन्मिएकी केशा एकल आमाकी सन्तान हुन् । उनका बुबा माइक ज्यागर पो हुन् कि भन्ने शंका गरिन्छ । छोरीको गायन कला देखेपछि पेबेले उनलाई सानै उमेरबाट गायनमा प्रोत्साहन गरेकी थिइन् । पेबे आफैं पनि चर्चित गीतकार हुन् । उनले जो सन र डली पार्टनले गाएको प्रख्यात गीत ‘ओल्ड फ्लेम्स कान्ट होल्ड...’ लेखेकी थिइन् । आर्थिक समस्या झेल्दै हुर्किंदा आफूहरूलाई गाह्रो भएको केशा सुनाउने गर्छिन् । उनका अनुसार दाजु र आफूलाई पढाउन, हुर्काउन आमा पेबेलाई समस्या थियो । ‘हामी सरकारी अनुदानमा पाइने खाद्यान्न लिन्थ्यौं,’ केशाले भन्ने गरेकी छन्, ‘आमाको कमाइ राम्रो थिएन ।’ गीतकार आमाको पछि लागेर उनी रेकर्डिङ स्टुडियो पुग्थिन् । आमाबाटै गीत लेख्न सिकिन्, म्युजिक स्कुल भर्ना भइन् ।


उनले १७ वर्षको उमेरमा बर्नार्ड विश्वविद्यालयमा छात्रवृत्ति पाएकी थिइन् तर सांगीतिक करिअरका लागि छात्रवृत्ति त्यागिन् । यो त्यही बेला थियो जब उनी डा. लुकसँग काम गर्न थालेकी थिइन् । ‘उनको आवाज विशिष्ट थियो,’ इन्टरटेन्मेन्ट विक्लीसँगको कुराकानीमा लुकले भनेका छन्, ‘मलाई उनको व्यक्तित्व मनपर्‍यो ।’ केशाले ब्रिट्नी स्पेयर्स र पेरिस हिल्टनका लागि ब्याकअप भोकलिस्टका रूपमा केही कार्यक्रममा गाएकी थिइन् ।
सन् २००९ मा र्‍यापर फ्लो रिडाको ‘राइट राउन्ड...’ गीत निकै चर्चित भयो । यसमा केशाले उनलाई साथ दिएकी थिइन् तर गीतमा न उनलाई श्रेय दिइयो न त उनले पारिश्रमिक नै पाइन् । ‘यसलाई लिएर म कहिल्यै दुःखी भइनँ,’ केशा भन्छिन्, ‘मान्छेले आफ्नो उधारो तिनैपर्छ ।’ फ्लो रिडासँगको सहकार्यपछि केशाले ‘टिक टक...’ सार्वजनिक गरिन् जुन अमेरिकामा सर्वाधिक डाउनलोड भएका गीतमध्येमा पर्छ । सन् २०१० को बिलबोर्ड पप चार्टको अग्रस्थानमा समेत पर्‍यो ।


केशाका युवा प्रशंसक धेरै छन् । गीतहरूमा लागूपदार्थ सेवनका कुरा जोड दिएकामा उनको आलोचना हुने गरेको छ । यसबारे सोध्दा केशा भन्छिन्, ‘म बच्चा हेर्ने आया होइन । आफ्ना सन्तानको हेरचाह गर्नु तिनका अभिभावकको जिम्मेवारी हो । म साथीहरूसँग बाहिर जान्छु अनि उपद्रो गर्छु । यसमा मलाई संकोच छैन र यसबारे गीत पनि लेखिरहन्छु ।’ सन् २०१० देखि २०१२ को बीचमा रिलिज भएका ‘एनिमल...’, ‘ब्ला ब्ला ब्ला...’ र ‘योर लभ इज माई ड्रग...’ जस्ता गीत लामो समय काउन्टडाउनमा परे ।


सन् २०१४ मा केशाले डा. लुकविरुद्ध आवाज उठाउँदा उनलाई एडेल र लेडी गागाजस्ता संगीतकर्मीले साथ दिए । टेलर स्विफ्टले त केशालाई २ लाख ५० हजार अमेरिकी डलर दिएर डा. लुकसँगको अनुबन्ध तोड्न सघाएकी थिइन् । डा. लुकको गीतका लागि सोनी म्युजिकसँग करार गरिएकाले सोनीले केशालाई लुकसँग अन्तरक्रिया नगरीकनै गीत रेकर्ड गराउन प्रबन्ध मिलाउन सकिने बताएको छ । द न्युयोर्क टाइम्ससँगको कुराकानीमा सोनी म्युजिकका वकिलले भनेका छन्, ‘लुक र केशाको करार सम्झौता खारेज गर्ने अवस्थामा सोनी छैन ।’


म्याडोना, क्विन, बेकजस्ता संगीतकर्मीबाट केशा प्रभावित छिन् । उनका सिर्जनामा सन् ८० को दशकको स्वाद आउने संगीत विज्ञहरूले बताएका छन् । उनी पलायनवाद, वैयक्तिकता, विद्रोह, सन्तापका सन्दर्भ गीतमा ल्याउँछिन् । पार्टी गर्ने, उत्सव मनाउने, अलौकिक पलहरूलाई पनि उनी शब्दमा उतार्छिन् । गायनबाहेक उनी पशु अधिकार र तेस्रोलिंगीको पक्षमा वकालत गर्दै हिँड्छिन् ।
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : वैशाख २०, २०७६ ११:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT