बेठीक तैपनि हिट !

अति बलशाली पुरुषवादी चरित्रहरू बलिउड फिल्ममा हिट हुनु नयाँ कुरा भने होइन । यो ट्रेन्ड बलिउडले अहिले पनि छोड्न नसकेको ॅकबिर सिंह’ को सफलताले देखाउँछ ।
हेलो शुक्रबार

 पछिल्लो समय दक्षिण भारतीय फिल्मको धमाधम रिमेक गरिरहेको बलिउड अहिले ‘कबिर सिंह’ को सफलतामा डुबेको छ  । ‘अर्जुन रेड्डी’ नामक तेलगु फिल्मका निर्देशकले शाहिद कपुरलाई लिएर हिन्दीमा गरेको रिमेकले बक्स अफिसमा धमाका गरिरहेको छ  ।

यसलाई पछिल्लो समयकै सबभन्दा अप्रत्याशित हिट मानिएको छ । दस दिनमा फिल्मले भारु १ सय ८० करोड बढीको व्यापार गरिसकेको छ । सुपरस्टार सलमान खानको निकै चर्चित फिल्म ‘भारत’ को व्यापारलाई यसले सजिलै उछिन्ने अपेक्षा छ ।


तर, फिल्म रिलिज हुनुअघि यस्तो अपेक्षा ट्रेड गाइडहरूले गरेका थिएनन् । फिल्म उद्योगका खेलाडी र विश्लेषकहरूले पनि यस्तो सोचेका थिएनन् । यी सबैले औसत ठानेको फिल्म यस्तो सुपर हिट बनेर कसरी निस्कियो त ?साथै, यो फिल्मलाई धेरै समीक्षकहरूले ‘मनोरञ्जक’ भनेपछि बेठीक पनि भने । उनीहरूले त्यस्तो किनभने ? बेठीक भनिएकै फिल्म किन यसरी हिट भयो होला ?पहिले, यो फिल्मबाट बजारले अपेक्षा गरेको थिएन ? किनभने, शाहिद कपुर बलिउडमा बिकाउ हिरो मानिँदैनन् । ‘हैदर’ र ‘उडता पञ्जाब’ मा राम्रो अभिनयका लागि प्रशंसा कमाए पनि यी दुवै फिल्म त्यस्तो हिट होइनन् । गत वर्ष उनले अभिनय गरेको ‘पद्मावत’ ले ३ सय करोड कमाए पनि यसको जस रणवीर सिंह र दीपिका पादुकोणको जोडीले नै बढी पायो । उनको सोलो फिल्म ‘बत्ती गुल मिटर चालु’ को मिटर बक्स अफिसमा चालु हुन सकेन ।


फिल्मकी हिरोइन कियरा आणवाणी पनि प्रियंका चोपडा, आलिया भट्ट वा दीपिका पादुकोणजस्ती स्टार होइनन् । निर्देशक त झन् बलिउडका लागि नयाँ । यस्तोमा यसबाट धेरै अपेक्षा थिएन ।फिल्मको व्यापारलाई कसैले आकलन गर्न नसक्ने जुवासँग यत्तिकै तुलना गरिने होइन । भयो त्यस्तै । चकलेटी हिरोका रूपमा फ्यान कमाएका शाहिद कपुरको रिसाहा रूपलाई दर्शकले मन पराए । तेलगुमा पनि ‘अर्जुन रेड्डी’ हिट थियो । यसले पनि काम गर्‍यो । फिल्ममा एकतर्फी प्रेमी, पागल प्रेमीको जस्तो जुन भूमिका शाहिद कपुरको छ, त्यो बलिउड दर्शकको प्रिय चरित्र हो । यसअघि पनि ‘देवदास’ देखि ‘तेरे नाम’ सम्म यो लाइनका फिल्म हिट भएका छन् । त्यसमाथि ‘प्रेममा अति नै पागल भएर हिंस्रकसमेत हुने’ हिरो धेरै ‘आशिक’ हरूको फेवरेट बन्न पुग्यो । सबै परीक्षामा टप गरेको एउटा जिनियस जो प्रेममा विक्षिप्त भएर आफैंलाई सिध्याउने बाटोमा लागेको छ, त्यसका प्रति दर्शकको सहानुभूति फिल्मले जगाउन सक्यो ।


र, यसको समस्या पनि यहींबाट सुरु हुन्छ । यो फिल्म पूर्णतः बेठीक लाइनमा त्यहींबाट हिँड्न थाल्छ । प्रेममा बर्बाद भएको जिनियस देखाउने चक्करमा फिल्मले हिरोलाई यतिसम्म बिग्रिन अनुमति दिन्छ कि उसले मनलाग्दी महिलाहरूमाथि हिंसा गर्न थाल्छ । र, पनि ऊ हिरो नै हुन्छ । कलेजमा आफूलाई मन परेकी केटीलाई ऊ कुनै वस्तु जसरी आफ्नी भएको घोषणा गर्दै हिँड्छ, युवतीको मर्जी वा रोजाइबारे एकपटक पनि सोध्दैन । केटाले चुम्बन गर्दासम्म पनि केटीको एक लाइन संवाद फिल्ममा छैन । हुन त ‘खम्बे जैसी खडी है...’ टाइपका छेडखानीका कथामा अडेको बलिउडका लागि ‘ह्यारेससेन्ट’ कुनै विषय होइन । तर, मिटुको समयमा पनि यो फिल्मले महिलालाई पुरानै ढर्रामा हेर्छ र ट्रिट गर्छ ।


यो यस्तो जिनियस छ, जो हिरोइनको अन्यत्र विवाह भएपछि अनियन्त्रित तरिकाले रक्सी खान्छ, कोकिन खान्छ, गाजा तान्छ । यो यस्तो हिरो हो, जो नशामा झ्याप भएर सर्जरी गर्छ । र, पनि ‘कुल’ कहलिन्छ । मानौं, यी सबै काम वैध हुन् । वा एउटा टुटेको दिल भएको हिरोले गर्न हरेक गैरकानुनी कामले उसलाई अझै ठूलो जिनियस बनाइदिनेछ ! यति सब गरेर पनि ‘कबिर सिंह’ हिट छ । यो फिल्म भारतमात्र होइन, नेपालका हलमा पनि हाउसफुल छ । दोस्रो हप्ताको बुधबार पनि क्यूएफक्समा यसका २२ सो थिए । जब कि यसै हप्ता रिलिज भएको दयाहाङ राईको ‘आप्पा’ लाई यो मल्टिप्लेक्स चेनले जम्मा ६ सो दिएको छ । यसैबाट थाहा पाइन्छ, यसलाई नेपाली दर्शकले पनि निकै मन पराएका छन् ।


अति बलशाली पुरुषवादी चरित्रहरू बलिउड फिल्ममा हिट हुनु नयाँ कुरा भने होइन । अमिताभ बच्चनका कतिपय फिल्मदेखि सनी देओलदेखि सलमान खानजस्ता स्टारका ‘जित’ लगायतका फिल्म यत्तिकै हिट भएका होइनन् । यो ट्रेन्ड बलिउडले अहिले पनि छोड्न नसकेको ‘कबिर सिंह’ को सफलता हेर्दा थाहा हुन्छ । फिल्मको पेस, लाउडनेस, शाहिद कपुरको हिंस्रक तर पीडित टाइपको चरित्र र उनको अभिनयले यो फिल्मलाई लोकप्रिय बनाएको थाहा पाउन मुस्किल भने पर्दैन ।

hellosukrabar@gmail.com

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

चुलाचुली रंगमञ्च

कान्तिपुर संवाददाता

 दक्षिणी इलामको चुलाचुली भन्ने एउटा सानो गाउँ  । जुन गाउँ विकासका हिसाबले साह्रै पछौटे छ  ।

स्थानीय भन्छन्, ‘इलामले हेपेको, झापाले नदेखेको ठाउँ हो यो ।’ यहाँ भौतिक विकास नभएर के भो त ! साहित्यिक सांस्कृतिक विकास छँदै छ । चुलाचुलीमा एउटा रंगमञ्च छ, चुलाचुली थिएटर । यसको अगुवाइ गरेका छन् युवा रंगकर्मी चेतन आङथुपोले । रंगमञ्च त्यो पनि पछौटे गाउँमा ? साह्रै दुःख गरेर बचाएको छ चेतन र उनको टिमले ।


‘गाउँमा रंगमञ्च चलाउनु भनेको फलामको चिउरा चपाउनुजत्तिकै गाह्रो छ,’ ३२ वर्षीय चेतन भन्छन् । बेलाबेला उनको टिमले नाट्य उत्सवहरू आयोजना गरिरहन्छ । यसपटक ‘पाठशाला बाल नाट्य उत्सव’ आयोजना गरे, जेठ ३२ र असार १ मा भयो । सुरुका दिनमा नाटकमा जम्न चेतनलाई गाह्रो भयो । उनलाई परिवार, समाजले पागल ठाने । बेकामे, अल्छे, अरूका छोराछोरी बिगार्ने फटाहा बनाइए । आफूलाई पढेलेखेको ठान्नेहरूले पनि अनुत्पादक क्षेत्रमा किन समय बर्बाद गरेको भनेर गाली गरे । एक शिक्षकले उनलाई उपनाम नै दिएका थिए ‘भुराका राजा’ भनेर ।


चेतनले समाजका अपजस कति सहे कति । अझै पनि सहिरहेका छन् । तर, हरेस खाएका छैनन् । रंगमञ्चवाट आफ्नो गाउँको पहिचान गराउने उनको ध्येय छ । ‘सुरुका दिनदेखि नै मैले नयाँ पुस्तालाई केन्द्रमा राखेर काम गर्दै आएका छु,’ उनले भने । एकताका यिनले चरम आर्थिक संकट बेहोरे । विदेश जानलाई पासपोर्ट बनाए । भिसा पनि लाग्यो । अचानक यिनको मन बदलियो । तर वाचा गरे, ‘जस्तो दुःख हुन्छ बेहोर्छु तर विदेश जान्न ।’ त्यसयता चेतन नाटकमा निःस्वार्थ लागिपरेका छन् । लाहुर जाने, जागिर खाने सोच कहिल्यै पलाएन यिनको मनमा । यिनले नाटकमात्रै सोचे । ‘मेरो मनमस्तिष्कले सधैं भन्थ्यो गाउँमा कसरी रंगमञ्चलाई दिगो रूपमा स्थापित गर्ने ?’ उनले सुनाए ।


चाहेको भए चेतन काठमाडौं छिर्न सक्थे । राजधानीमा मज्जाले जमेर बस्न सक्थे । तर, काठमाडौंलाई यिनले कहिल्यै केन्द्र ठानेनन् । ठाने त केवल मात्र चुलाचुलीलाई । ‘मेरो काठमाडौं भनेकै मेरो गाउँ हो,’ उनको तर्क छ, ‘गाउँलाई नै काठमाडौं बनाउन लागेको छु ।’विगत दुई वर्षदेखि स्थानीय सरकार कछुवा गतिमै भए पनि गाउँको विकासमा जुटेको छ । तर, स्थानीय सरकारको बुझाइ के छ भने विकास भनेको सडक, पुल, बत्ती, पानी पुर्‍याउनु मात्रै हो । चेतन आक्रोश पोख्छन्, ‘गाउँमा रंगमञ्च बनाउनुचाहिँ विकास होइन ?’ रंगमञ्चप्रति स्थानीय सरकार र समाजका अगुवाहरूको दृष्टिकोण ज्यादै दया लाग्दो रहेको उनले अनुभव गरेका छन् । नाटकलाई नौटंकी ठान्नु समाजको दुर्भाग्य हो भन्छन् उनी ।


चुलाचुलीमा केही दिन नाटक मञ्चन गर्न खोज्दा व्यवस्थित हल पाएनन् । सामुदायिक हलमा साह्रै दुःखका साथ प्रदर्शन गर्नुपर्ने । किपोट (२०७०), चेतनले निर्देशन र लेखन गरेको पहिलो नाटक हो । सुवीउ चरी (२०७१), देवाङ्सी राजा (२०७३), खाल्डो (२०७४) र माङ्गेना (२०७६) नाटक गरे । यी नाटकहरू क्षेत्रीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरिएको थियो । गत वर्ष मण्डला थिएटरले आयोजना गरेको समकालीन नाटक र युवा निर्देशन वर्कसपमा देशभरका १४ जना युवा निर्देशकहरूमा छानिएर प्रशिक्षणसमेत गरेका चेतन त्यसपछि थप खारिएर आएका छन् । ‘नाटक मेकिङ, निर्देशन कार्यशालाले थप हौसला मिल्यो,’ उनी भन्छन् ।

zivi.111@gmail.com

प्रकाशित : असार २०, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्