कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मने हरायो !

काठमाडौँ — मने जंगल नजिकै रहेको चौरमा चर्दै थियो । उसकी आमा पनि सँगै चर्दै थिई । उनीहरू सधंै त्यसै चौरमा चर्थे र टन्न अघाएपछि साँझ घर फर्कन्थे ।

मने हरायो !

मनेकी आमाले मनेलाई जंगलमा एक्लै जानुहुन्न नत्र बाघले खान्छ भनेर धेरै पटक सम्झाएकी छे । तर पनि ऊ मौका पर्नसाथ छलेर कहिले खोलातिर, कहिले जंगलको सिरानतिर पुगिहाल्छ । उसकी आमा मने कतै जाला कि भनेर सधंै चनाखो भइरहन्छे । तर पनि ऊ मौका पारेर झुक्याइहाल्छ । आज पनि मनेले आफ्नी आमालाई झुक्याएर जंगलतिर जाने विचार गर्‍यो । उसकी आमा बंसो घाँस स्वाद मानीमानी खाइरहेकी थिई । यसो मौका पारेर ऊ जंगल भएतिर दौडिहाल्यो । ऊ एक्लै बुर्कुसी मार्दै जंगलतिर लाग्यो । मीठो घाँसको स्वाद लिइरहेकी उसकी आमालाई पत्तै भएन ।

हिजोअस्ति जंगलको सिरानतिर मात्र आएको मने आज घना जंगलभित्र पस्यो । जति पस्दै गयो उसलाई उति रमाइलो लाग्दै गयो । कहिले उफ्रन्थ्यो । कहिले आफ्नो सानो स्वर निकालेर कराउँथ्यो । हिँड्दाहिँड्दै ऊ घना जंगलको बीचमा पुग्यो । ऊ हिँडिरहेको बाटो पनि टुंगियो । अब कहाँ जाने उसले निर्णय लिन सकेन । यताउति हेर्‍यो । उसलाई यति ठूलो र घना जंगलभित्र एक्लै हुनुपर्दा डर लाग्यो । आमालाई सम्झियो । आमाले ‘जंगलभित्र एक्लैदुक्लै जानुहुन्न है, नत्र बाघले खान्छ’ भनेको सम्झियो । उसलाई झन् धेरै डर लाग्यो । आफ्नी आमासँग हँुदा उसलाई कहिले यति डर लागेको थिएन । व्यर्थै आएछु ∕ उसलाई आफ्नी आमालाई छक्याएकोमा ठूलो पश्चाताप लाग्यो ।

उसलाई त्यहाँ अब एकछिन पनि अडिन मन लागेन । तुरुन्तै त्यहाँबाट फक्र्यो । अघि आएकै बाटोतिर पाइला छिटोछिटो चाल्न थाल्यो । हिँड्दाहिँड्दै चौबाटो भएको ठाउँमा आइपुग्यो । अघि आउँदा यस्तो चौबाटो थिएन, अहिले कसरी भयो उसले मनमनै सोच्यो । अब कता जाने ? उसले अघि आएको बाटो कुन हो ठम्याउनै सकेन । अघि आउँदा उसले कुन बाटो कता जान्छ ? आफू हिँडेको बाटो कस्तो छ ? यादै गरेको थिएन । रमाइलोको सुरमा आफू आएको बाटोमा केके छ, उसलाई होसै भएन । अब कसरी आमा भएको ठाउँमा पुग्ने ? उसलाई आफ्नो अवस्था देखेर धेरै पिर लाग्यो ।

जे पर्लापर्ला ? जसरी पनि जंगलबाहिर निस्कन्छु ?सोच्दै ऊ चौबाटोमध्ये एउटा बाटोतिर लाग्यो । हिँड्दाहिँड्दै यो बाटो पनि अलि पर पुगेपछि अरू धेरै बाटोसँग मिल्थ्यो । ऊ फेरि अलमलमा पर्‍यो । आफू झन् धेरै अनकन्टारमा आइपुगेको उसलाई महसुस भयो । कसैगरी पनि ऊ जंगलबाहिर निस्कन सकेन । जुन बाटो गए पनि जंगल बाहिर निस्कने बाटो उसले पत्ता लगाउनै सकेन ।

अब के गर्ने ? कहाँ जाने ? कसरी आफ्नी आमालाई भेट्ने ? सोच्दै ऊ रुन थाल्यो । त्यति नै बेला अलि परबाट एउटा अनौठो आवाज सुन्यो ।

‘यो पक्का पनि बाघकै आवाज हो’ उसले मनमनै अड्कल गर्‍यो । आज मलाई बाघले खाने नै भयो ? हत्तेरिका ?आमले भनेको नटेरेर त हो नि ? उता मनेकी आमा मनेलाई खोज्न चौरको मीठो घाँसको लोभ छोडेर निस्किसकेकी थिई । चौरको परपरसम्म हेर्दै मनेलाई खोज्न थाली । मने चौरतिर कतै भेटिएन । मने पक्कै जंगलतिर गएको हुनुपर्छ ?उसले मनमनै अन्दाज गरी । मने... मने ... भन्दै कराउँदै ऊ जंगलतिर लागी । बाटोमा मनेका काका, मामाहरू पनि चर्दै गरेको देखी र सबैलाई मने हराएको कुरा सुनाई । मने पक्कै जंगलतिरै गएको हुनुपर्छ ?सबैले निधो गरे । सबै एकैसाथ जंगलतिर लागे ।

यता मने डर र थकाइले लखतरान परिसकेको थियो । त्यसमाथि अघि सुनेको अनौठो आवाज झन् झन् नजिकिँदै थियो । अब उसको आँखाले ठम्याउनेसम्मको दूरीमै त्यो आवाजसँगै बाघ आइपुग्यो । बाघको मुखभरि रगत लत्पतिएको थियो । मनेलाई देख्नेबित्तिकै बाघले एकपटक जोडले हुंकार गर्‍यो र मनेतिरै आफ्नो पाइला चाल्यो । मनेलाई आफू बेहोस भएर ढल्छु कि झैं लाग्यो । उसको आँखा तिरिमिर भयो । उसले अब वरिपरि अन्धकार मात्र देख्यो र बेहोस भएर भुइँमा ढल्यो । बाघ उसको नजिकमै आयो । उसलाई सुँघ्यो । तर, उसले मनेलाई केही गरेन । आज पेटभरि हरिणको सिकार गरिसकेकाले होला मनेप्रति उसलाई कुनै इच्छा जागेन । एक पटक लामो हाई गर्‍यो र आङ तन्काउँदै आफ्नो बाटो लाग्यो ।

उता मनेका आमा, काका, मामा मनेलाई खोज्दै जंगलभित्र पसे । समूह बनाउँदै मनेलाई यताउता खोज्न थाले । कोही अलि पर रहेको ‘आँपखोला’ त कोही ‘पक्काचौर’ तिर खोज्न लागे । सबैतिर खोज्दा पनि मनेको अत्तोपत्तो लागेन । दिन पनि ढल्किन थालिसकेको थियो । सबैले मने भेटिएला भन्ने आशा मारिसकेका थिए । ‘मनेलाई पक्कै पनि बाघले खायो ∕’ सबैले अनुमान गरे । अब कहाँ खोज्ने ? बरु यो जंगलमा यसरी घुम्दा आफ्नो ज्यानको पनि खतरा हुने महसुस गरे । सबैले मनेलाई भोलि उज्यालोमा खोज्ने वचन उसकी आमालाई दिँदै आआफ्नो घरतिर लाग्ने विचार गरे ।

यता बाँदरहरूको चिच्याहटले निकै बेरदेखि बेहोस भएको मनेको होस खुल्यो । आफू जिउँदै छु भन्ने उसलाई विश्वास नै लागेन । ‘धन्न बाघले खाएको रहेनछ ? कसरी घर फर्कने ?’ उसले पुन: सोच्न थाल्यो । जोडजोडले आफ्नो आवाज टाढा पुग्ने गरी करायो । तर अहँ उसलाई मद्दत गर्न कोही आएन । बाँदरहरू उसलाई एक्लै देखेर नजिकै आएर चिमोट्ने र गिज्याइउने गरिरहेका थिए । आफूबाट उनीहरूलाई हटाउँदै ऊ अगाडिको बाटोतिर सके जति बलले कुद्यो । बाटो टुंगिए पनि झाडी र बुट्यान पन्छाउँदै अगाडि बढ्यो । कसो–कसो गरी जंगल हँुदै बग्ने नहरको डिलमा पुग्यो । अब घर पुगिएला र आमासँग भेट होला भन्ने उसमा झिनो आश पलायो ।

डिलको बाटो हिँड्दाहिँड्दै उसले अलि पर जंगलबाट निस्कँदै गरेका एक हूल बाख्रा देख्यो । अब भने उसको सहास बढ्यो । आमालाई भेट्छु भन्ने लाग्यो । छिटोछिटो पाइला चाल्दै आफू पनि त्यही हूलमा मिसिन पुग्यो । उसकी आमा पनि त्यही हूलमा मने हराएको पिर मान्दै हिँडिरहेकी थिई । आँखाभरि आँसु टिलपिल पार्दै ऊ आमाछेउ पुग्यो । उसकी आमाले मनेलाई देख्नेबित्तिकै रुँदै ‘कहाँ गएको थिइस्’ ‘धन्न बाघले सिध्याएन आज तँलाई’ भन्दै मुसार्न थाली । अबदेखि म आमालाई कहिले पनि झुक्याउँदिनँ ? कहिले आमालाई छोडेर कतै जान्नँ ? उसले रुँदै भन्यो । मने भेटिएकोमा खुसी हँुदै सबै आआफ्नो घरतिर लागे ।

एकराज कोइराला

प्रकाशित : पुस २९, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?