कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वास

काठमाडौँ — घरमा माइजू आउनुभएको थियो । माइजूको सानो छोरा थियो– राजु । सुनीता दिनभर राजुसँग खेलेर बसिन् । शनिबार भएकोले उनलाई स्कुल जानुपर्ने थिएन । ‘सुनीता अब एकछिन पढ,’ बेलुकीपख आमाले भन्नुभयो । 

विश्वास

सुनीताले हिजो स्कुलमा लेख्दालेख्दै आफ्नो कापी सकिएको कुरा सम्झिइन् ।

‘आमा मेरो कापी सकिएको छ । पैसा दिनू न । म पसलबाट किनेर ल्याउँछु,’ सुनीताले आमालाई भनिन् ।

‘म बेलुका पसल जाने हो । कापी म आफैं ल्याइदिन्छु । त्यति टाढाको पसलमा तिमी सानो मान्छे जान सक्तैनौ,’ आमाले भन्नुभयो ।


सुनीताले अस्ति खेतबाट आमासँगै घाँस बोकेर ल्याएको कुरा सम्झिन् । उनलाई आफू सानो छु जस्तो लागेन । हिजो माइजूले पनि देख्नेबित्तिकै ‘ओहो, भान्जी त कति ठूली हुनुभएछ’ भन्नुभएकै थियो । सुनीतालाई आमाको कुरा चित्त बुझेन ।


‘म त्यहींको पसलमा जान सकिहाल्छु नि ।

मलाई अहिल्यै कापी चाहियो,’ सनीताले भुइँमा खुट्टा बजार्दै भनिन् ।

‘ल ल जाऊ त । पैसा आमाले बेलुका दिनुहुन्छ रे भन है,’ आमाले भन्नुभयो ।

सुनीतालाई रिस उठ्यो । उनले अस्ति पसलेले उधारोमा चकलेट नदिएको कुरा सम्झिन् । उनले पैसा नलिई पसलमा नजाने अड्डी कसिन् ।


‘कति जिद्दी बच्चा होस्, ला लैजा । बाँकी पैसा फिर्ता ल्याएस् । बाटोमा मान्छले खोसिदेलान् नि पैसा,’ सय रुपैयाँको हरियो नयाँ नोट दिँदै आमाले भन्नुभयो ।


सुनीता पसलतिर दगुरिन् । उनको मनमा आमाले ‘पैसा हराउलिस् नि’ भनेको कुरा खेलिरहेको थियो । उनले पैसा मुठीमा कसिन् । बाटोका सबै मानिसले उनलाई नै हेरिरहेको जस्तो लाग्थ्यो । पैसा कसैले खोसिदिने हो कि भनेर उनी झन् झन् डराउन थालिन् । उनलाई चिटचिट पसिना पनि आउन थाल्यो । एक जना मानिस उनको पछिपछि आइरहेको थियो । यो मानिस मेरो पैसा खोस्न आएको हो भन्ने सुनीतालाई लाग्यो । उनी खुबै डराइन् । उनले छिटोछिटो पाइला चालिन् । बाटो चिप्लो थियो । पछाडि फर्कीफर्की हेर्दा उनी बाटोमा लड्न पुगिन् । मानिस नजिक आइसकेको थियो । ‘ए नानी किन दौडेकी । हेर त लडेर । त्यो हातमा के छ खै खोल त,’ उसले सुनीतालाई भुइँबाट उठाउँदै भन्यो । ‘अब त यो मानिसले पैसा लान्छ लान्छ । बाटोमा कसैले पैसा खोसिदेला भनेर आमाले भन्नुभएकै त थियो,’ सुनीताले आमाको कुरा सम्झिन् । उनलाई रुँन मन लाग्यो । उनी बेपत्ता भागिन् ।


सुनीता पसलमा पुगिन् । उनी हडबडाएकी थिइन् । पसलेले केही सोधेनन् । उनले बीस रुपैयाँको कापी किनिन् र पसिनाले निथु्रक्क भिजेको सय रुपैयाँ पसलेलाई दिइन् ।


‘म बेलुका आमालाई दिउला पैसा । तिमी कापी लिएर जाऊ । पैसा हराउली फेरि,’ पसलेले भने ।

उनले आमाले पैसा फिर्ता ल्याएस नि भनेको कुरा सम्झिन् ।


‘आमाले बाँकी पैसा ल्याउनु भन्नुभएको छ,’ उनले मसिनो स्वरमा पसलेलाई भनिन् । उनले आठ ओटा दसका नोट फिर्ता दिए । सुनीताले डराई डराई पैसा समातिन् ।


‘यत्ति पैसा त मेरो सानो मुठीमा पनि अट्दैन होला ?’ उनले मनमनै सोचिन् । अनि बाँकी पैसा कापीको बीचमा राखेर घरतिर दौडिन् । पसल नजिकैबाट एकजना दिदी उनको पछिपछि आइरहेकी थिइन् । पसलेले उनलाई पैसा दिएको ती दिदीले देखेकी थिइन् ।


‘सुनीता पर्ख न म पनि उतै जाने हो, सँगै जाउला,’ ती दिदीले भनिन् । पक्कै यी दिदी मेरो पैसा खोस्न आएकी हुन् भन्ने सुनीतालाई लाग्यो । उनी बोल्दै नबोली दौडेर भागिन् । बाटोभरिका सबै मानिस उनलाई पैसा चोरजस्तै लाग्न थाले ।

माइजू फर्कनुभएछ । सुनीतासँग बाटोमा भेट भयो । माइजूले उनलाई भान्जी राम्रो कलम किने भन्दै पचास रुपैयाँ दिनुभयो । सुनीतालाई त्यो पैसा लिउँ कि नलिउँ जस्तै भयो । त्यो पैसा कसरी घरसम्म पुर्‍याउने भनेर उनले सोच्न थालिन् ।


‘लेऊ न लेऊ माइजूले भान्जीलाई दिएको नि । बरु हराउली । राम्ररी राख,’ माइजूले पैसा हातमा राखिदिँदै भन्नुभयो ।

यत्ति धेरै पैसा, सुनीताको मुटु ढुक्क फुल्यो । उनले डराउँदै पैसा लिइन् । पोहोर सहरबाट आउँदा कसरी बाटोमा चोरहरूले पैसा लुटे भनेर उनका बुवाले उनकै अगाडि पटकपटक भनेको कुरा सुनीताले सम्झिन् । अलि पर केही मान्छेहरू उभिरहेका थिए ।


‘यिनीहरू मेरो पैसा खोस्ने कुरा गरिरहेका होलान्,’ सुनीताले मनमनै सोचिन् । उनका पाइला रोकिए । उनी थरीथरी काँप्न मात्र सकिन् ।


सुनीताले मनमनै एउटा उपाय सोचिन् । उनले सबै पैसा कान्लाको एउटा साँघुरो दुलोमा राखिन् । अब उनलाई अलि हलुका भयो । कसैले देखेकी भनेर चारैतिर नियालिन् । नजिकै कोही मानिस थिएनन् । उनी ढुक्क भएर घरतिर दौडिन् ।


घरमा आमाले ‘पैसा खोई ?’ भनेर सोध्नुभयो । सुनीताले सबै कुरा आमालाई भनिन् । आमालाई थाहा थियो, त्यहाँ मुसाका प्रशस्त दुलाहरू थिए । पक्कै त्यो पनि मुसाकै दुलो हुनुपर्छ । आमाले हडबडाउँदै र सुनीतालाई गाली गर्दै पैसा राखेको ठाउँमा दगुर्नुभयो । सुनीताले पैसा राखेको ठाउँ देखाइदिइन् । अचम्म दुलोमा पैसा थिएन । पैसा मुसाले लगिसकेछ । सुनीताको होसहवास् उड्यो । ‘तैँले कसलाई दिइस् पैसा, झूट बोल्छेस्’ भन्दै आमाले सुनीतालाई गाली गर्न थाल्नुभयो । सुनीता ‘होइन कसैलाई दिएकी होइन । यहीँ राखेकी थिएँ’ भन्दै क्वाँक्वाँ रुँन थालिन् ।


त्यही बाटो हुँदै सुनीताकी शिक्षिका आउँदै हुनुन्थ्यो । सुनीता रुँदै गरेको र आमाले गाली गरिरहेको देखेपछि उहाँले के भएको भनेर सोध्नुभयो । सबै कुरा सुनेपछि उहाँले आमालाई सम्झाउँदै भन्नुभयो ‘हेर्नुस् दिदी सुनीता त्यस्तो झूट बोल्ने केटी होइनन् । हामीले स–साना कुरामा पनि केटाकटीलाई विश्वास नगर्दा यस्तो भएको हो ।


‘सानैदेखि हामीले उनीहरूको मनमा डर भरिदिने, उनीहरूको अगाडि भयानक कुराहरू सुनाउने गर्दा बच्चाहरू यसरी कमजोर हुन्छन् । त्यसैले कतिपय कुरामा केटाकेटीलाई सतर्कतापूर्वक स्वतन्त्र छाडिदिनुपर्छ, विश्वास गर्नुपर्छ । तपाईंले पैसा हराउलिस्, बाटोमा कसैले खोसिदेला नि भनेकोले उसको बाल मस्तिष्कमा डर भरियो । अझ माइजूले पनि त्यही कुरा दोहोर्‍याउनुभयो । ऊ बाटोभरि यत्ति डराई कि पैसा घरमा लानै सकिन बरु यसरी दुलोमा राखी ।’

आमाले केहीबेर सोच्नुभयो । अनि शिक्षिकालाई ‘धन्यवाद, नानी मैले कुरा बुझेँ’ भन्नुभयो । अब म नानीहरूको पनि विश्वास गर्छु र उनीहरूको मनमा कहिल्यै डर भर्दैन भन्नुभयो । शिक्षिका उनीहरूसँग बिदा भएर घरतिर लाग्नुभयो । उनीहरू पनि घर फर्किए । तर सुनीताको मनमा भने त्यत्ति धेरै पैसा मुसाले कहाँ लगे होला भन्ने परिरह्यो ।


-किशोर आचार्य

प्रकाशित : माघ ६, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?