कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जाको सेरोफोरो

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

स्याङ्जाको सेरोफोरो

जसले संसारलाई हेर्ने दृष्टि नै बदलिदिन्छ । यदि हाम्रो शिक्षा प्रणालीले हामीलाई चारभित्ताको कोठाभित्र मात्र सीमित राखेन भने हामीले प्रकृतिबाट पनि धेरै कुरा सिक्न सक्छौं । हाम्रा जीवन भोगाइ हाम्रो लागि कहिल्यै नबिर्सने शिक्षा हुनेछ भन्ने कुरा मैले यसपालिको शैक्षिक भ्रमणबाट महसुस गरेँ ।


हामी अक्षरा स्कुलका कक्षा ९ का विद्यार्थी ९ दिनका लागि शैक्षिक भ्रमणमा स्याङ्जा र पोखरा गएका थियौं । स्याङजा र पोखरा जाने हाम्रो उद्देश्य भनेको प्रकृतिसँगको घुलमिलले फरक अनुभव बटुल्न र नेपालका दुर्गम परिवेशबारे शैक्षिक, सामाजिक, आर्थिक अवस्थाबारे थाहा पाउन र त्यहाँका मानिसको जीवनशैली बुझनु साथसाथै नेपाली समाजसँग घुलमिल हुन सिक्नु पनि थियो । वास्तवमै मैले पनि त्यहाँ गएर धेरै कुरा सिक्न पाएँ ।


भ्रमणको पहिलो दिन हामी काठमाडौँबाट लामपाटा बजारसम्म पुग्यौँ । हुन त पहिलो दिन गाडीमा मात्र भएकाले अल्छी लागेको थियो तर जब हामी ज्योतिषी डाँडामा पुग्यौँ त्यहाँबाट हामी सबै जनाको मुखमा एउटा चम्किलो हाँसो देखियो । ज्योतिषी डाँडाबाट ३० मिनेट हिँड्दा बाटोको दु:ख भएको एउटा कुरा मात्र थियो झुलुङ्गे पुल । हामी सहर बसेकाले झुलुङगे पुलमा हिँडेका थिएनौँ । त्यो पुल तर्न त हामीलााई यति गाह्रो भयो, तुइन चढ्नेलाई त झन् के हुन्छ भन्ने कुराले मेरो मन कुटुक्क काट्यो । निकै थाकेर हामी लामपाटा बजारको होटेल पुग्यौँ र त्यहाँ दु:ख सुखले रात काट्यौँ ।


दोस्रो दिनको बिहान ६:०० बजे नै हामी सबै जनाको निद्रा खुल्यो र बिहान सबैरै सबै साथीहरू भेट भयौँ । हाम्रो हाँसीखुसीसँगै त्यस दिनको बिहानी सुरु भएको महसुस भयो । हामीले यो दिन धेरै नै हिँड्नुपर्ने भएकाले गाह्रो भयो तर जसरी त्यसरी हामी साँझपख मात्र भेडाबारी पुग्यौँ ।


भेडाबारी जाँदाको यात्रा त्यति सजिलो थिएन । बाटो साह्रै नै अप्ठ्यारो थियो । तर दु:खले जसोतसो गरी हामीले भेडाबारीमा गएर खाना खायौँ । त्यस दिन हामीलाई निकै गाह्रो भएको थियो तर जति जे भए पनि कसैले कसैलाई धेरै दु:ख देखाएनौँ । यसले हामीलाई दु:खमा कसरी बाँच्ने भन्ने मात्र होइन, पीडामा सहने बानीको विकास पनि भयो । एकअर्कालाई आपत पर्दा सहयोग गर्नु हाम्रो धर्म मात्र होइन कर्तव्य पनि हो भन्ने पनि मलाई लाग्यो ।


हाम्रो भ्रमणको तेस्रो दिन हामीले अमृत सरको घर गएर कफी र सुन्तलाको बारेमा धेरै जानकारी लियौँ । केटाहरू भने जङ्गलमा दाउरा बोक्न गए । हामीले ताजा ताजा सुन्तला खाने अवसर पायौँ । केटीहरूले सुन्तलाबारी गोडमेल गर्‍यौँ । हामीले चौथो र पाँचौँ दिनमा त्यहाँको एउटा विद्यालयमा पढाउने सुनौलो अवसर पाएका थियौँ । म कक्षा १ लाई पढाउँदै थिएँ । केही डर पनि लागेको थियो त केही खुसी । जब हामी विद्यालय पुग्यौँ । मलाई पहिलो पटक कक्षामा पुग्दा निकै दु:ख लाग्यो किनभने उमेर नै नपुगी विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको न त राम्रो कक्षा, न त राम्रो शौचालय, न त राम्रो खानेपानीको व्यवस्था नै थियो । कक्षा निकै चिसो र केही तोडफोड भएका डेक्स बेन्चहरूले भरिएका थिए । यो देखेर मेरो मनमा धेरै कुराहरू खेलिरहे । कक्षामा पुग्दा विद्यार्थीहरूको न्यानो मुस्कानले हाम्रो स्वागत गर्दा हामीलाई साह्रो खुसी लाग्यो । उनीहलाई पढाउँदा थाहा भयो कि शिक्षक बन्न कति गाह्रो रहेछ । बच्चाहरूको उमेर सानै थियो । कापीमा जे जति अक्षर भरेका भए पनि प्रश्न सोध्दा केही उत्तर आउँदैन थियो ।


हामीले त्यस दिनको कक्षा पढाइ सकेर सबै भेला भएपछि काठमाडौँ र स्याङ्जाका फरकहरू मात्र होइन पढाउने शैली, विद्यालय, विद्यार्थीको अवस्थाबारे पनि निकै भावुक बनेर कुरा गर्‍यौँ । हामीले चौतर्फी विकास हुने शिक्षा लिएका रहेछौँ भन्ने कुरामा म ढुक्क भएँ । मलाई लाग्यो शिक्षण सिकाइ प्रणालीमा निकै परिवर्तन चाहिएको छ । जबसम्म शिक्षा प्रणालीमा परिवर्तन हुँदैन तबसम्म परीक्षा प्रणाली परिवर्तन गर्नुको अर्थ रहेनछ । हामीले गाउँका ती विद्यार्थीहरूलाई कापी, कलम, पेपर र ब्रस आदि धेरै उपहार लगेका थियौँ । त्यो पनि हामीले ती विद्यार्थीहरूलाई बाँडिदियौँ । उनीहरूको मुखको हाँसोले मन न्यानो बनाइदियाृे ।


हामीहरू ती विद्यार्थीसँग बिदा भएर सिरुबारी गयौँ । सिरुबारीमा पुग्दा हामीलाई त्यहाँ पञ्चेबाजाले स्वागत गरियो । पञ्चेबाजा लगायतका अन्य परम्परागत बाजालाई लोप हुनबाट बचाउने कार्य सिरुबारीमा राम्ररी भएको हामीले पायौँ । यो देखेर हामीलाई निकै गर्व लाग्यो । त्यहाँको सांस्कृतिक कार्यक्रमले हामीलाई आफ्नो संस्कृतिको संरक्षणबारे बोध गराएको छ ।
हाम्रो विद्यालयमा भएको र भेडाबारीको पढाउने शैली, बालबालिकाको चौतर्फी विकासका कुरा, बालभावनाका कुरा र यसले हाम्रो बालमस्तिष्कमा पार्ने असरका कुरा तुलना गर्दा मैले धेरै नै पृथकता पाएँ ।


आखिर त्यहाँका बच्चा पनि त हामीजस्तै बच्चा न हुन् । तिनीहरूप्रति राज्य, विभिन्न संघसंस्था र स्थानीय सरकारको ध्यान जान अत्यन्त आवश्यक छ । नत्र बालअधिकार हनन हुनेछ र भविष्यका कर्णधार भनौँदा बालबालिकाहरूको जीवन अन्धकारमय हुनेछ भन्ने मलाई लागेको छ । यसपटकको भ्रमणबाट हामीले धेरै कुरा सिक्यौँ । म भ्रमणबाट आएपछि मसँग जे छ त्योसँग खुसी हुने बानी परेको छु किनकि मैले जति सुविधा लिन नपाई पनि नेपालका कत्ति बालबालिकाले आफ्नो बाल्यकाल बिताएका रहेछन् भन्ने मैले प्रत्यक्ष देखेर आएकी छु । म मेरो बुबाआमा, मेरो सम्पूर्ण परिवार, विद्यालय, शिक्षकशिक्षिका र साथीभाइलगायत मेरो विद्यालयमा काम गर्ने दाइदिदीहरूलाई पनि यतिखेर धेरै धेरै धन्यवाद दिन्छु ।


यदि हामीलाई हाम्रो विद्यालयले स्याङ्जामा जीवन उपयोगी शिक्षा दिनका लागि शैक्षिक भ्रमणमा नलगेको भए मैले त्यति कुरा थाहा पाउने थिइनँ । यो त नेपाललाई हेर्ने एउटा सानो ऐना हो, हाम्रो देशको अधिकांश बालबालिकाको अवस्था यसरी नै व्यथित भइरहेको छ भन्ने कुरामा डुब्न थाल्ने हो भने निकै भावुक बनिन्छ । त्यसैले नेपाललाई समृद्ध बनाउनु छ भने नेपालका मेची कालीका कन्दरामा रोइरहेका, निमुखा बनेका र राहत खोजिरहेका बालबालिकाको शिक्षाका लागि पाइला अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्यो ।

जोत्सना पन्त

प्रकाशित : फाल्गुन ५, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?