कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झुट

कान्तिपुर संवाददाता

काठमाडौँ — घिल्लो शुक्रबार पिज्जा ल्याइदिन्छु भनेर पनि ल्याइदिनुभएन, अब आज त म गृहकार्य नगरी चाँडै सुत्ने हो’ यस्तै सोच्दै घर पुगेको श्याम पेट दुखेको अभिनय गर्दै आमासँग निन्याउरो अनुहार पारेर भन्छ, ‘आमा १ कस्तो नराम्ररी पेट दुखेको छ, म त गृहकार्य गर्न सक्दिनँ, सुत्छु है ।

जीवनजलको गिलास दिँदै छोराका निधार, गोडा र पेट छाम्दै आमाले भन्नुभयो, ‘नआत्तिऊ बाबु, निको हुन्छ, आराम गर । चिल्लोपिरो खानु भएन, म जाउलो पकाइदिन्छु ल ।’ ल ढाँटिहालियो, बिरामी नै नपरी त्यो जाउलो कसरी खाने होला, बरु अरू नै बहाना गरेको भए हुन्थ्यो होला । किन टोलाएको बाबु भन्ने आमाका आवाजले ऊ झस्कियो ।


छोरा १ अघिल्लो शुक्रबार म घर आउन ढिलो भएकाले हो, आज ल्याएको छु तिम्रो प्रिय खाना पिज्जा, कता छौ ? बाबाको आवाजले श्यामको अनुहार उज्यालियो तर कुन्नि किन हो क्षणभरमै निभ्न लागेको बत्तीझैं मलीन भयो । ‘छोरालाई सन्चो भएन, चिल्लो, पिरो खान मिल्दैन, जाउलो बनाइदिएकी छु । सन्चो भएपछि फेरि पिज्जा ल्याइदिउँला ।’ आमाले बाबालाई भनेको सुन्दा रसाएको मुखलाई बलजफ्ती नमीठो पार्दै ‘अलिकति त खान मिल्ला नि आमा,’ उसले भन्यो । ‘पेट दुखेको बेलामा चिल्लो खान मिल्दैन, भोलि डाक्टरलाई देखाएपछि औषधि खानुपर्छ अनि निको भएपछि खाउला नि,’ बाबाले भन्नुभयो ।


बाबाका कुराले मन निकै पोल्यो । म झूटो बोलेको थिएँ भनौं कि जस्तो लाग्यो । घरमै आएको तात्तातो पिज्जाले कताकता आफैंलाई बोलाएजस्तो पनि लाग्यो तर झूटो बोलेको थिएँ भनेपछि त मेरो कुरा कहिल्यै पत्याउनुहुन्न । कस्तो फसाद पर्‍यो आफ्नै कारणले । झूटो बोलेकामा निकै पश्चात्ताप भयो अनि मनमा अर्को तर्कना आयो, ‘डाक्टरकहाँ पनि झूटो बोलेँ भने गलत औषधिले झनै बर्बाद पार्ने पो हो कि ?’ रातभर निद्रा लागेन ।


हिजोको झुठ लुकाउन सबेरै उठेर आमासँग, ‘मलाई आज त सन्चो भएछ, हिजोको गृहकार्य अहिल्यै सक्छु आमा ।’ ऊ फटाफट गृहकार्य गर्न थाल्छ । गृहकार्य गर्दा पनि हिजो साँझको पिज्जाले मुख र मनलाई घोचिरह्यो । गृहकार्य सकेर आङ तान्दै अनायास श्यामका मुखबाट ‘अब त कहिल्यै झूटो बोल्दिनँ’ वाक्य निस्कयो । यताउता हेरेर ‘धन्न कसैले सुन्नुभएन, म त कस्तो हुस्सु । झूटो बोल्न त निकै गाह्रो हुनेरहेछ,’ ऊ फटाफट किताबकापी मिलाउन थाल्यो ।

प्रेमनारायण भुसाल


प्रकाशित : फाल्गुन ५, २०७५ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?