पुतली संग्रहालय

राजाराम पौडेल

काठमाडौँ — योहो अन्नपूर्ण प्राकृतिक–ऐतिहासिक संग्रहालय  । कास्की जिल्लाको पोखरा महानगरपालिका १ भीमकालिपाटन बगरमा रहेको यो संग्रहालयलाई पुतली संग्रहालय भनेरसमेत चिनिने गरिन्छ  ।

यहाँ नेपालमा पाइने कुल ६ सय ६१ प्रजातिका पुतलीमध्ये ५ सय ८६ प्रजातिका पुतली अवलोकनका लागि राखिएका छन् । त्यसैले यसलाई पुतली संग्रहालय भनिएको हो । तर यहाँ पुतली मात्र नभएर चराचुरुङ्गी, जंगली र घरपालुवा जनावर, विभिन्न चट्टान, हेन्डिकाफ्टका साथै विभिन्न भेषभूषासमेत अवलोकन गर्न पाइन्छ । संग्रहालय हेर्न आउनेको संख्या दिनहुँ बढ्दो छ । त्यसैले गर्दा यहाँ पुग्नेहरूको भीड दिन प्रतिदिन बढ्दै छ ।


पृथ्वीनारायण क्याम्पस परिसरभित्र रहेको यो संग्रहालयमा बिहीबार विद्यार्थीको भीड थियो । उनीहरू पोखराकै विभिन्न विद्यालयबाट अवलोकनका लागि यहाँ आएका थिए । शिक्षकका साथ आएका उनीहरू सबैले संग्रहालयमा राखिएका वस्तु, चराचुरुङ्गी, जनावर, चट्टानलगायत सबै अवलोकन गरे । विदेशी पर्यटक र कलेज पढ्ने विद्यार्थी पनि संग्रहालय अवलोकनका लागि आउने गरेका छन् । यसरी आउनेहरूलाई संग्रहालयका कर्मचारीले खुल्दुली मेटाउँछन् । संग्रहालय हेर्न आएका कक्षा ५ मा अध्ययनरत विमल पौडेलले एकै ठाउँमा धेरै प्रकारका पुतली हेर्न पाउँदा रमाइलो लागेको बताए । उनले धित नमरुन्जेलसम्म संग्रहालयमा राखिएका आकर्षक पुतलीलाई नियालेको सुनाए । कास्की चापाकोटका ११ वर्षीय अमोल पराजुलीलाई भने पुतलीसँगै त्यहाँ गरिएको पेन्टिङ मन पर्‍यो । भित्तामा कोरिएका विभिन्न आकर्षक आकृतिले यहाँ आउने सबैलाई आकर्षित गर्छन् ।


विद्यार्थीले यहाँ प्रकृतिमा पाइने विभिन्न जनावर, बोटबिरुवा आदिबारे जान्ने अवसरसमेत पाउँछन् । पोखरा जिरो किमिका ९ वर्षीय प्रज्ज्वल पराजुलीलाई सर्पले ध्यान खिच्यो । सर्पबारेमा विभिन्न जानकारीमूलक चित्र र सामग्री पढ्दै उनले आफ्ना खुल्दुली मेटाए । पोखराकै ६ वर्षीया आहना पौडेल साथीहरूसँगै संग्रहालय आइपुग्दा रमाइलो मानिन् । उनी संग्रहालयमा राखिएका हरेक चिजलाई एक टकले निहाल्दै थिइन् । पोखरा मासबारका १२ वर्षीय अपिल बराललाई किङ कोभ्रा सर्पबारे राखिएको जानकारी राम्रो लाग्यो भने मालेपाटन पोखराका १२ वर्षीय मनसुन खतिवडा सर्प र पुतलीको जानकारी लिन पाउँदा खुसी थिए ।

पोखरा न्युरोडकी १० वर्षीया सिर्जना थापालाई एकै ठाउँमा धेरै प्रजातिका पुतली हेर्न पाएकोमा रमाइलो लाग्यो । ‘मलाई त यहाँ भएका चरा औधि मन परे,’ पहिलोचोटि आएकी ११ वर्षीया आस्था पौडेलले भनिन् । साथी अभिलाशा बराललाई भने विभिन्न प्रकारका ढुंगा मन परे । दिनहुँ यहाँ आउने विद्यार्थी र अन्य सर्वसाधारण संग्रहालयमा रहेका चराचुरुङ्गी, ढुंगा, लियोपार्ड, नीर बिरालो, डाँफे, हेन्डिकाफ्ट र विभिन्न भेषभूषा अवलोकन गर्न व्यस्त भेटिन्छन् ।


संग्रहालय आउनेमा मन्टेश्वरीमा अध्ययनरत स–साना बाबुनानी र स्कुलमा अध्ययनरत विद्यार्थीको संख्या बढी हुन्छ । यसका अलावा कलेजमा अध्ययनरत विद्यार्थी, अनुसन्धानकर्ता, स्वदेशी तथा विदेशी पर्यटक, आमा समूह, युवा क्लब, विभिन्न संघसंस्थामा आवद्धहरूसमेत हुन्छन् । शैक्षिक भ्रमणका लागि पोखरा आएका अधिकांश विद्यार्थी पनि यो संग्रहालय हर्न आएकै हुन्छन् । कैयौं अभिभावक बाबुनानीलाई घुमाउन र जानकारी गराउनकै लागि यहाँ आउँछन् ।


संग्रहालय हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्छ । शनिबार र सार्वजनिक बिदाको दिनमा भने बन्द हुन्छ । संग्रहालय अवलोकन गर्न कुनै शुल्क तिर्नुपर्दैन । दिउँसो साढे १ बजेदेखि २ बजेसम्म खाजा खाने समय भएकोले बन्द हुन्छ । म्युजियम सहायक सुरेन्द्र परियारका अनुसार पहिला पहिला यहाँ मनोरञ्जनका लागि मात्र मानिस आउँथे । ‘अब आएर अनुसन्धानमा केन्द्रित व्यक्ति पनि आउन थालेका छन्,’ उनले भने । यसलाई मर्मतसम्भार गर्दै अझै व्यवस्थित गर्ने तयारी गरिएको संग्रहालयका कर्मचारी आनन्द सुवेदीले जनाए । २०२३ सालदेखि सुरु यो संग्रहालयलाई त्यसताका पृथ्वीनारायण क्याम्पसले सञ्चालन गरेको थियो । ३२ वर्षयता भने अन्नपूर्ण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापनमा सञ्चालन हँॅुदै आएको छ । त्यसैले यहाँ अन्नपूर्ण क्षेत्र आयोजनाभित्र पर्ने विभिन्न ठाउँको जानकारीसमेत दिइन्छ । संग्रहालय पुग्नेले विभिन्न प्रजातिका चरा, बिरुवा र जनावरका बारेमा जान्ने मौका पाउँछन् । विभिन्न कीटपतङ्गबारे खोजअनुसन्धान गर्ने अवसर पनि हुन्छ । यहाँ पुतली विशेषज्ञ कोलिन स्मिथले संकलन गरेका पुतली छन् । संग्रहालय अध्ययनअनुसन्धानको खुल्ला पाठशालाजस्तै भएको छ । प्रकृति र मानिसबीचको सम्बन्ध झल्काउने विभिन्न सामग्रीसमेत राखिएकाले यहाँ पुग्नेहरूमा प्रकृतिप्रेम झनै बढ्छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

ढुंगानाका दुई बालकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — बालसाहित्यकार गोपीकृष्ण ढुंगानाका दुई बालकथा कृति बजारमा आएका छन्  । बालमनोविज्ञानमा आधारित पुस्तक ‘सजनाको साहस’ र ‘दाइँ गर्ने दिन’ सांग्रिला बुक्सले प्रकाशन गरेको हो  ।

दुई कृतिसहित सञ्चारकर्मी ढुंगानाका ११ वटा बालकृति आएका हुन् । कृतिमा सबै चित्र रंगीन छन् । चित्रकार प्रज्वल थापा मगरले कथाअनुसार चित्रलाई जीवन्त बनाएका छन् । सजनाको साहसमा काभ्रेकी बालिका सजनाले भाइको ज्यान बचाएको सन्दर्भ छ । उनले घरनजिकैको जंगलबाट आएको चितुवासँग संघर्ष गरी भाइको जीवन बचाएको घटनालाई ढुंगानाले जीवन्त प्रस्तुति दिएका छन् । दाइा गर्ने दिनमा भने गाउँको सन्दर्भ छ । सहरमा जन्मेहुर्केका बालबालिकालाई गाउँघरमा गरिने दाइँबारे पूर्ण जानकारी कृतिले दिएको छ । ढुंगानाले दाइँमा प्रयोग हुने ठेट शब्दावली प्रयोग गर्दै बालमनोविज्ञानमा आधारित कथा बुनेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७५ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्