कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयुशको माग स्टेजतिर

युवराज गौतम

काठमाडौँ — हँसिला र फरासिला आयुश घिमिरेको स्टेजमा गीत गाएर दर्शक नचाउने धोको बाल्यकालदेखिकै हो  । यति बेला उनले त्यो धोको पूरा गरिरहेका छन् र सबैको ताली पाइरहेका छन्  ।

इलाम माइजोगमाई–४ नाम्सालिङका १३ वर्षीय गायक आयुशको पहिलो गीत ‘फूल बनेर’ सार्वजनिक भइसकेको छ । सोही गीतबाट उनको चर्चा चुलिएको छ । त्यसका अलावा मेला, महोत्सव तथा अन्य सांस्कृतिक कार्यक्रममा उनलाई निम्ता आउन थालेको छ ।


फेसबुकमा पनि उनी निकै सक्रिय छन् । होम र मुना घिमिरेका छोरा आयुश इलामको हेरिटेज स्कुलमा पढ्छन् । लिटल आइडल इलाममा पहिलो भएका उनी अहिले विद्यालयमा हुने कार्यक्रममा मात्र गीत गाउँदैनन् । विभिन्न स्टेज कार्यक्रममा पुगेर दर्शक नचाउँछन् । हालै इलामको अन्तुडाँडामा आयोजित स्टेज कार्यक्रममा भेटिएका आयुषले भने, ‘नारायणगोपाल, गुलाम अली, राजेशपायल राईलगायतको गीत गाउन धेरै मन पर्छ,’ उनले भने, ‘सबैको माया पाएमा संगीत क्षेत्रमा केही नयाँ काम गरेर देखाउने
इच्छा छ ।’


उनको स्वरमा रेकर्ड भएको पहिलो गीत ‘फूल बनेर’ मा इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । मन्दीप राईको शब्दमा सुबी राईले संगीत भरेको गीतले विस्तारै चर्चा पाउन थालेको छ । पुराना गायक संगीतकार कुँवेर निरौला, डेनी निरौलालगायतको साथ पाएका उनी भविष्यमा संगीत क्षेत्रमा नयाँ आयामको सुरुवात गर्न सक्ने दाबी गर्छन् ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?