कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेवाका लागि दौड

कान्तिपुर संवाददाता

काठमाडौँ — सेन्ट जेभियर्स कलेज, माइतीघरले आयोजना गर्ने धेरै कार्यक्रममध्ये मिनी म्याराथन पनि एक हो  । ‘रन फर द चिल्ड्रेन एजुकेसन’ भन्ने नाराका साथ यसपालाको यो मिनी म्याराथन पाँचौँ रहेछ  ।

गतसालजस्तै यसपल्ट पनि म पढ्दै गरेको सेन्ट जेभियर्स स्कुल, गोदावरीमा ऊक्त कार्यत्रम हुने जानकारी आएको कुरा सरबाट थाहा पाएँ । घरमा आएर बाबालाई म पनि मिनी म्याराथनमा भाग लिन जान्छु भनेँ । बाबाले हुन्छ भन्नुभयो । आवश्यक फारम भरी शुल्क तिर्न आवश्यक पैसा दिनुभयो । गतसाल पनि भाग लिएकोले नियम र दौडिने बाटोको बारे मलाई राम्रोसँग थाहा थियो । बिहान ६ः३० बजे सेन्ट जेभियर्स कलेजमा पुग्दा धेरै जना सहभागी दाइ, दिदी र साथीहरू पुगिसक्नुभएको रहेछ । कलेजवरिपरि र अगाडिको मूल सडकमा दौडमा भाग लिने सहभागीहरूको भीड निकै ठूलो भइसकेको थियो । कलेजका प्रिन्सिपल फादर जिजु हाम्रो विद्यालयमा पहिले नै प्रिन्सिपल भएर बस्नुभएकाले सेन्ट जेभियर्स स्कुल, गोदावरीबाट मलगायत साथीहरू पनि कार्यक्रममा भाग लिन आएको देखेर झन् खुसी हुनुभयो ।


म पनि आयोजकले दिएको टिसर्ट लगाएर कलेज अगाडिको मूल सडकमा साथीहरूसँग तयारी अवस्थामा उभिएँ । शनिबारको बिहान, त्यसमाथि चिसो मौसम भएकाले होला बाटो लगभग खाली थियो । प्रमुख अतिथिज्यूबाट रिबन काटेर सिठी बजाएपछि दौड कार्यक्रम उद्घाटन भएको संकेत पाउनासाथ सबै सहभागीहरू काठमाडौंको थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल, कान्तिपथ, लैनचौर, नागपोखरी, पुतलीसडक, अनामनगर, बबरमहल हुँदै सेन्ट जेभियर्स कलेज, माइतीघरसम्मको १० किलोमिटर दूरी पार गर्दा आयोजक कलेजले गर्न लागेको काम (खोटाङ जिल्लाका म जस्तै बालबालिकाहरूको शिक्षामा सहयोग) मा मैले पनि साथ दिन पाएँ, खुसी लाग्यो । दौड सकेर कलेज आइपुग्दा स्वयंसेवक दाइदिदीहरूले मैले कति समयमा दौड पूरा गरेँ भन्ने रेकर्ड राख्नुभयो र आयोजकको तर्फबाट मेडल लगाइदिएर प्रमाणपत्र दिनुभयो । दौड सकिएपछि सांगीतिक कार्यक्रम पनि भएकोले मनोरञ्जन लिने मौका मिल्यो । चर्चित गायक गायिकाहरूको मनपर्ने संगीतमा नाच्न पाएर होलाअघि दौडिँदा दुखेको खुट्टा पनि ठीक भएजस्तो लाग्यो । दिउँसो करिब एक बजेसम्मको रमाइलो कार्यक्रमपछि म घर फर्किएँ ।मेरोजस्तै हाम्रो सानो सहभागिताले कसैको जीवन सफल बनाउन सहयोग गर्छ भने यस्ता कार्यक्रममा भाग लिन म सबै साथीहरूमा अनुरोध गर्दछु ।


आयुश अधिकारी, कक्षा–७
सेन्ट जेभियर्स स्कुल, गोदावरी

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?