बाबाको मोटरसाइकल

देवकी केसी

काठमाडौँ — प्रितम कक्षा दुईमा पढ्छ  । उनी साह्रै चलाख र जिज्ञासु पनि छन्  ।

कक्षामा पनि अरूभन्दा धेरै जिज्ञासु र पढाएको कुरामा पनि निकै ध्यान दिने गर्छन् । पढाइएका अतिरिक्त खेलकुदहरूमा पनि प्रितम उत्तिकै राम्रा छन् र साथीहरूसँग पनि निकै मिलनसार भएकै कारण सबैले उनलाई मन पराउँछन् ।


उनको कक्षाको पहिलो पिरियड विज्ञान विषयको हुन्छ । विज्ञान विषयको शिक्षक र कक्षाशिक्षक पनि हुनुहुन्थ्यो राजीव सर । राजीव सर विज्ञान पढाउँदा पाठसँग सम्बन्धित धेरै वस्तुहरू नमुना देखाउँदै पढाउने गर्नुहुन्थ्यो । त्यसैले उहाँलाई विद्यार्थीहरूले निकै मन पराउँथे । उहाँका कक्षामा विद्यार्थीहरू पनि उत्सुक हुँॅदै धेरै प्रश्न गर्दथे । विज्ञानसँग सम्बन्धित रोचक कुरालाई कथा बनाएर
सुनाउने हुनाले खुसी थिए विद्यार्थीहरू पनि राजीव सरसँग ।

Citizen


आजको विज्ञान विषयको कक्षामा पढाउन सुरु गर्नुभन्दा उदाहरण मानिसलाई नै देखाउँदै कक्षाका सबैलाई उहाँले प्रश्न गर्नुभयो:
राजीव सर: तिमीहरूले खाना खान्छौ ?
विद्यार्थीहरू: खान्छौं सर ।
राजीव सर: तिमीहरू दिसापिसाब गर्छौ ?
विद्यार्थीहरू: गर्छौं सर ।
राजीव सर: तिमीहरू हिँडडुल गर्न,
बोल्न सक्छौ ?
विद्यार्थीहरू:सक्छौं सर ।


विद्यार्थीहरूलाई मानिसका यस्ता गतिविधिका बारेमा प्रश्न सोधिसकेपछि राजीव सरले सजीव वस्तुका बारेमा बताउनुभयो । उहाँले मानिसजस्तै अन्य जनावर र रुखबिरुवाहरू, चराचुरुङ्गीजस्ता धेरै सजीव वस्तुहरूको नाम बताउनुभयो । सजीव चिजहरूका संकेत पनि बताउनुभयो । रूखबिरुवा सजीव भए पनि यो मानिस, जीवजनावरहरू जस्ता हिँडडुल गर्न भने सक्दैनन् भन्ने पनि बताउनुभयो ।
राजीव सरले भन्नुभएका कुरा विद्यार्थीहरूले खुब चाख दिएर सुने । सरले सबैलाई पालैपालो सोध्नुभयो, ‘तिम्रो घरमा भएका सजीव वस्तुहरू के–के छन्, भन त ?’ सबैले पालैपालो जवाफ दिए– गाई, कुकुर, बिरालो, बाख्रा, कुखुरा, सँॅगा, फलफूलका रूख आदि । प्रितमले पनि आफ्नो घरमा सजीव वस्तु कुकुर छ भन्दै कुकुरको आवाज नै नक्कल गरेर सुनाइदिए । सबैले उनले गरेको कुकुरको आवाजको नक्कललाई मन पराएर ताली पनि बजाए ।


विद्यार्थीहरू निकै उत्साहित हुँदै आआफ्ना घरमा भएका सजीव वस्तुहरूका बारेमा कुरा गर्दै थिए । राजीव सरले अब निर्जीव वस्तुहरूका बारेमा पनि केही उदाहरण दिन्छु भन्नुभएपछि विद्यार्थीहरू सबै निर्जीव वस्तुहरूको बारेमा जान्न पनि त्यतिकै उत्साहित भए ।
कक्षाकोठामै भएका विविध वस्तुको उदाहरण दिँदै राजीव सर भन्नथाल्नुभयो:
आफ्नो हातको डस्टर देखाउँदै राजीव सरले प्रश्न गर्नुभयो, ‘यो डस्टर बोल्न र हिँडडुल गर्न सक्छ ?’ विद्यार्थीहरू सबैको एउटै जवाफ आयो, ‘सक्दैन सर ।’ बेन्चलाई छोएर फेरि उहाँले प्रश्न गर्नुभयो, ‘यो बेन्चले कहिले खाना खाने गरेको देखेका छौ ?’ विद्यार्थीहरूबाट जवाफ आयो, ‘छैन सर ।’


सेतो बोर्डलाई देखाउँदै उहाँले फेरि प्रश्न गर्नुभयो, ‘के यसले मानिस, चराचुरुङ्गी, जनावरहरूले जस्तो खाना खान्छ ?’ विद्यार्थीले हाँस्दै जवाफ दिए, ‘खाँदैन सर ।’ यसरी विद्यार्थीहरूको नीर्जिव वस्तुप्रति अवधारणा जाने कि जानेन् भनेर विद्यार्थीहरूलाई पालैपालो प्रश्न गर्नुभयो, ‘निर्जीव वस्तुमा के विशेषता हुँदो रहेछ ?’ विद्यार्थीहरूले पालैपालो उत्साहित हुँदै जवाफ दिए, ‘निर्जीवले खाना खाँदैन । निर्जीवहरू बोल्न, हिँडडुल गर्न सक्दैनन् ।’ विद्यार्थीहरू एकआपसमा उत्साहित हुँदै आफूले जानेका सजीव तथा निर्जीव वस्तुहरूको नाम भन्दै पनि रमाउन थाले ।


प्रितमले हत्तपत्त बेन्चबाट उठेर सरलाई भने, ‘सर मेरो घरमा त सजीव वस्तु मेरो बाबाको मोटर साइकल पनि छ ।’ उनी जिज्ञासु स्वभावको भएकै कारण बाबाको मोटरसाइकलको बारे भन्दै गए, ‘मेरो बाबाको मोटरसाइकलले आवाज पनि निकाल्न सक्छ, अनि हिँडडुल गर्न पनि सक्छ । अस्ति त म, बाबा र ममीसँगै मोटरसाइकल पनि हिँडेर मामाघर पुग्यौं । अनि त्यही बेला यसलाई भोक लागेर बाबाले पेट्रोल पनि खानदिनुभएको थियो । यसले धुँवा पनि बाहिर निकालेको थियो । यसले पेट्रोल खायो, हामीसँगै हिँडेर मामाघर पनि पुग्यो, यसले आवाज पनि निकाल्यो अनि मेरो बाबाको मोटरसाइकल सजीव भएन र सर ?’


प्रितमका यस्तो कुरा सुनेर उसका केही साथीहरू मुसुमुसु हाँसे भने केही साथीहरू प्रितमले भनेको कुरा सही हो भन्ने सोचेर प्रितम र राजीव सरको अनुहारमा हेर्न थाले । प्रितमले बुझेको बाबाको मोटरसाइकल सजीव वस्तु भन्ने जिज्ञासालाई समाधान गर्न राजीव सरले आफ्नो खल्तीबाट पेन निकालेर देखाउँदै भन्नुभयो, ‘ल हेर, यो पेनमा मसी छ, मसी नभई यसले लेख्ने काम गर्न सक्दैन । यसलाई मैले खल्तीमा नराखेसम्म यो आफैं खल्तीमा गएर बस्न सक्दैन । हातले समातेर चलाउनुपर्छ अनि मात्र लेख्न सक्छ । यसले मसी खायो, लेख्यो भन्दैमा यो पेनलाई सजीव वस्तु भन्न मिल्दैन ।’


प्रितमलाई हेर्दै उहाँले फेरि भन्नुभयो, ‘प्रितम तिम्रो बाबाको मोटरसाइकल पनि आफैं हिँडेर मामाघर पुगेको होइन, त्यसका लागि तिम्रो बाबाले गुडाउनुभो अनि पो मोटरसाइकल मामाघरसम्म पुग्यो नत्र त यो आफैं पुग्ने थिएन । पेट्रोलले यसका इन्जिनहरूलाई गुड्न सहयोग गर्छ त्यसैले मोटरसाइकलमा पेट्रोल राख्नुपर्छ, जसरी लेख्नका लागि पेनमा मसी राख्नुपर्छ । यसलाई चलाउँदा यसका इन्जिनहरूबाट आवाज आउनुको साथै धँॅवा पनि निस्कन्छ तर पनि यो सजीव होइन किनकि तिम्रो बाबाको मोटरसाइकल हामीहरूजस्तो आफैं हिँड्ने, खाने, सुत्ने, सास फेर्ने गर्न सक्दैन ।’


राजीव सरको जवाफ सुनेपछि आफ्नो बाबाको मोटरसाइकल सजीव भन्ने भ्रम पनि प्रितमको दिमागबाट हट्यो र उनको जिज्ञासाको पनि समाधान भयो । सबैले सजीव र निर्जीव वस्तुहरूको पहिचान र त्यसबारे बुझ्न थाले । राजीव सरले पढाउनुभएको सजीव र निर्जीव वस्तुसम्बन्धी पाठलाई कक्षाका सबै विद्यार्थीले खुबै रमाएर पढे । तिमीहरूले देखेका वा थाहा पाएका दस/दसवटा सजीव तथा निर्जीव वस्तुहरूको नाम लेखेर ल्याऊ भन्ने प्रश्न गृहकार्य भन्दै राजीव सरले सेतो पाटीमा लेखिदिनुभयो । विद्यार्थीहरूले पनि राजीव सरले लेखिदिनुभएको गृहकार्यको प्रश्न खुसी हुँदै आआफ्नो कापीमा लेखे । पिरियड सकिएको घण्टी पनि बज्यो । राजीव सर र विद्यार्थीहरू सबैले धन्यवाद भनेपछि राजीव सर कक्षाबाट बाहिर निस्कनुभयो ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृतिको जगेर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ —  संस्कृति र जाति—भाषा, कला इतिहास,रीति—रिवाज भूगोलको, गर्नुहुन्न उपहास  । यो नै रै’छ समाज, देशको चिनाउने पहिचान,यसको मर्म बुझ्न सके, देशकै मानसम्मान  ।

देशवासीको तन—मनमा, संस्कृतिको बास ।
साहित्य र कला चिन्तन, भर्छौं यसलाई श्वास ।
क्रियाकलाप जीवनशैली, परिष्कृत गर्दै,
कालान्तरमा संस्कृति नै, परिचय बन्दै ।
सभ्यता र संस्कृतिको, कस्तो तालमेल,
चेतनाको विकाससँगै, अनुभूति मेल ।
मानिस—मानिसबीच यसले, छुट्टयाउँछ फरक,
औचित्यता पुष्टि गर्छ, नबुझे त नरक ।
ब्रह्माण्डका जाति—पेसा, धर्म—संस्कृतिको,
सञ्चार रै’छ अलौकिक, एक अर्काको सिको ।
संस्कृति र राष्ट्रियता, जीवन्तता दिन,
विदेशीलाई चासो बढ्यो, नेपालीपन लिन ।
परम्परा, भेषभूषा, सद्भाव बढाउने,
स्वस्थ, सरल प्रकृतिको, प्रेरक बनाउने ।
अनमोल संस्कृतिलाई जोगाएमा नासो,
नत्र भोलि पुस्तालाई होला गलपासो ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT