कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भित्तेघडी हेमलता उप्रेती

काठमाडौँ — सुनसान रात  । आकाशमा झलमल्ल जूनको टकले कोठा उज्याला थिए  ।

भित्तेघडी हेमलता उप्रेती

सबै जना मस्त निद्रामा । सधैं टिकटिक आवाजमा एकनास दौडिरहने भित्तेघडी भने मलिन थियो । सामुन्ने काँटीमा झुन्डिइरहेको भित्तेपात्रोले सोध्यो, ‘आज अनुहार किन मलिन हो भित्तेदाइ, सन्चो छैन कि कसो ?’
‘आफ्नो जिन्दगी देखेर निराश भएको छु,’ भित्तेघडीले अँध्यारो अनुहार लगाउँदै भन्यो ।


‘घरमा सबै जना सुतिरहेको मौका छ । हामी एकछिन कुरा गरौं न त दाइ । भन्नुस्, तपाईंलाई आफ्नो जिन्दगीदेखि किन निराशा पलायो त ?’ पात्रोले मित्रता दर्साउँदै सोध्यो ।
‘हेर न आफ्नो जिन्दगी त यही सानो बन्द कोठामा सीमित छ । एकछिन आराम गर्न पाइन्न । दिनरात केही पर्बाह नगरी एकोहोरो दौडिरहनुपर्छ । जति दौडिए पनि पुग्ने भने कतै होइन । उही चार घेराभित्र । कसैले हाम्रो वास्ता पनि त गर्दैन । के महत्त्व छ र यस्तो पट्यारलाग्दो जिन्दगीको १’ घडीको वेदना सुनेर पात्रोलाई दुःख लाग्यो । सहानुभूति दर्साउँदै भन्यो, ‘कुरा त्यस्तो होइन दाइ, तपार्इं–हामी सबैको आआफ्नो महत्त्व छ । काम, कर्तव्य र अर्थ छ । त्यही सम्झेर हामीले चित्त बुझाउनुपर्छ । आफ्नो जिन्दगीमा गर्व गर्नुपर्छ ।’


घडीको अनुहारमा अझै खुसी छाएको थिएन । मानौँ उसले पात्रोको कुरा नै बुझेन वा मनन गरेन । अचानक पात्रोलाई एउटा जुक्ति पुर्‍यो । उसले यसो लम्केर घडीको ब्याट्री सुटुक्क निकालिदियो । एक घण्टापछि ब्याट्री पुनः घडीमा लगाइदियो । यसले गर्दा घडी एक घण्टा ढिलो हुन पुग्यो । बिहान चार बजेको यो घटनाले त्यो घरमा ठूलै हलचल ल्याइदियो । सधैँ ५ बजे उठ्ने आमा त्यही घडी हेर्दै ६ बजेसम्म सुत्नुभएछ । सबै काम एक घण्टा ढिलो भयो । छोराछोरीे स्कुलमा पस्न पाएनन् । बुबाले अफिसमा गाली खानुपर्‍यो । आन्टीको कोचिङ कक्षा पनि छुट्यो । आमालाई बचत संस्थाको मिटिङमा ढिलो भएकाले लाजमर्नु भयो । सबै जना त्यही घडीको समयअनुसार काम गर्थे ।


साँझ घरका सबै जना भेला भए । सबैले घडीतिर हेरे । घडी चलिरहेकै थियो तर एक घण्टा ढिलो । घडी ढिलो भएकैले सबैले दुःख पाएको चर्चा चल्यो । यो कुरा घडीले पनि सुन्यो । आफूले गलत समय देखाउँदा उनीहरूको काम बिग्रिएको देखेर घडीले आफ्नो महत्त्व बुझ्यो । मान्छेजस्तो चलाख प्राणीलाई पनि वशमा पार्न सकेकोमा उसलाई सन्तोष लाग्यो । मनमनै आफूप्रति गर्व गर्‍यो ।घडीको अनुहार उज्यालिएको देखेर पात्रो पनि खुसी भयो । साथीले आफ्नो महत्त्व बुझेकोमा रमायो । उसले घडीलाई सोध्यो, ‘कुरा बुझ्यौ त घडी दाइ ? तिम्रो महत्त्व कति रहेछ यो घरमा ?’ घडीले भन्यो, ‘बुझें भाइ, आफ्नो महत्त्व ठूलो भएको थाहा पाएं । तर म एक घण्टा ढिलोचाहिँ कसरी भएँ ?’ सुनेर पात्रो मुसुक्क हाँस्यो । अनि आफैंले ब्याट्री एक घण्टा झिकिदिएको रहस्य खोलिदियो । आफूलाई आफ्नो महत्त्व बुझाइदिन पात्रोको यस्तो बुद्धिमानी देखेर घडी औधि खुसी भयो । उसले धेरैधेरै धन्यवाद दियो । त्यसपछि दुवै रमाउँदै लामो समय त्यही भिक्तोमा बिताए ।

प्रकाशित : चैत्र १०, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?