कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुरेलीका बचेरा

मनोज पौडेल

 
चरा देख्दा सबै आनन्दित हुन्छन्  । मन फुरुङ हुन्छ  ।

जुरेलीका बचेरा

चिरविराहट र कोकिलकण्ठे बोलीले सबै रमाउँछन् । चराको गतिविधि नजिकबाट नियाल्दा र हेर्दा अझ रोमाञ्चित हुन्छन् । मैले पनि चरालाई नजिकबाट नियाल्न पाएँ । कपिलवस्तु नगरपालिका १ आनन्दवागस्थित मेरो घरमा चमेली फूलको सानो रुखमा श्वेतवक्ष जुरेलीले गुँड लगाउन थालेको थियो । फोटोग्राफीमा हुटहुटी बढेका बेला त्यो देखेर मन चंगा भयो । मनमनै खिच्ने तस्बिरको एंगल बनाए । पछ्याउन थालेँ । दिनहुँ एक/दुई घण्टा लुकामारी चल्न थाल्यो ।


चमेली फूलको रूख साढे दुई मिटर अग्लो थियो । माथिल्लो तलामा उक्लिने सिँढीकै छेउमा डेढ मिटर माथितिर सानो गुँड बनाउँदै थियो । सुकेका घाँसपात, घुर र झिँझाझिँजी मुखमा च्यापेर ल्याउँदै गर्दा मैले देखेँ । ८/१० दिनमा गुँड बन्यो । एक दिन ३ वटा अण्डा देखेँ । त्यसपछि अण्डा बिग्रेला र चरा त्रसित होला भने नजिक गइनँ । सिँढी उक्लँदै कोठा जानुपर्ने हुँदा परैबाट दैनिक चियोचर्चो गर्दै बस्थेँ । एक दिन परैबाट बचेरा चिरबिर गरेको सुनेँ । हेर्न गएँ । खुसी भएँ । बचेरा गुँडमा सुतिरहेका थिए । गुँडको माथि फूलका नयाँ पलाएका पातैपात थिए । फोटो खिच्न निक्कै गाह्रो । माउ पहरा दिएर बस्थ्यो । नजिक गए जोडी नै कराएर आक्रमण गर्न खोज्थे । एक दिन माउ नभएको बेला भेट्टाएँ । माथिका पात हातले चुडेर फालेँ । थोरै सजिलो भयो । तर रुखको मसिना हाँगाबिँगाले गर्दा सोचेजस्तो फोटो खिच्न सकिएन । हाँगाबिँगा काट्दा बचेरा खस्ने डर । त्यही भएर सम्भव भएन् । साँघुरो ठाउँ हुँदा बचेरा र माउको सँगै फोटो खिच्ने अवस्था थिएन । फेरि माउले सधैं बचेरालाई छोपेर राख्थ्यो ।


बचेराको कसरी फोटो खिच्ने भन्ने तनाव भइराखेको थियो । एक दिन जोडी माउ नै आहारा खोज्न गएका थिए । बेचरा सुतिरहेका रहेछन् । फोटो खिच्न उनीहरूलाई उठाउनुपर्थ्यो । कसरी उठाउने भन्ने समस्या भयो । मैले जुक्ति निकालेँ । जुरेलीको जस्तै आवाज निकाले । मेरो आवाजले बचेराले आँआँ गर्दै मुख बाए । सायद ती भोकाएका थिए । फोटो त खिचेँ । तर चारो दिन नसकेकामा दुःखी हुँदै फर्किएँ । माउ जुरेली भने निक्कै चलाख लाग्यो । गुँडबाट परै मान्छे देख्नासाथ उडिहाल्थ्यो । बचेरासँग माउको फोटो खिच्न गाह्रो भयो । एक दिन लुकेर बसे एक घण्टा बढी । माउ आउनासाथ नजिकै क्यामेरा तेर्साएँ । भाग्नै सकेन । गुँडमा बसेको फोटो खिचेँ । एक दिन फेरि बचेरालाई आहार खुवाएको फोटो खिच्ने हुटहुटी चल्यो । अनेकन उपाय गरेर त्यो अवस्था भेटाएँ । तर बचेरा र माउको दूरीे पर हुँदा राम्ररी तस्बिर कैद हुन सकेन । माउको बचेरा स्याहार चलिरहेको थियो । भाले पोथी दुवैले मुखमा च्यापेर नजिकका खेतबारीबाट किराफट्यांग्रा ल्याउँथे । सुरक्षा सर्तकता अपनाउँदै खुवाई फर्कन्थे । ३ वटा बच्चा हुँदा आहार पुर्‍याउन माउलाई हम्मेहम्मे हुन्थ्यो । स्याहारसँगै बचेरा हुर्कंदै गए । दुई सातामा उड्न योग्य हुँदै थिए ।


सतर्कता अपनाई फोटो खिचे पनि मन सन्तुष्ट भएन । फेरि बचेराको फोटो खिच्न मन लाग्यो । फोटो खिच्न जाँदा गुँडमाथिका फूलका पात ठुल्ठूला भएका थिए । खिच्न अप्ठ्यारो भयो । ३ बचेरा उड्न तम्तयार थिए । हातले पात चुडेर फाल्न खोज्दा २ बचेरा उडेर भुँइमा खसे । फोटो खिच्न पनि पाइनँ । तनाव भयो– बचेराले माउको वात्सल्य माया पाउँछ कि पाउँदैन् ? देख्छ कि देख्दैन् ? आधा घण्टापछि माउ आहारा लिएर आए । २ वटा बचेरा नदेखेपछि उनीहरूमा छटपटी भयो । जोडजोडले कराउन थाले । उनीहरूलाई ठूलो सकस भयो । एकछिन पछि भुँइमा चिरबिर गर्दै देखेपछि शान्त बने । जेनतेन उड्न खोज्ने २ वटा बचेरालाई स्याहार गर्न माउलाई सकस पर्‍यो । ३ घण्टा लगाएर उडाएर लिएर गए । एउटा बचेरा भने गुँडमै थियो ।


म रिपोर्टिङका लागि लुम्बिनीतिर गएँ । भुँइका बचेराको स्याहारसुसारमा लाग्दा माउको ध्यान गुडको बचेरामा ध्यानमा परेनछ । त्यति बेलासम्म इहलीला समाप्त भइसकेको थियो । सुनसान देखेपछि धामन सर्पले बचेरालाई आहार बनायो । जुन कुरा म लुम्बिनीबाट फर्किएपछि आमाले भन्नुभयो । आमालाई मैले भने बचाउनुपर्थ्यो नि भनेँ । खाइलादो सर्प थियो, म एक्लैले हिम्मत गर्न सकिनँ भनेर उहाले भन्नुभयो । यो घटनापछि दुःखी बनेँ । बिहान फोटो खिच्न रुखको पात टिप्न नगएको भए २ वटा बचेरा भुँइमा खस्थेनन् । लाग्यो– कतै ती बचेरा पनि सर्पको आहारा बन्थे कि । सकारात्मक सोचेँ, २ वटा बचेराको ज्यान जोगाउन सकेकामा आफूलाई धन्य सम्झे, तराईमा मात्र पाइने यो चरा रैथाने हो । राम्रो आहारविहार पाए यसले एकै सिजनमा दुई पटकसम्म बच्चा कोरल्ने चराविद् डा. हेमसागर बरालले बताए । मार्च अप्रिलमा यसको गुँड लगाउने र बच्चा कोरेल्ने समय हो ।
तस्बिर : मनोज

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?