चौतारी

कान्तिपुर संवाददाता

 छहारीमा बसेर खाजा खाइन्छ,थकाइ लाग्दा बिसाउने ठाउा चाहिन्छ  ।

अब भोलि खोजेर
कहाँ पाइन्छ,
गर्मी हुँदा शीतलु
हावा चाहिन्छ ।

वरपीपलको फेदीमा
अडेस लाइन्छ,
पीपल र वरको
रूख चाहिन्छ ।

मीठो धुनमा सुरिलो
गीत गाइन्छ,
बजाउन पिपिरी
पात चाहिन्छ ।

कसलाई भन्नुपर्ने हो
भन्न आइन्छ,
मास्नु हुन्न चौतारी
शोभा चाहिन्छ ।

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

प्रकाशित : जेष्ठ १९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

ड्र्यागन डान्स

मनोज पौडेल

 हेर्दा निक्कै आकर्षक देखिन्छ ड्र्यागन  । नयाँ कुरा देख्दा सबैको ध्यान तानिन्छ  ।

सबैले मन पराउँछन् । लोभिन्छन् । हेरौं हेरौं लागिरहन्छ । सरिसृप प्रजातिमा पर्ने जन्तु ड्र्यागन अहिले पृथ्वीमा छ/छैन भन्नेबारे अनुसन्धान जारी नै छ । तर चीनको एक कम्पनीले कल्पना गरेर बनाएको ड्र्यागनले सबैलाई मोहित बनायो । लुम्बिनीमा मनाइएको २५६३ औं बुद्धजयन्ती कार्यक्रमको मुख्य आकर्षण बन्यो– ड्र्यागन ।


चीनको सेन्चेनबाट नेपालमा बुद्धजयन्ती मनाउन आएकाहरूले उक्त ड्र्यागन आकृति ल्याएका थिए । १० मिटर लामो ड्र्यागनलाई १० जना मान्छेले उचालेर हिँड्थे । अघिपछि उपासक–उपासिका हुन्थे । एक/एक मिटर लामो प्लास्टिकको लौरोमा अड्काएर टाउकोभन्दा माथिमाथि उठाएर हिँड्थे । लामो रंगीचंगी सर्प आकारको जीव देख्दा मानिस ठाउँठाउँमा उभिएर हेर्थे । सेल्फी र तस्बिर लिने पनि निकै थिए । स्थानीय भाङ्डा बाजा बजाउँदै ड्र्यागन लिएर हिँड्दा शान्ति र सद्भावको ऊर्जा महसुस हुन्थ्यो । ‘बुद्धम् शरणम् गच्छामि’ को धुनले गजबको करुणामैत्री पलाउँथ्यो । अझ रातको समयमा झनै कलात्मक देखिन्थ्यो । रातो जिब्रो, आँखा र दाँतले उस्तै आकर्षण थप्थ्यो । परैबाट उज्यालो र राम्रो देखिन्थ्यो ।


रातको समयमा ड्र्यागनभित्र बल्ने बत्तीले झनै मनमोहक लाग्थ्यो । त्यसकारण ड्र्यागनपछि उत्तिकै घुइँचो हुन्थ्यो । बुद्धजयन्तीका बेला राति र बिहान मायादेवी मन्दिर परिसरमा घुमाइने ड्र्यागनले कार्यक्रम शोभायमान र रोमाञ्चित बनाएको थियो । बेलाबेला ड्र्यागन डान्स गराउँथे ।

व्यक्तिले नै गराउने त्यो नाचले सबै लोभिन्थे । बुद्धजयन्ती मनाउन आएका बालबालिका ड्र्यागनको अघि–पछि निक्कै झुम्मिन्थे । बुटवलबाट आएका १२ वर्षे रितेश कार्कीले धित मर्ने गरी हेरे । ‘किताबमा ब्ल्याक एन्ड हृवाइट चित्र देखेको थिएँ,’ उनले भने, ‘यहाँ प्रत्यक्ष हेर्न पाउँदा रमाइलो लाग्यो ।’ उनीजस्तै कपिलवस्तुको चन्द्रौटाबाट लुम्बिनी पुगेका ११ वर्षे समीर अधिकारी पनि ड्र्यागन देखेर निक्कै आनन्दित भए । ‘परीक्षामा लेख्न परे मज्जाले लेख्न सक्छु,’ उनले भने, ‘रियल लाइफजस्तै हेर्न पाएँ ।’ ड्र्यागनको प्राणप्रतिष्ठा प्रधानमन्त्री केपी ओली गरेका थिए । चिनियाँ परम्पराअनुसार आँखा र मुखमा रातो रंग लगाएर उनले प्राणप्रतिष्ठा गरे । चिनियाँहरू निकै खुसी भए । ‘बुद्धकै देशका प्राणप्रतिष्ठा गराउन पाउँदा धेरै धार्मिक पुण्य सञ्चय गर्‍र्यौं,’ चीनको सेन्चेनबाट आएकी यङ ई खुईले भनिन्, ‘बौद्ध अनुयायीहरू ड्र्यागनले मन शुद्ध र सुरक्षित बनाउन सहयोग पुर्‍याउने विश्वास राख्छन् ।’ बौद्ध अनुयायीका लागि ड्र्यागनले विषेश महत्त्व राख्छ । ड्र्यागनप्रति बौद्ध अनुयायीको गहिरो विश्वास छ । बौद्धमार्गीका दुई सम्प्रदायले यसको विषेश सम्मान र पूजाआजा गर्छन् ।


महायानी सम्प्रदायका ठूला गुरु रिम्पोछे पद्मसम्भव व्यक्तिभित्रको ईर्ष्या, द्वेष र क्लेस हटाउन ड्र्यागनले ऊर्जा दिने विश्वास राख्छन् । व्यक्तिलाई यिनै कुराले घमण्डी र अहंकारी बनाउँछ । त्यसलाई दमन गरेर ड्र्यागनले हटाउने विश्वास भएको बौद्ध अध्येता तथा वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । गुरु पद्मसम्भव आठौं शताब्दीमा भारतको नालन्दा विश्वविद्यालयका प्राध्यापक थिए । महायानी सम्प्रदायमा ड्र्यागनलाई आस्थाको केन्द्र बनाउन उनैको भूमिका रहृयो । उनले सबैभन्दा पहिले तिब्बतमा ड्र्यागनको महिमा फैलाए । त्यसपछि चीन, भियतनाम र कम्बोडिया हुँदै अन्यत्र फैलिएको उनले बताए ।


त्यस्तै, थेरबादी सम्प्रदायले पनि यसलाई रक्षा सूचकका रूपमा पूजा गर्छन् । भगवान् गौतम बुद्धले बोधगयामा ज्ञान प्राप्त गरे । ज्ञान प्राप्त गरेको छैटौं सातामा ध्यानमग्न भएका बेला घनघोर वर्षा भयो । बुद्धको चारैतिर पानीले ढाकियो । उनको टाउको मात्र देखिएको थियो । त्यही बेला मुचलिन्द नामक नाग आए । आफ्नो लटपटिएको जीउमा बुद्धको शरीर राखे । फणा बुद्धको टाउकोमाथि राखे । वर्षा र डुब्नबाट जोगाए । बुद्धलाई बचाए । नाग र ड्र्यागन सरिसृप प्रजातिको हुँदा दुवैलाई एउटै मानिन्छ । कतिपय भने बुद्ध डुब्न थालेका बेला ड्र्यागनले जोगाएको विश्वास गर्छन् । त्यही भएर थेरबादी पनि ड्र्यागनलाई मान्छन् ।


‘ड्र्यागनको कुरा मिथिकल हो,’ वरिष्ठ बाघ तथ चराविद् डा. हेमसागर बरालले भने, ‘यसको इतिहास र आस्था महत्त्वपूर्ण छ । त्यसैले यसलाई श्रद्धा र आत्मैदेखि पूजाआजा गरिन्छ ।’ एक अंग्रेजी शब्दकोषले क्युटोनिक किम्बदन्तीअनुसार पखेटा भएको मुखबाट आगो फाल्ने सरिसप प्रजाति भएको भनेर व्याख्या गरेको छ । त्यस्तै गुगल सर्चले पूर्वी एसियामा पानी र स्वर्गसँग दाँजेर लाभदायक ऊर्वरताको प्रतीकको रूपमा लिइने उल्लेख गरेको छ ।
तस्बिरः मनोज पौडेल

प्रकाशित : जेष्ठ १९, २०७६ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT