कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा क..ख..ग..

राजु घिसिङ

 
चाँदनी दोङ कार्की स्कुल जान थालेकी धेरै भएको छैन  । अस्ट्रेलियामा जन्मिएकी उनी मेलबर्नको निजी विद्यालयमा पढ्दै छिन्  ।

अस्ट्रेलियामा क..ख..ग..

बिहान नौ बजेदेखि साँझ ५ बजेसम्म स्कुलमै हुन्छिन् । स्कुलमै पढ्छिन्, साथीहरूसँग खेल्छिन् । ‘स्कुलमा रमाइलो लाग्छ,’ ६ वर्षीया चाँदनीले सुनाइन् । साताको पाँच दिन स्कुल लाग्छ । शनिबार र आइतबार बिदा हुन्छ । अचेल उनलाई शनिबार कहिले आउँछ जस्तो लाग्छ । किनभने हरेक शनिबार नेपाली गीतमा नाच सिक्न र पढ्न पाउँछिन् । नेपाली गीतमा साथीहरूसँगै नाचिरहेकी उनले भनिन्, ‘मलाई क..ख..ग.. पढ्न र लेख्न पनि आउँछ ।’


चाँदनी बाआमासँग मेलबर्नमा बस्छिन् । यहाँ करिब २५ हजार नेपाली बस्छन् । तर, यहाँका स्कुलमा नेपाली भाषामा पढाइ हुँदैन । अभिभावक काममा व्यस्त हुने भएकाले अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिका पनि अंग्रेजी लवजमा बोल्ने गर्छन् । उनीहरू नेपाली कम र अंग्रेजी बढी बुझ्छन् । घण्टौंको हवाई यात्रापछि पुगिने अस्ट्रेलियामा हुर्किरहेकी चाँदनी र उनका साथीहरूले कसरी सिक्दै छन् नेपाली भाषा लेख्न र पढ्न ?


‘यहाँ फुर्सद कमै हुन्छ । छोराछोरी स्थानीय स्कुलमा अंग्रेजी भाषामा पढ्छन् । साथीहरू र घरमा पनि धेरैले अंग्रेजीमै बोल्छन्,’ युगेन्द्र रेग्मीले भने, ‘भाषा नबुझ्दा नेपालबाट आफन्त आएका बेला बच्चाहरूसँग बोलचाल नै नहुने अवस्था हुन थाल्यो । मन कटक्क दुख्यो । अनि सबै मिलेर नेपाली बालबालिकालाई आफ्नो भाषा सिकाउन थाल्यौं । यहाँ हुर्किए पनि हाम्रा बच्चाहरूले नेपाली बुझून्, बोलून्, आफ्नो संस्कृति जानून् भन्ने चाहन्छौं । त्यसैका लागि नेपाली भाषाको पढाइ सुरु गरिएको हो ।’ अस्ट्रेलियाको एउटा ठूलो सहर मेलबर्न भिक्टोरिया राज्यमा पर्छ । यस राज्यमा बस्ने नेपालीको संगठन छ, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (एनएभी) । यही एनएभीले सञ्चालन गरिरहेको बाल चौतारी वेस्टमा नेपाली भाषा सिक्दै छन् चाँदनी र उनका साथीहरू । यस चौतारीका संयोजक हुन्, युगेन्द्र । उनीसहित नेपाली अभिभावकहरू मिलेर सन् २०१६ डिसेम्बरदेखि मेलबर्नको पश्चिमी क्षेत्र सिन्डोममा बाल चौतारी सुरु गरिएको हो । यहाँ नेपाली पढ्ने बालबालिका ५ देखि १३ वर्षसम्मका छन् । बालबालिकाहरू हरेक शनिबार दुई घण्टा सँगै हुन्छन् । सुरुको एक घण्टा नेपाली सांस्कृतिक नृत्यमा कम्मर मर्काइरहेका हुन्छन् । उनीहरूलाई वर्षा भण्डारीले नाच सिकाउँछिन् । वर्षाअघि सुशान्त योञ्जनले नृत्य सिकाउँथे । नाच सकिएपछि एक घण्टा नेपाली भाषाको पढाइ हुन्छ ।


नेपाली पढाइ लेखाइ सुरुको एक वर्ष मनोज पौडेलले सिकाएका थिए । उनले छाडेपछि तारा भट्टराई शिक्षकका रूपमा काम गरिरहेकी छन् । ‘अब बच्चाहरू नेपाली किताब हेर्ने र पल्टाउने भएका छन्, खुसी लाग्छ,’ शिक्षिका भट्टराईले भनिन् । उनले नेपालमा छँदा दुई वर्ष स्कुलमा पढाएकी थिइन् । १२ वर्षअघि अस्ट्रेलिया पुगेकी उनले अहिले अरूका छोराछोरीसँगै आफ्नै सन्तानलाई पनि नेपाली पढाइरहेकी छन् । उनी भन्छिन्, ‘अब हाम्रा बच्चाहरू नेपाली बोल्छन्, बुझ्छन्, पढ्छन् । पहिला आउँदैन थियो ।’ नेपाली भाषा सिक्न सुरुमा बालबालिका अभिभावकको करले बाल चौतारीसम्म पुग्ने गरेका थिए । अहिले आफैं रहरले पढ्न आउने गरेका छन् । बोलाइ र लेखाइको आधारमा बाल चौतारीका कक्षालाई पाँच तह बनाइएका छन् ।


सिन्डोममा जस्तै मेलबर्नको प्रेस्टनमा पनि ६ वर्षयता नेपाली भाषाको पढाइ भइरहेको छ । नेपालीको बाक्लो बस्ती भएको अरू तीन स्थानमा पनि बच्चाहरू भेला पारेर नेपाली भाषा सिकाइन्छ । अस्ट्रेलियामा नेपालीको सबभन्दा बाक्लो बस्ती रहेको सिड्नीका विभिन्न स्थानमा पनि नेपाली भाषाको पढाइ हुन्छ । त्यस्तै अनौपचारिक शिक्षाका रूपमा ब्रिस्बेन र डार्बिनमा पनि पढाइ भइरहेको छ । नेपालभन्दा धेरै टाढा रहेर पनि बालबालिकाले नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकिरहेका छन् । आफ्नो संस्कृतिबारे जानकारी लिइरहेका छन् ।

प्रकाशित : असार २२, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?