कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के.के. गुमनामै गए

श्रद्धासुमन
भारतको मुम्बईमा रहेको जेजे कलेज अफ फाइन आर्टमा गएर कला विषय उच्च अध्ययन गर्ने थोरै नेपालीमध्येका एक हुन्— कृष्णकुमार ।

काठमाडौँ — कतिपय कलासर्जक समेतले नसम्झेको अथवा भुलिसकेका पात्र हुन्— कृष्णकुमार (के.के.) श्रेष्ठ । भारतको मुम्बईमा रहेको जेजे कलेज अफ फाइन आर्टमा गएर कला विषय उच्च अध्ययन गर्ने थोरै नेपालीमध्येका एक हुन्— कृष्णकुमार (९४) ।

के.के. गुमनामै गए

लक्ष्मण श्रेष्ठ, उत्तम नेपालीजस्ता केही नाम मात्रै जेजे स्कुल अफ फाइन आर्टसँग जोडिएका छन् ।

माल अड्डाका इन्चार्ज रहेका बाबु(कृष्णदास)को जागिरे कर्म र फेरिंदो थातथलोका कारण कृष्णकुमारको जन्म रौतहटको गौरमा भएको थियो । पढाइका क्रममा उनलाई १० वर्षकै उमेरमा दार्जिलिङ लगिएको थियो । त्यहाँबाट बनारस, लखनउ, ग्वालियर, दिल्ली भएर औपचारिकताको पढाइ र जीवनको बुझाइ धानिरहे । तैल र पानी रङमा पारङ्गत कृष्णकुमारका लखनउ, नैनीताल, सिम्ला, दिल्लीमा कला प्रदर्शनीहरू भए । ‘नट फर सेल’ भनिए पनि ग्यालरी रित्तिने गरी सबै कला बिक्रीमा गए । कृष्णकुमारले लखनउको जयनारायण कलेजमा लामो समय कला बिषय पढाएर अवकाश लिएका थिए । तर, १९९८ मा लखनउबाट नेपाल फर्केपछि भने स्वान्त सुखाय:को मन्त्रमा कृष्णकुमार मौन रहे, गुमनाम बसे ।


गत अगस्ट महिनामा भैंसेपाटीको विनायक कोलोनीमा आफ्ना छोरा विजय श्रेष्ठसँग बसिबियालो गरिरहेका थिए— कृष्णकुमार । ‘तपाईं किन यतिसाह्रो गुमनाम ?’


‘म पुरानो समयको मान्छे । म आजका कुरा जान्दिनँ, बुझ्दिनँ पनि । कला क्षेत्रमा पनि के उन्नति भइरहेको छ, के नयाँ प्रगति हुँदै छ ? मलाई त्यति थाहा छैन,’ निकै थाकेको स्वरमा रोकिंदै–बिसाउँदै कृष्णकुमारले जवाफ फर्काए ।

पुरानो कलाकारको नाताले र जेजे कलेजको साइनोले कृष्णकुमारलाई भेट्न एक जना मात्रै कलाकार विनायक कोलोनीसम्म आउने रहेछन् । ‘दुई हप्ताअघि मात्रै आएको थियो, उत्तम नेपाली,’ उनले सम्झिए, ‘अरू त कोही छैन । न म सम्झन्छु, न अरूले सम्झन्छन् ।’


छोरा विजयका अनुसार, उमेर र स्वास्थ्यस्थितिका कारण पनि बुबा कृष्णकुमारले पेन्टिङको काम नगरेको ६ महिनाजति भइसकेको रहेछ । २० भन्दा बढी तेल/पानी रङका प्रकृति/प्राकृतिक छटाका पेन्टिङहरू भित्री कोठामा थन्किएका रहेछन् । यी कलाकृतिको प्रदर्शनी गर्न र मौनप्राय बस्ने कृष्णकुमारलाई बाहिरी कलन जगतमा चिनाउन बिनायक कोलोनीका छिमेकी एवं स्रष्टाप्रेमी किरणकृष्ण श्रेष्ठ केही समययता लागिपरेका थिए । तर, कृष्णकुमारको एकान्तिकता र बुढ्यौलीले गर्दा केही हुनै पाएन । ‘बुबाले कहिल्यै पनि केही पाउँला अथवा नाम कमाउँला भनेर चित्र कोर्नुभएको मलाई सम्झना छैन,’माछापुच्छ्रे बैंकमा प्रबन्धक रहेका छोरा विजय भन्छन् ।


उनै कृष्णकुमारको पुस २४ गते (गत मंगलबार) निधन भएको छ, गुमनाम झैं ।


तस्बिर : हेमन्त श्रेष्ठ

प्रकाशित : पुस २८, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?