कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जूनकिरीको संघर्ष

पुस्तक

काठमाडौँ — एउटा संघर्षको कहानी हो दलित युवतीको उपन्यास– वराङ्गना । जातीय दर्जाको घेरामा बाधिएर भाग्यलाई जीवन ठान्ने दलित बर्गका बारे उपन्यास लेखिएको छ । कर्मको बाटोबाटै उपलब्धी र सफलता हात पार्न सकिने उपन्यासको सार छ । 

जूनकिरीको संघर्ष

चलचित्रलाई कार्यक्षेत्र बनाएकी नायिका सोबिता सिम्खडाको उपन्यास वराङ्गनामा आख्यानात्मक सुन्दर शैली पस्केकी छिन् । एकजना पात्र जूनकिरीमार्फत दलित समाजको आरोह–अवरोह पस्कने काम भएको छ । सूर्यबहादुर गरिब छ तर मनको धनी । अशिक्षित छ तर ऊ छोरीको उज्ज्वल भविष्य चाहन्छ । जूनकिरीलाई आफू दु:खै गरेर भएपनि स्कुल पठाएको छ । जूनकिरी लगनशील छे । उसको बाल मनोविज्ञानले बिस्तारै समाजलाई नियाल्न थाल्छ । साथी–संगीको व्यवहारबाट पटकपटक उसको मन दु:खेको छ । ‘बाआमाले जूनकिरीलाई नछोईकन खाजा खानु है भन्नुभएको छ । जूनकिरी हामीलाई नछोऊ है’ भन्ने साथीहरूले भनेका शब्द उसका मनमा गडेका छन् । यद्यपि, स्कुलले भने जूनकिरीको लगनशीलताको कदर गरेको छ । उसले छात्रवृत्तिमै पढेकी छ । वर्षौंदेखि विभेदको जरा गाडेर बसेको समाजले पूरापूर कोल्टे फेर्न त समय लाग्छ नै तर पनि परिवर्तनगामी समाजका आभा प्रशस्तै अनुभूत गर्न सकिन्छ उपन्यासमा ।


जूनकिरी जीवनको स्वतन्त्र निर्णय गर्ने अधिकारबाट ८ कक्षामा पढ्दैखेरि वन्चित भएकी थिइ । उसका बाबुआमाले दिदी उजेलीका निम्ति आएका जन्तीका साथ बहिनी जूनकिरीलाई बेहुली बनाएर पठाएका थिए । दिदी उजेली एकाएक बेपत्ता बनेपछि ठूलाबा र ठूलीआमा अनि समाजको इज्जत जोगाउन उसले विवाह बन्धनमा बाँधिनुपरेको थियो ।


विवाहपश्चात् जूनकिरीका मनमा अनेक द्वन्द्व चल्न थाले । आफूलाई मन परेको स्कुले साथी प्रकाशसँगको सम्बन्ध आफू दलित भएकै कारण बढ्न नसकेको र साथीहरू ज्योति/दीपक एकै जातका भएकाले विवाह भएको घटना उसले सम्झिरहेकी थिइ ।


रोजगारका लागि विदेश पलायन भएका असंख्य युवाको प्रतिनिधि हो– किरण । जो विवाह भएको १०/१५ दिनमै जूनकिरीलाई माइतीमा छाडेर मलेसिया जान विवश हुन्छ । यता माइतमै बसेर पढाइलाई निरन्तरता दिन थालेकी जूनकिरीको प्रकाशसँगको प्रेम सम्बन्ध दिनप्रतिदिन झ्यांगिँदै जान्छ । अन्तत: प्रेमलाई नै जित ठानेर एसएलसी सकिएको भोलिपल्टै काठमाडौँ भाग्ने उनीहरूको योजना किरणको आगमनले रोकिन्छ । आमा बिरामी भएको खबर लिएर आएको किरणसँग जूनकिरी घर जान बाध्य हुन्छे ।


जूनकिरी एसएलसी उत्तीर्ण भएपछि गाउँकै एक स्कुलमा पढाउँदै छोरीलाई पनि त्यहीँ पढाउन थाल्छे । किरण काठमाडौँमा एक म्यानपावर कम्पनीमा काम गर्न थाल्छ । घटना अलिक नाटकीय रुपमा अघि बढेको छ । जूनकिरी एक्कासि झल्याँस्स हुन पुग्छे, जब उसलाई खोज्दै प्रहरी स्कुलमा आइपुग्छ । किरण काठमाडौँमा जेल परेको घटना पत्रपत्रिकाले लेख्छन् । घटनाको यथार्थ थाहा पाउन जुनकिरी काठमाडौँ पुग्छे ।


ग्रामीण समाजको भावनात्मकता र मानवीयताको बेग्लै रुप उसले काठमाडौँमा देख्छे । काठमाडौँ पुगेकै दिन किरणको घरबेटीले २ दिनमा कोठा सर्नु भन्छ । ऊ दु:खित बन्छे । किरणले बेलाबखत कुरा गर्ने गुरुङ्सेनी दिदीको सहारा खोज्दा उसैको घरमा डेरा सर्न पुग्छे । जूनकिरी किरणलाई जेलमुक्त गराउन अनेक प्रयास गर्छे ।

समाजमा सामन्त वर्गले निमुखा वर्गमाथि गरेको थिचोमिचोको झल्को प्रकाशले जूनकिरीमाथि गरेको व्यवहारले प्रमाणित गर्दै लैजान्छ । उच्चवर्गीय समाजको छत्रछायामा आफ्नो अस्तित्व खुम्च्याएर सदियौंदेखि अन्याय र शोषणको भागीदार हुँदै जीवन बाँचिरहेका वर्गको कथालाई उपन्यास वराङ्गनाले शृंखलामा उनेको छ । समाजलाई आलोकित पार्न जूनकिरीले गरेको संघर्ष कहालीलाग्दो छ । तिनै व्यक्ति महान् हुन्छन् जसले कर्मलाई नै जीवन ठान्छन् । र, संघर्षदेखि हार्दैनन् । जूनकिरीले त्यसैरी नै सफलता प्राप्त गरेकी छ ।

– सुशीला अंगाई

प्रकाशित : माघ ५, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?