कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बदमास बायरन

जन्म–जयन्ती
पात्र

काठमाडौँ — लन्डनको एउटा गल्लीमा एक युवक आफ्नो धुनमा शिर निहुराउँदै, हलुको खोच्याउँदै, दाहिने खुट्टोतिरबाट हिँडिरहेको थियो । एकाएक छेउछाउको कुनै बार्दलीबाट दुई–चार महिलाको चर्को स्वर आयो, ‘ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !’

बदमास बायरन

दुनियाँमा धेरै मानिस प्रख्यात भएका छन्, धेरै मानिस कुख्यात पनि भएका छन् । तर यस्तो किसिमले एकै पटक त्यति प्रख्यात र कुख्यात व्यक्ति एकदम कमै हुन्छ । धेरैले यतिको त लर्ड बायरनलाई नै देख्छन् दुनियाँमा ।


जुन साँझको यो घटना हो, त्यस साँझ चारैतिर पहेंलो किसिमको उज्यालो, एउटा गल्लीमा छरिएको थियो । सूर्य डुबिसकेको थियो, तर त्यसको आभा र आभास बाँकी थियो । साँझ गाजल बन्न बाँकी थियो । त्यसकारण त्यो गल्लीमा केशर छरिएजस्तो गरी साँझ छरिएको थियो ।

त्यस्तै साँझजस्तै रङको एक युवक त्यो गल्लीमा प्रवेश गर्‍यो र गन्तव्यतर्फ हिँड्न थाल्यो । गोरो, हलुका पहेंलो र अलिक उदास अनुहार भएको त्यो युवकको तुलना त्यसैले त्यस साँझको रङसँग गरिएको हो ।

युवक आफ्नो धुनमा शिर निहुराउँदै, हलुको खोच्याउँदै, दाहिने खुट्टोतिरबाट हिँडिरहेको थियो । एकाएक छेउछाउको कुनै बार्दलीबाट दुई–चार महिलाको चर्को स्वर आयो, ‘ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !’

यहाँ मैले अहिलेसम्म भन्न बिर्सेको कुरो के थियो भने त्यो गल्ली लन्डनको एउटा गल्ली थियो । त्यसकारण महिलाहरू त्यसरी कराएका हुन् । बायरन भनिएका ती युवक आफ्नो घरतर्फ जान लागेका हुन् र यी तिनै बायरन हुन्— प्रख्यात कवि, रोमान्टिक युगका महान् मानिएका कवि, जर्मन कवि गेटेको दृष्टिमा त ‘अझ सेक्सपियरपछिका प्रथम अंग्रेजी कवि’ रे ! अर्थात्, श्रेष्ठतामै त भनेको होला ।

तर ती महिलाहरू त्यसरी चिच्याउनाको कारण भने फेरि नितान्त बेग्लै र अझ विपरीत थियो । कारण थियो, बायरनका चारित्रिक कमजोरीहरू । हिस्ट्री बनाउने कविको ‘हिस्टेरिक’ प्रकारको कमजोरी भनूँ । यसबारेमा आफ्नो इतिहासको पुस्तकमा जवाहरलाल नेहरूले पनि लेखेका छन्— बायरनको प्रतिभा थियो तर, चरित्रसँग सहमत हुन सकिन्न ।

दुनियाँमा धेरै मानिस प्रख्यात भएका छन्, धेरै मानिस कुख्यात पनि भएका छन् । तर यस्तो किसिमले एकै पटक त्यति प्रख्यात र कुख्यात व्यक्ति एकदम कमै हुन्छ । धेरैले यतिको त लर्ड बायरनलाई नै देख्छन् दुनियाँमा ।


बायरन ‘क्लब फुटेट’ भनिन्थे । उनको दाहिने खुट्टा जन्मैदेखि दोषपूर्ण थियो, किनभने केटाकेटीमा कुनै दुर्घटनाले त्यस्तो भएको प्रमाण पाइँदैन । तर हेर्नुस्, यिनै बायरनलाई पहाड अति मन पथ्र्यो, चढ्न होइन हेर्न । हामीकहाँ ‘पंगूंलंघयते गिरिम्’ भन्ने छ, यहाँ ‘पंगुं प्रेयते गिरिम्’ थियो, भनूँ व्याकरण ठीक छ भने उनका कवितामा पहाड बारम्बार आउँछ । रोमान्टिक कालका अर्का प्रख्यात कवि शेली पनि पहाड त्यत्तिकै रुचाउँथे रे । तर, उनको बायरनजस्तो समस्या भने थिएन । बायरन पनि कहिलकाहीं पहाड चढ्थे तर घोडामाथि बसेर । घोडसवारी, पौडी खेल्नेजस्ता कुरा उनी मन पराउँथे । रेस, रेसलिङ र डान्सिङजस्ता कुरासँग उनलाई ‘परहेज’ मात्र थिएन, उनी त ती खेलको हाँसो उडाउँथे र लेख्न पर्दा व्यंग्य पो गर्थे अझ । आफ्नो खुट्टाको दोष नदेखिने खेल मात्र बायरनको रुचिभित्र पर्दथे ।


वायरनको जम्मै व्यक्तित्व, उनको जन्मदेखिकै घटनाहरूले धेरै प्रभावित भएको देखिन्छ । जर्ज जोर्डन बायरन जो आफ्नो घरानाका छैटौं ‘लर्ड’ उपाधिधारक व्यक्ति थिए । यी बायरन, बायरन नभएर जर्ज जर्डन, बु्रन वा खुब भए ब्रुनो हुन्थे, उनका एक पुर्खा रबर्ट भन्नेले बायरन थर धारण नगरिदिएका भए । बायरनसम्म आउँदा ब्रुन वा ब्रुनो सबले बिर्सिसकेका थिए । बायरन नै प्रचलित थियो । त्यसमाथि यी बायरनको ख्यातिले गर्दा आज हामी सबै बायरन भन्नासाथ लर्ड जर्ज जर्डन बायरन नै बुझ्ने भएका छौं, ‘चाइल्ड हेराल्ड’ का कवि ‘डन जआन’ का कवि र अन्य थुप्रै विश्व प्रसिद्ध कविताका कवि ।

मेरो आईएको अंग्रेजी कोर्समा ‘डिस्ट्रिक्सन अफ सेनाचेरिब’ भन्ने कविता थियो । त्यो कविता मैले पढें तर त्यसमाथि ध्यान दिइनँ, अझ भनूँ त्यो मैले बुझ्दै बुझिनँ । हो, लर्ड बायरनसँग त्यसै कविताले परिचय गरायो । बीएमा ‘रोमान्टिसिज्म’ पढ्दा थाहा भयो, बायरन कति महत्त्वपूर्ण कवि रहेछन् । पछि उनको व्यक्तित्वबारे पढ्दा अनेक पक्षहरू पनि खुल्दै गए । रोचकता थपिँदै गयो, उनलाई पढ्दा । यो थाहा भयो, बायरन, शेली, किट्स रोमान्टिक युगका अत्यन्त महत्त्वपूर्ण कवि हुन् । यी नभए रोमान्टिक काललाई ठूलो शून्यताले घेर्छ । यिनमा पनि बायरनको व्यक्तित्व सबभन्दा विरोधाभासी देखिन्छ ।

...


कविता बायरन कलेज पढ्दैदेखि लेख्थे । तर, प्रसिद्धि थिएन, विद्वान्हरूको भनाइ छ, उनी ‘अलमोस्ट अननोन’ थिए ।

सन् १२१२, ८ मार्च, सोमबारको बिहान सुतेर उठ्दा यी ‘अलमोस्ट अननोन’ बायरन, एकास्सि प्रसिद्धिको शिखरमा पुगिसकेका थिए, जसको पत्तो उनैलाई पनि थिएन ।

कारण ? कारण थियो, ‘चाइल्ड हेरोल्ड’ को दुई भागको प्रकाशन, जुन ७ मार्च सन् १९१२ को शनिबार प्रकाशित भएको थियो । त्यो पुस्तक शनिबार र भोलिपल्ट आइतबारसम्म पाठकले पढे । ‘चाइल्ड हेरोल्ड’ ५०० प्रति छापिएको थियो, एकै दिनमा बिक्यो । मान्छेले अरू माग्न थाले । यसै काव्यले बायरनलाई चौबीस घन्टामा वा भनूँ रातारात प्रख्यात बनाएको थियो । उनी चौबीस वर्षका थिए । उनलाई भेट्न पुरुष त छँदै छन्, महिला प्रशंसिकाहरूको भीड बढ्न थाल्यो । ‘मलाई एक पटक भेटी मात्र देऊ’ भन्ने खालका निवेदनहरू आउन थाले । उनी बसेको ठाउँ अघिल्तिर कारैकारको ताँतीका कारण जाम हुन थाल्यो । धेरैजसो अभिजात महिलाहरू उनीसँग भेट्न उत्सुक रहन थाले । उनका किंवदन्ती/कथाहरू फिँजिन थाले । भनियो— बायरनसँग भेट्न रातारातसम्म महिलाहरू पुरुष–वेशमा उभिन्थे रे । बेलायती युवकहरू बायरनको जस्तो कपाल पालेर, त्यस्तैत्यस्तै ढाँचाको लुगा लगाएर सडकमा हिँड्थे रे । यहाँसम्म कि कति युवक त बायरनको नक्कलमा दाहिने खुट्टाले खोज्याएर पनि हिँड्थे रे । अहिले सुन्दा हामीलाई पत्याउन पनि मुस्किल । एक कविको जीवनमा आएको यो सफलता, एक्कासि तर अद्भुत थियो । त्यसकारण पत्याउन कठिन भएको । आजको संसारमा यस्तो चमत्कार सम्भव देखिँदैन ।

मैले केटीहरू पनि भन्नुपर्ने थियो, बायरनका प्रशंसक/प्रशंसिका भनेर । तर के कारणले हो, कारण अलिअलि थाहा भए पनि अहिलेलाई यही भनूँ, बायरनका प्रशंसिकाहरूमा बढी संख्या, समाजका सम्पन्न र विवाहिताहरूकै थियो रे । माथि थालनीमै बायरनलाई ‘पहेंलो साँझ’ सँग तुलना गरिएको छ । उन्नाईसौं शताब्दीका ती सम्भ्रान्त महिलाहरूले मन पराएको त्यही ‘पहेंलोपन’ थियो, जुन बायरनको गोरो अनुहारमा मिसिएको थियो । त्यसले उनको अनुहारमा एक प्रकारको उदासी मिसिएको देखिन्थ्यो, जुन ती महिलाहरूमा ‘बायरनिक ग्लुम’ भनेर चर्चित भयो ।

बायरनलाई संसारका सबभन्दा राम्रा साहित्यकारहरूमध्ये एक मानिन्छ । अझ कोहीकोहीको दृष्टिमा त उनीभन्दा राम्रो कोही भएन भन्ने नै छ । उनको अनुहार अत्यन्त निर्दोष देखिन्थ्यो, दोष भनेको खुट्टैमा थियो । केही महिला भन्थे रे— ‘ही इज लभेवल, बट नट म्यारिजेबल ।’

उनका असंख्य प्रशंसिकामध्ये एक थिइन्— लेडी क्यारोलिन ल्याम्ब । धनी राम्री युवती जो बायरनसँग भेट गर्न जाँदा यति लाज मानिन् कि बोल्नै सकिनन्, त्यसलाई फेरि बायरनले आफ्नो घोर अपमान ठानिरहे । तर केही समयपछि नै फेरि यति नजिक भए कि ती युवतीले एउटा रात आफ्नो डायरीमा लेखिन्, ‘बायरन वाज म्याड, ब्याड एन्ड डेन्जरस टु ! द्याट ब्युटिफुल फेल–फेस इज माई फेट ।’

यी विवाहिता नारी पछि उनैसँग बस्न थालिन् । यस्ता घटना एक होइन, अनेक छन् । यो एक प्रतिनिधि घटना मात्र हो ।

यो लेख लेख्ने क्रममा मैले केही अंग्रेजी साहित्यका जानकार मित्रहरूसँग पनि कुरा गरेको थिएँ । प्राय: सबले बायरन र उनकी हाफ सिस्टरको चर्चा अवश्य गरे । यो ‘हाफ सिस्टर’ बायरनको बदनामीको एक ठूलो कारण भए पनि बायरनसँग अपरिहार्य रूपमा गाँसिएको तथ्य हो ।

ती ‘हाफ सिस्टर’ अर्थात् सौतिनी दिदीको नाउँ थियो, अगस्टा । उनका पिताको पहिलो पत्नीबाट जन्मेकी छोरी । दोस्रो पत्नी क्याथरिनबाट जन्मे बायरन । एक मात्रा आमा र एक मात्र छोरा । एक मात्र आमा यसकारण कि अगस्टाकी आमाको मृत्यु भइसकेको थियो । एक मात्र छोरा यस कारण कि क्याथरिनले अर्को सन्तान जन्माइनन् ।

अगस्टाको कुरा गरौं । यी दिदी बायरनभन्दा लगभग ४–५ वर्षे जेठी थिइन् । बायरन जन्मिँदा अगस्टा, उनलाई काखका लिने भइसकेकी थिइन् । बायरनलाई अगस्टाले खेलाइन्, अलि पछि बायरनसँग खेलिन् पनि, झन् पछि ठूलो भएपछि, बायरनसँग प्रेम पनि गरिन् कि बायरनले नै अगस्टालाई प्रेममा पारे । जे होस्, अगस्टासँग बायरनको हरकिसिमको सम्बन्ध थियो । यही सम्बन्ध बायरनको जीवनमा बदनामीको सबभन्दा ठूलो र गम्भीर कारण बन्यो । एउटा कुरा के पनि मानिन्छ भने अगस्टा विवाहपछि पनि बायरनले सुखदु:खमा ‘सेयर’ गर्ने निकटकी साथीसमान भने अन्त्यसम्मै रहिरहिन् । हुनलाई अगस्टा विनम्र, सहृदयी र बौद्धिक स्वभावकी केटी थिइन् रे, अत्यन्त दु:खमा पनि बायरनलाई सान्त्वना दिन सक्ने । तर पनि बदनामी त बदनामी हो, खराबी त सधैं खराबै हुन्छ । बायरनको चरित्रको यस्तो पक्षलाई उनको व्यक्तित्वको विकृतिकै रूपमा लिइन्छ ।

...


माथि केटीहरू केटाको वेश बदलेर बायरनको बाटोमा उभिने कुरा आएको छ । त्यो सत्य हो, होइन, एउटा कुरा भने सत्य हो । बायरन एक जनालाई भाइ भनेर लिएर हिँड्थे । रातविरात पनि । त्यहाँसम्मम ठीक थियो । केही समयपछि त्यो भाइ ‘प्रेगनेन्ट’ भयो । अनि थाहा भयो, उनले एउटी भाडाकी केटीलाई पुरुषको वेश धारण गराएर ‘भाइ’ बनाएका रहेछन्, अपवादबाट जोगिनका लागि ।

उनी ‘बाइसेस्सुअल’ थिए । उनी आफूभन्दा साना उमेरकालाई साथी बनाउँथे । उनको यो ‘उभयीपन’का लागि कति केटीले उनलाई छाडेका पनि थिए ।

यसो हेर्दा उनी संकीर्ण र तत्काल नखुल्नेजस्तो देखिन्थे । तर तत्कालै पनि खुल्थे र खुलेपछि यति खुल्थे कि सामु उभिएकी केटीलाई पकाएरै–थकाएरै छाड्थे । त्यसबखतका केटीहरूमा उनको ‘चार्म’ जादुजस्तो असरकारी हुन्थ्यो रे । सन् १९१२ मा उनको चौबीस वर्षको उमेरमा प्रकाशित ‘चाइल्ड हेरोल्ड पिल्ग्रिमेज’ले त उनी बेलायत मात्रै होइन, विश्वकै विश्यात व्यक्ति बन्दै गए, काव्य–प्रतिभामा । ‘डन जुवान’ उनको एक अमर कृतिबाहेक पनि उनको एक कृति ‘द कोर्सेयर’ बिक्री भएको तथ्यांक सुनेर आश्चर्य मात्र लाग्दैन, तथ्य मान्नैपर्ने हुन्छ । यो एकै दिनमा १० हजार प्रति बिक्री भएको थियो । त्यसबेलासम्म साहित्यको दुनियाँमा रिचार्डसनको ‘पामेला’, गोथेको ‘यङ बर्दर’ र रुसोको ‘जुली’ले राज्य गरेका थिए । बायरनको ‘चाइल्ड हेरोल्ड’का साथ प्रवेशपछि त्यो दुनियाँमा हलचल आयो ।

बायरन विद्रोही थिए, स्वतन्त्रताप्रेमी थिए र अत्यन्त भावुक थिए । अलिकति ‘हाइप’ किसिमका । उनकी आमा पनि ‘हिस्टेरिक’ किसिमकी थिइन् । उनी रुन–कराउन थालेपछि छरछिमेकले नै थाहा पाउने गर्थे । हुन सक्छ, बायरनमा त्यसैको असर होला । बाबु ज्याक बायरनलाई ‘म्याड ज्याक’ भन्दथे । जुवा, रक्सी, शरीर सब लत थिए ।

क्याथरिनलाई बिहे गर्दा उनी सम्भ्रान्त परिवारकी सम्पन्न केटीका रूपमा भित्रिएकी थिइन् । तर, लोग्ने ‘म्याड ज्याक’ले उनलाई तन्नम बनाइदिए । उनको निजी २००० पाउन्ड खर्च गरिदिए, ऋणीबाट बेस्सरी ऋण लिए र तिर्न नसकेर स्वास्नी क्याथरिनलाई छाडेर फ्रान्स भागे । भाग्दाभाग्दै उनले स्वास्नीलाई ‘गर्भवती’ बनाउन बिर्सेनन् । यही बाबुले छाडेर भागेको गर्भबाट बायरन जन्मेका थिए । बायरनले आफ्नो बाबु देखेनन्, सुने मात्र, आफ्नी आमाबाट बढी । बायरन साढे तीन वर्षको हुँदा बाबुको उतै मृत्यु भयो, त्यसैले देख्न पाएनन् । त्यसकारण बायरनको बाल्यकाल ‘प्राक्टिकल अर्फेनिक’ थियो भनिन्छ । बाल्यकालका यिनै परिस्थितिले पनि उनमा माथि भनिएको ‘कम्प्लेक्स’ उत्पन्न गरेको हो कि भन्ने अड्कल पनि गरिन्छ ।

...


सोचौं, नौ वर्षको उमेर बाल्यकालको प्रारम्भिक चरण हो । यही नौ वर्षकै उमेरमा बायरनलाई प्रेम र यौनको अलग–अलग अनुभव भइसकेको थियो रे । उनकी प्रेमिका र तिनका विछोडका कुरा अनगिन्ती छन् । एक पटक प्रारम्भिक एक प्रेमिकाको बारेमा सम्झदै आमाले बायरनलाई रुमाल दिइन् र भनिन्, ‘छोरा, तिमी यो रुमाल लेऊ । किनभने अब मैले सुनाउने खबर सुनेर आँसु पुछ्न तिमीलाई यसको आवश्यकता पर्नेछ ।’ खबर थियो, उनकी प्रेमिकाको अर्कोसँग बिहे हुने भयो रे ।

त्यस्ता प्रेमका अभ्यस्त, हामी भए ‘खेलाडी’ कहलिन्थ्यौं । भन्थ्यौं— बायरन दुई पटक भने यति विपरीत भयो कि पाठकहरूलाई पनि अवश्य लाग्ला । बायरन एक पटक एउटी थेरेसा नाउँ गरेकी केटीमाथि ‘फिदा’ भए । एक विधुवीकी छोरी थेरेसा, त्यसबखत केवल १२ वर्षकी थिई । मात्र १२ वर्षकी केटीलाई किन मन पराए ? बुझक्कड भनाइ छ— १२ वर्षकी केटी ‘व्वाइस’, ‘लुक’ र ‘कट’ की थिई रे । त्यसकारण पनि हुन सक्छ । थेरेसाकी आमाले यो थाहा पाएपछि भनिछन्, ‘यसलाई बिहे गरेर लानुस् न त ।’

यो सुनेपछि बायरन फरार भएछन् ।

एक पटक देश–विदेश घुम्ने सिलसिलामा भेनिसको कुनै ठाउँमा बायरन बास बस्न पुगे । त्यहाँ एउटी विवाहिता युवती मेरिआना उनको हेरचाह गर्दथिन् । क्रमश: जस्तो बायरनको स्वभाव थियो, मेरिआनासँग उनको आकर्षण बढ्यो ।


उनले आफ्नो बसाइको अवधि त्यहाँ लम्ब्याए । मेरिआनाप्रति यी २४ वर्षको बायरन मोहित थिए । मेरिआना पनि राम्रै थिइन् । आश्चर्य के थियो भने मेरिआनाका व्यापारी लोग्ने त्यहीँ हुन्थे र पनि उनले बायरन र आफ्नी स्वास्नीको प्रेमप्रति आँखा चिम्ले मात्र होइन, किन हो मुसुमुसु हाँसे मनमनै ।

केही समय बित्दा नबित्दै त्यसको रहस्य थाहा भयो । बायरन मेरिआना प्रत्येक दिन, डाक्टरले प्रेस्क्रिप्सन लेखेजस्तै गरी गनेर बायरनको सशरीर उपस्थिति दिनको तीन पटक चाहन्थिन् । त, बायरन भागेको कारण पनि त्यही थियो, लोग्ने हाँसेको कारण पनि त्यही थियो ।

सन् १९१५ मा बायरनले अन्नाबेला मिलब्लान्के नामक केटीसित विवाह गरेका थिए । एउटी छोरी ‘अदा’ जन्मिन् । तर, अन्नाबेला वर्ष दिनपछि टिक्न नसकेर बायरनलाई छाडेर छोरी लिएर हिँडिन् । उनले बायरनको स्वभाव र बानी व्यहोरा असह्य भएको गुनासो गरिन् । तीमध्ये एउटा गम्भीर आरोप के थियो भने बायरन स्वास्नी अन्नाबेलासँग पनि ‘बाई’ व्यवहार गर्दथे रे ।

...


यो निश्चित थियो, उनका घोषित–अघोषित धेरै प्रेमिका थिए, केटासमेत । कतिवटा ‘इल्लेजिटिभ’ सन्तान थिए । तर, उनका सबै सम्बन्धहरू प्राय: सहमतिका थिए, बलजफ्तीका थिएनन् । बायरन त्यसैले आफूलाई दोषी मान्दैन थिए, कुनैकुनै सम्बन्ध टुटेकोमा पछुताउ गरिरहेका भने देखिन्छन् । तर, जे भए पनि उनी असामाजिक, विकृतिको हदसम्म पुगेको ‘बाई’ (यौनिक) सम्बन्धहरूका लागि प्रशस्त बदनाम भए । यो बदनामीका एक कारण भने बायरन स्वयं थिए । उनलाई ‘बिग माउथ’ भनिन्थ्यो । वाचाल थिए, हामीतिर ‘बडबोला’ भन्छौं । त्यसै ‘बडबोलापन’ ले गर्दा उनी आफ्ना प्रेम सम्बन्धहरू ठाउँठाउँमा गएर बढाईचढाई बोल्थे । अगस्टासँगको सम्बन्ध पनि उनले सुनाएर मानिसले थाहा पाएका थिए । कतिपय उनका प्रेमिका उनको यो बेहोराले गर्दा रिसाए मात्र होइन, उनलाई छाडेर पनि गएका थिए । उनकी सौतेनी दिदी अगस्टा पनि उनको यो बानी मन पराउँदिन थिइन् । कहाँसम्म पनि भने एक दिन आफ्ना साथीहरूसँग भने, ‘बेलायतकी लर्ड घरानाकी कुनै पनि परिवारमा कुनै न कुनै रूपमा मेरो रगत बगिरहेको छ ।’

यो कसैलाई पनि, अझ लर्ड घरानाका कुनै स्त्री वा पुरुषलाई सह्य हुने कुरा थियो त ? अनि त बायरन एक त आफ्नो अनैतिक–अवैधानिक मानिएका क्रियाकलापबाट र अर्को आफ्नो मुखारविन्दबाट हुनसम्म बदनाम भएका थिए । उनका अन्य केही दोष पनि देखिन्छन् । लर्ड घरानाप्रति उनी गर्व गर्थे । त्यसको अर्थ हो, अन्य नागरिक उनका लागि ‘दोयम’ थिए । त्यसैअन्तर्गत पर्छ— उनी स्त्री–पुरुष समानताका पक्षपाती देखिँदैनन् । अरू सबै ‘इन्फेरियर’ हुन् भन्ने भाव देखिन्छ ।

यी सब चारित्रिक विरोधाभासहरू हुँदाहुँदै पनि बायरन रोमान्टिक युगका महान् कवि मानिन्छन् । उनको प्रभाव धेरै परवर्ती र समकालीन कविमा परेको देखिन्छ । बायरनको लेखन ‘एक्स टेम्पोर’ थियो । लेख्न थालेपछि धाराप्रवाह लेख्न सक्ने । मैले हामीकहाँ त्यसरी लेख्न सक्ने हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा मात्र देखेको छु ।

बायरनमा व्यंग्यको अद्भुत गुण थियो । उनको व्यंग्यलाई ‘राय सटायर’ भनिन्थ्यो । आजको ‘ब्ल्याक ह्युमर’ वा श्याम व्यंग्यको बीज फेला पार्न सकिन्छ उनमा र अलेक्जेन्डर पोपमा । एकताक पोप निकै पढिने भएका थिए उसै बखत । किनभने, बायरनले पोपको प्रशंसा गरेका थिए । साहित्यमा बायरनको त्यत्रो प्रभाव पो थियो त । बायरन–शेली–किट्सलाई रोमान्टिक युगलाई महान् बनाउने श्रेय दिइन्छ । यीमध्ये शेलीसँग राम्रो मित्रता थियो । उनीहरू सँगै ठाउँठाउँ घुमेका पनि थिए । शेलीकी एउटी बहिनी पर्नेसँग उनको प्रेम पनि थियो ।

उनको व्यक्तित्वमा एउटा गज्जबको आकर्षण थियो, जुन उनको प्रतिभाका कारण झन् विशिष्ट हुन्थ्यो । उनीसँग कुरा गर्ने केटी लठ्ठ परेरै फर्कन्थे रे । केटी मात्र होइन, महिला, पुरुष सब उनको कुरा गर्ने शैलीमा मुग्ध हुन्थे । उनकै एउटी केटीलाई कुनै अर्कै केटीले सोधी, ‘बायरन त्यस्तो चरित्रहीन छ भन्ने थाहा हुँदाहुँदै तँ किन फँस्न गएकी त ?’

केटीले भनी, ‘के गर्नु, जान त झगडै गर्न गएकी थिएँ, तर आफ्ना कुराले उसले मलाई लठ्ठयाएर फिर्ता पठाइदियो ।’ उच्च घरानाकी त्यो झगडा गर्न गएकी केटी, फर्कंदा प्रेमिका बनेर फर्केकी थिई । जुन केटीले अगि बायरनबाट सचेत गराएकी थिई, त्यो पनि धनी थिई, पछि त्यो पनि एक दिन बायरनसँग कुरा गरेर फर्केपछि भनी— ‘आई वाज चाम्र्ड ।’

अनि बायरनकै प्रेमिकाका रूपमा बस्न थाली रे । यस्ता उदाहरण कति छन् कति । बायरन एक पटक आफ्ना एक मित्र हब्ससँग विभिन्न देशको यात्रामा गए । जहाँजहाँ गए, आफ्नो अपरिमित प्रतिभाको छाप छाड्दै गए । प्रत्येक ठाउँमा प्रेमिका पनि बनाएरै हिँडे रे ।

यति हुँदै पनि बायरन आफूलाई दु:खी, उदास एक्लो ठान्दथे । उनका कवितामा उनको यो ‘मेलान्कोली’ अत्यन्त सशक्त रूपमा आएको छ । ‘चाइल्ड हेराल्डो’ चार सर्गको छ । सन् १९१२ मै दुई सर्ग छापिएर आउँदा उनी तत्काल साहित्यको ‘हिरो’ बनिसकेका थिए । ‘हेराल्डो’ का बाँकी दुई सर्ग उनले पछि लेखे । त्यसपछि उनको मास्टरपिस मानिने कृति ‘डन जुआन’ आयो, अनि उनी आकाशका देवदूतझैं भए । उनमा अद्भुत कल्पनाशिलता थियो भनिन्छ जसको विस्फोटले अंग्रेजी साहित्यलाई महान् बनाउन मद्दत गर्‍यो । उनीबिना अंग्रेजी मात्रै होइन, विश्व–साहित्यकै रोमान्टिक इतिहास अधुरो हुन्छ । उनलाई प्रकारान्तरले ‘मेलेन्कोलिन रेबेल’ भनिएको छ ।

एकछिन सम्झौं—हाम्रो ०१७ साल वरिपरिका कविता, मोहन कोइराला, मदन रेग्मी, पारिजात, भूपी र द्वारिका श्रेष्ठ आदिका कविता । तिनमा यस्तै ‘मेलान्कोलिक’ विद्रोहको दर्शन हुन्छ । बायरनका कविता ‘मोक हिरोइक’ छन् । यो बायरनकै खास विशेषता मानिन्छ । यसमा उनी ड्राइडन, पोपका नजिक देखा पर्दछन् । आफ्ना कवितामा उनले पहिलेका असल रोमान्टिक नायक–नायिकाका तुलनामा यस्ता पात्र प्रस्तुत गरेका छन्, जो नायक र खलनायक दुवै छन् । पहिले यस्तो थिएन । हामीकहाँ त्यस्तो उदाहरण केही मात्रामा रूपनारायण सिंहको उपन्यास ‘भ्रमर’ को नायक शेखरमा देख्न सकिन्छ । त बायरनले पाठकको पात्रको नायकत्वको धारणालाई पर्लक्कै पल्टाइदिए । त्यतिखेरका नायक वा नायिकाको अति असलपनाले जीवनको विविधतारहित एकरसता अनुभव गरिरहेका पाठकले बायरनमा आफूलाई र आफ्नो युगको वास्तविकता सटीक रूपमा पाए । त्यस हिसाबले आजको उत्तरआधुनिकताको बीज, बायरनको लेखनमा खोज्न सकिने हुन्छ ।

...


त्यसैले बायरन चारित्रिक व्यवधानसहित एक महान् कविका रूपमा चिनिन्छन् । सौन्दर्य, विद्रोह, नायकत्व र खलनायकत्व एकै पटक झल्किने कविता बायरनले नै आफ्नो समयमा दिए, जसको राप आजसम्म पनि अनुभव गर्न सक्छन् पाठकहरूले ।

बायरनमा आमाको वंशाणुगत गुण केही आएकाले उनी पनि अलिक हिस्टेरिक अर्थात् ‘खब्ती’ देखिन्छन् । उनी बेलाबेलामा झगडा गर्न पनि तयार रहन्थे तर आफू चड्कन नखाऊँ, अर्कालाई उफ्रेर एक चड्कन दिइहालूँ भन्ने प्रकारका थिए । भावुक अत्यन्त थिए । आफ्ना प्रेमिकाहरूका लागि रोएका छन्, ती रिसाएका बेला जसरी भए पनि मनाउने कोसिस गरेका पनि छन् । उता एउटी प्रेमिकाले छाडेर जाँदा अर्कीसँग तत्काल प्रेम गरेका पनि छन् । रक्सी पनि खाएका बखत बेस्सरी खान्थे । उनको बाल्यकाल दु:खद थियो, अभावग्रस्त पनि थियो । उनमा कम्प्लेक्सहरू पनि धेरै जन्मेका थिए । खुट्टा मात्र होइन, उनको कम्प्लेक्सको कारण उनको असाधारण राम्रो अनुहार पनि बन्यो ।

तर, कविता उनको ठूलो निकास थियो । त्यसले उनलाई बढी ‘हाइपो’ बन्नदेखि जोगायो पनि, विश्वको एक महान् व्यक्तिको रूपमा चिनायो पनि । होइन भने, बायरनमा सामाजिक गुण पनि प्रशस्त थिए । उनी दु:खीहरूको मद्दत गर्न सदैव तत्पर रहन्थे । एक पटक विद्रोहीहरूको एक गुप्त संगठनलाई उनले आफ्नो निजी रकमबाट चार हजार पाउन्ड तत्काल दिएका थिए । आफ्ना कविताहरूमा बायरनले आफ्ना ‘दु:खदर्द’ पनि काव्यात्मक रूपमा देखाएका छन् । सक्षम र प्रभावकारी भाषाले गर्दा पनि र उदासी अनि सौन्दर्यको मिश्रणको यथार्थ अनुभूति प्राप्त हुने हुनाले उनका काव्य–पुस्तक किन्न मानिस लाम लागेर बस्थे रे । ‘लर्ड’ भएर पनि बायरन धनी भएनन्, कविताले उनलाई सम्पन्न बनायो, ऐतिहासिक महानता दिलायो भनिन्छ । त्यसैले उनलाई अमर बनायो ।

जीवनको विरोधाभास उनको कवितामा मात्र होइन, व्यक्तित्वमा पनि पाइन्छ । तर उनमा हास्य चेत र ‘विट’ प्रशस्त मात्रामा थियो, उनको कुरा गर्ने शैली मोहक थियो, अघि भनियो— उनको कुरा सुन्दा श्रोता ठान्दथ्यो, कहिल्यै नसकियोस् । कविता त कविता कुरैबाट पनि उनी आफ्ना प्रशंसकलाई मोहित पार्न सक्थे ।

विट, ठट्टा र हाजिरजवाफी बायरनको व्यक्तित्वको खास विशेषता थिए । क्याम्ब्रिजको ट्रिनिटी कलेजमा पढ्दा एक दिन बायरन कुकुर डोर्‍याउँदै गएछन् । कलेजका एक पदाधिकारीले भने, ‘कलेजमा कुकुर ल्याउन निषेध छ ।’

बायरनले भने, ‘हस् सर ल्याउँदिनँ ।’

भोलिपल्ट बायरन कलेज जाँदा कलेजभरिका विद्यार्थी, कर्मचारी सारा बायरनसँग डराउँदै पन्छिन थाले । बायरन हिजोका पदाधिकारीसमक्ष गए र भने, ‘यो ल्याउन त निषेध छैन होला ?’

पदाधिकारी केही बोलेनन्, केवल बायरनलाई हलुका डराउँदै हेर्न थाले । त्यस दिन झन् उनी भालु लिएर आएका रहेछन् । पट्टा चढाएर, सिक्रीमा बाँधेर ल्याए पनि भालु त भालु नै थियो । साँच्चिकै कलेजको नियममा ‘भालु ल्याउन मनाही छ’ त लेखेको थिएन । त्यसकारण बायरन त्यस दिन भालु लिएर गएका थिए । यस्ता ‘प्राक्टिकल जोक’ उनी गरिरहन्थे ।

...


बायरन सुरुमा केटीहरूसित खुल्दैन थिए । परिचयपछि उनी मुन्टो निहुराएर ती केटी/केटीहरूलाई पुलुक्क हेर्थे, फेरि निहुराउँथे । यसलाई उनी स्वयं पनि ‘अन्डर लुक’ भन्ने गर्थे । हो, उनको यही ‘अन्डर लुक’ लाई केटीहरू अत्यन्त मोहक मान्थे रे ।

यस्टा अनेक कारणले उनका साथी/नातेदार/केही र महिलाहरू भन्थे, ‘बायरनको संगत रमाइलो त हुन्छ, सुरक्षित भने हुँदैन ।’

विडम्बना के भने अरूलाई ‘असुरक्षित रमाइलो’ दिने बायरन स्वयं असुरक्षा र एक्लोपनको भावना लिएर बस्थे । त्यसैलाई मेट्न उनी लेख्ने गर्दथे अनि ‘दैहिक माम्लो’ उत्पन्न गर्दथे । सन् १८२४ मा बायरन एक साधारण भनिएको ज्वरोले ग्रस्त भए । के थियो त्यो ज्वरो, यो पत्ता लाग्दा नलाग्दै सन् १८२४ अप्रिल १९ का दिन संसारबाट बिदा भए ।

सन् १७८८ जनवरी २२ मा जन्मेको यो कविले जम्मा ५६ वर्षको उमेर पायो । त्यसमा पनि सक्रिय अवधि १२ वर्ष मात्र । त्यतिमै उसले अंग्रेजी काव्यको एकछत्र राज्य पायो । प्रेम, सम्बन्ध, विवाह र विच्छेद झेल्यो ।

यही त्यो समय थियो, जब एकातिर बायरनको बगलीभरि र झोलाभरि युवतीका चिठी हुन्थे, जसमा लेखिएको हुन्थ्यो— ओ बायरन, आइ वान्ट टु मिट/टक/डाइन/सिट/स्लिप विथ यु...। अर्कातिर त्यस्ता चिठीका बिटाका बिटा लिएर हिँडिरहेका बायरनलाई देखेर प्रौढा स्त्रीहरू कराउँथे— ‘ओ लेडिज, सट योर डोर्स, बायरन इज कमिङ ।’

यस्ता थिए बायरन जो आफैंले चित्रित गरेको पात्रझैं आफ्नै समयमा नायक र खलनायकको मिश्रित स्वरूपमा लिइन्थे । उनको मृत्युमा सम्भवत: सबभन्दा दु:खी हुने उनकी तिनै लोकलक्षित दिदी ‘अगस्टा’ नै थिइन् ।

प्रकाशित : माघ ५, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?