कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कप्तान १९९८

अहिले नेपाली क्रिकेटलाई नजिकबाट बुझेको दाबी गर्नेले पनि सोध्न सक्छन्, को हो यो एलबी क्षत्री ?
हिमेश

काठमाडौँ — यति बेला नेपाली क्रिकेट टिम यूएईमा छ, वान डे र ट्वान्टी ट्वान्टी सिरिज खेल्न ।

कप्तान १९९८

यसअघि नेपाल यस्तै सिरिज खेल्न नेदरल्यान्ड्स गएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई वान डे टिमका मान्यता दिएपछि अब यस्ता सिरिज पनि हेर्दा हेर्दै सम्भव भए । अहिले नेपाली क्रिकेटमा जे जति भइरहेको छ, बाहिरबाट लाग्छ, यसभित्र खुबै चमकधमक छ । यी सबै नेपाली क्रिकेटमा एकै दिन तयार भएका त पक्कै होइनन्, त्यो पनि चमत्कारी रूपमा ।


कप्तान पारस खड्का होस् अथवा किशोर उमेरमै विदेशमा खेलेर करोडपति भएका सन्दीप लामिछाने होस्, सबैले पुराना दिनलाई कसरी भुल्न सक्छन् र ? उनीहरूले अहिले जहाँ छन्, जे जस्तो गरिरहेका छन्, त्यसको आधार तयार पार्ने काम पनि भएको थियो, कुनै बेला कसैले । त्यसैमध्ये एकमा पर्छन्, एलबी क्षत्री । मान्छे बैगुनी हुने गर्छन्, अहिले नेपाली क्रिकेटलाई नजिकबाट बुझेको दाबी गर्नेले पनि सोध्न सक्छन्, को हो यो एलबी क्षत्री ?


सबैभन्दा पहिले सन् १९९६ तिर फर्कौं । त्यो वर्ष वीरगन्जमा १२ औं जय ट्रफी भएको थियो । यो किन महत्त्वपूर्ण प्रतियोगिता थियो भने त्यसमै भएको प्रदर्शनको आधारमा पहिलोपल्ट नेपालको राष्ट्रिय टिम छनोट गर्नु थियो । यस प्रतियोगितालाई ऐतिहासिकभन्दा पनि हुन्छ । एसियाली क्रिकेट काउन्सिलले टेस्ट मान्यता नपाएका देशबीच पहिलोपल्ट एसीसी ट्रफी आयोजना गर्न लागेको थियो । त्यसमा बाँकेबाट छानिएकामा एक थिए, एलबी क्षत्री ।


एलबीका दुई सपना थिए, पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने । दोस्रो नेपालकै लागि खेल्ने । मलेसियामा उनले यी दुवै सपनालाई पूरा गरे । उनी त्यस टिमका उपकप्तानसमेत थिए । कप्तानको जिम्मेवारी भने उत्तम कर्माचार्यको काँधमा थियो । पहिलो खेल बंगलादेशविरुद्ध थियो । त्यसपछि के भयो, त्यो त इतिहास नै भयो र अहिले नेपाली क्रिकेट जहाँ छौं, त्यो वर्तमान भयो । त्यति बेला नेपालले पनि क्रिकेट खेल्छ भनेर सुन्दा दंग पर्नेमा थिए, तिनै सुनील गावस्करदेखि श्रीकान्तसम्म ।


यी भारतीयलाई पनि के लाग्दो रहेछ भने नेपाल भनेपछि त्यहाँ हिमाल मात्र छन् । र, त्यसपछि आउँछ, सन् १९९८ । दोस्रो संस्करणको एसीसी ट्रफीको आयोजना अवसर जुटेको थियो, नेपालमा । समय थियो, अक्टोबर ३ देखि १३ । त्यस प्रतियोगितामा खेल्ने टिमका कप्तान अरू कोही होइन, यिनै एलबी थिए । उनकै भाषामा, त्यो क्षणको वर्णन यस्तो छ, ‘कप्तानीको अवसर जो कोहीलाई प्राप्त हुन्न । भन्ने त भन्छन्, भाग्य पनि चाहिन्छ । म भाग्यभन्दा ज्यादा मैदानमाम विश्वास गर्छुं ।’


त्यसपछि उनले लामो समय क्रिकेट खेलेनन्, विश्रामको बाटो राजे । त्यति बेला उनले जागिरी जीवनलाई बढी महत्त्व दिन चाहे । अहिले यो सबै चर्चा किन भन्दा यिनै एलबीको आत्मकथा निस्केको छ, ‘एलबी क्षत्री कप्तान १९९८’ नाममा । प्रकाशक हो, क्रियटिभ बुक्स । त्यसै पनि नेपाली खेलकुदबारे किताब विरलै लेखिन्छन्, निस्कन्छन् । यस्तोमा उनको यो आँटलाई नै मान्नुपर्छ, सबैभन्दा पहिला । फेरि उनलाई किन पनि धन्यवाद दिनुपर्छ भने उनको यो किताबले नेपाली क्रिकेटको एक कालखण्डको इतिहास पनि तयार भएको छ ।


एलबीसँग जोडिएर आउने अर्को उत्तिकै महत्त्वपूर्ण तथ्बय के पनि हो भने उनलाई नै श्रेय जान्छ, नेपालमा महिला क्रिकेटको सुरुआतका लागि । अर्को संयोग के पनि भन्दा भर्खरै नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा भएको प्रतियोगिता खेलेर फर्केको छ । महिला क्रिकेटको जग बजाउने काम एलबीले ०६१ सालतिर गरेका थिए, नेपालगन्जतिर । अहिलेका महिला खेलाडी भनिरहेका छन्, हामीलाई अवसर कम भयो, हामी धेरै बढी गर्न सक्छौं ।


तर, जति बेला एलबीले महिला क्रिकेटको सुरुआत गर्ने सपना बुने, उनलाई भनिएको थियो, ‘केटीले पनि क्रिकेट खेल्ने ?’ त्यो पनि अरू कोही होइन, उनकै पत्नी शान्तिले । यस्तो थियो, त्यति बेलाको स्थिति, अहिले सम्झदा हाँसो हुन सक्छ । निकै मिहिनेत गरेर उनले नेपालगन्जमा महिला क्रिकेट टिम तयार पारे र प्रतियोगिता पनि त्यही साल गरे, फागुनतिर । त्यसैले एलबीलाई नेपाली महिला क्रिकेटका पिता पनि भन्ने गरिन्छ, यस्तो भन्दा जसले जस पाउनुपर्ने हो, त्यो पाएकै ठहरिन्छ ।


आफ्नो पुस्तकमा एलबीले सुरुमै भनेका छन्, क्रिकेट एउटा नशा रहेछ, छाड्नै नसकिने । उनले आफ्नो जीवनको आधाआधी उमेर बल र ब्याटमै बिताए । जीविका धान्न उनको परिवार पर्वतबाट भारतको पश्चिम बंगाल पुगेको थियो । उनले केही वर्ष त्यहीं क्रिकेट पनि खेले । त्यहाँ भनिएको थियो, बहादुरले पनि कहीं क्रिकेट खेल्छन् ? उनले आखिरमा खेलेरै देखाए । त्यसअगाडि उनलाई त्यहाँसम्म पुर्‍याउने काम त उनका बुबाले नै गरेका थिए, त्यो पनि पानी जहाजको चौकीदारी गरेर ।


त्यहींबाट उठेर उनी नेपाली क्रिकेट टिमका कप्तानसम्म भए । यसैको पूरा कथा समेटिएको छ, ‘एलबी क्षत्री कप्तान १९९८’ मा । खेल क्षेत्र अरूभन्दा बेग्लै हुन्छ । यहाँ खेलाडीले अर्कै संसार बिताइरहेको हुन्छ । दुनिया नै अलग । एलबीले त्यही दुनियामा बटुलेको अनुभवलाई किताबको रूप दिएका छन् । खेलमा सामान्य मात्र रुचि छ भनेपछि यो किताब पढ्नैपर्छ । यस्तो गर्नु भनेको अहिले नेपाली क्रिकेट जहाँसम्म पुगेको छ, त्यसमा कुनै न कुनै भूमिका खेल्नेप्रति कृतज्ञ हुनु हो ।


प्रकाशित : माघ १२, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?