कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युथनेसिया : सुखसँग मर्न देऊ

कल्पना बान्तवा

काठमाडौँ — ब्रसेल्स–बेल्जियम निवासी ८५ वर्षीया सिमोन, अस्पतालको फराकिलो क्याबिनको ओछ्यानमा निद्राबाट ब्युँझन्छिन् ।

युथनेसिया : सुखसँग मर्न देऊ

नित्यकर्म सकेर कुनाको डाइनिङ टेबलमा बस्दै, बिहानको चियाखाजा खान्छिन् । क्याबिनबाट निस्केर वाकरको सहायताले अस्पतालको लामो करिडोरमा टहल्दै र छेउछाउ क्याबिनका चिनारुसँग अभिवादन र छोटो भेटघाट गर्दै दिनचर्याको एक अंग प्रभाती हिँडडुल पूरा गर्छिन् । क्याबिनमा फर्केर एक छिन बिसाउँदै, कसरत मसिनमा बसेर गोडा तलमाथि गर्दै नियमित अभ्यास गर्छिन् । बुढ्यौलीको कमजोरीबाहेक टड्कारो देखिने शारीरिक रोग उनलाई छैन । यी यावत् काम सकेर ओछ्यानमा आरामसँग बसेर सुस्ताउँछिन् । सिमोनकी नजिककी साथी, ओछ्याननजिकै स्टुलमा बसेकी छन् ।


उत्तिखेरै एक डाक्टर क्याबिनमा पस्छन् । उभिएरै गम्भीर मुद्रामा डाक्टर बोल्छन्, ‘सिमोन † गुड मर्निङ † कस्तो छ ?’
‘एकदम ठीक छु, डाक्टर †’ सिमोन किञ्चित् हँसिलो मुख लाउँदै जवाफ दिन्छिन् ।
डाक्टरले थोरै खुकुलिँदै सोध्छन्, ‘राम्रो † उसो भए के तपाईँ तयार हुनुहुन्छ ?’
सिमोन सहजतासाथ बोल्छिन्, ‘हजुर, डाक्टर † पूरापूर तयार छु । बिहानको कसरत गरिसकेँ, खाजा खाएँ, भेटघाटका काम पनि सकेँ र ज–जसलाई सम्झनुपर्ने हो सबैका नाउँमा खामबन्दी सन्देश लेखिभ्याएँ †’


डाक्टरले सिमोनलाई सानो ग्लासमा कुनै पेय पदार्थ दिन्छन् र उनलाई त्यो पिउन सघाउँछन् । सिमोनले ग्लासको पेय पदार्थ बिस्तारै पिएर तुरेपछि डाक्टरले उनलाई समाएर ओछ्यानमा सजिलो गरी सुताइदिन्छन् । सिमोन तुरन्तै निदाउँछिन् ।


यो दृश्य युथनेसिया अर्थात् सुखसँग मृत्युवरण गर्ने प्रक्रियाको अंश हो । युथनेसिया (सहायताप्राप्त आत्महत्या अर्थात् असिस्टेड सुसाइड) चाहने मानिसले पूरा होसहवासमा निर्णय गरेर सम्बन्धित सरकारी निकायलाई निवेदन दिन्छ । उसको बाँच्न नचाहने अधिकार केवल ऊसँग सुरक्षित रहन्छ र युथनेसियासम्बन्धी विज्ञहरूको सरकारी टोलीले सूक्ष्म अध्ययन तथा छानबिन गरेर उसको निवेदनको औचित्य पुष्टि गरेपछि मात्र उसको मनोकांक्षा कार्यान्वयन हुन्छ । युथनेसियालाई दुई प्रकारमा विभक्त गरिएको छ— एक्टिब युथनेसिया र प्यासिब युथनेसिया । एक्टिब युथनेसियामा निवेदकको मृत्युका निम्ति सीधा कदम चालिन्छ, त्यसमा बिना कुनै कष्ट वा पीडा सजिलो गरी तुरुन्तै निदाउने विषालु सुई वा पेय पदार्थ पर्छन् । प्यासिब युथनेसियामा चाहिँ बिरामीलाई जीवन–रक्षक प्रणालीबाट छुटाइन्छ, साथै दबाई र खानापिना पनि बन्द गरिन्छ । छिमेकी देश भारतको सर्वोच्च अदालतले सन् २०१८ मार्च ९ देखि प्यासिब युथनेसियालाई मञ्जुरी दिएको छ ।


तर, कोमाबाट वर्षौंपछि निस्कन सफल केही बिरामीले, आफू कोमामा रहँदा शरीर चलाउन नसके पनि चेतना कायम रहेको र वरपरका सारा क्रियाकलापप्रति सचेत रहेको उल्लेख गरेका छन् । कथम्कदाचित् यस्ता बिरामीलाई जीवन–रक्षक प्रणालीबाट छुटाउने इजाजत दिइयो भने त्योजस्तो दु:खदायी विडम्बना अर्को नहोला †


सिमोन उपचारविहीन गहिरो उदासीनताको अवस्थाबाट गुज्रिरहेकी थिइन् । झन्डै ४ वर्षअघि, शल्यक्रिया दौरान उनकी छोरीको असामायिक निधनपछि उनलाई संसार विरसिलो लाग्न थालेको थियो र सधैं उही तालिकामा चलिरहेको दैनिकीदेखि विरक्तिएकी थिइन् । उनका डाक्टरले सिमोनलाई डिप्रेसनको औषधि दिएर पनि हेरे तर महिनौं उपचार गर्दा पनि सिमोनको खिन्नता रत्तिभर कम भएन । दैनन्दिनका यावत् कर्म यन्त्रमानवले भैँm नबिराई गर्ने र हाँस्ने–बोल्ने उनको मनको शान्ति एउटै चाहनामा अडेको थियो, स्थानीय यहुदी चिहानमा आफ्नी छोरीको चिहानछेउ चिर निद्रामा लीन हुने † छोरीबिनाको जीवन बाँचिरहनु र नियमित तालिकामा जिन्दगीलाई घिसारिरहनुमा उनलाई पटक्कै रुचि थिएन ।


१९८४ मा डच सर्वोच्च अदालतले चिकित्सकहरूलाई कडा नीति निर्देशन पालनाको सर्तमा स्वैच्छिक युथनेसियालाई स्वीकार्य मानेको निर्णय दिए तापनि, डच फौजदारी कानुनअन्तर्गत चिकित्सकहरूले कानुनी कारबाहीको सामना गर्नुपर्ने सम्भावना अद्यापि छ । सन् २००० को शरदमा डच संसद्ले वैधानिक युथनेसियाको पक्षमा मत दिएर, विश्वमै कानुनी तवरमा युथनेसियाको अभ्यास गरिने मुलुकको अग्रस्थानमा नेदरल्यान्ड्स्लाई औपचारिक रूपमै उभ्यायो । त्यहाँ यसलाई ‘असिस्टेड सुसाइड’ भनिन्छ । युथनेसियालाई कानुनी मान्यता दिने दोस्रो मुलुकमा बेल्जियम पर्छ भने तेस्रोमा लक्जम्बर्ग । मार्च २०१८ सम्ममा युथनेसियाले कानुनी मान्यताप्राप्त देशहरूमा कोलम्बिया, क्यानडा, स्विट्जरल्यान्ड, जर्मनी र जापान पर्छन् । यही लहरमा अमेरिकाका वासिङ्टन, ओरेगन, कोलोराडो, वोरमोन्ट, मोन्टाना, वासिङ्टन डीसी र क्यालिफोर्निया राज्यहरू पर्छन् । दक्षिण कोरिया पनि एक्टिब र प्यासिब, दुवै मानव इच्छामृत्यु कानुनी हुने देशको रूपमा सामेल हुन निर्धारित छ । एकपाटे जाते टिकट मात्र काटेर गएका केही विदेशीले पनि स्विट्जरल्यान्डमा यो विशेषाधिकार प्रयोग गरेका छन् ।

अस्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेबिडले, स्विट्जरल्यान्ड गएर युथनेसिया अर्थात् इच्छा–मृत्यु वरण गरे । यी वनस्पतिशास्त्री, पर्यावरणविज्ञ तथा नाट्यकर्मीले १०२ वर्षको हुन्जेलसम्म साताको चार दिन युनिभर्सिटीका कार्य गरिरहे । तर, दुई वर्षयता, दुर्बल शारीरिक अवस्था र दुवै आँखाको दृष्टि गुम्नुले उनलाई पर्न जाने जोखिमका कारण क्याम्पसले उनलाई काम नगर्न अनुरोध गर्दै बिदा दियो । युथनेसियाका लागि आवेदन दिँदा, उनले आफ्नो मानसिक अवस्था पूर्ण स्वस्थ रहेको तर कुनै रोग नलागे पनि शरीर कमजोर भएर हिँडडुल गर्न कठिनाइ भएको, त्यसै साल एक दिन भान्साघरको भुइँमा दुई दिनसम्म लडिरहेका उनलाई घरको सफाइ गर्न आएका मानिसले उठाएको, दृष्टि गुमेकाले सवारी चालक अनुमति–पत्र खारेज भएको, ९० वर्षको उमेरसम्म बाँच्नुको आनन्दलाई पूरापूर भोगेको तर त्यसयताको बँचाइमा थोरै पनि आनन्द शेष नरहेको र एक पटकको आत्महत्याको प्रयास पनि विफल भएको कारण अझै बाँचिरहनुको औचित्य नदेखेकाले राजीखुसी मृत्यु रोजेको बताएका थिए ।


ब्रसेल्सका एक युवा कृषक पिटर । ३ सय बस्तुभाउले भरिभराउ आफ्नो फार्मको काममा बिहान सबेरैदेखि अबेला साँझसम्म र कहिलेकाहीँ राति पनि व्यस्त रहँदा उनी आनन्दित हुन्थे । तर ‘क्लस्टर हेडेक’ नाउँको अत्यन्त पीडादायी बिरामीले गाँजेदेखि उनका सारा खुसी र चाहनाहरू छरपस्ट भए † पिटर कामै गर्न नसक्ने भए, ब्याङ्कले उनको विशाल गोठ र गाईबस्तु जफत गर्‍यो । हरेक दिन अस्पताल गएर उनकी पत्नी र नाबालक दुई छोरा असहाय भावले व्यथित पति/बाबुलाई हेरिरहन्थे । निधार हुँदी घाउचोटको दाग लिएर, मुख र नाक छोपिने अक्सिनको थैलो भिरेर र हातको नशाबाट स्लाइन–पानी लिँदै अस्पतालको ओछ्यानमा टीठलाग्दो गरी पल्टिइरहेका पिटरको आधारभूत पीडा निवारणको सामान्य प्रबन्ध गर्नुबाहेक उनको तकलिफ कम गर्न सक्दैनथ्यो अस्पतालले † पिटरको असाधारण टाउको दुखाइको प्रत्यक्ष कारण थाहा छैन र त्यसको उपचार पनि छैन । अनुहारको एउटा स्नायुको गडबडीले हुन सक्ने ठानिएको ‘क्लस्टर हेडेक’, ‘माइग्रेन’ भन्दा धेरै डरलाग्दो भए तापनि यसले उनको मृत्यु नै हुन्छ भन्ने छैन, तर बेला न कुबेला दिनमा अनेक पटक र प्रत्येक पटकमा ३ घण्टासम्म अँठ्याउने यसको व्यथा सहनचाहिँ हजार मृत्यु मर्नुसरह हुन्थ्यो उनलाई † हातले टाउको ठटाउँदै उनी बर्बराउँथे, ‘लाग्छ मेरो टाउकोमा कसैले छुरी घुसारेर अड्काइदिएको छ र त्यो छुरी टाउकोभरि चलाउँदै पनि छ ।’ पिटरकी पत्नी बताउँथिन्, ‘जब उनलाई टाउको दुख्न थाल्छ, उनी आफ्नै हातले दुवै आँखा लुछ्न खोज्छन् र भित्तामा टाउको जोडसँग ठोक्काउन थाल्छन् । उनी भन्छन्, ‘कसैले यदि तेरो पाखुरा काटिस् भने यो असहनीय पीडाबाट मुक्ति पाउँछस्’ भनेदेखि म तत्काल आफ्ना दुवै पाखुरा छप्काइदिन्छु ।’ हो, यही दुई शब्द ‘असहनीय पीडा’ कै आधारमा बेल्जियमको युथनेसिया–कानुनले पिटरलाई युथनेसियाको अनुमति दिने मुख्य आधार बनायो । प्रतिवर्ष झन्डै दुई हज्जार बिरामीले सघाइएको आत्महत्या रोज्छन् बेल्जियममा र पिटर तिनैमध्ये एक हुन् । चाँडै हुन गइरहेको पिटरको टाउकाको शल्यक्रिया असफल भएमा युथनेसियालाई उनले अन्तिम विकल्पको रूपमा अपनाउनेछन् ।


युथनेसिया अहिले अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । केही मानिस यसलाई समयानुकूल र आवश्यक मान्छन् भने केही यसले वैधानिकता प्राप्त गर्नुसँग बिल्कुलै सन्तुष्ट छैनन् । स्विट्जरल्यान्ड–बसेलकी सिटी काउन्सिलर तथा मनोचिकित्सक एमरी पाइफर भन्छिन्, ‘मलाई गर्व लाग्छ कि हामी रेडक्रसको प्रवर्तक हौँ । संसारभरका मानिसलाई बाँच्न सहायता गर्ने परोपकारी संस्था रेडक्रसको मान्यताविपरीत विदेशीलाई समेत मर्नका लागि बाटो खोलिदिनुले हाम्रो गौरवशाली इतिहासको छवि धूमिल बनाएको छ । युथनेसियालाई वैधानिकता दिनु भनेको धेरै पाको उमेरको जीवनको कुनै मूल्य छैन भन्नु हो ।’


एक प्रकारले उनको कुरा सही हो । सन् १८६३ मा मानव जीवन तथा स्वास्थ्यको सुरक्षा र मानवीय दु:ख–पीडा कम गर्ने हेतुले दुई स्वीस, हेनरी डनान्ट र गास्तभ मोनियरको निजी पहलमा जेनेभामा गठित अन्तर्राष्ट्रिय रेडक्रस आयोग, अहिले संसारभर आफ्ना कामका निम्ति सुपरिचित छ । प्रथम र दोस्रो विश्वयुद्ध लगायत हालसम्मका सबै युद्ध तथा प्राकृतिक विपद्का बेला विश्वभर रेडक्रसले पुर्‍याएको सेवा र योगदान वास्तवमै अतुलनीय छ । मानव जीवन बचाउन र शान्ति स्थापनाका निम्ति लागिपरेको अन्तर्राष्ट्रिय रेडक्रस आयोग, सन् १९१७, १९४४ र १९६३ गरी तीन पटक नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित भइसकेको गर्विलो पृष्ठभूमि र हाल युथनेसियाका कारण मृत्यु–पर्यटनको सहुलियत दिने राष्ट्रको चिनारी आपैंmमा विरोधाभासपूर्ण देखिन्छ ।


यी सबका बाबजुद पनि, बाँच्नुको नाउँमा अतिरिक्त बोझ बनेको जीवनलाई जबर्जस्ती अघि लाइरहेकाहरूको चरम सकस बिचार्दा, मलाई चाहिँ युथनेसिया उनीहरूका लागि सुखसँग महाप्रस्थान गर्ने एउटा अवसर हो जस्तो लाग्छ † जन्मेपछि मर्नैपर्छ तर जीवनमृत्युको सार बुझेका र यसबाट निस्पृह रहेका केही ज्ञानी–ध्यानी र सन्तबाहेक हामी सबै मर्नदेखि डराउँछौं । मर्न डराउनुको पछाडि अन्तर्निहित मुख्य दुई कारण देख्छ मेरो सानो बुझाइले † एक, मरेर प्रियजनसँग सदा–सदाका लागि विछोडिन चाहँदैनौं हामी † प्रियजनसँगको स्थायी वियोगको कल्पना मात्रले हुरुक्क हुन्छौँ । ‘म मरेपछि उसको के होला ?’ भन्ने सोचले व्याकुल बनाएजस्तो लागेपनि त्यो चिन्ता र पिरलो खासमा आफ्नै निम्ति गरिरहेका हुन्छौँ, किनकि प्यारा मानिससँग सदा सर्वदा साथै रहिरहने लोभ हामीभित्र गडेर बसेको हुन्छ । ८४ लाख जुनी भट्केर पाएको मनुष्य चोलापछि फेरि कहिले र कुन जन्ममा पुनर्जन्म हुन्छ र हामी प्रियसँग भेटिन्छौँ, त्यो पनि थाहा छैन । न त हामी, ‘ए † फलाना त मेरो पूर्वजन्मको यो साइनोको मान्छे पो त †’ भनेर चिन्छौँ नै †


यिनै बेठेगानी कुरामा भर नपरेर पनि हामी मर्न कदापि चाहँदैनौं । दोस्रो, मृत्युका बेला सहन पर्ने कल्पनातीत कष्ट, दु:ख, पीडा, छटपटी र व्यथा † ‘मर्न बडो गारो हुन्छ’ भन्ने भय हाम्रो चित्तमा लिसोभन्दा कडा चालले टाँसिएको छ । तथापि, मरेर जाने कसैले आफू मर्दाको अनुभव फर्केर आएर बताएका छैनन् तर त्यो सम्भावित कष्टसाध्य मरनको साक्षात्कार गर्ने हाम्रो ह्याउ छैन किनकि हामी योगी योगानन्द जसरी सभामा घोषणा गरीवरी ध्यानमा समाधिस्थ भएर सहजै प्राण त्याग्न सक्दैनौं । हामीले केवल दुर्घटनामा परेर, पानीमा डुबेर, आगोमा जलेर, भूकम्पमा वजनदार वस्तुले किचिएर, अस्पतालमा कष्टसाध्य क्षणबाट गुज्रेर, तेजाबबाट पोलिएर र विभिन्न निसासिने तवरले आत्महत्या गरिएका मृत्युहरू सुनेका र देखेका छौँ । त्यसैले मर्ने कुरा सम्भँmदै हामीलाई कहाली लाग्छ र टारेर टर्दैन भन्ने जान्दाजान्दै पनि अवश्यम्भावी कालको सामना गर्ने त्यो क्षण भोग्न हामी कहिल्यै तयार हुँदैनौं ।


त यस्तोमा, यदि आफ्नो होसहवासमा ‘अब बाँच्न पुग्यो’ भन्ने लाग्छ भने युथनेसियाको सहायताले सुखसँग किन नमर्ने ? किन त्यो थाहै नदिई आएर टपक्क टिपेर लैजाने भयङ्कर मरनलाई डराईडराई पर्खेर बसिरहने ? अथवा किन ओछ्यानमै दिसापिसाबमा डुबेर अरूको दयामा आश्रित भएर घिटिघिटी हुँदै बाँचिरहने ? अशक्त अवस्थामा प्रेमले स्याहारसुसार गर्ने आफ्नाहरू छन् भने त्योजस्तो बाँच्नुको सन्तोक अर्को हुँदैन अथवा शारीरिक कमी–कमजोरीसँग लड्दैभिड्दै पनि बाँचिरहन्छु भन्ने अदम्य साहस र उत्साहले भरिभराउ मानिस हो भने उसलाई मेरो सलाम † तर, बँचाइ यदि बित्थाको बोझ बन्छ भने बेला छँदै मृत्युपूर्वका सारा तयारी–राखनधरन–भनसुन आरामले गरिसकेर, कोरीबाटी गरेर राम्रो लुगा लाएर, निस्फिक्री निदाउन लागेजसरी सुखसाथ महानिर्वाणको बाटो किन नसमाउने ? पृथ्बीको त निश्चित आयु छ भने मान्छे नाथुले आफू मर्नुमा किन दु:खमनाउ गर्ने ?
युथनेसिया रोज्नेहरूले मरन दिन पनि साइत हेरेर एउटा शुभदिन ठिक्क पार्न थालेका छन् । सिमोनले आफ्नो ८६औँ जन्मदिनको अघिल्लो दिन रोजिन्, डेभिडले पनि स्विट्जरल्यान्ड पुगेपछिको तेस्रो दिन तोके । पिटरको खबरखाबर अहिलेसम्म थाहा छैन ।

उहिलेका कुरा साँच्चि नै खुइलिए † पहिले ‘गर्भको बात कसैले जान्दैन’ भनिन्थ्यो । अचेल ‘एम्नियोसेन्टिसस्’ प्रविधिले गर्भ रहेको ११ हप्तामै गर्भमा छोरा/छोरी/तेस्रोलिङ्गी के छ बताइदिन्छ, साथै गर्भस्थ शिशुमा निहित कुनै वंशाणुगत रोग र ‘कन्जेनिटल मालफर्मेसन’ किटान गरिदिन्छ । भनेपछिलाई, हाम्रा सनातन मान्यता भत्किँदै छन् । जन्म, विवाह र मृत्यु माथिबाटै लेखाएर ल्याउँछ मान्छेले भन्थे, त्यो ‘माथि’ भनेको कता हो कसैले भन्न सकेको छैन ।


उसो र, न्यायिक छानबिन तथा कार्यान्वयन पद्धतिका केही मुद्दालाई प्रत्यक्ष देखेर भयभीत–त्रसित हामी † बलात्कारी, भ्रष्टाचारी र हत्यारालाई मृत्युदण्ड दिने कानुन बनोस् भनेर आवाज चर्काउन पनि, ‘कतै त्यस्तो कानुन बनेपछि निर्दोष मानिसले त त्यो सजाय पाउने हैनन् ?’ भनेर हिच्किचाइरहेको अहिलेको सन्दर्भमा, युथनेसियाले वैधानिकता पाउने कुरा अलि ‘हाइपोथेटिकल’ नै लाग्ला सबैलाई तर ससम्मान बाँच्ने हकको वकालत गरिन्छ भने इच्छा गर्नेहरूले ससम्मान मर्न पनि पाउनुपर्छ,भन्ने लाग्छ मलाई †


तर, यदि मानव बँचाइसँग साँच्चि नै सरोकार छ भने, ताप्लेजुङ–पाथीभराकी ११० वर्षीया फूलमाया लिम्बु आमा, आँगनभन्दा पर हिँडडुल गर्न नसके पनि आफ्नो लागि भातभान्सा आपैंm तयार गर्छिन् । उनका ७४ वर्षीय छोरा श्री धनशेर लिम्बु सधंैभरि आमासँग बस्दैनन् । रेडक्रसको अगुवाइमा गाउँ पालिकाले उनको सम्मानमा बनाइदिएको नजिकैको सानो घरमा सर्न आमालाई मन छैन । पुरानो झुप्रोमा एक्लै बस्छिन् । सहज जीवनयापनका लागि उनको हेरचाह गर्ने र उनको काम गरिदिने कोही सहायकको सरकारी व्यवस्था भइदिए कति जाती हुन्थ्यो †


प्रकाशित : माघ १९, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?